उमेरको उकालो चढ्दै गर्दा जमुना चौधरीको स्मृतिमा झुल्किरहन्छ विगत। दसैं आउनै लाग्दादेखि दसैं आँगनमा आइपुग्दासम्मका ती दिनहरू निकै रमाइला थिए। उसै पनि हरेकलाई प्रिय लागिरहेको हुन्छन् गैसकेका दिनहरू। त्यसैमा पनि पुराना गरगहना, पोषाक मौलिक परिकारहरू लोपोन्मुख भइरहेको देख्दा निकै बलशाली भइदिन्छ विगत।
हाल कैलालीमा बसोबास गरिरहेका चौधरीहरूका पुर्खा दाङबाट आएका थिए। त्यहाँका सबैभन्दा पुराना बसोबास गर्नेमा राना थारुहरूमात्रै थिए। जमुनाका माइतीतिरका पुर्खा कहिले आएका हुन्, उनलाई थाहा छैन। तथापि, उनका ससुरा २०२८ सालमा कैलाली झरेका थिए।
त्यतिबेला दाङतिर शिक्षा क्षेत्रमा राम्रै सुधार भइरहेको थियो। पढ्नु पर्छ भन्ने चेतनाको विकास भएको थियो। दाङबाट कैलाली झर्नेहरूमध्ये कतिपयले आफ्ना सन्ततिहरूलाई पढाउन थालेका थिए। सरकारले समय समयमा कटान खोल्थ्यो। राज्यलाई केही दस्तुर बुझाएर कटान काटी जमिन आफ्नो बनाउने गरिन्थ्यो। फूलबारी, अमरबस्ती, बङरा कटानलगायत थुप्रै ठाउँहरूमा कटान काट्न लगाई बस्ती बसालिएको थियो।
‘त्यो बेला हालको जिल्ला प्रसाशननेर केही पसलहरू थिए। गोरे होटललगायत दुई-चारवटा होटेल थिए। शिव मन्दिरदेखि दूरसंचारसम्मको सडक किनारामा सानो बजार थियो,’ बाल्यकालमा देखेको धनगढी सम्झिन उनले।
२०२३ सालमा धनगढीस्थित बगराकटानमा जन्मेकी जमुनाका बुबा प्रेमलालले पाँच कक्षासम्म पढेका थिए। आफू साक्षर भएको र छोराछोरी पढाउनुपर्छ भन्ने चेतनाले प्रेमलालले जमुनाका चार बहिनी तीन भाइ सबैलाई विद्यालय पठाए। जमुना सम्झिन्छिन् त्यो समय, ‘पहाडीयाको बस्ती निकै कम थियो। रोड बनेकै थिएनन्। भारतबाट आउने बिजुली क्षणभरमै गैहाल्थ्यो। टुकी बालेर पढ्ने गर्थौं।’
जमुना आठ कक्षामा अध्ययनरत छँदा डोटी जिल्ला सिलगढीस्थित महिला छात्राबासमा पढ्न छनौट भइन्। युनिसेफको अनुदानमा संचालित उक्त छात्राबासमा बस्न सुदूरपश्चिमका सबै जिल्लाबाट गरिब र जेहेन्दार छात्राहरूलाई छनौट गरिन्थ्यो। उनी बताउँछिन्, ‘त्यो बेला छात्राबासमा बस्ने छात्राहरूलाई मासिक २५० रुपैयाँ मिल्थ्यो। जसमध्ये दुई सय रुपैयाँ खानाका लागि छुट्याएर मासिक पचास रुपैयाँ पकेट मनि मिल्थ्यो। सबै जिल्लाबाट छनौट भएर गएका १६ जना छात्राहरू थियौं। अनुशासनमा बस्नु पर्थ्याे। बिहान बाहिर निस्कुनु परेमा वार्डेनको अनुमति लिएरमात्रै जान पाइन्थ्यो। बेलुकी ६ बजेपछि छात्राबासको पर्खाल बाहिर जान कसैलाई अनुमति दिइँदैन थियो। दिनभरि पद्म पब्लिक मा.वि.मा पढ्नु पर्ने हुन्थ्यो।’
