‘मिस यु मोजाको फुटबल’
आवरण तस्बिरः हाम्रो खेलकुद
सितिमिति मोजा नै नपाइने। सितिमिति मोजा लाउने मान्छे पनि नहुने। हाल आएर पुर्खाहरूले खाली खुट्टा भोट मधेस गर्यौं भनेको सुन्दा अचम्म लाग्ने। तर त्यहिँ वास्तविका थियो।
मोजा लगाउने चलन जुम्लामा ढिलो गरी आयो, जसरी जुम्लामा गाडी आउन ढिलो भयो। सुरूसुरूमा केही हुनेखानेले मात्र मोजा लगाउन थाले। तिनले लगाएका मोजा छिटो फाटिदिए हुन्थ्यो जस्तो लाग्ने। साँच्चै तिनले फाटेको मोजा फाल्दिए ठूलो गुन लाग्ने। फाटेको मोजा पाए साक्षत भगवानै भेटाएजस्तो ठूलो उपलब्धि हुने।
भाग्यले मोजा भेटाइयो। के गर्ने? टालटुल पारेर आफैं पो लगाउने कि? होइन। भरएभरका प्लास्टिक त्यसमा भर्ने। एकसरो मोजामा हालेका प्लास्टिकलाई जति सक्यो टाइड गरी बाँध्ने। मोजा लामो छ भने त्यसलाई ओल्टाइ पल्टाई गरी गोलो कुपिण्डो आकारको बनाउने। कसैको घरमा सियो धागो छ भने त्यसलाई नच्यातिने गरी सिलाउने। भुइँमा बजारेर एक मिटर जति उफ्रियो भने पिओर भै’गो।
यसरी कसैको फटालेर फालेको मोजाको एउटा बल बन्यो। अलि चौडा परेको बाटो छ भने त्यहीँनेर दुई वटा ढुंगा राख्यो। ती पोलमा परिणत हुन्थे। दुई जना साथी छन् भने सप्पा (राम्रो) भै’गो। रोख्यो बाजी। अनि सुरु गर्यो फुटबल नखेलिकनै पेनाल्टी सुट हान्ने काम। पाँच पाँच पटक पेनाल्टी हान्ने। जसले बढी गोल हान्यो उसैले कम गोल हान्नेको शरीरमा पाँच चोट हान्न पाउने।
बाटोबाट बढुवा भएको खेलाडी विस्तारै स्कुलका चौरदेखि नदी किनारका टापुसम्म खेल्न पाउने। त्यसरी नै फुटबलको योग्यता निर्धारण हुने। बाटो दोबाटोको पेनाल्टी सुट आउटबाट बढुवा भएर द्यारा चौर स्कुलसम्म पुगेको थियो ऊ। ऊ अर्थात युद्व शाही। जो हाल त्रिभुवन आर्मी क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलिरहेको छ।
०००
द्यारा चौर स्कुल भनेको अहिलेको जनज्योती मावि बारकोटेबाडा हो। त्यहिँ द्यार चौरमा, त्यहिँ मेहेनत लगाएर बनाएको मोजाको बलले एक पोष्टबाट अर्को पोष्टसम्म छकाउँदै लिएर गोल हान्यो भने सुपरस्टार खेलाडी पेले भइजान्थ्यो। एक हात उठाउँदै आफ्ना खेलाडी भएतिर आएर गोल सेलिब्रेसन गर्नु जतिको आनन्द सायदै होला।
ती दिन जति प्यारा र आनन्ददायक को होलान्? अहो कति स्वतन्त्र जीवन। स्वतन्त्रताको कावा खाउन्जेलसम्म उनलाई कहिले लागेन कि म पनि कुनै दिन ठूलो फुटबल छुन पाउने छु। खेल्नु त निकै परको कुरा।
‘मोजाको बल खेल्नेबेला संसार यही नै हो जस्तो लाग्थ्यो। पछि एक, दुई, तीन, चार नम्बरको बल हुन्छ भन्ने कुरा थाहा पाइयो। सबैभन्दा ठूलो बल पाँच नम्बरको हुन्छ भन्ने कुरा थाहा पाएपछि त अचम्म लाग्यो। तर मोजाको बल खेलुन्जेल पाँच नम्बरको बल खेल्न पाइएला सोचेकै थिएनौं,’ उनी मुस्कुराए।
