जुम्लाको तातोपानी गाउँपालिका-७ सर्मीका धर्मेन्द्र कुँवर उमेरले १७ वर्षका भए। घर सदरमुकाम खलंगाभन्दा निकै टाढा भएपनि उनको बसोबास सदरमुकाममै भयो। बुबा जडिबुटी व्यापारी भएको हुनाले उनको शिक्षादिक्षामा कुनै कमी आएन। पूर्ण स्वतन्त्र वातावरणमा हुर्किए।
पढेर घरको काम गर्नुपर्ने बाध्यता नखेपेका उनले खेल्ने स्वतन्त्रता पाए। त्यसले उनलाई संसारको प्रमुख खेल फुटबलतिर आकर्षण गर्यो। त्याे आकर्षण कहिले घटेन। बरु बढ्दै गयाे, दिन दुई गुना रात चाैगुना। त्यसैले उनी सानैदेखि साथीहरुको नजरमा फुटबल खेलाडी देखिए।
उनी सिनियरहरुका अगाडि आशा लाग्दो भविष्य भएका सीपालु खेलाडी देखिए। यही नजर देशको सबैभन्दा ठूलो लिगले लगायो। परिणाम उनी हाल ए डिभिजन लिग खेल्ने खेलाडी बन्न सफल भएका छन्।
राजासिममा फुटबल खेल्दा खेल्दै उनी अरुभन्दा अब्बल देखिन थाले। उमेर सानाे भएपनि हर्लक्क बढेको गठिलो जिउका कारण उनी राम्रो खेलाडीमा गनिन थाले। त्यसमाथि गोल किप्परमा उनले विशेष दखल राख्ने देखेपछि सिनियर टिमका खेलाडीहरुको नजर उनको बल छोप्ने सीपतिर गयो।
उनी १० कक्षामा पढ्नेबेला एन्फाले आयोजना गरेको जिल्ला लिग फुटबलमा देखापरे। पहिलोपल्ट ठूलो खेल मैदानमा देखा परेका उनले राम्रो चर्चा बटुले। 'मनैदेखि खेलेको हुनाले होला सबैले खेल मन पराइदिए,' उनले भने, 'तारिफमा उर्जा हुने रहेछ। मैले त्यसलाई उत्प्रेरणाको रुपमा ग्रहण गरेँ। जसले मलाई फुटबलको पारखी बनायो।'
२०७८ सालमा कोरोनाको दाेस्रो भेरियन्ट आएको बेला उनी एसईई परीक्षाको तयारी गरिरहेका थिए। त्यसपछि उनी उच्च शिक्षाका निम्ति काठमाडौँ गए। व्यवस्थापन संकायमा भर्ना भए। फुटबलको पारखी भइसकेकाले होला उनको मन पढाइमा अडिन सकेको थिएन। त्यसकारण उनले फुटबलमा बढी समय दिन थाले।
'काठमाडौँ गएको पहिलो वर्ष गोल किपर नै खेलेँ,' उनले भने, 'आधारभूत तालिम नलिएको हुनाले गोल किपर सम्भव भएन। अनि फरवार्ड खेल्न थालेँ।'
जुम्लामा हुँदा आफूले जति गर्यो, त्यही नै पर्याप्त हो भन्ने खालको बुझाइ हुन्छ। खेलाडी आफैँ प्रशिक्षक र कोचको भूमिकामा हुन्छ। त्यसले गर्दा खेल क्षेत्र अपेक्षाकृत सुधार हुन सकेको छैन। मैदानमा हुँदा खेलाडी रेफ्रीभन्दा बढी जान्ने देखिन्छ। त्यसले मैदानमा थुप्रै अलमल हुन्छ। कतिपय अवस्थामा खेल नै स्थगन गर्नुपर्ने अवस्था आइलाग्छ।
धर्मेन्द्रले काठमाडौँ हुँदा जुम्लाको जस्तो खेल जीवन र व्यहोरा देखाएर सम्भव थिएन। आधारभूत तालिम नै नलिएर गाेल किप्पर हुन सम्भव थिएन। भनाइ नै छ, खेलाडीले मैदानमा एक फन्को मार्नुभन्दा किप्परले एक डाइब हान्दा बढी उर्जा खर्च हुन्छ। त्यसकारण आधारभूत तालिम नै नलिएका उनलाई गाेल किप्परको पाेजिसन फिट भएन। त्यसपछि उनले सुरु गरे फरवार्डको यात्रा।