त्यतिबेला डडेल्धुराको स्याउले बजारसम्म मात्रै गाडी चल्थे। त्यो भन्दा अगाडि बाटो बनेको थिएन। डोटी जानलाई स्याउलेबाट दिनभरको बाटो हिँडेर साँझपख पुगिन्थ्यो सिलगढी। ४ दशक बितिसक्यो उनले पुनः सिलगढी नगएको। २०४१ सालमा एसएलसी उत्तीर्ण जमुनाले सर्टिफिकेट ल्याएर आएपछि पुनः जाने मौका पाएकी छैनन्, उक्त ठाउँमा। बेलाबखत यादका पल्लाभित्र लुकिरहेकै हुन्छ उक्त ठाउँ। विगतका ती अनुहारहरू। होस्टेलकी वार्डेन विष्णुमाया मिसले धर्तीबाटै बिदा लिइसकिन् भन्ने सुनेकी जमुना आफ्ना गुरु गुरुआमाहरू नरेश श्रेष्ठ, सुवर्णा श्रेष्ठ, प्रेमशंकर भट्ट, भोलेन्ट्री सर्भिस गर्न आउने विदेशी शिक्षकलगायत प्रायको याद गर्दै बताउँछिन्, ‘घरघरै दोकान। दुईतिर पसल, बीचमा ढुङ्गा छापेको बाटो। चिसो हावापानी, निकै सुन्दर थियो ठाउँ। छात्राबासमा बस्दा पानी लिन कहिलेकाहीँ बजार नजिकका गाउँहरू रातुली पाकरीसम्म पुग्थ्यौं। यो मधेशकी मुलाइ हिट्ट सक्दिन भनेर साथीहरू जिस्क्याउँथे। डोटेली भाषा राम्रैसँग बोल्ने भैसकेकी थिएँ म पनि। नयाँ भाषा सिक्दा र बोल्दाको आनन्द छुट्टै थियो। सिजन अनुसारका फलफूलहरू पाइन्थे।’
जमुनाले साथीहरू र सर मिससँग त्यतिबेलै खप्तड घुम्ने मौका पनि पाइन्। खप्तडको चिसो पानी, सुन्दर दृश्य बाबा र बाबाको बस्ने ठाउँ सबै देखिन्। त्यतिबेला भीएसोले खप्तड बाबासँग र खप्तडका फाँटहरूमा साथीहरूसँग खिचिदिएका केही फोटाहरू छन्, उनीसँग। ‘कहिलेकाहीँ एल्बम पल्टाउँदा ती फोटाहरूले याद दिलाउँछन् विगतको’, उनले सम्झिन।
त्यो समयमा अभाव थियो, असुविधा थियो। मान्छेमा छोराछोरी पढाउनुपर्छ भन्ने चेतनास्तर कमै थियो। तथापि, त्यतिबेलाको जिन्दगी, मान्छेको दिनचर्या लोभलाग्दो भएको कुरा बताउँछिन् उनी, ‘विकासको हिसाबले अहिले राम्रो र सुखदायी समय भए तापनि खाने बस्ने र रमाइलोको लागि पहिलेकै समय राम्रो थियो। मान्छे धुमधामले चाडपर्व मनाउँथे। सांस्कृतिक हिसाबले त्यतिबेलाका मान्छे निकै धनि थिए। समाजमा आपसी मेलमिलाप र भाइचारा उस्तै थियो। पछिल्लो समय पुराना थुप्रै कुराहरू लोपोन्मुख छन्।’
विगतमा मनाइने चाडपर्वहरू र अहिले मनाइने चाडपर्वहरूमा निकै फरकपन भेटिन्छ। आधुनिकतामा प्रवेश गरेको मान्छे दिनप्रतिदिन नौलो पद्धति अपनाइरहेको छ। टेक्नोलोजीको विकाससँगै पुराना मूल्य मान्यताहरू नष्ट हुँदै गइरहेका छन्। संस्कृतिभित्र पनि एक प्रकारको देखासिकी भित्रिन थालेको छ। अरुको देखासिकी गर्दैगर्दा आफ्ना पुराना कुराहरू लोप भइरहेको कुरा मनन् गर्दै उनी बताउँछिन्, ‘हाम्रोमा दुतीयाको जून हेरेर मात्र जमरा छर्ने चलन थियो। हाल त्यो चलन हराउँदै गयो। घटस्थापनाका दिन जमरा छर्ने मान्छेले नुहाइधुवाइ गरी ब्रत बसेर त्यो तिथिमा देखिने हँसियाजस्तो जूनलाई हेर्नुपर्ने हुन्थ्यो। दुतीयाको जून हेर्न आइजा भन्थे एक अर्कालाई। राति जून हेरेर भोलिपल्ट बिहान पुनः नुहाइधुवाइ गरी जमरा राख्ने चलन थियो। जमरा राख्दा बन्दुक पड्काउँथे। हिजो आज देखासिकी बढी भयो। घटस्थापनाकै बिहान जमरा राख्न थाले। दुतीयाको जून हेर्नै छाडिसके।’
