‘यो आधार इलाकाबाट ऊर्जा लिएर फर्किने गरेको छु। यहाँ आएर फर्किँदा मलाई नयाँ शक्ति अनुभूति हुन्छ’ पुरानो एउटा आधार इलाका पश्चिम (रुकुम)मा केही गाउँमा पुगेर प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘क्रान्तिकालमा नेतृत्वलाई अप्ठ्यारो पर्दा रुकुम, रोल्पा, सल्यान र जाजरकोट जान्थेँ र त्यस्तै शक्ति लिएर फर्किन्थें।’
उनले भनेको ‘क्रान्तिकाल’ भनेको माओवादीले २०५२ सालमा थालेको ‘युद्ध’ थियो। जसलाई उनले २०३६ सालतिर सिंहदरबार छिरेर यहीँ बिसाए।
संसदीय राजनीतिको काँचो यात्रामा धेरै हण्डर पनि खाए प्रचण्डले। आफ्ना र आफन्तहरूले छोड्दै गए। छुटाउँदै गए। आखिरमा आफूले आफैँलाई छोडे।
अनि त्यही आधार इलाकाबाट उनले ‘प्रचण्डपथ’ कारणबारे एउटा घुमाउरो प्रष्टिकरण दिए।
‘विचारको प्रश्न सबैभन्दा माथि हुन्छ। पहिला प्रचण्डपथ थियो, त्यसले हामी सबैलाई केन्द्रिकृत र एकीकृत गरेका थियौं’, उनले भने, ‘अहिले अलिकति अनेकता देखिएको छ। फेरि हामी विचार संश्लेषण गर्छौं र नयाँ विचारसहित अगाडि जान्छौं।’
आफ्ना कार्यकर्ताको मन राख्न उनले फेरि जनयुद्धपछिको यो २० वर्षे यात्रामा कता-कता छुटेका र टुटेकाहरूलाई ल्याएर फेरि माओवादीलाई त्यस्तै ‘केन्द्रिकृत र एकीकृत’ गर्ने वाचा पनि गरे।
र, ‘जनताको घरघर पुग्न’ माओवादीले थालेको यो ३ महिने विशेष अभियानलाई ‘माओवादी घटक’हरूबीचको एकताको अभियानका रुपमा ब्याख्या गर्न पनि भ्याए।
उनले यतिमात्रै भनेनन्। उनकै भाषामा त्यो ‘क्रान्तिकाल’लाई राष्ट्रिय दिवसकै मान्यता दिएर आलोचना खेप्नुपरेपछि अझ उनी त्यसमा पनि दृढ छन्।
‘फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरिएको छ। यो जनयुद्ध, सहिद, बेपत्ता र घाइतेहरूप्रति उच्च सम्मान हो’, उनले यो पनि भने, ‘मासिक भत्तालगायतका कामहरू व्यवस्थित भएका छन् र बाँकी काम पनि सम्पन्न गरिनेछ।’
जबकि यही विषयलाई लिएर प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमै निर्णय सच्च्याउन अल्टिमेटम दिइसकेका छन् र सत्ता साझेदार काँग्रेसकै नेताहरूले पनि सहमति दर्ज गरिसकेका छन्।
अनि अर्को डर
आधार इलाकामा प्रचण्डले यी वाचाहरूसँगै एउटा अर्को डर अनि त्यसलाई मत्थर पार्न फेरि आफैँले रचेको अर्को आशाको एउटा पत्ता पनि फ्याँके।
यो सत्ता गठबन्धनको पत्ता थियो। फुट्छ कि भन्ने डर थियो अनि ‘पाँचै वर्ष टिक्छ’ भन्ने एउटा कृत्रिम आत्मविश्वास। जो उनले आफूलाई सुन्न जुटेका केही थान कार्यकर्ताहरूलाई सुनाए।
‘कोसी प्रदेशमा केही तलमाथि हुँदै गर्दा गठबन्धनकाविरुद्ध लागेको पनि देखियो’ यो उनको डर थियो।
