घरमा दसैँको रमझम छ। बल्ल अफिस छुट्टी भएर दसैँको माहोलमा जोडिने प्रयास गर्दैछु। तर, केही समय यताको घटनाले झापाका दुर्गा प्रसाईंको बारेमा केही नलेखी बस्न मन लागेन। हुन् त प्रसाईंको बारेमा विद्वान् लेखक, धेरै सब्स्क्राइभ, भ्युज भएका युट्युबले हरेक दिन सामाजिक सञ्जालमा उनलाई चर्चाको शिखरमै पुराइरहेका हुन्छन्। मेरा कुराले प्रसाईंलाई छुन नसक्ला। तर, उनको एउटा पुरानो समर्थक, नयाँ आलोचक हुनुको नाताले उनका बारेमा केही शब्द लेख्न बाध्य छु।
काठमाडौँमा प्रसाईंलाई मोसो दलियो, त्यो बेठिक भयो। प्रसाईंका मान्छेहरुले अर्जुनधारामा युवा संघका नेताहरुको दर्जनौं गाडी फुटाए, त्यो पनि बेठिक भयो। पहिलो घटना, दोस्रो घटना कुनै पनि ठिक होइनन्। फेरि, प्रसाईंलाई फूलपातीका दिन इलामको कार्यक्रममा जान गरिएको अवरोध अर्को बेठिक भयो। आगामी दिनमा प्रसाईंले युवा संघमाथि गर्ने यसै प्रकारका गतिविधि फेरि पनि बेठिक नै हुनेछन्। यसको समाधान भनेको दुवै पक्ष आफ्नो ठाउँमा ठिक ढंगले बसे पुगिहाल्छ। यतातिर म धेरै जान चहान्न। भिडेरभन्दा मिलेर काम गर्नुपर्छ, मेरो बुझाइ हो।
दुर्गा प्रसाईंलाई मैले बिएण्डसी शिलान्यास भएदेखि चिनेको हुँ। त्यो बेला उनको हिम्मत देखेर यहाँ सबै चकित परे। सानो ठाउँमा यति ठुलो अस्पताल के होला भन्ने थियो। तर, अहिले बिएण्डसी स्वास्थ्य उपचार सेवाका लागि उचित गन्तव्य बनेको छ। स्वास्थ्य सेवाकै कारण आज प्रसाईं देशभर चिनिएका छन्। बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पताल स्थापना गरेर उनले भारत जानैपर्ने बाध्यतालाई कम गरेका छन्। क्यान्सर उपचारका लागि गरेको योगदानको कुनै लेखाजोखा गर्न सकिन्न। सर्वसुलभ उपचार सेवामा उनको योगदान हिसाब गरिसाध्य छैन। सुरुदेखि अहिलेसम्म अस्पतालमा बर्षेनि सयौं विरामीहरुले छुट सेवा पाइरहेका छन्। कतिपयले आर्थिक अवस्था अनुसार नि:शुल्क उपचार पनि पाइरहेकै छन्।
अस्पताल भएकाले उपचारमा छुट पाउने कुरालाई ठिकै मान्न सकिन्छ। उपचारमा मात्र होइन, प्रसाईंले सामाजिक रुपमा पनि धेरै काम गरिसकेका छन्। उनको सामाजिक काम जारी नै छ। त्यसका लागि धन्यवाद नै दिऊँ। सामाजिक कामको श्रृङ्खला लामै छ। त्यो जारी पनि रहनेछ। कमैले मात्र सामाजिक सेवा गर्न सक्छन्, जति प्रसाईंले गरेका छन्।
