यो देश मानिसहरुको मात्रै होइन। वास्तवमा नेपाल जनावर र चराचुरुङ्गी अनि हिमालयको देश पनि हो।
हरेक वर्ष मीनपचासताका झण्डै १ सय ५० प्रजातिका चरा रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलिया, कोरिया, तिब्बत अनि युरोप क्षेत्रबाट नेपाल आउने गर्छन्।
यतिबेला पश्चिम नेपालको एउटा पुरानो सहर नेपालगञ्ज म्याराथनका लागि चर्चामा छ। ईसापूर्व ४९० ताका यूनानको एथेंस सहरमा २६ माइल दूरीको दौड एक सैनिकले पूरा गरेका थिए। त्यो युग यूनान-पर्सियन/फारसी सैनिकबीचको युद्ध थियो। करिब १० हजार यूनानी सैनिकले १ लाख फारसी सैनिकलाई पराजित गरेका थिए। त्यही खुसीको खबर सुनाउन ‘फिडिपीडेस’ नामका एक सैनिक नरोकिएर २६ माइल दौडेर एथेन्स पुगेर खुसीको खबर सुनाएको इतिहास सम्झाउँछ।
नेपालगञ्जमा हुने म्याराथनले भने देशमा भएको शसस्त्र द्वन्द्व अन्त्य भएको स्मरण गराइरहन्छ। नेपालगञ्ज म्याराथनले नेपाल सरकार र नेकपा माओवादीबीच वि.सं. २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौता भएको कुरा स्मरण गराउँछ।
ग्रीस र परेसियनबीच भीषण युद्ध भएको थियो। एक ठाउँ पनि नरोकिएर दौडेका फिडिप्पिडिसले सभा स्थलमा पुगेर भनेका थिए ‘नेनिकेकामेन अर्थात्, Joy to you, we've won’ यो कुरा ई.पू. ४९० ताकाको हो। विडम्बना म्यराथन युद्ध जित्यौं भनेर खबर गर्ने उनी त्यहीँ लड्छन र मृत्युवरण हुन्छ। फिडिप्पिडिस एक सैनिक म्यासेन्जरसमेत थिए। बोष्टर्न, न्युयोर्क, शिकागो, लण्डन र बर्लिन संसारका उत्कृष्ट म्याराथनका लागि चर्चित प्रतियोगिता हुन्। तर, सन् २००६ मा रनर्स सम्पादक मण्डलले थप केही म्याराथनलाई उत्कृष्ट चुने। ती थिए एमष्टर्डम, होनुलुस, पेरिस, रोटर्डम र स्टकहोम म्याराथन।
त्यसैगरी अमेरिकाको मरिनकोर, लसएञ्जल्स, रोम र बोस्टन म्याराथन कहलिएका प्रतियोगीता हुन्। युरोपको पुरानो म्याराथन कोसिच शान्ति म्याराथन हो। जुन सन् १९२४ देखि स्लोभाकियामा चल्दै आइरहेको प्रतियोगिता हो।
सन् १९२१ मा म्याराथनको मापदण्ड दूरी तय गरिएको हो। म्याराथन अर्थात् ४२.१९५ किलोमिटरको दौड। एथेन्सको म्याराथनका विषयमा यूनानी इतिहासकार प्लुटार्कको पुस्तक ‘एथेन्स कृति’मा विस्तृत पढ्न सकिन्छ। प्लुटार्कका चर्चित दुई कृति हुन Parallel Lives र Moralia।
नेपालगञ्ज गर्मी र जाडोमा एक तमासले गुल्जार हुने सहर हो। तर, संघीयताको कार्यान्वयन सँगै नेपालगञ्ज कर्नरमा पुग्यो। राज्यसत्ताका क्षेत्रीय-केन्द्रहरु नेपालगञ्जबाट स्थानान्तरण भए। देशमा चलेको शसस्त्र द्वन्द्वताका नेपालगञ्ज विभिन्न कारणले केन्द्र थियो। राँझामा रहेको सेनाको ब्यारेकले राज्यसत्तालाई टेवा दिन्थ्यो। हेलिकप्टर र जहाजबाट आउजाउ गर्ने सेना तथा विदेशी दातृ निकायको ओहरदोहरले नेपालगञ्ज चलायमान देखिन्थ्यो। मानव अधिकारको रक्षा, घाइते विद्रोहीहरुको उपचारको बाटो पनि नेपालगञ्ज थियो। हातहतियार ओसारपसार, चन्दा संकलन र विद्रोहीको भारत छिर्ने गतिलो नाका थियो, नेपालगञ्ज।
युद्धमा घाइते माओवादीहरु यहींको बाटो भएर लखनउमा उपचार गाउन जाने गर्दथे। कतिपय कर्णाली क्षेत्रका सरकारी कार्यालय र गैह्रसरकारी संस्थाका अधिकांश गतिविधि नेपालगञ्ज बेस थिए। होटेल र एयरलाइन्सको चमक बेग्लै थियो।
मिडियाका लागि पनि नेपालगञ्ज उर्वर श्रोत थियो। नेपालगञ्जका बाइलाइन काठमाडौँमा खुबै बिक्री हुन्थे। युद्धका फोटो फिचर खुबै चलेका थिए। तत्कालीन विद्रोही पक्षका लागि नेपालगञ्ज सेल्टर नेपाल-भारत सीमाका कारण पनि उपयुक्त थियो। भारतीय सञ्चार माध्यम पनि नेपालगञ्जका पत्रकारहरुसँग निरन्तर सम्पर्कमा रहन्थे।
शान्ति सम्झौता भएको स्मरणमा त्यही नेपालगञ्जमा म्याराथन प्रतियोगिता बर्षेनि आयोजना हुन्छ। आयोजकहरुलाई व्यवस्थापनको समस्याका अग्ला पर्खाल छन्। नजिकबाट हेर्नेहरुले यो इभेन्टलाई आर्थिक नाफा-नोक्सानका दृष्टिबाट पनि केलाउँछन्। कतिपयले नजरअन्दाज पनि गरिरहन्छन्। मानिसका समूहका बेग्ला बेग्लै नजरिया छन्, अनि त्यहाँ निहित स्वार्थ पनि पक्कै रहन्छन, स्वाभाविक हो। तर, सहरमा यतिको स्तरको अन्तराष्ट्रिय मान्यताप्राप्त इभेन्ट आयोजना हुनु सकारात्मक विषय हो।
इभेन्ट आयोजना गर्ने कम्पनी वा आयोजकले अपनाउने पारदर्शीता उस्कैलागि बलियो पक्ष हो।
नेपालगञ्ज म्याराथनले यो संस्करणमा म्याराथनको अघिल्लो दिन आयोजना गर्न लागेको कनक्लेभले समाजका विविध विषयलाई उठान गर्ने छ। साहित्य, खेलकुद, पर्यटन, स्वास्थ्य, उद्यमशिलता, महिला शशक्तीकरण र युवा उद्यमशिलताका आवाजसहितका विविध पक्षमा चर्चा हुने तयारी समाजका लागी सकारात्मक सुरुवात मान्नुपर्छ।
अन्त्यमा कुनै पनि ठाउँ विषेशमा आयोजना गरिने प्रतियोगीताले त्यहाँको स्थानीय परिवेशलाई राष्ट्रिय र अन्तराष्ट्रिय तहमा प्रस्फुटन गराउने अवसरका रुपमा अपनत्वबोध गराउने आशा र विश्वास रहन्छ।