‘अन्तत: कोसीमा पनि गठबन्धनकै सरकार बन्छ’, यो उनको कृत्रिम आत्मविश्वास।
जबकि बालुवाटार सहमतिको मसी सुक्न नपाउँदै उनीहरूले कोसीमा ८ जना काँग्रेसी सांसद(शेखर कोइराला पक्षका)सँग हात मिलाएर एमाले सत्ता उक्लिसकेको थियो।
जसरी संघीय सरकारको सत्ता राजनीतिमा प्रचण्डले काँग्रेसहरूलाई छोडेर एमाले र फेरि एमालेलाई छोडेर काँग्रेसहरूकै गठबन्धनमा फर्किएका थिए।
सत्ता गठबन्धन तोड्ने एमालेले कोसीमा हानेको घुँयत्रोको पहिलो छालले सरकार ढाल्न र फेरि उसैले भनेजसरी गठबन्धन भत्काउन सफल भएको थियो। त्यही छालले बिस्तारै अरु प्रदेशहरूलाई पनि छुन लागिसकेको छ। सम्भवत: दसैँ बिदा सकिएपछि फेरि ‘सत्ता-राजनीति’का प्रदेश छालहरू समाचारका हेडलाइन बन्नेछन्।
प्रचण्डलाई थाहा छ, एमालेले अनेक छिद्रहरू हेरिरहेको छ जहाँबाट मसिनो ढुङ्गा हानेर उसले गठबन्धनमा खलबली मच्चाइदिनसक्छ। जसरी कोसीमा उसले गठबन्धनमात्रै भत्काइदिएन बरु गठबन्धन दल नेपाली काँग्रेसभित्र विभाजनका प्रस्ट रेखाहरू नै खुट्ट्याइदियो।
र, पनि प्रचण्डलाई ‘पाँच वर्षे’ गठबन्धनको आश उत्तिकै बलियो छ।
‘यो माओवादीको एक्लो सरकार होइन। संयुक्त सरकार हो। तर, यो गठबन्धन भत्काउन अनि टुटाउन अनेकौं प्रयत्न भएका छन्’, अनि उनले भनेका छन्, ‘तर उनीहरू यो गठबन्धन भत्काउन सक्दैनन्। म तपाईंहरूलाई जोड दिएरै भन्छु- यो गठबन्धन पाँचै वर्ष जान्छ। कसैले तोड्नै सक्दैन। कसैले भ्रम नपाल्दा हुन्छ।’
त्यसका दुई आधार पनि प्रचण्डले प्रस्टै भनेका छन्, ती हुन् छिमेकी देशसँगको सम्बन्ध र साथ।
‘छिमेकी अनि अरु मित्र राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्धलाई हामीले बलियो बनाइसकेका छौं। अझै बलियो हुनेछ’, उनले भनेका छन्, ‘भारत, चीन र अमेरिकाको भ्रमण गरिरहेको छ। सबै देशहरू हाम्रो सरकारसँग नेपालको विकास र समृद्धिका लागि सहकार्य गर्न सकारात्मक देखिएका छन्।’
अनि बरू प्रतिपक्ष एमालेलाई उनले प्रस्ट भनेका छन्- उसले गठबन्धन तोड्न खोज्नुको एउटामात्रै कारण हो, सरकारले भ्रष्टाचारका ठुला फाइलहरू खोलेपछि एमाले अत्तालिएको छ।
‘जे जति फाइलहरू खुलेका छन्, सुशासन र भ्रष्टाचारविरोधी अभियान सुरु भएको त्यो कुनै पनि हालतमा रोकिँदै रोकिन्न’, बरु उनले एमालेलाई चेतावनी दिएका छन्, ‘अरु पनि धेरै छन्। सबै फाइल खोलिन्छ। ढुक्क हुनूस्।’
आफैँभित्र फाटेको गठबन्धन
युद्धपछिको राजनीतिक यात्रामा अनेकन राजनीतिक आरोह-अवरोह पार गरिसकेका प्रचण्डका लागि यी सामान्य विषय हुन्। छुट्नु, छुटाउनु र जोड्नु अनि जोडिनु उनको सामान्य राजनीतिक चालहरू हुन्।