जसरी कर्णालीमा गाडी आउन ढिलो भयो, जसरी प्रशव पीडामा छटपटाइरहेकी आमाको कोखबाट बच्चा आउन ढिलो भएको लाग्छ, जसरी प्रदेश गएका बाउ घर आउन ढिला हुन्छ, जसरी फाटेका मोजा पाउन ढिलो भएको थियो, त्यसरी नै ढिलो आएको जस्तो लाग्यो, पाँच नम्बरको फुटबल खेल्न पाउने दिन।
रोइ कराई गरेर बाआमासँग केही पैसा माग्यो। केही गरी नदिए खल्ति रित्तो हुने गरी चोर्यो। बरू बाले दुई झापड लाएर पान खाएका जस्ता राता गाला बनाइदिउन केही फरक परेन तर पाँच नम्बरको बल खेल्नैपर्छ! बरू बाका पाँच औलाका छाप गालामा परून् फरक परेन तर पाँच नम्बरको बल त चाहियो चाहियो! सायद लक्ष्मी प्रसाद देवकोटाको कवितांश ‘उद्धेश्य के लिनु उडी छुनु चन्द्र एक’ नै पाँच नम्बरको बल हुन पुग्यो। माध्यमिक तहमा पढ्दा पढ्दै भएको क्रान्ति हुनुपर्छ त्यो। त्यत्रो दुःख गरी बनाएको मोजाको फुटबलबाट बढुवा भएर पाँच नम्बरको बलसम्म पुग्नलाई। सारा जिन्दगी नै क्रान्ति भएपछि बुढुवा हुनु पनि क्रान्ति नै थियो।
त्यसबेला फुटबलका सारा नियम को कण्ठ गरोस्? विश्वमा फिफा र नेपालमा एन्फा छ भनी थाहा पाउन पनि के जरूरी भयो र? सिरिप यत्ति हेरिन्थ्यो कसले सुट हान्यो? कसले छकाएर गोल हान्यो? कसले बल हाइ उढाउन सक्यो? को हेड हान्नमा तकडा छ? कसले पेलेको थ्रो गोल पोष्टसम्म पुग्छ? यी एउटा फुटबल खेलाडीका लागि ‘ए प्लस’ ग्रेड भएको मार्कसिट बराबर थियो। उनले खाली खुट्टामा मोजाको बल पढ्दा पढ्दा चार जिपिए ल्याइसकेको थिए। उनी खेलाडी भए। चिनिएका खेलाडी। गाउँमा खेल्दा उनलाई आफ्नो टिममा पार्न चाहनेहरू बढे। टिममा पर्दिए उनीहरू खुसी हुन्थे। यसैबीच उनी जिल्लामा स्कुलस्तरीय फुटबल खेल्न छानिए। स्कुलको प्रतिनिधित्व गर्दै टुँडिखेलमा खेल्न गए।
‘ती दिनहरू साँच्चै उत्सापूर्ण थिए। आफूलाई धेरै ठूलो भएको महशुस हुन्थ्यो। त्यसबेला फुटबलका बादसाह पेलेको जिवनी पढिन्थ्यो। त्यसले यति धेरै हौसला दिन्थ्यो कि फुटबल नै प्राण हो जस्तो लाग्थ्यो,’ उनले जिल्लामा फुटबल खेल्दाका दिनहरु सम्झिए। जुम्ला जिल्लाको जनज्योतीदेखि चन्दननाथ माविमा १० कक्षा पढुन्जेल कुनै पनि प्रतियोगितामा उनी छुटेनन्। पढ्दा पढ्दै २०६० मा उनी नेपाल आर्मीमा भर्ती भए। त्यहिँ साल उनले कालिकोटको महादेव मावि फोइकोटबाट द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गरे।
आर्मीमा भर्ती हुनु अगाडि र भइसकेपछि पनि उनले स्थानीय लेकाली युवा क्लबबाट धेरै पटक फुटबल खेले। फुटबलको यो यात्रामा उनीसँगै उनका दाइ द्वन्द्व बहादुर शाही पनि थिए। एक पटक दाइसँगै खेल्दा उपाधि हासिल गरेका थिए। त्यसबेला लेकाली युवा क्लबले दशक पछिको अवधिमा उपाधि उचालेको थियो। दाइसँग उनको साथिको जस्तो सम्बन्ध छ। दाइकै प्रेरणाले उनी नेपाल आर्मीमा भर्ती भए।
