जनताका समस्या बुझ्न सङ्कल्प यात्रा आयोजना

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताका समस्या बुझ्न सङ्कल्प यात्रा आयोजना गरिएको बताएका छन्।

पार्टीले आयोजना गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ को चौथो दिन आज कर्णालीको दैलेखस्थित राकम कर्णालीमा आयोजित आमसभामा उनले उक्त कुरा बताएका हुन्। 

अध्यक्ष ओलीले सरकारका तर्फबाट लोकतान्त्रिक व्यवहार भएको छ कि छैन भन्ने कुरा हेर्न एमाले गाउँमा आएको उल्लेख गर्दै बैतडीको झुलाघाटबाट सुरु भएको अभियानको तीन दिन सुदूरपश्चिमको भ्रमणका क्रममा बुझ्दा जनतामा निराशा छाएको टिप्पणी गरेका छन्।

पूर्वप्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रभन्दा राजतन्त्रलाई उत्तम ठान्ने, पछिल्लो राजनीतिक परिवर्तनलाई उपलब्धि नठान्ने र जनताको हित नचाहने तत्व नै देशद्रोही भएको जिकिर गरेका छन्।

उनले भने, 'गठबन्धन सरकारका कारण देशमा निम्तिएको अस्थिरता र जनतामा देखिएको निराशालाई मौकाको रुपमा लिएर प्रतिगमनको दिवास्वप्ना देख्नु देशद्रोह बाहेक अरु के हुन सक्छ ? यस्ता कुरा गर्नु विकास, परिवर्तन, नेपाल र नेपालीको हित विपरीत कार्यबाहेक अरु केही होइन।'

पदयात्राको क्रममा जनताका समग्र समस्या बुझेर आगामी दिनमा तीनै तहका सरकारमा नीति निर्माण गर्ने रणनीतिका हिसाबले पनि अभियान थालिएको बताउँदै अध्यक्ष ओलीले आगामी २०८४ मा एमाले नेतृत्वमा एकल सरकार गठन हुने ठोकुवा गर्नुभयो। उहाँले नेपाललाई दुनियाँको आकर्षक गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।

आफू नेतृत्वको पार्टीले दूर्गम स्थानको विकास, हिमाल, पहाड, तराई र मधेशका सबै पेशाव्यवसायको समृद्धि, कृषिको आधुनिकीकरण, देशलाई औद्योगिकीकरण र व्यापार सन्तुलन गर्ने नीति लिएको दाबी गर्दै अध्यक्ष ओलीले निरोगी नेपालको परिकल्पना र यसको नेतृत्व एमालेले गर्ने बताएका छन्।

एमाले महासचिव शङ्कर पोखरेलले पार्टीले सञ्चालन गरेको अभियालनले सुदूरपश्चिमको विकास र समृद्धिका बारेमा अध्ययन गर्ने बताएका छन्। विकास र राष्ट्रिय नीतिको बहिष्करणमा परेको सुदूरपश्चिम र कर्णाली प्रदेशको समृद्धिका लागि राज्यले गर्नुपर्ने कामका बारेमा स्थलगत अध्ययन गरी राम्रो परिणाम निकाल्ने उनले दाबी गरे। 

मध्यपहाडी राजमार्गअन्तर्गत सुदूरपश्चिम प्रदेशको अछामबाट कर्णालीको दैलेख पुग्नुभएका अध्यक्ष ओली नेतृत्वको अभियान टोलीले आज दैलेखको ज्वाला क्षेत्र, श्रीस्थान, पादुका, नाभीस्थानलगायत पर्यटकीयस्थलको अवलोकन गरेको थियो।

प्रकाशित मिति: : 2023-12-03 21:59:00

प्रतिकृया दिनुहोस्