मिरमिरे उज्यालो नहुँदै चिरबिर सुरु हुन्छ। बिहानकाे भजन सुनिएजस्ताे। कान पवित्र हुन्छन्। एउटा अदृश्य शक्तिमाथिकाे असिम भक्तिभाव राखेर गाइएका गीतहरुभन्दा कयाैं गुणा मिठाे लाग्छ बिहान सुनिने चराहरुको चिरबिर। यसरी हरेक दिनको सुरुवात गर्छन्, छायानाथ रारा नगरपालिका- ३ कार्कीबाडाका नेत्रराज रावल।
उनकाे कानले सुन्ने पवित्र धुन निकाल्ने चरा कालिज हुन्। नेपाल सरकारले सिकार खेल्न प्रतिबन्ध लगाएकाे कालिजसँग हाेइन विदेशबाट आयात गरिएका कालिजसँग उनकाे सामिप्यता बढिरहेकाे छ। कारण उनले विगत चार वर्षदेखि कालिज पालन फर्म नै संचालन गरेका छन्। जसबाट तीन जनाकाे नियमित राेजगारी चलिरहेको छ भने उनले मनग्ये आम्दानी लिन पाएका छन्।
गाउँघरमा स्नातक गरेका मान्छेहरु बेरोजगार देखिनु आम समस्या हाे। बेराेजगारीकाे भेलले कयाैंलाई विदेश पुर्याएकाे छ। अरबकाे मरुभूमि र मलेसियाकाे जंगलमा हुने तमाम युवाहरुका दिनचर्या केलाइ नसक्नु छन्। यस्ताे कठिन परिवेशमा उनले गाउँमै स्वराेजगारी सिर्जना गर्ने र आत्मनिर्भर हुने कठिन पर्यत्न गरिरहेका छन्। जसले उनलाई सफलताको शिरमा पुगाएकाे छ।
सुरुदेखि नै स्वदेशमा केही गर्नुपर्छ भन्ने भावना पालेका रावलले बाख्रा पानल र कुखुरा पालन पनि गरेका थिए। तर, ती व्यवसयामा उनले राम्राे सफलता हात पारेनन्। केही नाेक्सानी पनि बेहाेर्नु पर्यो। ठक्कर नखाए बलियाे हुन नसकिने मान्यता राख्ने उनले हिक्मत हारेनन् बरु साहस बटुलेर नयाँ कर्मतिर लागे।
यसै बीचमा काठमाडौंका बाबू श्रेष्ठ नाम गरेका उनका हितैसी दाइले दुई जना मिलेर मुगुमा कालिज फर्म खाेलाैं भनेका थिए। उनी कालिज फर्मबारे बुझ्दै थिए। मेसाे मिलिरहेकाे थिएन। हिक्मत जुटाएर फर्मकाे तयारी गरे। करिब चार हल जग्गामा घेराबार र जाली हालेर तयार पारेर कालिज फर्म निर्माण गरे। यी सबै तयार गरुन्जेल १५ लाख रुपैयाँ खर्च भइसकेको थियाे।
‘मैले बाबू दाइलाई फर्म तयार भयाे भनेर खबर गरेँ। उहाँले चल्ला लैजाउ भन्नुभयो,’ उनले भने, ‘पहिलाे दिन जन्मेका कालिज एउटाको सात सयका दरले लागत खर्चेर काठमाडौंदेखि बुटवल हुँदै मुगु पुगाएँ। एक सय ५० जति बाटाेमै मरे।’
केही नोक्सानी ब्यहाेरेर मुगु पुर्याइएका चल्लाकाे स्याहारसुसारमा लागे। सुरुसुरुमा चल्लाको स्याहारसुसार गर्नु बच्चा स्याहारेजस्तै हाे।
चल्ला बढ्दै जाँदा उनकाे उत्साह पनि बढ्दै गयाे। उत्साह बढ्दा अनुहारकाे चमक पनि बढ्ने रहेछ। जसरी बिहान कालिजको आवाज सुन्दा मन चंगा हुन्छ त्यसरी हुर्किरहेका कालिज देखेर उनी हल्का महसुस गर्थे।
‘सुरुमा कालिजका चल्ला मरेको देखेर केही डर लागेको थियो। पछि चल्ला हुर्केको देखेर डर हरायो,’ उनले भने, ‘डर हराउँदा मन हर्षित हुने रहेछ। केही गराैं भन्ने भावनाको विकास गराउँदो रहेछ। त्यसैको परिणाम मैले कालिज फर्मबाट भइरहेको नोक्सानीलाई पर्वाह नगरि निरन्तरता दिएँ।’