सुर्खेतबाट उनी नेपाल आर्मीमा भर्ती भइ देश सेवाको यात्रा सुरू गरे। त्यसबेला उनी कराते पनि खेलिरहेका थिए। हाल उनी करातेका ‘टु डन’ हुन्। उनले करातेबाट थुप्रै उपाधि हाँसिल गरेका छन्। पूर्व झापामा रहँदा उनी सेलेक्ट भएर त्रिभुवन आर्मी क्लबमा थप खेलका लागि गएका थिए।
‘तर मेरो इभेन्ट फरक पर्यो। म सितोरियो करातेबाट थिएँ। क्लबमा सोतोकान मात्र थियो। के गर्ने? मन साह्रै कुडियो। दोधार दोधार भयो। त्यसबेला एक जना जर्साब हुनुहन्थ्यो। खै कताबाट हो मलाई फुटबल पनि खेल्छ भन्ने थाहा पाउनुभएको रहेछ। उहाँले ट्रायल दिन बोलाउनुभयो,’ उनले आफ्ना जर्साब विनोद विष्टलाई सम्झिदै भने, ‘त्यो केटाको हाइट पनि छ। एज पनि छ। खेल्न सक्छ। ट्रायल दिन लाउँ, भन्नुभएपछि मैले ट्रायल दिएँ। निकै राम्रो भयो। संयोग भन्नुपर्छ मेरो बाइसाइकल किकबाट गोलै भयो। सामान्य सोधपुछ पछि म छनोट भए।’
समयले कोल्टे फेर्यो। उनको फुटबल यात्रा सुरू भयो। उनी कर्णाली क्षेत्रबाट पहिलो खेलाडी हुन्, जो त्रिभुवन आर्मी क्लबका लागि छनोट भए। उनी छनोट हुने वित्तिकै चर्चा सुरू भइसकेको थियो, ‘कर्णालीको एक जना क्लबमा छनोट भयो रे।’ एक त सबैतिरबाट हेयको नजरमा परेको कर्णाली, त्यसमाथि इतिहासमा पहिलो पटक छनोट भएको युद्व शाही। फेरि चर्चा उनैको कानसम्म पुगेपछि लाग्यो, ‘छनोट हुँदा त यसरी छाति फुल्ने गरी चर्चा हुँदोरहेछ भने प्लेइङ सेटमा पर्दा कस्तो होला?,’ उनले त्यसबेलाको उत्साह जति अनुहारमा पोत्दै भने, ‘अब फुटबलमै केही गर्नुपर्छ भनि लागे। करातेबाट फुटबलमा मोडिएको मेरो जीवन यात्राका सुरुवाती दिनहरु यीनै हुन्।’
उनले त्रिभुवन आर्मीका लागि पहिलो खेल २०६५ मा भएको आहा रारा गोल्डकप खेल्दै आफ्नो फुटबल करियर सुरू गरे। त्यसयता उनी त्रिभुवन आर्मीका भरपर्दा डिफेन्डर मानिएका छन्। आर्मीले मोफसलका प्रतियोगिता जित्दा उनको महत्वपूर्ण भूमिका रहने गरेको छ। प्रथम माईभ्याली गोल्डकपको फाइनलमा थ्री स्टार विरुद्ध आर्मीको खेलमा उनको गोल नै निर्णायक भयो। आर्मीले उपाधि उचाल्यो। हाल उनले क्लबका सबै प्रतियोगिता खेलिसकेका छन्।
तथापी त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिग स्थापना भएयता एक पटक पनि उपाधि उचालेको छैन। तर दुई वटा संयोग भने मिलेका थिए। आजभन्दा १४ वर्ष अगाडि २०६३ साल जतिबेला उनी बेन्चमा थिए, त्यतिबेला च्याम्पियन हुन नेपाल पुलिस बाधक बन्यो भने यसपालि २०७६ मा उनी सम्मिलित टोली च्याम्पियन हुनलाई मछिन्द्र बाधक बन्यो। मुखमै आएको ट्रफीलाई चुम्न नसक्दा छुकछुक भने बाँकी नै छ।
‘२०६३ र २०७६ दुबै पटक क्लबलाई च्याम्पियन बनाउन नसकेर ठूलो पछुतो भयो,’ उनले भने, ‘खेलाडी, कोच, व्यवस्थापक सबै लागेर टिमलाई सफलताको शिखरमा पुगाउन सकेनौं। सुनौले अवसर गुमायौं। तर आगामी दिनमा कोशिस जारी रहने नै छ।’ हाल उनी ३४ वर्षका भए। त्रिभुवन आर्मी क्लबबाट खेलिरहेका सबैभन्दा बढी उमेरको खेलाडी उनै हुन्। तर उत्साह सोह्र वर्षे ठिटोको जतिकै छ।
