जीवन के हो? कसरी बच्यौँ भने जीवन सफल हुन्छ? हामी आधाभन्दा बढी मानिस जीवनको परिभाषा खोज्नुमै आफ्नो समय खर्चिने गर्छौँ। तर, जीवन परिभाषाको खोजी भन्दा पनि कर्म हो। मात्र कर्म।
तर, कहिलेकाहीँ आत्मबोधले मानिसलाई आफ्नो अस्तित्वप्रति जिम्मेवारसमेत बनाउने रहेछ। म को हुँ? म यस धर्तीमा यही समय परिस्थितिमा किन जन्मिएको हुँ? मेरो वास्तविकता के हो? मेरो समाजप्रति के उत्तरदायित्व रहन्छ? यहाँ म आफूमात्र बाँच्नुपर्छ या सबैलाई बाँच्ने वातावरण सिर्जना गर्नुपर्छ? यी प्रश्नको जवाफ जो कोहीलाई सोधे पनि आदर्शवादी कुरा गरेर आलटाल पारिदिन्छन्। वास्तविक धरातलमा टेकेर जवाफ दिने आँट कसैले गर्न सक्दैनन्।
हुन पनि हाम्रो सामाज खोक्रो आदर्शवादको खोललाई जानीजानी अङ्कमाल गरिरहेको छ। आदर्शवादी हुनु गलत हुँदै होइन, बरु यो त अनुशासीत जीवनयापको लागि अनिवार्य तत्व हो, जसले उचित मार्गनिर्देश गर्ने गर्छ। तर, सर्वसाधारणदेखि राजनीतिज्ञ जसले बोलीमा आदर्शलाई उच्च स्थानमा राखे तर व्यवहारमा नमज्जाले चुके। उनै खोक्रा आदर्शवादीले ‘आदर्शवादी’ शब्द बखतमा बद्नाम गरे।
आजको हाम्रो सामाजमा कसले कति पढेको छ, कसले कुन विषयमा कति विज्ञता हासिल गरेको छ भन्दा पनि कोसँग कतिको सम्पत्ति छ र मूलधारको सञ्चार माध्यममा कसकाे कति पहुँच छ त्यसलाई आदर्श व्यक्ति मान्दछन्। र, एक जमात छ, जसले त्यही पहुँचवालाले भनेका हरेक बोलीलाई आदर्श प्रवचनका रूपमा स्वीकार गरेको छ। यस्ता प्रवृत्तिले क्षणिक समयसम्म त कसैलाई चर्चित बनाउला र शासनसम्म त पुर्याउला तर यसले कालान्तरमा ठुलो दुर्घटना निम्त्याउने लगभग निश्चित छ।
आयतित सामानले त काम गर्ला तर आयातित विचारले देशमा काम गर्न गाह्राे छ, यदि विचारधारीहरूमा त्याग तपस्या गर्ने सामर्थ्य आयातित छैन भने। हामी आफ्नै सभ्यता बिर्सने कस्तो शासन गर्दैछौँ? हामी आफ्नै इतिहास मेटाउने कस्तो विकास गर्दैछौँ? हामी आफ्नै पुर्खा बिर्सने कस्तो मूर्ख प्रवृत्ति बसाल्न खोज्दै छौँ?
नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास पनि जनअभिमतको इतिहास बनेन। यो फगत नेताहरूको ‘नेगोसिएसन’को इतिहास भयो।
शताब्दी पहिले नै नेपाललाई विभिन्न जातजाति, भाषा, धर्म, कला र संस्कृतिको फूलबारी भनि सर्वव्याख्या गरिएको थियो र त्यहीअनुरूप पछिका पिँढीलाई घोकाइयो तर त्यही विविधताबीच हामी समान छौँ, हाम्रो नागरिक हक समान छ, हाम्रो मानव अधिकार एक छ भनेर कहिल्यै सिकाइएन। फलस्वरूप शान्तिमा खलल पुगिरहेको छ, धरान अनि नेपालगञ्जमा अहिले।
वर्तमान लोकतान्त्रिक राज्य व्यवस्थालाई नियाल्दा यो निकै खतरनाक र डरलाग्दो बन्दै गइरहेको छ। अहिलेको लोकतन्त्र न शासनमा रह्यो न शासकमा, अहिलेको लोकतन्त्र त जेठ १५ अनि सामाजिक सञ्जालले मात्र महसुस गराउँदछ।
वास्तवमा भन्नुपर्दा, अहिलेको लोकतन्त्र नाइके (राजा) हराएको मौरीजस्तै भएको छ।
एउटा मौरी घारमा लगभग २ करोड ९१ लाखभन्दा धेरै मौरी रहेछन् उक्त घारमा साना, ठुला, युवा, तन्नेरी, बुढा सबै प्रजातीहरू रहेछन्। यही घारमा कतिपय उस्तै देखिने नक्कली परिचयपत्र भएका डैना मौरीहरूले पनि अखडा जमाएका रहेछन्। यो सबैको बारेमा त्यहाँका अन्य मौरीहरूलाई थाहा त रहेछ तर त्याहाँको प्रमुखलाई (मुख्य नाइके) केही वास्ता रहेनछ। उक्त घार बिस्तारै निकै विशाल बन्दै जाने क्रममा सुन्दर हिमाल, अग्ला पहाड, समथर तराई भई फैलिएछ। त्यहाँका मौरी पनि ती निश्चल हिमालका लालीगुराँस, मगमग बास्ना आउने पहाडका सुनाखरी, सुनझैं फैलिएका तराईका धानका बाला र सुन्दर फूलबारीमा रमाउँदै रसोपान गर्ने रहेछन्।
यतिकैमा बिस्तारै समयले कोल्टे फेर्दै जाँदा त्यस घारको त्यस्तै उत्साह अनि उमङ्ग रहेन। त्यहाँ अब उस्तै मौरी जस्तै देखिने नक्कली परिचयपत्र भएका डैनाहरूले अनेक बहानामा कोलाहल मच्चाइरहेका हुन्छन्। उनीहरू खुद आफैँ केही पनि गर्दैनन् तर भित्रभित्रै पूरै घार नै खोक्रो पार्ने सोचमा हुन्छन्।
उनीहरू बिस्तारै विभिन्न गुट उपगुट निर्माण गरी घारको मुख्य नाइकेलाई गिराउने दाउमा रहेछन्।
यसरी एउटै घार भित्रको नेतृत्वमा खलबल आउने स्थिति पैदा हुन थालेपछि त्यहाँ एउटाको कुरा अर्कोले नसुन्ने, नमान्ने संस्कार हावी हुन थाल्यो। अनि सुरू भयो भेर फाट्ने(विघठन हुनु)र विभिन्न झुन्ड बनाई हुकुम गर्ने प्रवृति।
अब एउटै घारभित्र सयौँ नाइकेहरू स्वार्थ मिलुन्जेल सँगै हुने, नमिलेको दिन छुट्टिने अनि छुट्टै झुन्ड बनाएर जोरी खोज्ने प्रचलन हावी हुन थाल्यो। यस्तो प्रवृत्तिले त्यहाँका सर्वसाधारणलाई निकै मार परिरहेको हुन्छ भने अर्कोतर्फ यसको प्रत्यक्ष फाइदा चाहिँ उस्तै देखिने नक्कली परिचयपत्र भएका डैना मौरीहरूले लिरहेका हुन्छन्। उनीहरू अनेक बहानामा नाइकेहरूलाई लडाउने दाउमा हुन्छन्, ‘साँडेको लडाइँमा बाच्छाको मिचाइ’ भनेझैँ नाइकेहरूको लडाइँमा निर्दोष सर्वसाधारण हेपाहामा परिरहेका हुन्छन्। उनीहरू खुलेर आहारा लिन पाउँदैनन्, खुलेर आफ्ना कुरा व्यक्त गर्न पाउँदैनन् अनि उनीहरू खुलेर भमराको रसोपान गर्न पनि पाउँदैनन्।
घार भित्रको यस्तो दयनीय दर्दनाक दृश्यलाई देखेर आफ्नो जीवन बर्बाद नगर्ने सोचमा उनीहरू लामो उडान भर्ने निष्कर्षमा पुग्छन् अनि उनीहरूको उडानको गन्तव्य विभिन्न खाडी मुलुक हुन्छ। यो सबै दृश्य छिमेकी कहलिने माकुराले नियालिरहेको हुन्छ।
माकुराले वनबास गएका कयौँ मौरीलाई आफ्नो जालोमा पारी आफ्नो स्वार्थ पूरा गरिरहेको हुन्छ। यी सबैका बारेमा मुखदर्शक भएका नाइकेले पनि केही लछारपाटो लाउन सक्दैनन्। अनि यस्तो परिस्थितिलाई कसरी लोकतन्त्र भन्न सकिन्छ? जसको सङ्घर्षले लोककोतन्त्र आयो, जसको निम्ति लोकतन्त्र आयो उहीँ देशमा छैन। उसैको लासलाई लोकतान्त्रिक सरकारले चिन्दैन। कस्तो हास्यास्पद दुःखद परिस्थिति!
