माओवादी युद्धका ‘बाललडाकु’ (अहिले जवान भइसकेका छन्) लेनिन विष्ट सत्र वर्षदेखि काठमाडौँमै छन्। तर प्रहरी प्रशासनको कडा निगरानीमा छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेस नेपाल आएपछि झन् उनी निगरानीमात्रै होइन, अघोषित नजरबन्दमै परे। मंगलबार संसदमा गुटेरेसले सम्बोधन गरिरहँदा उनलाई प्रहरीले वीर अस्पतालमै थुन्यो। उनी त्यहाँ वर्षौंदेखि अनशनरत गंगामाया अधिकारीलाई भेट्न गएका थिए। तर प्रहरीले उनलाई त्यहाँबाट निस्किन दिएन।
उनी ‘आतंकवादी’ होइनन्, ‘युद्ध अपराधी’ पनि होइनन्। तर ‘प्रचण्ड–नारायणकाजी’ नेतृत्वको गृह–प्रसाशनले ‘लेनिनको नाउँ’मा टाउको दुखाइरहेछ, निगरानी बढाइरहेछ।
उपत्यकामा ‘बाटो जाम’ गर्दै–गराउँदै हिँडिरहेका छन्, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस। अनि उनलाई भेट्न खोज्दैछन्, पूर्व बालसैनिक लेनिन। शान्ति सम्झौतामा नअटाएको विषय पनि हो– बालसैनिकको पीडा। युद्ध अपराधको विषय। मानवअधिकार हननको विषय।
१२ वर्षको कलिलो उमेरमा बन्दूक बोकेर ‘युद्ध–मैदान’मा होमिएका उनी राज्यबाट पटकपटक हेपिएका छन्। माउ पार्टीबाटै अपमानित भएका छन्।
तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा सामेल भएको सत्र वर्ष भइसक्यो। ‘बेपत्ता छानबिन र सत्य निरूपण’का लागि बेग्लाबेग्लै आयोग बने। तर ती दुबै आयोगमा समेटिएनन्– लेनिनहरू। र, पनि ‘संक्रमणकालीन न्याय’को पर्खाइमा छन्।
‘अन्तर्राष्ट्रिय मानवीय कानुनले नाबालिगलाई द्वन्द्वमा लैजानु युद्ध अपराध मान्छ। कमरेड प्रचण्डले मजस्ता हजारौँ बालबालिकालाई बन्दूक बोकाएका थिए। प्रचण्डले युद्ध अपराध गरेका छन्। हामीहरूलाई देशमै न्याय नदिए हेग पुर्याउँछौँ,’ लेनिनले भने।
राज्यबाट ‘पूर्व बालसैनिक’का मागहरू सम्बोधन नभएको र आफूहरू न्यायका लागि भौँतारिइरहेको उनको गुनासो छ।
उनी आफूजस्तै तीन हजार पूर्व बालसैनिकको पक्षमा राज्यविरुद्ध खडा छन्। अपमान सहँदै न्यायको आवाज उठाइरहेका छन्। तर राज्यसत्ता चलाउनेहरू ‘लेनिनहरूको आन्दोलन’ छलिछली भागिरहेका छन्।
२०६३ साल मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र ‘विद्रोही सुप्रिमो’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरे।
नेपाललाई हिंसाबाट शान्तिको बाटोमा हिँडाए। तर बन्दूक बिसाएपनि ‘युद्ध अपराध’को बाेझ बोकेरै हिँडिरहेका छन्, प्रचण्ड।
‘संक्रमणकालीन न्याय’को काम अपूरै छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मै अल्मलिएका छन्, दलहरू। ‘विद्रोही–नेता’ प्रचण्ड हिजाेआज सत्तास्वार्थमा रुमल्लिएका छन्। लेनिनहरू सडकमा छन्, आन्दाेलनमै छन्। युद्धकालीन याेद्धाहरू खाडीमा छन्, अंगभंग छन्, कष्टकर जीवन बाँचिरहेका छन्।
०००
काभ्रे– बनेपाका लेनिन विष्ट सुनगाभा बोर्डिङ स्कुलमा कक्षा पाँचमा पढ्थे। त्योबेला उनी १२ वर्षका थिए। २०५९ सालतिर स्कुल बिदा थियो। उनी मामाघर मकवानपुर गए।
