महामारीमा एउटा फोटोपत्रकारले उनेको जीवनमाला

वर्ष २०१९ का पात्रोका पानाहरू सकिँदै गर्दा चीनको वुहानमा केही मान्छे बिरामी पर्दै थिए। केही दिन होइन, केही घण्टामै त्यो बिमारले सारा सहर लपेटिसकेको थियो।

वुहान सहर एकाएक ‘लकडाउन’ भयो। पूरै सहर थुनिएको त्यो समाचार संसारभरि ‘हेडलाइन’ बनिरहेका थिए।

यो पुस्ताले सायद पहिलोपल्ट सुनेको थियो ‘लकडाउन’, जहाँ लाखौँ जीवन थुनिएका थिए। अस्पतालमा थिए, अनि अन्तिम संस्कारका लागि पालो कुर्दै थिए।

सँगै यो नयाँ विश्व पुस्ताका लागि एउटा नयाँ शब्द थियो, ‘कोरोना भाइरस’। जसलाई केही दिनपछि विश्व स्वास्थ्य संगठनले ‘कोभिड- १९’ भनेर न्वारान गरिदियो।

थाहा थिएन, यो एउटा शूक्ष्म भाइरसले सारा विश्व बिथोलिदिन्छ, भइदियो त्यस्तै। लाखौँ मान्छेको जीवन निलेको यो भाइरसले त्यो बेला विश्वका कैयौं देशको स्वास्थ्य प्रणालीको मात्रै भेद खोलेन, विश्व राजनीतिमै एउटा नयाँ तरंग पनि ल्याइदियो।

०००

वुहानको लकडाउनमा अलमलिएका केही नेपाली विद्यार्थीलाई ल्याएर भक्तपुरको एउटा तालिमकेन्द्रमा हुलेपछि नेपालमा पनि त्यसले प्रवेश पाइसकेको थियो।

त्यसपछि फ्रान्सबाट नेपाल फर्किएकी एकजना युवतीमा त्यही भाइरसको संक्रमण पुष्टि भयो। नेपालमा पनि लकडाउन भइदियो।

पहिलोपटक लकडाउन झेलिरहेको नेपाल त्यो बेला पूरै सन्नाटा थियो। मास्क र क्यामेरा भिरेका केही पत्रकारहरू अनि प्रहरीहरूबाहेक सडकमा लगभग मान्छेको नामोनिशान थिएन।

सुनसान सडक अनि मान्छेबिना सडक किनारामा मौलाएका फूल र बोटबिरुवाका बीच ‘महामारी कभर’ गर्न दौडिरहने यी फोटो पत्रकारमध्य एक थिए, केशवराज थोकर पनि।

एकातिर पत्रकारहरूको जागिर गइरहेको थियो, अर्कोतिर भाइरसको संक्रमणले मान्छे ढालिरहेका थिए। कतिपय पत्रकारहरू पनि ‘आइसोलेट’ थिए, उनीहरूका परिवार क्वारेन्टाइन थिए। आफू आफैँसँग अनि आफन्तहरूसँग टाढा भएको पल थियो त्यो।

सारा जीवन थुनिएको त्यो पलमा केशवहरू भने क्यामेरा भिरेर संक्रमितका हुल छिचोल्न कुदिरहन्थे। आफन्तले पनि अंगालेर रुन नपाएका लाशहरूको तस्विर कैद गर्दा उनीहरूको मन कस्तो हुन्थ्यो होला? पशुपतिका घाटमा जल्न नपाएका लाशहरूको थुप्रो टाढाबाट हेरिरहेका आफन्तको आँसुले भिजेका ‘मास्क’भित्रको पीडा खोतल्ने यिनै थोकरले ल्याइआएका छन्- ‘लाइफ इन पेन्डामिक’ अर्थात् महामारीमा जीवन।