माथिको काल्पनिक परिदृश्य नेपालको हो। किनकि आज नेपालको स्थिति थोत्रो मौरीघारजस्तै भएको छ। यहाँ कसैले भविष्य देखिरहेका छैनन्। अफसोच जसको हातमा सुधारको छडी छ उनीहरु सुधार्नै चाहान्नन्।
अब त्यो मौरीघारको स्थिति के हुन्छ? उस्तै देखिने नक्कली परिचयपत्र भएका डैनाहरूलाई सदाका लागि हटाउन सम्भव छ? स्वार्थको भूमरीमा परेका नाइकेहरूलाई ब्युँत्याउन सकिन्छ? के वनबास गएका मौरीहरूलाई फिर्ता बोलाउन सकिन्छ? के माकुराको जालोमा परेकालाई उद्दार गर्न सकिन्छ? यी सबै प्रश्नको उत्तर कसले दिने?
एउटा देश सिँगार्न कति वर्ष चाहिन्छ? वास्तवमै एउटा देश कति वर्षमा समृद्ध बन्छ? जनताका आधारभूत सपना पूरा गर्न कति वर्ष लाग्छ होला? किनभने हामी विगत ८० वर्षदेखि समृद्धिका लागि लडिरहेछौँ। तर, सपनाहरू उस्तै छन्, समस्याहरू उस्तै छन्। हरेक दिन एउटै सपना देख्नु र पटक-पटक सपनाहरूको मलामी जानु हाम्रो समयको मुख्य त्रास हो।
देश विकास र समृद्धिको चर्चा गर्दा कतिपय मान्छेहरू निकै निराश कुरा गर्छन्। उनीहरूको भनाइ हुन्छ, ‘यो सतिले सरापेको देश हो’। यहाँ केही हुँदैन। केही मान्छेहरू देश राजतन्त्रले बर्बाद बनाएको मान्छन्। कसैको तर्क राजनीतिक प्रणालीसँग जोडिन्छ। कोही हाम्रो नेतृत्वलाई नै बेठिक ठान्छन्। कसैले देशलाई नै सक्तो गाली गरेको सुनिन्छ। समस्या कहाँ छ? के साँच्चै हाम्रो भूगोल, हाम्रा हिमाल, नदीनाला र वन जङ्गल बेकामे छन्? के हामी बन्जर छौँ? के हामीलाई सतीले सरापेकै हो? कि हामी जनता नै खराब हौँ? के हामीसँग कुनै सम्भावनाहरू छैनन्?
हरेक सङ्घर्षहरू खेर गए। निश्चय नै व्यवस्था फेरियो तर जनताको आर्थिक र सामाजिक अवस्था फेरिएन। राजनीति फेरियो, नेताहरू फेरिए, शासकहरू फेरिए तर देश र जनताको जीवन फेरिएन।
नेताहरू एक अनौँठो रोगबाट ग्रसित देखिन्छन्। उनीहरू आम सर्वसाधारण हुँदासम्म समस्या सुल्झाउन राजनीतिमा जान्छन्। भाषण गरुन्जेल, घोषणापत्र बाडुन्जेल यतिसम्म कि विपक्ष दलको सांसदको हैसियतमा रहुन्जेल सरकार र शासनको त्रुटि मज्जैले औल्याउँछन् तर आफू शासनमा या पदमा रहँदा उनीहरूको स्मरण शक्ति एकाएक गुम्छ र समस्या देख्नै छोड्छन्। नेता र जनताको सपना जुन दिन एउटै हुन्छ, त्यो दिन समृद्धिको यात्रालाई कसैले रोक्न सक्दैन अनि सबै प्रश्नको उत्तर पनि भेटिनेछ। किनभने, भाषणले मात्र सफलता मिल्दैन। यस्तो हुन्थ्यो त देश उहिल्यै फेरिने थियो तर सम्भावनाहरू पूरा गर्न असल राजनीति चाहिन्छ। उम्दा नेताहरू चाहिन्छ। मानव स्रोत चाहिन्छ। असल व्यवस्थापकहरू चाहिन्छ, जिम्मेवार सरकार चाहिन्छ।
तर, हाम्रो समस्या, हामीसँग नेताहरू भएनन्, राजनीतिका व्यापारीहरूमात्र भए। स्वप्नद्रष्टाहरू रहेनन्। त्यसैले विगत ८० वर्षदेखि हामी जहाँको त्यहीँ चक्कर मारिरहेका छौँ। समय अगाडि बढ्यो तर हाम्रो नियति उस्तै छ। नेपाली जनतालाई ‘समृद्धिको मिसन’मा एकाकार गर्ने राजनीतिको अभाव नै बितेको एक शताब्दीको हाम्रो दुर्भाग्य हो। एउटा चिनियाँ लोककथा छ भेँडेबाघको।
कथामा एउटा सिधा, ज्ञानी तर कमजोर भेडाले भगवानसँग प्रश्न गर्छ, ‘प्रभु, हामी किन यति साह्रै शक्तिहीन? हामी नै ज्ञानी, सिधा र सरल पनि हुनुपर्ने अनि हामी नै शक्तिहीन किन? त्यो बाघ हेर्नुहोस् त प्रभु! ऊ कति जन्ड, घमन्डी र शक्तिशाली छ?’