थारु समुदायमा घरभन्दा अलगै गाउँको नजिकमा देउताको थान बनाइएको हुन्छ। जसलाई देउथान भन्छन्। दसैंको दिन त्यही देउथानमा घरघरबाट लगेका जमरा चढाइ गुरुवाले पूजा गरिसकेपछि बल्ल घरघरमा टीका र जमरा लगाइन्छ। देउता पुज्ने क्रममा नवमीको दिनदेखि नै घरभित्र राखिएको कुल देउताको पूजाआजा गर्ने गरिएकै हुन्छ। घरभित्र राखिएको देवता पुज्दा तीन, पाँच वा सात वटा दियो बाल्ने प्रचलन पनि पुरानै हो। जुन हालका दिनमा पनि चलेकै छ। जमुनाकाअनुसार थारु समुदायभित्र पनि रसेवा, मजगैया, दहित, सदगैया, कुश्मी थुप्रै थरहरू छन्। थर अनुसार उनीहरूको आ-आफ्नो देवताको पूजा गर्ने पद्धति पनि फरक छ। थर लेख्ने क्रममा पनि पहिले डगौरा चौधरीमात्र लेख्थे। पछिल्लो पुस्ताकाहरू आफ्नो थर नै लेख्नुपर्छ भन्नेमा लागेका छन्।
त्यो समयमा डोटी पुगेर अध्ययन गरी एसएलसी उत्तीर्ण गरेकी जमुनाले छात्रवृत्तीमै सुर्खेतबाट १० महिने तालिम लिने अवसरसमेत पाइन। जुन तालिम शिक्षण पेशासँग सम्बन्धित थियो। तर, पनि शिक्षण गर्ने धोको अधुरै रह्याे। जीवनमा जागीर खाने सोच पूरा हुन सकेन। १९ वर्षको उमेरमै घरबाट बिहे गर्ने कुरा भयो। जति बिद्रोह गर्दा पनि, जति अनुनय विनय गर्दा पनि उनको केही सीप चलेन। उनी बताउँछिन्, ‘सरकारले दिएको खाएकी छु। तिम्रो केही खाएको छैन। मलाई पढ्न देऊ , जागिर गर्न थालेपछि मात्र गर्छु भनेँ। मेरो कुराको कुनै सुनुवाइ भएन। बिहेको दिनमा खुसी उमङ्ग, उत्साह भन्ने करा केही थिएन। बिहे गर्न लागेकी छु भन्ने फिलिङ नै थिएन।’ पढेलेखेको घरेलुमा जागिर गरिरहेको केटासँग उनको बिहे हुन गयो।
ससुरा पर्शराम समाजसेवी, शिक्षाप्रेमी थिए। श्रीपुर मा.वि घनगढीका संचालक संस्थापक र योजनाकार भन्नु सबै उनै थिए। बिहे पछाडि केही वर्षमै छोरी पाएकी जमुनाले जागिर गर्न नपाएपछि विकल्प रोजिन सिलाइकटाइ। सिलाइकटाइको काम सिक्दासिक्दै सासूले धर्तीबाट बिदा लिइन। श्रीमानको जागिर चितवनमा थियो। घरसम्हाल्ने मान्छे कोही नभएपछि गृहिणी बनेरै बिताइन् समय। दुई जना सन्तति छन्। दुवै पढेलेखेका र आफ्नो खुट्टामा उभिइसकेका छन्। पढाइ, जागिर, छोराछोरी, दिनचर्या कैयौं कुराहरु छन् जो फन्को मार्दै अनेक तरहले स्मृतिमा आइपुग्छन्। तिनै कुरालाई मनन् गदै उनी बताउँछिन, ‘जिन्दगी रंगमञ्च जस्तै रहेछ। कहिले कता कहिले कता।’