प्रचण्ड को हुन्? कस्ता छन्? धेरैको दिमागमा त्योबेला प्रचण्डका थरिथरि अनुहार नाच्थे, त्यो पनि अनुमान गरिएका। ‘युद्ध’का दश वर्ष प्रचण्डलाई देखेका कमै मान्छे थिए। उनकै सीमित नेता र कार्यकर्ताबाहेक।
२०५२ सालमा व्यवस्था परिवर्तनका खातिर उनले बन्दुक उठाए। १० वर्ष गाउँगाउँमा आफ्ना ईलाका बनाए। राजतन्त्र व्यवस्थाविरुद्ध धावा बोले।
सेना, प्रहरीसँग भिडे। भिडन्तमा राज्यतर्फ र विद्रोही माओवादीतर्फ गरी १७ हजारले ज्यान गुमाए। कयौँ घाइते भए। हजारौँ अहिले पनि बेपत्ता छन्।
व्यवस्था परिवर्तनका निम्ति प्रचण्डले गरेको जनयुद्ध १० वर्षपछि सकियो। आर्थात् माओवादी अब मुल राजनीतिक धारमा छ।
माओवादी शान्ति प्रकृयामा कसरी आयो? त्यसको एउटा ‘टर्निङ प्वाइन्ट’ थियो चुनवाङ बैठक।
त्यसपछि जनजिब्रोमा छ, चुनवाङ बैठक। चुनावाङ गाउँ।
चुनवाङ रुकुम पूर्वको गाउँ हो। साविकको गाविस पनि हो। माओवादीले सुरु गरेको जनयुद्धमा बढी प्रभावित ठाउँ पनि चुनवाङ हो।
चुनवाङ अहिले भुमे गाउँपालिका–९ मा पर्छ। यहाँ एउटा भेरीडाँडा गाउँ छ। यही भेरीडाँडाको एउटा घरमा प्रचण्ड घेरिएका छन्। ठूलो पर्खाल छ। पर्खालमाथि तारबार पनि छ। पर्खाल नाघेर भित्र छिर्न सकिने अवस्था छैन।
कडा सुरक्षाको घेराभित्र प्रचण्ड छन्। उनले थालेको ‘जनयुद्ध’ छ। त्यही जनयुद्ध लड्नका लागि उनका लडाकुले प्रयोग गरेका बन्दुकका केही डमीहरू छन्।
अर्थात २०६२ सालमा प्रचण्ड बसेको घर छ।
यही घरलाई अहिले ‘जनयुद्ध संग्रहालय’ बनाइएको छ। युद्धलाई शान्ति यात्रामा ल्याउनका लागि महत्वपूर्ण निर्णय गरिएको ठाउँलाई पर्यटकीय क्षेत्र बनाउन उक्त घरलाई संरक्षण गरिएको हो।
प्रचण्ड बसेको घर, माओवादी केन्द्रीय समितिको १७ दिन बसेको ‘बैठक घर’ यहाँ छ।
यी घरलाई संरक्षणका लागि अहिले लाखौँ खर्च गरिएको छ। बैठक बसेको घर फुस (खर)ले छाइएको छ। प्रचण्ड बसेको घरलाई ढुंगाले छाइएको छ।
-माओवादीको केन्द्रीय समितिको १७ दिन बैठक बसेको घर
प्रचण्ड बसेको घरमा संग्रहालय छ। यहाँ युद्धका समयमा माओवादीले प्रयोग गरेका विभिन्न हतियार, उपकरणहरु राखिएको छ।
अझ रोचक प्रचण्ड बसेको घर छ।
दुई तले घर, धेरै कोठा, ठाउँठाउँबाट बाहिर निस्कन मिल्ने ठाउँ घरको विशेषता हो। यही विशेषताले गर्दा प्रचण्ड बस्न सुरक्षित मानिएपछि प्रचण्डलाई यस घरमा राखिएको स्थानीय जानकार बताउँछन्।