भेडाको कुरा सुनेर परमेश्वरलाई दया लागेछ। त्यसैले उनले भेडालाई शक्तिशाली बनाइदिए। अग्लो र लाम्चो शरीर, ठुलो मुख, तिखा दाँत अनि अगाडि फर्किएका विशाल धारिला सिङ। अपार शक्ति पाएर खुसी भएको भेडो निर्भयपूर्वक वनमा विचरण गर्न निस्कियो। तर, दुर्भाग्य ! उसको मुख, सिङ र जिउले चर्न अप्ठ्यारो भयो। निहुरिनै मिलेन। त्यसैले उसले घाँस खान सकेन। भोकले व्याकुल भेडाको छेउमा नाच्दै खेल्दै र चर्दै सानो खरायो आइपुग्यो। भेडालाई लाग्यो, भोक शान्त गर्न यही खरायो खाइहेर्दा के होला?
शक्तिसम्पन्न भेडाले सजिलै खरायो समात्यो र खायो। घाँसभन्दा खरायोको मासु निकै मिठो थियो। उसले आफू कुनै समय भेडो भएको इतिहासै बिर्सियो। ऊ ज्ञानी र सिधा भेडोबाट घमन्डी र स्वार्थी भेडे-बाघ बन्यो। त्यसपछि उसले कहिल्यै घाँस खाएन।
यो कथा हाम्रो राजनीतिसँग ठ्याक्कै मिल्छ। अप्ठ्यारो पर्दा जनतासँग शक्तिको याचना गर्ने हाम्रा नेताहरू जनताको आशीर्वाद पाउनासाथ पटक-पटक भेडोबाट भेडे-बाघ बने। उनीहरू ज्ञानी भेडोबाट अभिमानी बाघ बने र जनताको रगत र पसिनामा मस्ती गरे। आजको नेपाली राजनीतिको मूल कथा यिनै भेडेबाघहरूको कथा हो।
प्रश्न फेरि पनि उही आउँछ, ‘नेपाली राजनीतिले जनताका लागि किन सुख दिन सकेन? हाम्रा राजनीतिक परिवर्तनहरू किन परिणामविहीन भए? हाम्रा पछिल्ला आठ दशक कसरी बर्बाद भए? हामी किन निरन्तर सङ्क्रमणमा छौँ?’
