एक शनिबार सहकर्मी दाजी सुरेन्द्र रानाले भने- ब्रो जाम् महावीर दाइलाई भेट्न…।
दिन ढल्किँदै थियो। हामी पुग्दा त्रिभुवन विश्वविद्यालय परिसरको एउटा कुनोमा राष्ट्रिय आविष्कार केन्द्रको गेट खुल्लै थियो।
सरासर भित्र छिर्दा महावीर दाइले भनिहाले- ल चाँडै फोटो खिचिहाल…।
रातो टिसर्ट लगाएर उनी त हामीलाई कुरिबसेका रहेछन्। यो रातो टिसर्ट उनको महावीर चिनाउने ‘ब्राण्ड’ पनि हो।
खासमा सुरेन्द्र दाजुले महावीर पुनको फोटो खिच्नुपर्ने थियो।
महावीरले खासै पोज दिएनन्। दिन पनि जान्दैनन्। उनकै पछि-पछि लागेर सुरेन्द्र दाजुले फोटो क्लिक-क्लिक पारिरहे। मैले यताउता नजर दौडाइरहेको थिएँ।
सबै फोटाहरू हेरेपछि महावीर दाइलाई एउटा आफ्नै स्टाइलको फोटो मन पर्यो।
अनि उनले भने- यै राख्नुपर्छ।
अर्का पत्रकार अमृत भादगाउँलेले सल्लाह दिए- दाइ यो अलि झोंक्किएजस्तो भयो। कभर फोटोमा त अलिकति हाँसेको हुनुपर्छ।
‘म किन हाँस्ने? मैले झोंक चलेरै त यो किताब लेखेको हुँ…’ महावीर दाइले भने ‘झोंक नचलेको भए त किताब किन लेख्ने थें र!’
त्यसपछिमात्रै थाहा भो- महावीर दाइले किताब लेख्दैछन्। त्यसकै कभर फोटो खिच्नका लागि हामी त्यहाँ पुगेका थियौं।
तर, महावीर दाइसँग भने यो मेरो पहिलो भेट थियो। म खासै बोलिनँ। खाजा खाँदा बीचबीचमा उनले किताबकै प्रसङ्गहरू निकालिरहेका थिए।
प्रकाशकहरू आएर बार्गेनिङ गरेको कुरा सुनाउँथे। किताब छापिएपछि बेच्नेहरूका प्रस्ताव सुनाउँथे। अनि भन्दै थिए- आफैँ छाप्छु, आफैँ बेच्दै हिँड्छु। मेरो किताब अरूलाई किन दिनू…।’
यसअघि पनि कैयौं प्रकाशकहरू अनि लेखकहरू आएर उनको किताब लेख्ने अनुमति नमागेका पनि होइनन्, तर उनले सधैं भन्थे, ‘अहिले नै त के लेख्नु र! गर्न अझ धेरै बाँकी छ।’
अनि महावीरलाई सधैं लाग्थ्यो ‘मैले के नै पो ठुलो काम गरेको छु र? अनि कसलाई पो सुनाउनु छ र?’
शनिबारका दिन ‘राष्ट्रिय आविष्कार केन्द्र’ हेर्न र घुम्न भनेर थुप्रै मान्छेहरू पनि पुग्दारैछन्।
त्यहीबेला एक हूल केटाहरू आए अनि महावीर दाइलाई नमस्कार गर्दै भने- हामी मेकानिकल इन्जिनियरिङ पढेका हौं।
महावीरले भने- यस्ता केटाहरू त चाहिएको छ, उता गएर काम गर।
उनीहरूले भने- हामीले केही जान्दैनौं।
‘नजानेको भए के पढ्यौ त…’ त्यसपछि महावीरले फुका चिउरा मुखमा हाले। हो, यही हो ‘महावीर पारा।’
केटाहरू केहीबेर घुमेर फर्के।
०००
‘आयो… आयो… आयो… महावीर पुनको किताब आयो। आउनुहोस् र किताब किन्नुहोस्…। किताबमा सही पनि गर्दिन्छु…।’
करिब एकसातापछि लगभग दसैं सुरु भइसकेको थियो। महावीरले सहरमा कतै माइकिङ गर्दै थिए। उही जाङे, त्यही चप्पल। घाँटीमा मसिनो डोराले झुन्ड्याएको त्यही चस्मा।
महावीर किताब बेच्न गल्ली गल्ली हिँडिरहेका छन्।
यो उनको आफ्नै जीवनकथा हो। पूरा होइन, आधीमात्रै। जसलाई उनले, ‘भविष्य’का लागि साँचेका थिए।
अमेरिका पढेको भनेर के गर्नू?