प्रचण्ड बसेको घर अहिले जसरी घेरिएको छ, उसैगरी चुनवाङ बैठकमा प्रचण्डलाई घेरिएको थियो। सुरक्षा दिइएको थियो। १७ दिन चुनवाङ बैठक बस्दासमेत स्थानीयलाई प्रचण्ड आएको जानकारी दिइएको थिएन।
सुरक्षा खतरालाई मध्यनजर गर्दै भित्रि घेरा, बाहिरी घेरा गरेर प्रचण्डलाई उक्त बैठकमा बसाइएको थियो। रोल्पा, बाग्लुङ, रुकुम पश्चिमका क्षेत्रमा माओवादी सेनाको पहिलो घेरा थियो। त्यसपछि चुनवाङका डाँडामा सुरक्षार्थ अर्को घेरामा माओवादी सेना थिए।
ठुलो सुरक्षा घेराभित्र प्रचण्डलाई भेरीडाँडामा राखिएको उनको व्यवस्थापनमा खटिएका माओवादी नेता दयाल सिंह पुन (चट्याङ) बताउँछन्। प्रचण्डलाई जोकुनैले भेट्न अनुमति थिएन। उनलाई भेट्न पाउनेमा चट्याङ एक थिए।
उनी त्यस समयमा माओवादीका जिल्ला सदस्य थिए।
प्रचण्ड बसेको गाउँ चुनवाङ ०६२ सालपछि जसरी चर्चामा आयो, चुनवाङको युद्ध संग्रहालयको चर्चा हुन सकेको छैन। यस संग्रहालयसम्म पर्यटक पुग्न सकेका छैनन्।
रोल्पाको घर्ती गाउँ हुँदै दुईखोलीबाट सहिदमार्ग छाडेर उत्तरतर्फ लागेपछि चुनवाङको गैरीगाउँ पुगिन्छ। गैरीगाउँदेखि नजिकै आरवाङ लुम्मा डाँडा हुँदै भेरीडाँडा पुग्न सकिन्छ।
यही भेरिडाँडामा युद्ध संग्रहालय छ। युद्ध संग्रहालयसम्म पुग्नलाई असहज छैन। मोटरबाटो पुगेको छ। तर अझै सोचेझैँ पर्यटक युद्ध संग्रहालयको अवलोकन गर्न पुग्न सकेका छैनन्।
कहिलेकाहीँ पर्यटक आउने गरेपनि धेरै पर्यटक युद्ध संग्रहालयमा आउन नसकेको स्थानीय बताउँछन्।
भेरीडाँडा पुग्न आरवाङ लुम्मा डाँडाबाट पैदल पनि हिँड्न सकिन्छ। यस डाँडामा गेट बनाइएको छ। यहाँबाट युद्ध संग्रहालयसम्मै पैदल यात्रा सहज बनाउन सिँढीहरू बनाइएको छ। आरवाङ लुम्मा डाँडाबाट पैदल हिँडेर करिब २५ मिनेटमा पुग्न सकिन्छ।
तत्कालीन समयमा पर्यटनमन्त्री भएको बेला लोकेन्द्र विष्टले यहाँ युद्ध संग्रहालय बनाउन २५ लाख रुपैयाँ बजेट छुट्याएका थिए। त्यसपछि क्रमागत बेजट यस संग्रहालयभित्र खर्च भइरहेको छ।
खर्चअनुसार यहाँको प्रचारप्रसार गर्न सकिए पर्यटक सहज पुग्न सक्छन्। चुनवाङबाट सहज रुपमा रुकुमकै महत गाउँ पुग्न सकिन्छ। याे ५८ जना सहिद भएको गाउँ हो। यहाँबाटै रोल्पाको थवाङ पनि पुग्न सकिन्छ। थवाङ जनयुद्ध घोषणा भएको गाउँ पनि हो।
चुनवाङ आफैमा ३३ जना सहिद भएको गाउँ हो।
-फोटो/भिडियो: रविन पुन मगर (आइडु)