हामीलाई भनियो, ‘प्रजातन्त्रले चमत्कार गर्छ।’ त्यसैले हामीले ००७ सालमा राणा शासन फाल्यौँ। तीस वर्षसम्म पञ्चायतसँग भिडन्त भयो र त्यो पनि फालियो। ०४६ सालमा प्रजातन्त्र ल्याइयो तर त्यसपछि पनि आधारभूत तहका जनताको जीवन फेरिएन। फेरि भनियो, ‘यतिले मात्र पुगेन, अब राजतन्त्र फाल्नुपर्छ।’ सबै दोष राजतन्त्रमा छ। ०५२ देखि जनयुद्ध सुरु भयो। नेताले जे भने, जनताले त्यसै गरे। २०६२/०६३ मा आन्दोलन भयो र लोकतान्त्रिक गणतन्त्र प्राप्त भयो। तर, ०६३ पछिको लोकतान्त्रिक गणतन्त्रमा पनि शुभलक्षण देखिएन। २०७२ मा सामाजिक न्याय अनुरूपको संविधान निर्माण गरियो तर यो पनि सामाजिकिकरण हुन सकिरहेको छैन। विकास, सामाजिक न्याय र समृद्धिको दृष्टिबाट हर्दा ००७ देखि ०८० सालसम्मका हाम्रा हरेक वर्षहरू असफल भए। हरेक सङ्घर्षहरू खेर गए। निश्चय नै व्यवस्था फेरियो तर जनताको आर्थिक र सामाजिक अवस्था फेरिएन। राजनीति फेरियो, नेताहरू फेरिए, शासकहरू फेरिए तर देश र जनताको जीवन फेरिएन।
कुनैबेला एसियामै चीन, सिङ्गापुर, मलेसिया, दक्षिण कोरिया र नेपालको अवस्था उस्तै थियो। तर, पछिल्लो आधा शताब्दीमै यी देशहरूले विकास र समृद्धिको नयाँ उचाइ प्राप्त गरे। उनीहरूले चमत्कार गरे तर हामी अभावको पहिरोमा फसिरह्यौँ। उनीहरूसँग चमत्कार गर्ने के छडी थियो त्यस्तो जुन नेपालीसँग आजसम्म छैन? अस्ति भर्खर टप पूअरेस्ट कन्टिरिज अफ एसियामा नेपाल प्रथम भयो। किन यस्तो भयो? यो सब हुनुमा कसको दोष छ? कि त भन्नुपर्यो, हाम्रो जमिन नै खराब छ। हामी जनता नै खराब छौँ। हाम्रो सभ्यता नै खराब छ। हामी गरिब हुनका लागि श्रापित छौँ। अन्यथा गडबडी कहाँ छ?
गडबडी राजनीतिमा छ
किनाकि जनताको आवाज सुन्ने र त्यसलाई सम्मान गर्ने राजनीतिक सत्ता हामीसँग कहिल्यै भएन। राजनीतिक दर्शन, राजनीतिक कार्यक्रम, राजनीतिक संरचना र राजनीतिक नेतृत्वमा असफलता निहित छ। हामीले निर्माण गरेको राजनीतिक ढर्रा, संस्कार र संस्कृति पनि गतिलो देखिएन। समस्या भेडेबाघहरूमा छ। त्यसैले चलनचल्तीको राजनीतिलाई जस्ताको तस्तै राखेर नेपाल बन्ने सम्भावना देखिँदैन।
गडबडी लोकतन्त्रमा छ
सदैव जनता उचाल्ने मनोविज्ञानले लोकतन्त्र बलियो बनाउँदैन। निरन्तर आन्दोलन, ध्वंस र अभावले प्राप्त उपलब्धीहरू कसरी संस्थागत हुन्छन्? लोकतन्त्रमा आन्दोलन त हुन्छन् नै तर प्राप्त उपलब्धीहरू गुम्ने सर्तमा आन्दोलन गरिरहनु उचित हुँदैन।
नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास पनि जनअभिमतको इतिहास बनेन। यो फगत नेताहरूको ‘नेगोसिएसन’को इतिहास भयो। नेपाली राजनीतिले लोकतन्त्रका सफलतम् उदाहरणहरू बनाउनै सकेन। विश्वमा लोकतन्त्र र अझ धेरै लोकतन्त्रको बहस भइरहँदा हाम्रो लोकतन्त्र भने नेताहरूको सङ्कीर्णतामा फसेको छ। परिणाम, हामीसँग या त अराजक लोकतन्त्र छ, या त कुण्ठित लोकतन्त्र। यसरी विशाल लोकतन्त्र बन्दैन।
अतः हामीले जेलाई प्रजातन्त्र, लोकतन्त्र वा जनवाद भन्यौँ आखिर त्यो त सीमित शासकहरूको राजनीतिक तिसर्ना पो देखियो। दम्भी, घमन्डी र आत्मकेन्द्रित नेताहरू भएको मुलुकमा लोकतन्त्रको परिभाषा नै विकृत हुनु अनिवार्य थियो। त्यही भयो। नेपाली जनताले आजसम्म लोकतन्त्रको आनन्द लिन पाएनन्। लोकतन्त्र राजनीतिक संस्कृतिको रूपमा प्रवर्द्धित हुन सकेन।