न उनले अमेरिकामा काम गरे, न यहाँ कुनै जागिर खाए। बस् एकसुरे भएर एउटै काममा लागिरहे, जो उनले चाहेका थिए। तर, बिना तलब। बिना पैसा। बिना भत्ता र बिना बचत।
अमेरिका यात्राअघिका १३ वर्ष छोडेर जिन्दगीभरि महावीरले पैसा कमाउन केही गरेनन्। अनि न तलब आउने भो, न बचत हुने भो।
त्यसैले उनले साँचेर राखेका थिए- एउटा आत्मकथा। जसलाई उनले किताब बनाएर अलि पछि लेख्न चाहन्थे। त्यसलाई बेचेरै उनले मृत्यु कुर्ने जीवन गुजार्न चाहन्थे।
तर, उनको जीवनमा एउटा अर्कै ‘मोड’ आइदियो। जहाँ उनले आधायात्रामै किताब लेख्नुपर्ने भो ‘आधि-कथा’।
धौलागिरी, नीलगिरी, अन्नपूर्णका विम्बहरू टल्किने पाखा पर्वतबीचको नाङ्गी गाउँमा जन्मिएका महावीर आफैँलाई थाहा छैन, उनको जन्मदिन। त्यो नाम कसले दियो, त्यो पनि थाहा छैन।
बाजेसँगै गाई-गोठमा हुर्किंदै गरेका महावीरले त्यहीँ खेल्दा खेल्दै अक्षरहरू चिने। पाँच कक्षापछि अब पढ्नुपर्दैन भनेर ढुक्क भएका महावीरले फेरि पढ्नुपर्ने भो। गाउँले मिलेर गाउँको त्यही छाप्राहरूमा कक्षा बढाए, आठ कक्षासम्म पुर्याए।
त्यो बेलासम्म न उनले किताब देखे न किताबका नाम चिने। वर्ष बित्थ्यो, कक्षा चढिहाल्थ्यो।
सायद बाले उनलाई ती डोकोभरि लुगालत्तो बोकाएर ती पाखा पर्वत कटाउँदै चितवन नलगेको भए महावीर सकेत त लाहुरे हुन्थे, नसके त्यहीँ कोदी फलाउँदै बस्थे। वा सायद अरु केही पो हुन्थे कि! जीवनका संयोगहरू न हुन्।
त्यो बेलासम्म थाहा थिएन उनलाई, सिरानतिर टल्किने धौलागिरी, नीलगिरी, अन्नपूर्ण पाखातिरका ती अजंगका पर्वतहरूभन्दा पर पनि अर्को संसार छ भनेर।
यही नाङ्गी गाउँमा नाङ्गै जन्मिएको कथा, बालापानको सम्झना अनि त्यसपछि भरिएका सपनाहरू र अझैसम्म कुनै टुङ्गो भएको एउटा अविरल यात्राको एउटा बयान हो- महावीर पुन: सम्झना, सपना र अविरल यात्रा…।’
३०० पृष्ठमा अटाएको यो बयान बोकेर अहिले देशका गल्लीगल्ली चाहारिरहेका छन् महावीर यतिबेला। यो उनको आत्मकथा हो तर पूरा कथा होइन। आधीमात्रै पनि होइन बरु उनले बाँचेको जिन्दगी र सपनाको यात्राजस्तै अविरल हो।
यसमा कुनै बजारु साहित्य छैन। बेच्नका लागि रंगाइएका अक्षर र कुनै त्यस्ता बिकाउ शब्दहरू छैनन्। बस् जस्तो महावीर छन्, उस्तै छ यो किताब। जसरी बाँचेका छन्, त्यस्तै सादा शब्दहरू छन्। जे बोल्छन् त्यस्तै भाषा छ। जे लगाउँछन्, त्यस्तै कलेबर ओढाइदिएका छन् किताबलाई पनि।