‘मेरो गाउँमा माओवादीहरू थिएनन्। माओवादी भनेकाे मैले रेडियोबाट सुनेको थिएँ। देशभर युद्ध थियो। एकदिन मेरो स्कुल बिदा भयो, म मामाघर गएँ, अनि मेराे जीवनले अर्कै माेड लियाे,’ उनले भने।
मामागाउँ पुग्दानपुग्दै लेनिनले माओवादीहरू भेटे। बेलाबेला मामाघरतिर झुल्किने छापामारहरू देखे। उनी माओवादी आन्दोलनसँग विस्तारै रम्न थाले। माओवादीका स्थानीय नेता–कार्यकर्ताहरू ‘लेनिन’हरूलाई माया गर्थे। लुकिछिपी आफूतिर तान्थे।
‘बनेपाबाट एक्लै मामाघर गएको थिएँ। माओवादीहरूले दिनदिनै नाचगान गर्थे, नाटक देखाउँथे। मामागाउँका अरु चार साथी र म नजान्दा–नजान्दै माओवादीसँग जोडियौँ,’ लेनिनले भने, ‘हामीहरू त्योबेला लहैलहैमा जनयुद्धमा सामेल भइसकेका थियौँ।’
१२ वर्षीया लेनिन रहर अनि लहडमै माओवादी बने। गाउँतिर युद्धकाे बेग्लै छाप थियो। माओवादी विचारले तान्यो, राष्ट्रियताले तान्यो। र, जनवादी गीत–संगीतले जंगलतिरै लग्याे। उनी सानै थिए, चतुर थिए। पार्टीले कार्यविभाजन गर्यो, तितरबितर भए। माओवादी नेताहरूले ‘लेनिन’हरूलाई नजानिँदो गरी ‘शाही सेना’को जासुसीमा खटाउँथे।
०००
लेनिनलाई सैन्य फाँटमा सारियो। बन्दूक पड्काउन सिकेपछि युद्ध–मोर्चामा खटिए उनी। त्योबेला चारैतिर ‘नेपाली सेना र जनमुक्ति सेना’बीच भीडन्त भइरहन्थ्यो। उनी ठूलै भीडन्तमा त परेनन्। तर मकवानपुरको चौगडाको प्रहरी चौकी हान्दा लेनिन आफैँ मैदानमा थिए।
‘युद्धको मोर्चामा खटिएपछि पेस्तोल, राइफल र बन्दूकसँग खेल्न सिकेँ। हामीहरूलाई माओवादी नेतृत्वले एकखाले भ्रम छरेको रहेछ। मृत्यु वा मुक्तिको कसम खाएका थियौँ। लडाइँमा खटिएका मेरा दुई साथीहरू शहीद भएको खबर सुनेँ, मलाई निकै दुःख लाग्यो,’ लेनिनले पीडा सुनाए।
०५९ सालमा लेनिन जंगल पस्दा उनी एक्लै थिएनन्, उनीसहित पाँचजना नाबालिग पनि थिए। तीमध्ये माओवादीमा लागेका दुई जना सहिद भए, दुई जना बेपत्ता छन्। तर लेनिन भने ‘युद्ध आतंक’ छल्दै बाँचे।
सानै उमेरमा युद्ध–मैदानमा होमिएका लेनिनले राम्रोसित पढ्न–लेख्नसमेत पाएनन्। पाँच कक्षा पढ्दा–पढ्दै ‘बम–बारुद र बन्दूक’सँग खेले। परिवारबाट टाढिए। साथीभाइ गुमाए। देश बनाउने सपना देखे।
‘पाँच कक्षा पढ्दापढ्दै कापी–कलम च्यात्यौँ। बुर्जुवा शिक्षा भन्दै पढाइ छाड्यौँ। अहिले माओवादी नेताका छोराछोरीहरू युरोप, अमेरिका र चाइना पढ्छन्। तर हामीहरूको अवस्था भने दयनीय छ,’ विगत सम्झिँदै लेनिनले भने।
०००
माओवादी शान्ति प्रक्रियामा आएसँगै बालसैनिक लेनिनहरू सेना समायोजनका लागि बनाइएका लडाकु शिविरमा बसे। ‘हामीहरू चितवनको जुटपानीमा बस्यौँ। तेस्रो डिभिजिन थियो त्यहाँ। जंगल फाँडेर चारवर्ष ब्यारेकभित्रै बस्यौँ,’ उनले भने।
२०६५ मंसिरमा ‘लेनिन’हरूलाई १८ वर्ष नपुगेको भन्दै ‘अयोग्य’ ठहर्याइयो। नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)ले तत्कालीन विद्रोही कमाण्डर प्रचण्डको टाउको जोगाइदिए।
‘एउटा गेटबाट निकाले पनि अर्को गेटमा भित्र छिराउँछौँ’ भनेका प्रचण्डले आजसम्म फर्केर पनि हेरेनन्।
