तीज आउनुभन्दा अघिदेखि रित्तिएका पसलहरूमा चिनी अझै छैन। चिनीबिनै दसैं बिताएका नेपालीको तिहार पनि चिनीबिनै बित्नेछ।
सरकारले प्रयास गरिरहेको भनेको छ तर अझै बजारमा चिनी छैन। केही ठाउँबाट सरकारी अनुगमन टोलीले बरामद गरेको चिनी बजारमा पठाएर त्यसको अभाव पूर्ति गर्न खोजे पनि सरकारको यो प्रयास अझै पूर्ण छैन।
त्यो चिनीले एकाध उपभोक्तालाई पनि पुग्दैन। त्यसमाथि तिहार र छठजस्ता पर्वहरूमा चिनीको अधिक खपत हुनसक्छ।
भारतले गत जुन महिनादेखि नै चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि यो चालु आर्थिक वर्षमा चिनीको एक गेडा पनि नेपाल भित्रिएको छैन। भारतबाहेक तेस्रो मुलुकबाट चिनी ल्याउन नेपाललाई निकै महंगो भार पर्छ।
सरकारले पनि भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा नगर्दासम्म नेपाली बजारमा चिनीको अभाव टार्न नसकिने भन्दै अर्को विकल्प नै नभएको भनिसकेको छ।
केही दिनअघि संसदीय समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले भारतबाहेक चिनी आयात गर्नका लागि विकल्पमा अरु देश नभएको स्पष्ट पारिसकेका छन्।
कति हुन्छ नेपालमा चिनी?
३२ वर्षअघि नेपालमा उत्पादन हुन थालेको चिनीले अहिलेसम्म पनि नेपाली उपभोक्ताको एक हिस्सा आवश्यकता पनि पूरा गर्न सक्दैन। त्यो बेलादेखि अहिलेसम्म नेपालमा १३ वटा चिनी मिलहरू खुलेका छन्। तीमध्ये आधाजति बन्द भइसकेका छन्।
चलिरहेका चिनी मिलमा पनि पर्याप्त उखुँ पुर्याउन नेपाली किसानसँग उत्पादन छैन। तिनै मिल पनि किसानको पैसा तिर्न नसकेर उत्पादक कम गरिरहेका छन्।
सरकारको तथ्याङ्कअनुसार नेपालमा वार्षिक लगभग १ लाख ३० देखि ४० हजार टनसम्म चिनी उत्पादन हुन्छ। तर अघिल्लो वर्ष त्यो उत्पादन घटेर लगभग १ लाख २७ हजार टनमात्रै चिनी उत्पादन भएको थियो।
तर नेपाली उपभोक्ताले वार्षिक लगभग २ लाख ८० हजारदेखि ३ लाख टनसम्म चिनी खपत गर्छन्। त्यो भनेको घरेलु उपभोक्ता र औद्योगिक प्रयोगका लागि पनि खपत हुन्छ। नेपालमा उत्पादन भएको चिनीले नपुगेको बाँकी चिनी यसअघि भारतबाट आयात हुन्थ्यो।
तर यसपालि भारतले चिनी बाहिर देशलाई नबेच्ने निर्णय गर्यो। गत जुनदेखि भारतले अर्को देशलाई चिनी दिएको छैन।
रुस र युक्रेन युद्ध चर्किएपछि अवरुद्ध विश्वव्यापी आपूर्ति चक्रका कारण भारतले आफ्नै देशलाई नपुग्ने ठानेर चिनी निर्यात रोकेको हो।
भारतले आगामी २०२४ को जुन अन्तिमसम्ममा चिनी बेच्ने छैन। तर नेपालजस्ता छिमेकी देशले आवश्यक पहल गरेमा र विशेष अनुरोधमा चिनी दिनसक्छ।
नेपालले यसअघि नै आफ्ना व्यापारिक संस्थान साल्ट ट्रेडिङ र खाद्य कम्पनीलाई दश/दश हजार मेट्रिन टन चिनी ल्याउन र त्यसको भन्सार छुट दिने निर्णय गरेको थियो।
तीजअघि नै यी कम्पनीहरूले भारतीय डिपोहरूलाई पत्राचार गरेर यहाँ टेन्डर खोले पनि भारतीय पक्षले कुनै जवाफ दिएको छैन।
सरकारले शुक्रबारमात्रै भारतलाई फेरि २५ हजार मेट्रिकटन चिनी दिनका लागि पत्राचार गरेको छ। त्यसको सकारात्मक प्रतिक्रिया पाएको र जिटुजीमार्फत त्यो चिनी तिहारअघि नै ल्याउने प्रयास भइरहेको आपूर्ति मन्त्रालयले जनाएको छ।