महावीर जे हो, त्यसलाई नढाँटी लेखेका छन्। मान्छेलाई उनीमाथि पर्न गएका कतिपय भ्रमहरूलाई चिर्न खोजेका छन्।
कट्टु र चप्पललाई आफ्नो परिचय बनाएका महावीरले त्यसको कहानी पनि लेखेका छन्। जसले जवानी फक्रिँदा अनि फुल्दासम्म पनि पाइन्ट र जुत्ता चप्पलै देखेन उसलाई त्यही कट्टुमा आफूलाई हिँडाउन सजिलो लाग्नु स्वभाविकै हो।
कक्षा ९ मा पढ्दा चितवनको एउटा मेलामा बाले किनिदिएको चप्पल कैयौं दिनसम्म उल्टो लगाएर हिँड्ने महावीरले दाहिने र देब्रे चप्पल चिन्नका लागि फितामा धागो बाँधेर लगाउँथे।
हुर्किँदा होस् कि पढ्दा उनले कट्टु नै लगाए। मास्टर हुँदा पनि। अनि ‘कट्टु मास्टर’ भए। एलएलसी सकेर काठमाडौं आएपछि थाहै नपाइ साइन्स पढेर फेरि उनी चितवन फर्किए। अनि मास्टर भए। त्यसपछिका १३ वर्षसम्म उनले आधा दर्जनजति स्कुलमा पढाए- ‘कट्टु मास्टर’ भएर।
एकदिन पञ्चायती सिडियोले बाटोबाट उठाएर नथुनेका भए सायद महावीरका जीवनका मोडहरू यहाँसम्म मोडिने थिएनन्।
‘सिडियोसँगको त्यो रिसको झोँकले मेरो जीवनमा सोच्दै नसोचेको मोड ल्याइदियो। मलाई अमेरिका जाने बाटोको पृष्ठभूमि बनाइदियो र संसार देख्ने मौका दियो’, उनले किताबमै लेखेका छन्, ‘अचेल सोच्दा ती सिडिओले मलाई पुलिसचौकीमा थुनेर ज्यादै ठुलो गुन लगाएछन् जस्तो लाग्छ। नत्र मैले पक्कै पनि स्कुलको नोकरी छोड्ने नै थिइनँ र अमेरिका जाने कुरै निस्कने थिएन।’
जागिर छोडेर काठमाडौँका गल्लीगल्ली भौतारिरहेका महावीरलाई अब के गर्ने? थाहा थिएन। अब के हुन्छ? त्यो त झनै थाहा थिएन।
एकदिन कसैले भन्यो ‘दाइ तपाईं अमेरिका गएर पढ्नुस्।’
३१ वर्ष पुगिसकेका महावीरको दिमागलाई त्यो सल्लाहले निकै दिनसम्म हल्लाइरह्यो। अन्तत: उनी अमेरिकी दूतावासको पुस्तकालय छिरे। अमेरिका जाने धूनमा। लागिरहे। पछ्याइरहे। सयौँ अमेरिकी कलेजहरूलाई चिठ्ठी लेखेर हुलाकबाट पठाए। केहीले जवाफ दिए तर छात्रवृत्ति दिएनन्। केहीले त जवाफै दिएनन्।
हुँदा हुँदा चन्द्रमामा पहिलोपटक मानव पाइला राखेका नील आर्मस्ट्रङलाई समेत चिठ्ठी लेख्न भ्याए। त्यहाँबाट पनि जवाफ आयो, छात्रवृत्ति आएन।
महावीरले हिम्मत हार्ने त कुरै थिएन।
जसले आफूले पढाउने स्कुलमा विज्ञान पाठशाला खोल्न भनेर स्कुलमै सुङ्गुर पालेनन् कि, तरकारी खेती गरेनन् कि केसम्म गरेनन्? अनि स्कुलमा विज्ञान प्रयोगशाला खोलेरै छोडे।
सुरो अनि एकसुरो महावीरले अमेरिकाको पछि किन छोड्थ्यो र!