थोकरको यो किताबमा केही अक्षर छन्, थोरै शब्दहरू छन्। र, ती अक्षर र शब्दहरूले भन्दा धेरै बोल्ने तस्बिरहरू छन्। लाग्छ, उनले क्यामेरामा कैद गरेका एउटै तस्बिरले सिङ्गो किताबका शब्दहरू बोकेका छन्। अझ भनौं एउटा तस्बिरले महामारी झेलेका लाखौं मान्छेका कथा बोलेको छ, अनि एउटा लाशको तस्बिरले महामारीले निलेका लाखौं मान्छेको जीवन उधिनेको छ।

महामारीको उग्रताबीचमै हामीले पत्रकार सुन्दर खनालको नेतृत्वमा सुरु गरेको आयोमेल डटकममा थोकर पनि जोडिएका थिए। त्यो बेला नेपालमा कोरोना महामारीको संक्रमण लगभग निख्रिनै लागेको थियो।

तर, त्यसका माम्राहरू उप्किरहेका थिए, देशको अर्थतन्त्र, राजनीति अनि खलबलिएको सारा जीवनले लय समात्दै थियो। हामी सँगै मिलेर यी दृश्यका कथाहरू पनि थुप्रै लेख्यौं।

तस्बिरमा कथा खोज्ने थोकर अनि कथामा शब्दाकार खोज्ने म आफैं थिएँ। उनको एउटै तस्बिरमा मैले धेरेपटक हजारौँ शब्द बुनेको छु, त्यो एउटा तस्बिरलाई मैले कैयौं शब्द र अक्षरहरूमा टुक्रा पारेको छु।

लाग्थ्यो, थोकर एउटा चित्र वा फोटोमात्रै खिच्दैनन्, बरु त्यो भित्रै हजारौँ शब्द कोर्न मिल्न एउटा सिङ्गो क्यानभास लिएर आउँछन्।

केही महिनाको हाम्रो सहकार्य एउटा फोटो पत्रकार र शब्द लेख्ने पत्रकारका रुपमा मात्रै रहेन बरु अझ ब्यावसायिक र आत्मीय पनि रह्यो।

पत्रकारको जागिर न हो, कहिले कता कहिले कता। अहिले हामी सँगै छैनौं, तर कर्मका बीच घुमिहिँड्ने र यही खाल्डो हो जहाँ थोकरसँग ठोक्किइरहनुपर्छ।

आयोमेलमा म पनि अघिल्लो मिडिया छोडेर आएको थिएँ, उनी पनि। अहिले त्यो पनि छोडेर म बिएल मिडियामा छु।

केही समयअघिको एउटा चियाभेटमा उनले भनेका थिए- म त ‘स्वतन्त्र’ भएँ। मान्छेको स्वतन्त्रताको ब्याख्या आ-आफ्नै छन्।

खै र!

प्रश्न गरें- के गरिरहनुभएको छ त?

‘यो बीचमा एउटो फोटो बुक तयार गरें’ थोकरले भने ‘रिलिजका बेला आउनुहोला…।’

केही दिनपछि उनको निम्तोमा पुगें। लागेको थियो, उनले फोटोकारिताको जीवनभरि खिचेका केही रोचक अनि उत्कृष्ट तस्विरहरूको संग्रह होला।

किताब हातमा परेपछिमात्रै थाहा भो- ‘लाइफ इन पेन्डामिक’ मात्रै फोटोहरूको संकलन थिएन बरु त्यो त मानव जीवनले भोगेको एउटा निकै पीडापूर्ण समयको दस्तावेज थियो।

लाग्यो, महामारीभरि थोकरले आफू नथाकी नथाकी, परिवार अनि आफन्तको पीडाले पनि नथाकेर बरु महामारीबाट थलिएका अनि त्यसबाट थाकिएका जीवनका कथा भरिएका तस्बिरहरू थिग्रिएको किताब हो यो।

वुहानबाट ‘उत्पत्ति’ भएको भनिएको यो भाइरसले विश्व शक्ति राष्ट्रबीच तनावमात्रै ल्याएन, एक प्रकारको ‘वाकयुद्ध’ नै छेडिदियो।