माओवादी पृष्ठभूमिबाट आएका प्रसाईं पछि एमालेमा लागे। एमालेले उनलाई केन्द्रीय सदस्य नै बनायो। एमालेमा केन्द्रीय सदस्य हुन, धेरै दु:ख गर्नुपर्छ। तर, प्रसाईंलाई एमालेले सहजै केन्द्रीय सदस्य बनाइदियो। त्यो निर्णयलाई एमालेका धेरै नेताहरुले रुचाएका थिएनन्। अहिले उनी स्वतन्त्र भन्दै हिँडिरहेका छन्। स्वतन्त्रको पछाडि के-के छ, त्यो समयले विस्तारै उजागर गर्ने नै छ। चाहे जे होस्।
दुर्गा प्रसाईंले पूर्वी नेपालमा आवश्यक भएको मेडिकल कलेज निर्माणका लागि ठुलो लगानीमा संरचना निर्माण सम्पन्न गरेका छन्। तर, अहिलेसम्म सम्बन्धन पाउन सकेका छैनन्। शक्तिशाली व्यक्तिहरुसँग पनि नजिक हुँदा उनले सम्बन्धन पाउन सकेनन्। मापदण्ड पनि पूरा गरेकै थिए। मेडिकल कलेजको संरचना थोत्रे हुँदैछ। करोडौं मूल्यका उपकरणहरु कवाडीमा परिणत हुँदैछन्। एउटा मान्छे जो आफ्नै देशमा केही गरौं भन्दा राज्यबाटै असहयोग पाउँदा त्यसको पीडा सीमित हुनैसक्दैन। उस्तै मान्छे यो अवस्थामा आफूलाई सम्हाल्न सक्दैनन्। हामीजस्ता देशमै सानो लगानी गरेर उद्यम गर्नेहरुलाई कति समस्या छ। प्रसाईंको ठाउँमा आफूलाई राखेर हेर्ने हो भने सम्हालिन सक्ने अवस्था छैन। कहिलेकाहीँ त, उनको बोली सुन्दा पनि त्यही पीडाहरु व्यक्त भएजस्तो पनि लाग्छ।
दुर्गा प्रसाईंले स्वास्थ्य संस्था, शैक्षिक संस्थालगायत आफ्ना विभिन्न व्यवसायमार्फत् सयौंलाई रोजगार दिएका छन्। गरिब, विपन्नलाई पानीको लागि ट्युबेलदेखि सुत्नलाई ओच्छ्यानसमेत दिएको सबैले देखेकै छ। उनीमार्फत् समाजले धेरै सहयोगहरु प्राप्त गर्दै आइरहेकै छ।
यसो भनिरहँदा उनले सामाजिक सेवा गरेकै आधारमा उनको अन्धसमर्थक हुन सकिन्छ? सकिँदैन। प्रसाईं पूर्वी नेपालको लागि एउटा गौरवको पात्र हुन्। तर, अब सच्चिनुपर्छ। सच्चिनुपर्छ भन्दा उनका वरिपरि घुम्नेहरुलाई बेठिक लाग्न सक्छ। लागे लागोस्, प्रसाईंले आत्मसमीक्षा गर्नैपर्छ।
प्रसाईंका वरपर हिँड्ने, उनको समर्थनमा सामाजिक सञ्जालमा लेख्नेहरु, उनको कतिपय गतिविधि मन नपराएर लेख्नेहरुकाविरुद्ध खनिनेहरुकै कारण दुर्गा प्रसाईं यो ठाउँमा पुगेका हुन्। किनभने, प्रसाईंका लागि कुशल सल्लाहार नै छैनन्। उनलाई कुलश सल्लाहकारको खाँचो छ। अरुको कुरा नसुन्ने, आफूले बोलेको मात्रै ठिक हुने र प्रसाईंले जे बोल्छन् त्यसमा ताली बजाउनेहरु दुर्गा प्रसाईलाई बिगार्नेहरु हुन्।