वर्ष दिनपछि अमेरिकाबाट एउटा पत्र आयो- तिमीहरूलाई हामीले छात्रवृत्ति दिने निर्णय गरेका छौं। त्यो थियो- अमेरिकास्थि नेब्रास्काको कर्नी स्टेट कलेज।
त्यसपछि उजेलिएका महावीरले अमेरिका जाने टिकटको पैसा खोज्दा खोज्दै बेहोर्नुपरेको हैरानी अनि निराशाको त्यो अँध्यारोलाई चिर्न आइपुगेका जिन्दगीका संयोगहरूलाई उनले एकएक गरी उतारेका छन्।
विज्ञान पढेका महावीर अमेरिका पुगेर शिक्षा विषय पढेर फर्किए। अनि गाउँ गए। आफैँले पढेको स्कुलमा स्वंयसेवी भएर पढाएनन् मात्रै, बरु त्यो स्कुल र गाउँको विकास गर्न फेरि आफैँलाई बिर्सिएर एकसुरो भए।
स्कुललाई प्लस टुसम्म बनाउने सपना साकार पार्न उनले नाङ्गी गाउँकै मुहार फेरिदिए। स्कुल बनाउँदा बनाउँदै उनले नाङ्गी गाउँलाई संसारसँग जोडिसकेका रहेछन्, सन् २००७ मा ‘रामोन म्यागसेसे’ पुरस्कार पाएको खबरपछि बल्ल उनी फेरिएको आफ्नो गाउँको मुहार देखेर थोरै मुस्कुराए। किनकि गर्नु त अझ धेरै थियो।
यसपछिमात्रै हो, नेपालीले महावीरलाई खोजेको, चिनेको अनि पढ्न थालेको। नेपाली मिडियाले पनि यसपछि हो, महावीर पुनलाई धेरै खोजेको।
नत्र, त्यसअघि नै सन् १९९६ तिरै अस्ट्रेलियाली पत्रिका ‘सिड्नी मर्निङ हेराल्ड’ले लेखिसकेको थियो- अन्नपूर्णको सुरो मान्छेको भव्य सपना।
घुम्न आएकी पत्रकार डायन आर्मस्ट्रङले लेखेको त्यो ‘हेडलाइन’पछि विश्वभरिका पत्रकार महावीर खोज्दै आएका थिए। बिबिसीले अन्तर्वार्ता बजाएपछि त बेलायती सांसदले संसदमै सरकारलाई प्रश्न सोधेका थिए- ‘हिमालयका गाउँगाउँमा शेर्पाका छोराछोरीहरूले इन्टरनेटबाट पढ्न थालिसके, हाम्रा गाउँगाउँमा कहिले इन्टरनेट पुग्छ?’
त्यो ‘सुरो’मान्छेलाई चिनाउनका लागि डायनले नाङ्गी गाउँको बयानमा महावीर र अमेरिकाबाट फर्केपछि उनले गाउँका लागि गरेका कामहरूलाई गाँसेकी छिन्।
‘…तर यात्रीहरूलाई मुग्ध पार्ने भौगोलिक दृश्यहरू स्थानीय बासिन्दाका निम्ति गरिबीका कारण बन्न सक्छन्। जब मैले गगनचुम्बी हिमशिखरहरू र ठाडा पाखाहरूमा तलदेखि माथिसम्म नै मुजा परेजस्ता देखिने सुन्दर कान्लाहरूलाई मन्त्रमुग्ध भएर हेरिरहेको थिएँ, त्यतिबेला आसन्न आर्थिक र पर्यावरणीय विपद् पनि हेरिरहेको छु भनेर मलाई ख्यालै भएन। हातमुख जोड्नका लागि विकट पाखाहरूमा संघर्षरत कृषकहरूले खेती गर्दा भू-क्षय भइरहेको थियो। र जंगल मासिइरहेको थिए। उनीहरूको पैसा कमाउने कुनै उपाय थिएन, केही व्यक्तिले मात्र आफ्ना छोराछोरीहरूलाई स्कुल पठाउनसक्थे। र, यस्तो लाग्थ्यो कि त्यो दुश्चक्र कहिल्यै अन्त हुने छैन।’
किताबको अन्तिम गातामा लेखिएको छ, ‘…अमेरिकामा पढेर फर्केका महावीर पुनले त्यो दुश्चक्र तोड्ने एउटै उपाय देखे- गाउँका बालबालिकाहरूलाई शिक्षित पार्नु र सम्भव भएसम्म आयआर्जनका कार्यक्रमहरू गाउँमा नै सुरुवात गर्नु…’
र, महावीरको महावीर यात्रा पनि यहीँनेरबाट सुरु हुन्छ।
अमेरिकामा समेत ‘डायलअप’ प्रविधिबाट भर्खर इन्टरनेटको सुरुवात भएको त्यो बखत नेपालको एउटा कुनो नाङ्गी गाउँमा इन्टरनेट पुर्याउने सपना देखेका महावीरले त्यसका लागि के-केसम्म गरेनन्।
अमेरिका र विदेशबाट मागेर ल्याएका पार्टपूर्जा काठका बाकसमा कोचकाच पारेर बनाइएका कम्प्युटरका कथा अनि विदेशबाट स्वंयसेवी विद्यार्थीहरू बोलाएर डोकाभरि सामानका भारी बोकेर गाउँगाउँमा इन्टरनेट जोडेका कथाहरू पढ्दा मन त्यसै त्यसै भारी हुन्छ।