हालसम्म देशबाट खेल्न नपाएका उनी २०७२ सालमा सुजुकी साफ च्याम्पियनसिप छनोटको लागि २८ जना भित्र समेटिएका थिए। दुखद संयोग भन्नुपर्छ त्यही समयमा उनी युएन मिसन जानुपर्ने भयो। उनको राष्ट्रको लागि खेल्ने सपना पुरा हुन सकेन। १४ महिना युएन मिसनका लागि दक्षिण अफ्रिकामा खटिए। त्यहाँ हुन्जेल फुटबलको तलतल लागिरह्यो, जसरी चुरोटको तलतत लाग्छ। फुटबलको धोको पुरा भएकै थिएन। उताबाट फर्किए लगत्तै फाल्गुनन्द गोल्डकप खेले। उक्त खेलको बेष्ट डिफेन्डर अवार्डद्वारा सम्मानित भए। त्यसले उनको खेल्ने कौसलमा कुनै कमी नआएको प्रमाणित गरिदियो। त्यसो त उनी धेरै जसो प्रतियोगितामा बेष्ट डिफेन्सबाट सम्मानित भइसकेका छन्।
उमेर ३४ पुगे पनि अझ २,३ वर्ष आर्मीबाट खेल जारी राख्ने उनको सोच छ। फुटबल खेलेरै कर्णाली चिनाएका उनी कर्णालीको फुटबलको लागि जीवन समर्पित गर्ने सोचमा छन्। ‘म फुटबल करिअरको उत्तरार्दमा छु। मैले खेल जीवनबाट प्राप्त गरेको अनुभव कर्णालीका लागि खर्चिन मन छ,’ उनले आफ्नो योजना सुनाए, ‘खेल जीवनबाट सन्यास लिइसकेपछि र आर्मीबाट रिटायर्ड हुने वित्तिकै कर्णालीमा फुटबल एकेडेमी खोलेर प्रदेशभरका फुटबलमा रुचि भएका र भविष्यको खोजी गर्नेलाई ट्रेनिङ गराई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने योजना छ। म सहयोगी हातहरु जुटाउने कोशिस गर्नेछु।’
उनका लागि सहयोगी हात भनेका सरकारी संयन्त्र हुन्। प्रदेश, प्रदेशमा रहेको एन्फा र स्थानीय तहहरू तथा फुटबल प्रेमीहरु हुन्, जो कर्णालीबाट प्रशस्त खेलाडीहरू जन्मेको हेर्न चाहन्छन्। ‘राज्यले विकट कर्णाली प्रदेशमा खेलकुद क्षेत्रमा लगानी गर्ने र अवसर दिने हो भने राष्ट्रका लागि खेल्ने उत्कृष्ट खेलाडीहरु कर्णालीको कुना कन्दरा, भिरपाखा आदि ठाउँबाट पनि उत्पादन हुन सक्छन्,’ उनले भने, ‘कर्णालीबाट म एक देखिएको खेलाडी मात्र हुँ। यहाँ म भन्दा अरु राम्रा र सम्भावना बोकेका खेलाडीहरु छन्। उनीहरुको पहुँच पुर्याउन पनि हामी लाग्नुपर्ने देखिन्छ।’
कर्णालीको खेल क्षेत्रको विकास गर्न सम्पूर्ण सरकारी संयन्त्र चलायमान हुनुपर्ने उनको मत छ। जसले आगामी दिनमा कर्णाली प्रदेशबाट प्रशस्त खेलाडीहरु उत्पादन गर्न सकियोस्। कोरोना माहामारीको बीचमा जुम्ला पुगेका उनी हाल स्थानीय क्लबबाट खेलिरहेका खेलाडीलाई आफूले खेल्दा सिकेका प्राविधिक सीपहरु सिकाउन लागिरहेका छन्। यसरी नै समग्र कर्णालीको खेल क्षेत्रको विकासको लागि समय खर्चने उनको सोच छ।
०००
मोजाको फुटबल खेल्दै पाँच नम्बरको बल खेल्न लागेका उनको संगोगले जर्सी नम्बर पनि पाँच नै छ। उनी हालसम्म पनि मोजाको फुटबललाई मिस गरिरहन्छन्, ‘आइ मिस यू मोजाको बल’। उनले भिजिट जुम्ला होटलमा अन्तिम वाक्य बोल्दा हामीले मःमको मिठो सुप सुरूपसुरुप पार्दै कचौरा रित्यायौं।