लोकतन्त्रमात्र तृष्णा भयो
प्रश्न आउँछ, किन हाम्रो लोकतन्त्र यति धेरै सङ्कुचित र कमजोर छ? हाम्रो राजनीतिले इतिहासबाट पाएको वैचारिक जड्ता र सत्तामुखी चरित्र फेर्न सकेन। व्यवस्था फेरियो तर अवस्था फेरिएन। राजनीति फेरियो तर राजनीतिक संस्कृति फेरिएन। सायद, हामीले पाएको राजनीतिक विरासतमै दोष थियो। हामीले राजनीतिको पुनर्गठन गर्न सकेनौँ। जे पायौँ, त्यसैलाई निरन्तरता दियौँ। राजनीतिलाई नयाँ ढाँचा र मौलिक स्वरूप दिने प्रयत्न भएन त्यसैले सीमित मानिसहरूको शासनाधिकारविरुद्ध आमजनताको प्रतिनिधित्व हुने लोकतान्त्रिक शासनको प्रश्न कहिल्यै पूरा भएन।
हाम्रा पछिल्ला ८० वर्षहरू यसरी नै सकिए।
हामीले प्रजातन्त्र र समृद्धिका लागि तीन पुस्ता लामो सङ्घर्ष गर्यौं। पटक-पटक आदोलनहरू भए। यदि एउटा मान्छेको जीवन ३०० वर्षको हुँदो हो त ठिकै थियो। ८० वर्ष आन्दोलन गरौंला, अर्को ८० वर्ष निर्माण गरौंला र बाँकी समय विकास र समृद्धिसँग रमाउँला। तर, जम्मा जीवन नै ७०/८० वर्ष छ त के सम्पूर्ण जीवन आन्दोलनमात्र गर्ने? त्यसो भए समृद्धि कहिले मिल्छ? एउटा आन्दोलन नै समाज परिवर्तनका लागि काफी हुनुपर्ने तर त्यसो भएन। हाम्रो नेतृत्व असफल भयो। परिणाम, हाम्रा आन्दोलनहरू समृद्धिसँग जोडिएनन्, न त परिवर्तनहरूलाई संस्थागत गर्न सकियो। हरेक आन्दोलनले शासकहरू त फेर्यो तर देश र जनताको जीवन फेरिएन। हाम्रो राजनीति भोगी बन्यो। यो सँग ऋषिमन छैन। यो कामातुर छ यो भ्रष्ट छ।
नेपाल बनाउने हो भने राजनीति बदल्नुपर्छ। तर, बदल्ने कसले? आज-भोलि यो प्रश्नको जवाफमा प्राय सुन्निने शब्द हो ‘यूवा’, ‘नयाँ पुस्ता’। तर, अहिलेको युवा पुस्ताको राजनीतिक संस्कार देखेर निकै उराठ लाग्छ। कठै हाम्रो राजनीतिक संस्कार, तथास्तु शैलिप्रति असन्तुष्ट हुने हामी आफू कस्तो विरासत बसाल्न खोज्दैछौँ? यसबाट अनुज पुस्ताले के सिक्ने? अथलो राजनीतिको पराकाष्ठ प्रदर्शन गरी आफैँ नाङ्गिने ताण्डव नृत्यमार्फत् सबैलाई क्षणिक मोहित त पार्न सकिएला तर त्यसले कालान्तरमा आफूले आफैंलाई मगजविनाकाे झोली बोक्ने जोगी बनाउने परिस्थितिको सिर्जन नगर्ला भन्न सकिन्न!
के नयाँ पुस्ताको स्कुलिङ् कस्तो भइरहेको छ भन्नेतर्फ हामी रत्तिभर चिन्तित छौँ त? एकपटक आफ्नो वरिपरिको विद्यार्थी राजनीतितर्फ रमाउने जमातलाई सम्झिउँ त। के उनीहरु हामीले सराप्ने राजनीतिभन्दा भिन्न केही गर्दैछन्? कि उही गफमा रमाइरहेछन्। एकअर्काको मद्दतले विद्यार्थीका समस्या सुल्झाइरहेछन् कि आफ्नो राजनीतिक प्रतिशोध साँध्न समस्या बल्झाइरहेछन्। एक अर्काको राम्रो काममा प्रोत्साहन गरिरहेछन् कि मात्र खेदो खनिरहेछन्। संस्कार भन्ने पदमा पुगेपछि एकाएक आउने कुरा होइन राजनैतिक संस्कारको कखरा आजैबाट सिक्दै गरेको राम्रो नत्र देशलाई गलत राजनीतिक संस्कारले टाट पल्टाउन कत्तिबेर लगाउँदैन। तसर्थ, नेपाल बनाउने हो भने आफ्नो पुरानो प्रवृत्ति बदल्नुपर्छ। साथै त्याग्नुपर्छ, ‘मै खाम मै लाम’को भाव।