काठमाडौँ र पोखराबाहेक नेपालका धेरै सहरमै प्रचलनमा नआएको नपुगेको त्यो युगमा महावीरले आफ्नो र वरिपरिका करिब १७५ भन्दा धेरै गाउँमा इन्टरनेट पुर्याएका थिए।
आफ्ना गाउँठाउँका सपना देख्दै त्यसलाई पछ्याउँदै बेसुर दौडिरहेका महावीरले फेरि अर्को सपना देख्छन् अब देशकै लागि केही गर्नुपर्छ। त्यसका लागि उनका सपनाहरू नै ‘इनोभेटिभ’ हुन थाल्छन्।
पाँच वर्ष सिंहदरबार धाएर बल्ल बल्ल एउटा कागजको चिर्कट पाएपछिको झन् बेसुरिएका अनि एकसुरो भएका महावीरले जन्माएको यही ‘राष्ट्रिय आविष्कार केन्द्र’को आधा कथा पनि हो यो किताब।
किताबको कथा
किताबभित्र महावीरका आफ्ना कथामात्रै छैनन्। उनका गाउँका कथामात्रै पनि छैनन्। बरु पूरै देशका कथाहरू पनि छन्। यहाँ गिजोलिएको राजनीतिको कथा छ। राजनीतिबाट केही नगरेका र हरेक क्षेत्रमा राजनीतिमात्रै गरेका नेताहरूको कथा छ।
र, सँगसँगै यो किताब पनि आफ्नै कथा छ।
३० वर्षदेखि वीरगन्जमा सडिरहेको कृषि औजार कारखाना चलाउँछु भनेर वाचा गरेका महावीरले त्यसलाई पूरा गर्न लेखेको किताब हो यो।
किताब बेचेर कारखाना चलाउने?
भन्नेहरू फेरि उनलाई पागल भनिरहेका छन्।
सत्य त के हो भने सपना साकार पार्नका लागि समझदारमात्रै होइन, पागलपन नै चाहिन्छ।
पागलपन्ती नहुँदो हो त त्यो महावीर, यो महावीर हुनैसक्ने थिएन। गाँउका बालबालिकालाई पढाउने त्यो उत्कष्ट चाहनाले नकुत्कुत्याएको भए त्यो महावीर, यो महावीर हुने थिएन।
महावीर आज त्यही नाम हो, जसलाई यही पागलपनले जन्माएको हो।
र, फेरि अर्को सपनाको पागलपनसँग उनी किताब बोकेर दौडिरहेका छन्। जसलाई बेचेको पैसा जम्मा गरेर उनले कृषि औजार कारखाना चलाउनेछन्।
‘सत्तरी कटेपछि फुर्सदका बेलामा बिस्तारै आफ्नो जीवनकथा लेखौंला र त्यसलाई बेचेर आएको पैसाले परिवारको जीविका चलाउँला भन्ने सोचाइ थियो’, महावीरलाई थाहा छ, ‘यो आधी जीवनकथा बेचेर आएको पैसाले आविष्कार केन्द्रको आवश्यकताको सानो अंश पनि पूरा हुँदैन। त पनि यसले दुई-चारवटा इँटा थप्ने काम भने पक्कै गर्नेछ।’
बाँकी इँटा थप्न त उनले पाएका अन्तर्राष्ट्रिय पदकहरू र उनकै नाममा पोखरामा रहेको २८ रोपनी जमिन उनले बिक्रीमा त राखेकै छन्।
आठौं मोडमा सुरु भएको अर्को मोड
अहिलेसम्म बाँचेको जीवनलाई उनले आठ मोडमा बाँडेका छन्। बालापनका कथादेखि राष्ट्रिय आविष्कार केन्द्रसम्मका कुराहरूलाई उनले सरसर्ती लेखेका छन्। न कुनै साहित्यिक शब्द न कुनै घुमाउरो कुरा। महावीर जति सादा र सिधा छन्, यो किताबमा लेखिएका कुरा त्यो भन्दा पनि झन सादा र सिधा छन्।
किताबको अन्तिम अर्थात् आठौं मोड, यो अन्तिम मोड होइन, बरु त्यो महावीरले सुरु गरेको यो महावीरको अर्को एउटा नयाँ मोड हो। जहाँबाट फेरि नयाँ यात्रा प्रारम्भ हुन्छ। जसका लागि उनले यो किताब लेखे।
बाँकी आधा यात्रा, वीरगन्ज कृषि औजार कारखानाका लागि हुनेछ अनि सायद यो उनको ‘पेन्सनपट्टा’ पनि हुन्छ कि जसबाट उनले बुढेसकालको जीन्दगी काट्न सकून्।
अघिको यो आधी यात्रा त उनले आफ्ना लागि होइन, त्यही कारखानाका लागि लेखेका हुन्।
जिन्दगी त महावीर दाइले त्यसै पनि चलाइदिन्छन्, जुगाडै जुगाडमा....!
भिडियाे :