'फरवार्ड पोजिसनमा खेल्न सक्छु कि भन्ने भयो। आँट पलायो। खेल्न सकियो पनि,' उनले भने, 'आधारभूत तालिम नै नलिएर किप्पर हुँदा इन्जाेर हुने सम्भावना हुँदाे रहेछ। त्यसैले पनि त्याे पोजिसन फिट भएन। जुम्ला हुँदा यो कुरा थाहा थिएन। ट्रेनिङ पनि नहुने ठाउँमा जसोतसो खेलियो भनौँ न।'
केही थाहा नपाए पनि राम्रो खेलिरहेका धर्मेन्द्र पछिल्लो समय जावलाखेल फुटबल क्लबबाट ए डिभिजन लिग खेलिरहेका छन्। हालसम्म जम्मा आठ वटा खेल खेलेका उनले एउटा पनि गोल गर्न सकेका छैनन्। यसको कारण उनले एउटा पनि खेल पूरा नखेल्नु हो। जम्मा पाँच/सात मिनेट मात्रै खेल्न पाउने उनी पूरा खेल खेल्न पाउने दिनको प्रतिक्षामा छन्।
जुम्लाबाट ए डिभिजन लिग खेल्ने पहिलो खेलाडी चन्दननाथ नगरपालिकाका योद्द शाही हुन् भने दोस्रोमा तातोपानी गाउँपालिकाका सन्तोष खत्री हुन्। तातोपानीकै धर्मेन्द्र तेस्रो खेलाडी बन्न सफल भएका छन्। जुम्लाबाट ए डिभिजन लिग खेल्ने तेस्रो खेलाडीमा सूचीकृत हुँदा उनी खुसीभन्दा पनि बढी भावुक छन्। कारण यसमा उनले आफ्नो करियरको खोजी गरिरहेका छन्। चुनौतीका थुप्रै पहाड छिचोल्नुपर्ने उनले बुझेका छन्। यो यात्रा सहज पनि छैन।
धर्मेन्द्रले फुटबलमा करियर खोज्ने अभियानको सुरुवात नेपालगन्जमा एन्फा प्रेसिडेन्ट लिग खेल्न गएपछि भएको हो। त्यसबेला उनको भेट जावलाखेल फुटबल क्लबका अध्यक्षसँग भएको थियाे। त्यही क्लबमा जोडिने विषयमा कुराकानी भएको थियो। पछि एन्फा जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष भरत बुढथापाले लिएर क्लबमा जोडिदिएका थिए।
त्याे थियो, एसईईपछिको कुरा। हाइट राम्रो थियो। तालिम लिएपछि केही वर्षमा खेल राम्रो बन्न सक्ला भन्ने थियो। पोजिसन चेन्ज हुँदा पनि उनको खेल राम्रो भयो। त्यसपछि उनलाई क्लबले ए डिभिजन लिगमा डेब्यु गरायो। 'त्याे दिन म निकै खुसी थिएँ। खुसीले रुन मात्रै सकिनँ। अहिले मैले धेरै लामो समय खेल्न त पाएको छैन। तर पनि देशको सबैभन्दा ठूलो लिगमा मेरो नाम जोडिनु नै सबैभन्दा मीठो संयोग हो,' उनले मन्द मुस्कुराउँदै भने।
मनाङ मर्स्याङ्दी, फ्रेन्च, हिमालयन शेर्पा, खुमलटारलगायतका क्लबहरुसँग आमनेसामने हुने मौका पाएकोमा उनी खुसी छन्। आगामी दिनमा अझ मेहनत गर्नुपर्ने कुरालाई राम्ररी बुझेका छन्। मेहनत गरेपछि आउँदो वर्षको खेलमा उनले पूरा समय खेल्न पाउनेमा आत्मविश्वास बलियो बन्दै गएको छ।
यो वर्ष जुम्लामा आयोजना भएका दुईवटा ठूला फुटबल प्रतियोगिताका उनी प्रतियोगी भए। उनले राम्रो प्रदर्शनी गरे पनि टिम अपेक्षाकृत राम्रो हुन सकेन। लेकाली युवा क्लबले खेलाएको अमृत स्मृति कपको एउटा खेलमा म्यान अफ द म्याचसमेत घोषित भए। टिम क्वाटरफाइनलभन्दा अगाडि जान सकेन।
