चलचित्र भवनमा ‘पशुपति प्रसाद २: भष्मे डन’ र ‘परदेशी २’

File Photo
File Photo

नेपालका चलचित्र भवनमा दुई नेपाली चलचित्र प्रदर्शनरत छन्। दसैँलाई लक्षित गर्दै प्रदर्शनरत चलचित्रलाई दर्शकको साथ प्राप्त भइरहेको निर्माण पक्षले दाबी गरेका छन्।

दसैँपछाडि नयाँ नेपाली चलचित्र तिहारमा मात्र प्रदर्शन हुने भएकाले एकसाता अझै ती दुई चलचित्र नै रहनेछन्।

दसैँ लक्षित गर्दै प्रदर्शन गरिएको ‘पशुपति प्रसाद २: भष्मे डन’ तेस्रो सातामा प्रदर्शनरत छ। खगेन्द्र लामिछानेले निर्माण तथा लेखन गरेको चलचित्रलाई दीपेन्द्रकुमार खनालले निर्देशन गरेका हुन्। यसमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगरलगायत कलाकारले अभिनय गरेका छन्।

‘दर्शकले रुचाउनुभएकै कारण पशुपति प्रसादको कथालाई निरन्तरता दिएका हौँ। हामीले मौलिक नेपाली कथालाई पर्दामा प्रस्तुत गरेका छौँ’, लेखक लामिछानेले भने।

चलचित्र ‘परदेशी २’ चौथो सातामा प्रदर्शनरत छ। नारायण रायमाझीले निर्देशन गरेको चलचित्रमा केकी अधिकारी, दिलीप रायमाझी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, प्रकाश सपुत, नीर शाह, रमा थपलियालगायत कलाकारले अभिनय गरेका छन्।

चलचित्रमा उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको पखाइमा दिन काटिरहेका आमाबुबाको कथालाई देखाइएको निर्देशक रायमाझीले बताए।

उनले भने, ‘मेरा अघिल्ला चलचित्र झैँ मौलिक कथालाई नै पर्दामा ल्याएँ। अहिले चलचित्र भवनमा पुग्दा दर्शकमार्फत पाइरहेको प्रतिक्रियाले उत्साहित छु। उहाँहरू आफ्नै गाउँ समाजको कथालाई पर्दामा हेर्न पाउँदा खुसी हुनुहुन्छ।’ चलचित्रलाई रमेश बिजी लेखेका हुन्।

प्रकाशित मिति: : 2023-11-03 13:44:00

प्रतिकृया दिनुहोस्