आफ्नै पार्टीका दर्जन टुक्राहरूले घेरिँदा पनि प्रचण्ड अत्तालिएनन्, यो बाटोलाई उनले अझ फराकिलो बनाउँदै लगे। आफ्नो लचकतामा अझ लचकपन थपे ताकि जहाँ पनि आफूलाई पुर्याउन र पुग्न सकियोस्।
राजनीतिमा आएदेखि भएका राजनीतिक भागबण्डा र हरेक चुनाव अनि सरकारमा उनले आफूलाई कहिल्यै ‘घाटा’ लाग्न दिएनन्। युद्ध बिसाउनासाथ चुनावै जितेर सबैभन्दा ठुलो दल भएर सत्ताको साँचो पाएका प्रचण्डले त्यसलाई धेरै सम्हाल्न त सकेनन् तर पनि त्यसपछिको राजनीतिक घेरा उनकै वरिपरि छ।
अनि त्यसको केन्द्रमा छन्, प्रचण्ड।
अहिले पनि ठ्याक्कै परिस्थिति त्यस्तै छ। संघीय संसदमा उनका धेरै सांसद छैनन्, प्रदेशमा पनि छैनन्। तर, पनि चुनावमा अनि त्यसपछिको राजनीतिमा उनी यसरी खेले कि ठुलो दलकै समर्थनमा उनी आफैँ सरकारको नेतृत्वमा पुगे।
‘पाँच वर्षे’ उनको खेलोमेलो पनि त्यसकै एउटा आधार हो।
तर, कोसीले बदलेको राजनीतिक धारले उनलाई अब अलिकति किनारामा पुर्याउने खतरा पनि उत्तिकै छ। त्यसका दुई कारण छन्, पहिला- एमालेको गठबन्धन प्रतिशोध। अनि दोस्रो हो- गठबन्धनभित्रै फाटेका मन। गठबन्धन दलभित्रै र दल-दलबीच।
प्रचण्ड आफैँलाई थाहा छ, उनकै पार्टी माओवादीभित्र पनि त्यस्तै छ। गठबन्धन समर्थक र विरोधी ग्याङ त त्यहाँ पनि छ।
काँग्रेसभित्र पनि छ। जसले कोसीमा देखाइसकेको छ। पार्टीभित्र त छताछुल्लै छ। जनता समाजवादी पार्टीभित्रै छ। माधव नेपालका दु:ख त कति छन् कति!
आज प्रचण्डले रुकुममा बोलेको गठबन्धन भविष्यवाणीको जवाफ गठबन्धनकै एक जना नेता नेपाली काँग्रेसका महामन्त्री गगन थापाले दसैंको बिदा सुरु हुनुअघि नै काठमाडौँमा दिइसकेका थिए।
२०७९ मंसिरको निर्वाचनपछि नै नेपाली काँग्रेस ‘एक्लै लड्नुपर्छ’ भनिरहेका थापाले अब पनि गठबन्धन भनिरहे पार्टी नै विभाजन हुने चेतावनी पार्टी सभापति शेरबहादुर देउवालाई पठाएका थिए।
तर उनको त्यो चेतावनी देउवालाई मात्रै होइन, सत्ता साझेदार प्रचण्डलाई पनि हो। जसले काँग्रेसभित्रको ‘कोइराला-थापा’समूह उत्साह अझ थपेको छ।
र, त्यसको सिधा असर अब प्रदेश सरकार खलबलिनसक्छन्। जहाँ संघीयदेखि प्रदेश सरकारसम्मै यो समूहले भनेजति भाग पाइरहेको छैन।
‘नेपाली काँग्रेसभित्रको कुनै पनि शक्तिले २०८४ को निर्वाचनमा गठबन्धन गरेर जानसक्ने आँट गर्नसक्दैन’, उनले भनेका थिए, ‘त्यसो भयो भने पार्टी नै विभाजनको बाटोमा जानसक्छ।’
उनले नेपाली काँग्रेस अब गठबन्धन गरेर जाने पक्षमा नभएको भन्दै जेजस्तो परिणाम आउने भएपनि त्यसका लागि आफूहरू तयार रहेको पनि बताए।
‘अब पनि हामी गठबन्धनमा जाने कल्पना कसैले नगरे हुन्छ। कसैले गठबन्धनमै जाने भन्छ भने काँग्रेस पार्टी एक रहँदैन’, थापाले भने।