अहिले विश्व बजारमै चिनीको मूल्य आकाशिएको छ। निरौलाका अनुसार हाल अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य लगभग ७४५ अमेरिकी डलर प्रतिटन छ।
त्यसअनुसार भारतबाहेक तेस्रो देशबाट चिनी आयात गर्दा नेपाललाई त्यसको खरिद मूल्य नै १५०रुपैया भन्दा बढी पर्नजान्छ। त्यसलाई नेपाल ल्याइपुर्याउँदा त आयातकर्तालाई नै एक किलो चिनीको २ सयभन्दा धेरै पर्न जान्छ।
‘त्यसैले अब भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा नगर्दासम्म नेपालमा चिनी अभाव टार्न मुस्किल छ’ निरौला भन्छन् ‘तेस्रो मुलुकबाट ल्याउन एकदमै महंगो पर्न जान्छ र अहिले त्यो सम्भव पनि छैन।’
उपभोक्ताको हैरानी
चिनीको खोजीमा भौतारिरहेकी कान्छी कार्की कालिमाटीको साल्ट ट्रेडिङ कर्पोरेसनको डिपोमा भेटिइन्। डेढ घण्टा ‘लाइन’ मा बसिन् अनि दुई केजी चिनी किनिन्।
८२ वर्षकी कान्छीलाई असनबाट कालिमाटी धाउने रहर त थिएन तर घरमा चिनीको अभाव झेलेको थुप्रै समय बितिसक्यो। चियाको लतले उनलाई घरमा बसिरहनै दिएन।
‘बुढी भइसकें, चिया नपिइकन बस्नै सक्दिनँ। झनै अहिले त चिसो बढेको छ, चिया नखाइकन त हुँदै हुँदैन’, उनी भन्छिन्, ‘जाँड-रक्सीको खादिनँ, त्यसैले मलाई त चिया नै चाहिन्छ।’
चिनीको अभावको चिया मात्र होइन तिहार नै खल्लो भएको उनको गुनासो छ।
‘दसैंमा चिनीको त्यति धेरै आवश्यकता हुँदैन तर तिहारमा मिठाई पकाइन्छ, त्यसको लागि चिनी नभई हुँदैन’, बिएल नेपाली सेवासँग उनले भनिन्, ‘यो पटकको तिहारका रोटी पनि कस्ता पो हुनेहुन्।’
हुन त सेलरोटीलगायत विभिन्न परिकारको मिठाइ बनाउनका लागि मिस्री र सख्खरको पनि प्रयोग गरिन्छ। तर त्यसले चिनीको स्वाद नदिने कान्छीको ठम्याइ छ।
‘मिस्री किनेर साध्यै छैन, सख्खरले चिनी जसतो स्वाद दिदैंन अनि कसरी मनाउने हामीले तिहार...? यो पटकको तिहारै खल्लो हुने भयो’, थकित स्वरमा उनले भनिन्।
दुई किलो चिनी किन्न लाइनमा उभिरहेकी सीता अधिकारीको पनि उस्तै चिन्ता छ।
तिहारमा मिठाइको परिकार पकाउन नपाउने होकि भन्ने उनको ठुलो पीर छ। दसैं जसोतसो मनाएपनि तिहार भने चिनी बिना खल्लो हुने उनको भनाइ छ।
‘दसैं त मनायौं अब तिहारमा कसरी चिनी पुर्याउने होला?’ उनले सुनाइन्।
दसैं-अगावै बजारमा चिनीको हाहाकार भएपनि तिहारसम्म चिनी जताततै पाइने उनको विश्वास थियो तर अहिले पनि समस्या भने ज्यूँकात्यू नै छ। चिनी नै पाउन मुश्किल छ। पाएपनि मात्र दुई केजी।
‘मान्छेले भन्ने गर्छन् चिनी सक्किदाँ के हुन्छ? चिनी नखाँदा पनि हुन्छ तर त्यो भनाइ गलत हो। हामी चिया खाने मान्छेलाई चिया नखाएसम्म तलतल लागिरहन्छ। त्यसैले हाम्रो लागि चिनी आवश्वयक छ’, चामल र नुनझैं चिनी पनि नभइ नहुने चिज रहेको बताउँदै उनी भन्छिन्, ‘जति चामल, नुन र तेल जरुरी छm उत्तिकै चिनी पनि आवश्यक छ। यो नभई भान्सा चलाउन गाह्रो पर्छ।’
चिया पसलमा मिस्री
पछिल्लो समय बजारमा चिनीको अभाव चर्किरहेको छ। जसको प्रत्यक्ष असर आम उपभोक्ताले भोग्नुपरिरहेको छ।