आफ्नो आनिबानी फेर्दै मान्छेको जीवनभित्र घुसिरहेको यो भाइसरको संक्रमण नियन्त्रण गर्न विश्वका धेरै स्वास्थ्य वैज्ञानिकहरू ‘भ्याक्सिन’ बनाउन जुटिसकेका थिए।

वुहान अनि अरु पनि सहरमा रातारात हजारौँ बिरामी अट्ने अस्पताल बनाएर अनि सारा सहरलाई थुनेरै भएपनि चीनले लगभग कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्दै थियो।

तर, त्यो त्यहाँबाट उन्मत्त भई सारा विश्वभरि सल्किरहेको थियो। अनि पूरै विश्व आफ्ना सारा शक्ति त्यसलाई रोक्ने भ्याक्सिन बनाउन लागिपरेको थियो।

जब भ्याक्सिन सुरु भयो अनि त्यसले फेरि अर्को लडाइँ ल्यायो- भ्याक्सिन वार। भ्याक्सिन डिप्लोमेसी। भ्याक्सिन युद्ध र त्यसको कुटनीतिले पनि विश्व विभाजित बनाइदियो।

सारमा भन्दा एउटा शूक्ष्म भाइरसको विश्वयात्राले धरतीका सारा जीवन बिथोलिदियो।

त्यही बिथोलिएका जीवनलाई तस्बिरमा उनेर थोकरले ल्याएको यो किताब हो- एउटा जीवनमाला।

लकडाउनमा थुनिएका जीवनदेखि, भोको पेट, खाली खुट्टा लतार्दै घर भेट्न सयौँ माइलको यात्रा तय गरेका मान्छेका तस्बिरकथाहरू छन् यसभित्र।

खलबलिएको देश, बिथोलिएको सहर अनि त्यसका कथाहरू बोल्ने तस्बिरहरू उनले एउटा सुन्दर क्यानभासमा टाँसेका छन्।

सुरुवातमा अनेकौं अफवाहहरू फैलिए। ‘हावाबाट पनि कोरोना सर्छ’ भन्ने हावा कुरा त हावासरी नै फैलिइसकेको थियो।

संक्रमितलाई छुन पनि डराइरहेका स्वास्थ्यकर्मीहरू अनि लाश पनि छुन डराइरहेका आफन्तहरूको कथा कम्ता हृदयविदारक थिएन।

स्वास्थ्यकर्मीलाई सुरक्षा कचव थिएन (पिपिइ), शरीरमा प्लास्टिक बेरेर संक्रमितलाई स्याहारीरहेका स्वास्थ्यकर्मी अनि कोरोनाले ढालेका जीवन प्लास्टिकको कात्रोमा लपेटेर घाट लगिरहेका नेपाली सेनाका जवानहरू।

पशुपतिका घाटहरू भरिसकेका थिए, डिलमा पर्खिरहेका लाशहरू पुर्न बागमतीको किनारा खोस्रिरहेका डोजरहरूका दृश्य आफैँमा काफी थिए, महामारी झेलिरहेको देशको कथा बोल्न।

कोरोनाले छोएका मान्छे र त्यसले निलेका मान्छेहरू खोज्दै हिँड्ने थोकर आफ्नै गर्भवती श्रीमतीसँग टाढिएर बस्छन्।

कतिबेला गर्भवती श्रीमतीलाई पनि छोइसकेछ भाइरसले पत्तै भएन।

महामारीलाई मजाक बनाइरहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बेसार घसेका मान्छेहरूको तस्बिर खिच्न दौडिरहेका थोकर आफ्नै प्रिय मान्छेसँग झन टाढिए।

झ्यालका चरबाट बाहिरी संसार चियाइरहेकी आफ्नै श्रीमतीको पीडाले भरिएका आँखीडिलहरू पनि उनले कैद गरेका छन्।

मुटुमै राखेको मान्छेका यस्ता तस्बिर खिच्दा आफैंभित्र उम्लिरहेको पीडालाई पोको पारेर फेरि उनी बेसार घसेका शरीर पखाल्न प्रहरीले हिर्काइरहेको पानीका फोहरा खिच्न दौडिन्छन्। फोहरासँग जुधिरहेका आमनागरिकका तस्बिर कैद गर्दा उनी आफैं पनि ढलेका छन्, धेरैपटक।

