आठबीसकोटबाट तीन जनालाई उद्धार गरी सुर्खेत लगियाे 

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाबाट तीन जना घाइते उद्धार गरिएको छ। भूकम्पमा परी गम्भीर घाइते भएका तीन जनालाई सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत ल्याइएको छ। 

आठबीसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले गम्भीर घाइते तीन जनालाई सुर्खेत पठाइएको जानकारी दिए। 

आठबीसकोटमा भूकम्पमा परी ६३ जना घाइते भएका छन्। जसमा दुई जनाको मृत्यु भएको छ। ४५ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। १३ जना सामान्य उपचारपछि घर फर्किएका छन्। 

जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रबिन्दु भएर गएराती पौने १२ बजे ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो। यस भूमकम्पबाट रुकुमपश्चिमको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिका बढी प्रभावित भएका छन्। 

भूकम्पबाट केही घर भत्किएका छन् भने नचर्किएका घर कमै रहेको प्रमुख प्रशासकीय अधिकृत शाहले बताए। 
 

प्रकाशित मिति: : 2023-11-04 09:56:00

प्रतिकृया दिनुहोस्