त्योसँगै चिनीको अभावले सामान्य चिया पसलदेखि ठुला होटेल रेस्टुरेन्टहरूमा पनि उत्तिकै छ।
नयाँ बानेश्वरको थापागाउँमा एक दशकदेखि ‘पाल्पाली चिया कफी घर’ चलाउँदै आइरहेकी छिन्, कल्पना पोखरेल।
झण्डै १२ वर्षदेखि पसल हाक्दै आएकी उनी पहिलोपटक बजारमा चिनीको अभाव भएको उनको भोगाइ छ।
उनका अनुसार अघिल्ला वर्ष चिनीको यति धेरै हाहाकार नै थिएन। ‘चिनीले व्यापार घटाएको छ’, अहिलेको अवस्थाबारे उनले बताइन्।
बजारमा चिनीको अभाव हुनअघि दिनको ५० प्याकेट दुधको चिया बनाउँथिन् कल्पना तर अहिले १५ प्याकेटमा झर्नुपरेको छ।
‘अहिले चिनी पाउनै मुश्किल छ तर जसोतसो दिनको एक केजी चिनीले काम चलाइरहेकी छु’, आफ्नो पसलमा चिया पिउन आउने ग्राहकहरूको प्रंशसा गर्दै उनले भनिन्, ‘मेरो ग्राहकहरूले कम चिनी खानुहुन्छ, कसैले त चिनी बिना नै चिया पिउनुहुन्छ। त्यसैले जसोतसो धानिरहेकी छु। तर चिनीको प्रभाव चाहिँ परेकै छ।’
नेपाली बजारमा चिनी अभाव हँदा व्यापार घटेको पाल्पा भैरव स्टोरका सञ्चालक कृष्ण आचार्य बताउँछन्। उनका अनुसार पसलमा चिनी नहुँदा दुधको प्याकेट र पाउरोटी बिक्री हुन छाडेको उनको गुनासो छ।
‘चिनी नभएर दुधदेखि पाउरोटी बिस्कुट र डुनोटको खरिद पनि ठप्प नै भएको छ’, सुस्केरी तान्दै उनले भने, ‘ग्राहकहरू चिनी खोज्दै आउनुहुन्छ, चिनी पाउनुहुन्न निराश भएर फर्किनुपर्छ, गाह्रो छ।’
धेसैजसो चिया पसल र होटलहरूले त अहिले चिनीको सट्टा मिस्री प्रयोग गर्दै आएका छन्। कतिपय होटलहरूले चियाको मेनु नै हटाएका छन्।
के भन्छ सरकार ?
नेपाल सरकारले भारतसँग ५० हजार मेट्रिक चिनी खरिदका लागि पत्रकार पठायो तर भारत सरकारले कुनै जवाफै दिएन।
स्वदेशमै उत्पादन भएको चिनीले माग धान्न सक्दैन। जसकारण बजारमा चिनीको माग पूर्ति गर्नका लागि भारतबाट चिनी आर्यात गर्नुपर्छ।
तर यो वर्ष चिनी आर्यात हुनै सकेन। जसकारण नेपालमा चिनीको हाहाकार भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुर बताउँछन।
‘यो पटक नेपालमा चिनी आयात भएन। त्यसैले चिनीको अभाव भयो’, तत्कालै चिनीको अभावलाई पूर्ति गर्न नसकिने बताउँदै ठाकुर भन्छन्, ‘यो वर्ष भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्धको कारण नेपालमा चिनीको अभाव भयो।’
बिहिबारको बसेको राष्ट्रियसभा बैठकमा सांसद गङ्गाकुमारी वेल्वासेले चाडपर्वका बेला बजारमा देखिएको खाद्यान्न र चिनीको अभाव तथा कालोबजारी नियन्त्रण गर्न माग गरिन्।
सांसद गोपाल भट्टराईले चाडपर्वका समयमा जनता महँगीको मारमा परेको र आधारभूत आवश्यकताको अभाव भएको, महँगी बढेको, चिनीको अभाव देखिएको भन्दै उचित व्यवस्थापन गर्न माग गरे। तर सरकार भने अझै अन्योलमै छ।
प्रवक्ता ठाकुरको अनुसार तिहारमा पनि चिनीको अभावै हुनेछ। साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडसँग अढाइ मेट्रिक टन चिनी मौज्दात रहेकाले तिहारमा चिनीको त्यतिधेरै हाहाकार नपर्ने उनको बुझाइ छ।
तर चिनीको अभाव कहिलेदेखि हट्छ भन्ने यकिन छैन।
‘ठ्याक्कै कहिलेबाट चिनीको अभाव हट्छ भन्न त सकिँदैन तर त्यतिधेरै चिनीको असर नपर्ला कि!,’ उनको विश्वास छ।