म्हेन्दो ट्रस्टले प्रकाशन गरेको यो किताबमा कोरोना घुसेको मौन सहरको कथा छ। जहाँ मान्छेहरू आफ्नै घरभित्र थुनिएका थिए। आफन्तहरूसँग टाढिएर ‘क्वारेन्टाइन’ अनि ‘आइसोलेसन’मा थिए। सन्नाटाले भरिएको सहर मौन थियो, तर भित्रभित्रै पोलिइरहेको।

मान्छेबिनाका सहर र सडकका डिलहरूमा पलाउन थालेका कलिला मुनाहरू स्नीग्ध थिए।

कोरोनाले उघारेको देशको स्वास्थ्य प्रणालीको कथाहरू बोल्ने कैयौं तस्बिरहरू थोकरले ‘चरम संकटमा स्वास्थ्य सेवा’भित्र समेटेका छन्।

जहाँ आफ्नै ज्यान बाजी थापेर संक्रमित स्याहारिरहेका स्वास्थ्यकर्मीका छन्।

कोरोनाले सकेका जीवनका कथाहरू बोल्ने तस्बिर ‘कारुणिक दाहसंस्कार’को शीर्षकमा उनिएका छन्। जहाँ आफ्नै प्रियजनको लाश अंगाल्न नपाएकाहरू अनुहारहरू, जलिरहेका लाश र त्यसलाई जलाउनेहरूका कथा छन्।

कोरोनाले अलग्याएका गर्भवती महिलाका कथाहरूलाई समेट्न उनले आफ्नै श्रीमती साङ्मो योन्जन तामाङका कारुणिक र हृदयस्पर्शी तस्बिरहरू आफैँले कैद गरेका छन्- ‘गर्भवती महिलाहरूको आइसोलेसन’ भित्र।

महामारीलाई मजाकमा उडाइरहेको सरकार अनि त्यसको नेतृत्वकर्ताविरुद्ध महामारी छिचोल्दै सडकमा ओर्लिरहेका आम नागरिकको तस्बिरहरूलाई पनि यो पुस्तकमा अटाएका छन्- ‘सरकारविरुद्धको प्रदर्शन’मा।

ज्यान थापेर कर्म नहार्नेहरूको कथालाई उनले फरक-फरक दृश्यमार्फत् देखाउन खोजेका छन्। जहाँ स्वास्थ्यकर्मीहरू, प्रहरी, सेना, सरसफाइकर्मी अनि पानी र दूध पुर्‍याइरहेकाहरूका तस्बिर छन्- ‘अग्रपङ्तिका लडाकुहरू’भित्र।

अनि कोरोना छेक्न टोलटोलमा तेर्स्याइएका बाँसका घाराहरू, प्रवेश निषेध गरिएका टोलका तस्बिरहरू, मान्छे बिनाको सडकमा भोकले रन्थनिएका कुकुर, बाँदर अनि चराहरूलाई चारा र आहार खुवाइरहेका ‘प्रेमिल मन’हरू, भोकभोकै-खाली खुट्टा सयौ माइलको यात्रा तय गरिरहेका मान्छेहरूको लस्कर, सडक खाना बाँडिरहेकाहरू अनि सडकमै खाना खाइरहेका मान्छेहरूका कथालाई उनले ‘कोरोना कालका अनपेक्षित पलहरू’मा गाँसेका छन्।

महामारीका पलहरूमा गाँसिएका यी जीवनमालामा केही अंशहरू छुटेका छन्, जसले त्यो बेलाको अझ घतलाग्दा अनि स्मरणीय कथाहरू बोल्छन्।

तर, थोकरले वाचा पनि गरिसकेका छन्- अर्को संस्करणको यो जीवनमाला अझ जीवन्त हुनेछ, मान्छेको जीवनले सामाना गरेको यो महामारीको कथाका सम्झनाहरू।

प्रकाशित मिति: : 2023-11-18 20:30:00

प्रतिकृया दिनुहोस्