‘अयोग्य शब्दप्रति आपत्ति छ। तत्कालीन प्रधानमन्त्री माधकुमार नेपाल र कमरेड प्रचण्ड साक्षी छन्। अन्तर्राष्ट्रिय समुदायलाई पनि नेपाली नेताहरूले झुक्याए। नेपाली सेनामा समायोजनका लागि तम्तयार भएका थियौँ,’ लेनिने भने, ‘राज्यले हेप्यो। खाली हात घर पठायो।’
२०६६ माघ १० गते ‘बालसैनिक’को भारी बोकाउँदै शिविरबाट निकालिए– लेनिन। उनीजस्ता २ हजार ९ सय ७३ जना कम उमेरका बालसैनिक थिए। उनीहरू प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी नेताहरूको ‘चेनअफ कमाण्ड’ मान्दै घर फर्किए।
‘एउटा झोला र दश हजार गाडी भाडा दिएर सरकारले हामीहरूलाई घर पठायो। बिदाइको बेला हामीहरू रुँदै, माला फाल्दै निस्किएका थियौँ,’ लेनिनले ०६६ माघ ११ गते सम्झिए।
०००
२०६३ सालको परिवर्तनपछि ‘लेनिन’हरू भुइँमै छन्। उनीहरूले पटकपटक सिंहदरबारलाई आफ्नो व्यथा सुनाउन खोजे। तर आफ्नै पूर्वसर्वोच्च कमाण्डर प्रधानमन्त्री हुँदासमेत न्याय पाएनन्।
अन्ततः लेनिनको आह्वानमा पूर्व बालसैनिक संगठित भए। माओवादीले दुरुपयोग गरेका पूर्व बालसैनिक एउटै घेरामा उभिए। र, प्रचण्डलाई चुनौती दिइरहेका छन्।
‘प्रचण्ड तीनपटक प्रधानमन्त्री बन्दापनि हाम्रो समस्या ज्यूँकात्यूँ छ। कानुनी लडाइँमा छौँ। राज्यले गल्ती गरेको छ। पाँच कक्षा पढ्दै गरेका हामीहरूको जिन्दगी बर्बाद भयो,’ उनले भने, ‘माओवादी नेताहरूले भ्रममा पारे। पूर्व बालसैनिकहरू एकजुट भयौँ। संगठित भएर आवाज निकाल्यौँ।’
लेनिनको आवाज दबाउन माओवादी नेताको आडमा ०६८ सालमा भक्तपुरको सल्लाघारीस्थित उनको डेरामा लुटपाट गरियो। तोडफोड गरियो। आक्रमण गरियो। लेनिनले भागेर ज्यान जोगाए।
‘माओवादी कार्यकर्ताहरूले हाम्रो समस्या बुझ्दैनन्। मेरो कोठा तोडफाेड गरे। मलाई कुटे। मलाई एकवर्ष जेलमा पुर्याए। अपहरण पनि गरे। तर सत्यको स्वर रोकिँदैन। म फेरि भन्छु, म माओवादी आन्दोलनको विरोधी होइन। मैले न्याय खोजेको हो। हामीमाथि अपमान गरियो,’ माओवादीप्रति उनको गुनासो छ।
आफ्नो हकअधिकार प्राप्तिका लागि २०६९ सालमा लेनिनको समूह माओवादी पार्टीको केन्द्रीय कार्यालय घेर्न पेरिसडाँडा पुग्यो। माओवादीले दुःख, कष्ट र सास्ती दिइरहे। ०६९ माघ १० गते झुटा मुद्दा लगाएर माओवादीले डिल्लीबजार सदरखोर पुर्यायो। निर्दोष सावित हुँदै ०७० माघ १० गते उनी जेलबाट निस्के।
‘प्रचण्डले शान्ति प्रक्रियाको कुरै सुन्न चाहँदैनन्। पीडितहरूको आवाज सुन्दैनन्। न्यायका लागि अन्तिमसम्म आवाज उठाउँछौँ। देशले न्याय नदिए, अन्तर्राष्ट्रिय समुदाय गुर्हाछौँ,’ प्रचण्डलाई चुनौती दिन्छन् लेनिन, ‘अहिले सत्ता र शक्तिको आडमा जे पनि गर्नसक्छन्। हाम्रा मागहरू ओझेलमा पार्न लागिपर्छन्। तर सत्ता ढलेर नेताहरू सडकमा पुगेपछि हामीहरूले न्याय पाउँछौँ।’
०००
देश ‘शान्तिको बाटो’मा हिँडेको डेढ दशक भइसक्यो। तत्कालीन विद्रोही माओवादीका सुप्रिमो ‘प्रचण्ड’ तीन–तीन पटक देशको प्रधानमन्त्री भइसके। तर उनले नेतृत्व गरेको हिंसात्मक आन्दोलनको अभियानमा लागेका लेनिनहरू आजपनि आन्दोलनमै छन्।