कालिज बढ्दा पनि नोक्सानी घटेन। उनले अरु दुईपल्ट चल्ला ल्याए। यसले उनकाे नोक्सानीको ग्राफ बढेर १२ लाख ८६ हजार पुग्याे। नोक्सानी हिसाब गर्दा उनी कहिलेकाहीँ साेच्थे, ‘यतिले त सहरको कुनामा घर घडेरी किन्न सकिन्थ्यो।’ तर, आँटेको काममा दत्तचित्त भएर लाग्ने स्वभावले उनलाई हरेस खान दिएन। बरु उनले लगानी थप गरे।
आज उनले सुरु गरेकाे ‘एन आर वाइल्ड लाइफ एण्ड एग्रीकल्चर रिसर्च सेन्टर’ नामकाे फर्ममा १२ सय कालिज छन्। १२ सय कालिजले वर्षमा १२ लाख आम्दानी दिइरहेका छन्। सब खर्च कटाएर १२ लाख बच्ने भएपछि ब्यहाेरेको नोक्सानी सजिलै पूर्ति भएको उनको भनाइ छ।
‘नोक्सानी देखेर व्यवसाय छोडेको भए ऋण काडेर विदेश जानुपर्ने थियाे हाेला। निरन्तरता दिएका कारण आज घर आगनमै केही गर्न सकेको महसुस गर्दैछु,’ उनले भने, ‘स्वदेशमै स्वरोजगारी सिर्जना गर्न सक्दा खुसी मिलेको छ। आत्मसन्तुष्टि बढेकाे छ।’
मुगुमा कालिजकाे बजार राम्राे छ। रारा आउने पर्यटककाे पहिलाे राेजाइ कालिजकाे मासु हाे। हिमाली भेगकाे समुद्रजस्ताे देखिने रारा हेर्दाहेर्दै नअघाएका आँखामा असिम सन्तुष्टिको निद्रा ल्याउन कालिजको झाेल अचुक औषधि हो।
सदरमुकाम वा सल्लेरीबाट हिँड्दै रारा जाँदा थाकेकाे जिउलाई आराम दिन झोलीलो पदार्थ अमृत समान छ। अमृत समान झाेलीलो पदार्थमा कालिजको झोल पहिलो नम्बरमा आउँछ।
‘त्यसैले होला व्यापार राम्राे भइरहेको छ। होटेलहरुबाट बढी माग भइरहेको छ,’ उनले भने, ‘जाडोमा झन् बढी माग हुन्छ। कालिजको मासु अत्यन्तै स्वादिलो हुन्छ। स्वादिलो मासु खाँदै रारामा रामाउनेहरु हामीलाई धन्यवाद दिन्छन्।’
उनी पोथी कालिज बिक्री गर्दैनन्। भाले कालिज प्रतिगाेटा ३५ सयसम्म पर्छ। हाेटेललाई हाेलसेलमा तीन हजारमा पनि दिन्छन्। वर्षमा चार सय वटासम्म कालिज बिक्री भइरहेका छन्। आम्दानीको मुख्य स्राेत नै कालिज बिक्री हो।
यो वर्षसम्म बाहिरबाट आयात गरेर कालिज फर्म संचालन गरिरहेका उनी आउँदो वर्षमा चल्ला पनि मुगुमै उत्पादन गर्ने तयारी गरिरहेका छन्।
‘एउटा कालिजले वर्षमा ६० देखि ८० दानासम्म अण्डा दिन्छ,’ उनले भने, ‘वर्षमा हजारदेखि १५ सय चल्ला उत्पादन गर्न सकिएको खण्डमा कालिज अझ सस्तोमा दिन सकिन्छ। अब ह्याचरी मेसिन ल्याएर यतै चल्ला उत्पादन गर्ने तयारी गर्दैछु।’
छायानाथ रारा नगरपालिका- ३ लामाचौरमा संचालित ३० वर्षीया रावलको फर्ममा बिहानैदेखि कालिजले थरिथरिको स्वर निकालेर चिरबिर गरेकाे सुन्न सकिन्छ। रंगीन कालिज देख्दा फरक खालको आनन्दानुभूती हुन्छ।
व्यवसायले दिलाएको खुसीले होला उनी राजनीतिमा पनि सक्रिय छन्। विकल्प दिन नसक्ने राजनीतिक परिवेशमा अपवादको रुपमा आत्मनिर्भर अभ्याससहित उनी आएका छन्।
अंग्रेजी विषयमा स्नातक सकेर उनी एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष छन्। अध्यक्षकाे हैसियतले गतिविधिमा सक्रिय हुँदा कसैकाे भर पर्नु पर्दैन। गतिविधि गर्दा कहिले पनि खुम्चिनु नपरेकाे उनकाे अनुभव छ।
भिडियाे :