सधैं वरपर भइरहनेहरुले ठन्डा दिमाग लगाएर सोच्ने बेला आएको छ। दुर्गा प्रसाईंलाई ओहोरेहरुको भीडबाट बारिह निकाल्नैपर्छ। हामीलाई हिजोको सेवक दुर्गा प्रसाईं चाहिएको छ। भीडको अघि-अघि हिँड्ने दुर्गा प्रसाईं होइन, भीडलाई दूरीमा राखेर हिँड्ने दुर्गा प्रसाईं चाहिएको छ। भीड देखेर चिच्याउने दुर्गा प्रसाईं होइन, गरिबलाई देखेर सेवा गर्ने प्रसाईं चाहिएको छ। केपी ओली, प्रचण्ड र देउवाको उछितो काड्दा तीन फुट उफ्रिनेहरुबाट प्रसाईंलाई जोगाउन जरुरी छ।
दुर्गा प्रसाईंको वरपर डाक्टरबाहेक कोही पनि उनलाई राम्रो सल्लाह दिने मान्छे छैनन्। यदि हुन्थे त, च्याप्प समाएर मसो दलिदिनु भन्दैन्थे। अराजकताले कसैलाई राम्रो गन्तव्यमा पुराउँदैन। चाहे दुर्गा प्रसाईं हुन् वा अरु कोही। अराजकताको लागि उचाल्ने, उल्काउनेहरुबाट प्रसाईं टाढा रहनुपर्छ। बोल्दा ख्याल गरेर बोल्नुपर्छ। अर्थात्, कम बोल्नुपर्छ। जे मनमा आयो त्यही बोलेजस्तो सुनिन्छ। त्यसरी बोल्नु कसैका लागि हितकर छैन। तोड्नेफोड्ने बाटोबाट बाहिर निस्किएर सोच्नुहोस्। तपाईंको वषौं योगदान चाहेको छ, समाजले।
पछिल्लो समय राष्ट्रियताको पक्षमा जसरीले लाग्नुभएको छ, मुद्धाका हिसाबले बेठिक छैन। तर, सभ्य र संयम हिसाबले लाग्नुपर्छ। हो, देशमा समस्या छ। बिथिति छ। नेताहरुका पर्याप्त खराबीहरु छन्। जनताले चाहेजस्तो जीवन छैन। भ्रष्टाचार र अनियमितताले जरो गाडेको छ। यसको समाधान, उश्रृङखल भीड बोकेर सम्भव छैन। केपी ओली मुर्दावादभन्दा रमाउनेहरुको भीड बोकेर प्रसाईं कुनै पनि गन्तव्यमा पुग्न सक्दैनन्।
अन्त्यमा, दुर्गा प्रसाईं एउटा गौरवको पात्र हो। यो पहिचानलाई आम नागरिक, समर्थक, आलोचकले बुझेका छन्। यो पहिचान बचाइराख्नुपर्छ, त्यसका लागि दुर्गा प्रसाईं कचिङगल भीडबाट बारिह निस्कनैपर्छ। उनीसँग एकाध मान्छेबाहेक सबैजसो कचिङगलको भीड छ।
अब विद्वानहरु, पुराना प्राध्यापकहरु, लेखकहरु, निस्वार्थ सामाजिक योगदान गरिरहेका गुमनाम अभियान्ताहरु, देशको लागि केही गरौं भन्दै देशमा दु:खले बाँचेकाहरु, अस्पताल चिनाउने डाक्टरहरु, तपाईंको अस्पतालमा निको भएका बिरामीहरु, दुरुदराजका किसानहरु, सफल उधोगीहरु, पुराना आफ्नै गुरुहरु, सँगै खेले हुर्केका साथीहरुसँग बसेर भलाकुसारी गर्नुहोस्। के तपाईं हिँडेकै बाटो ठिक छ? उहाँहरुसँग वार्ता, छलफल गर्नुहोस्। त्यसपछि बाटोको पहिचान गरेर अघि बढ्नुहोस्। कचिङ्गल भीडबाट बाहिर आउनुहोस्। देशको लागि शालिनताका साथ धेरै काम गर्न सकिन्छ।
अत: दुर्गा प्रसाईंलाई शुभ दसैँ!