सत्र वर्षअघिका आफ्ना सर्वोच्च कमाण्डर हालका प्रधानमन्त्री ‘प्रचण्ड’सित कलिलो उमेरमा बन्दूक बोक्दा खोसिएको अधिकारको एकएक हिसाबकिताब माग्दैछन् उनी।
‘हाम्रो दाबी छ– युद्ध अपराध भयो। सर्वोच्च अदालतसम्म धाएका छौँ। अदालतले न्याय देओस्, नेपालमा न्यायको ढोका बन्द नहोस्,’ लेनिनले भने, ‘हिजो हामी बच्चा थियौँ, आज हाम्रै बच्चा छन्। हामीहरू अभावमा बाँचिरहेका छौँ। हाम्रो भविष्यमाथि खेलवाड गरियो। क्षतिपूर्ति चाहिन्छ, कानुनी प्रक्रियामा छौँ।’
नेपालको ‘संक्रमणकालीन न्यायिक प्रक्रिया’मा लेनिनहरूलाई पूरै लात हानिएको छ। राज्यले उनीहरूलाई शान्ति प्रक्रियाबाट मात्रै छुटाएको छैन, त्यही प्रक्रियाका सिलसिलामा नेपाल आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई पनि उनीहरूबाट टाढै राखिदियो।
‘हाम्रा मागहरू लुकाउन खोजियो। पीडितहरूलाई बाइपास गरियो,‘ यूएनप्रति उनको गुनासो छ, ‘केही सीमित मानिसहरू रात्रिभोजमा रमाएपनि हामी आन्दोलनमै छौँ।’
राज्यलाई लेनिनको सन्देश—
हामीले खोजेजस्तो न्याय नहुन पनि सक्छ। प्रचण्डले खोजेजस्तो अन्याय पनि नहुनसक्छ। न्याय पाउँछौँ, आशावादी छौँ। पीडकहरू जहिल्यै सत्ता र शक्तिकै समिपमा हुन्छन्। राज्यसँग पटकपटक वार्ता गरियो। राज्यले हामीसँग गरेका सहमति कार्यान्वयन गरियोस्।
नेपालमा हाम्राजस्ता धेरै समस्या छन्। भविष्य नदेखेर दिनदिनै नेपाल छाड्न बाध्य पारिएको छ। हिजो गरिएको सहमति पालना गरियोस्। नेताहरूका आफन्त र परिवारका सदस्यले हाम्रोजस्तो दुःख भोगेकै छैनन्।
हामीहरू सामाजिक बहिष्कारमा पर्यौँ। विभेद गरियो। सडकमै छौँ। राज्यको आँखाबाट अपराधी जस्तै छौँ। राज्यले हामीहरूलाई जिउँदै मारिरहेको छ। परिवर्तनको महसुस भएन, पीडितहरू आज पनि पीडितै छौँ।
जनता रोइकराइ गरिरहेका छन्। व्यापारीहरूले आत्महत्या गर्ने स्थितिमै पुगेका छन्। सिंगापुर बनाउँछु भन्नेहरूले यो देश के बनाए? दशवर्षे युद्धमा जनताका छोराछोरीहरू मार्ने काम गरियो। घाइतेहरू उपचार नपाएर छट्पटाइरहेका छन्। हिजोका सत्ताभोगी र प्रचण्डमा कुनै भिन्नता देखिएनन्।
अन्तर्राष्ट्रिय जगतमा नेपालप्रति चासो छ। पीडितको पक्षमा अन्तर्राष्ट्रिय समुदाय र नेपाल सरकारले मिलेर काम गरुन्। हिजोका तितापीरा सबै कुरा कुरा भुलेर बाँच्न पाइयोस्।
माओवादीले हाम्रो बाल्यकाल लुट्यो। प्रचण्डले जानिजानी हाम्रो भविष्य सकिदिए। युद्धमा नाबालिगहरूको प्रयोग अन्तर्राष्ट्रिय मानवीय कानुनविरुद्धको अपराध हो। र, प्रचण्डले हामीहरूलाई युद्धमा प्रयोग गरे। हामीहरू युद्धपीडित हौँ।
पूर्व बालसैनिक हामीहरू नेपालको शान्ति प्रक्रियाबाट पूर्णरुपमा बहिष्कारमा परेका छौँ। कतैबाट सम्बोधन गरिएन। राज्यले हेप्यो, युद्धले जिन्दगी बर्बाद बनायो। ‘संक्रमणकालीन न्याय’ विधेयकमा समेत हामीहरूलाई समेटिएको छैन। र, संयुक्त राष्ट्रसंघले पनि हाम्रो गुनासो सुनेन।
kina lagako taa janyudda ma. kasle lagne vaneko theyo. aafnai karnel ta ho ne dukha payako. nepal chor ko desh ho. yaha sabai chor chhan . aaba royara hunx ra sathi.