दसैँ तिहारको बीचमा जुम्ला आएका उनलाई धेरै वर्षपछि भएको जुम्लामा खेल आयोजना हुनु सकारात्मक लाग्छ। तर खेल संस्कृतिको विकास नहुँदा कर्णाली क्षेत्रका खेलाडीले राष्ट्रिय स्तरमा प्लेटफर्म पाउने स्थिति बन्न सकिरहेको छैन। उनले भने, 'खेलाडीमा अनुशासन, मेहनत, धैर्यता र लगाब हुनुपर्छ। यही नहुँदा हाम्रो खेल राम्रो बन्न सकिरहेको छैन।'
चाँडै काठमाडौँ हिँड्ने तयारी गरिरहेका उनी अहिले चलिरहेको नेपाल सुपर लिकमा अनुबन्धित भएका खेलाडीसँग खेल्ने सोचिरहेका छन्। क्लबको फुटबल ग्राउन्डमा अभ्यास गर्न आउने खेलाडीसँग केही समय खेल्न पाएको खण्डमा आफ्नाे खेल सुधारमा सहयोग पुग्ने उनले ठानेका छन्।
हाल क्लबले उनलाई खाजा, यातायात खर्च दिन्छ। उनी पारिश्रमिक पाउने भइसकेका छैनन्। क्लबले उनी परिपक्व हुने दिन कुरेर बसेको छ। परिपक्व खेलाडी भएपछि उनले पारिश्रमिकसमेत पाउने छन्। दुई वर्षका लागि क्लबमा अनुबन्धित भएका उनले अझ धेरै मेहनत गर्नुपर्नेछ। उनले थपे, 'क्लबले मलाई निखार्दैछ।'
उनी क्लबको जिम्मेवारीमा पनि छन्। क्लबको एकेडेमी हेर्ने काम पनि गरिरहेका छन्। त्यहाँ कोचलाई सहयोग गर्ने र कोच नभएको बेला आफैँ सिकाउने काम हुन्छ। यस्तो गरेबापत उनलाई खाजा खर्च आउँछ। विभिन्न एज ग्रुपका बच्चाहरूलाई सिकाउने र आफूले पनि सिक्ने काम भइरहेको हुँदा अहिले पारिश्रमिक नपाउँदा पनि खुसी हुन सकेको उनले सुनाए।
पछिल्लो समय जुम्ला खेलाडीहरुको जिल्लाको रुपमा आफ्नाे परिचय बनाउँदैछ। एथलेटिक्समा अन्तर्राष्ट्रियस्तरमा परिचय बनाएको जुम्लाले खेलका अन्य विधामा पनि हात हाल्दैछ। फुटबलको राम्रो क्रेज भएको जिल्लाबाट राष्ट्रिय टोलीमा पुगेका खेलाडी छैनन्। धर्मेन्द्रको सपना छ, एक दिन त्यो स्थान हासिल गर्ने। 'सपना त राष्ट्रिय टोलीबाट खेल्ने नै छ। तर त्यो अहिले भन्ने बित्तिकै हुनेवाला छैन,' उनले भने, 'मैले कत्तिको मेहनत गर्न सक्छु, त्यसमा भर पर्छ।'
धेर्मेन्द्र कुन स्तरको खेलाडी बन्छन्, त्याे समयले बताउला नै। तर उनले आफ्नाे पूरा करियर खेल क्षेत्रमा देखेका छन्। त्यसका लागि रेफ्रीको ट्रेनिङ लिने, लाइसेन्स लिने प्रक्रिया अगाडि बढाउने सोचिरहेको उनले बताए। 'पहिलो प्राथमिकता भनेको खेल राम्रो बनाउने भन्ने नै हो,' उनले भने, 'नभए खेल क्षेत्रमा जीवन बिताउने तयारी गर्न लाग्छु।'
हिमाली भेगको चिसो सिरेटो खपेर बलियो बनेका धर्मेन्द्र आफ्नो खेल अपेक्षा गरेअनुरूप सुधार हुनेमा विश्वस्त छन्। भविष्यलाई उज्यालो ठान्ने उनी आशावादी प्रकृतिका छन्। त्यसले नै उनको आत्मविश्वास बलियो बनाइरहेको छ। बलियो आत्मविश्वासका साथ खेल मैदानमा पस्ने उनी पूरा खेल मैदानलाई नै आफ्नाे सुन्दार संसार बनाउन प्रयत्नशील छन्।
Keep practicing keep learning Best wishes Bhai♥️♥️