‘मुटु जोगाउ’ अभियानमा हिमा

खानपिनकाे बेमेल र विलासी जीवनका काराण मुटु राेग बढ्दाे छ। बच्चादेखि वृद्धसम्ममा मुटुका राेगका समस्याहरु देखिएका तथ्यांक सार्वजनिक भइरहेका छन्। यिनै समस्यालाई मध्यनजर गरेर हिमा गाउँपालिकाले मुटु राेगकाे समयमै उपचार गर्न र राेग लाग्न नदिन ‘मुटु जाेगाउ अभियान’ संचालन गरेकाे छ।

स्वास्थ्यभन्दा काममा बढी ध्यान दिने, उपचार पद्धती महंगाे हुँदा प्राय: नागरिक अस्पतालकाे पहुँचसम्म पुग्नै नसक्नेजस्ता कारणले मुटु मृगाैला राेगबाट नागरिक ग्रसित, हुने अवस्था छ।

अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, मधुमेह, उच्च रक्तचाप र धूम्रपानका कारण मानिसहरुमा हृदयघातको जोखिम बढिरहेका विशेषज्ञहरुकाे भनाइ छ।

गाउँ-गाउँमा मुटुराेगी बढे पनि अस्पताल पुगेर उपचार गराउने अधिकांशकाे आर्थिक स्थिति कमजाेर हुँदा जुम्लाकाे हिमा गाउँपालिकाले स्वास्थ्यमा विशेष ध्यान दिनु परेकाे अध्यक्ष लक्ष्मण शाहीले बताए।

‘केही राेग पालेर बस्न बाध्य छन्। भने काेही उपचारकै पर्खाइमै छन्,’ उनले भने, ‘दुरदराजका विपन्न नागरिककाे समस्यालाई ध्यानमा राखी विभिन्न राेगकाे उपचार गर्न नि:शुल्क शिविर चलाउदैँ आएका छाैँ।’

उनकाअनुसार हिमाले मात्रै, नाक कान, हड्डी, पाठेघर, माेतिया विन्दु शल्यक्रिया हुँदै मुटु राेग परीक्षण अभियानसमेत चलाइएकाे छ। उनले थपे, ‘सरकारमा हामी आएकाे १७ महिनाकाे अवधिमा विभिन्न खाले ७ वटा शिखिर सञ्चालन गरेका छाैं।’

पछिल्लो समय हिमाले ३ दिने मुटु राेग परीक्षण अभियान चलायाे। भर्खर नि:शुल्क माेतिविन्दु शल्क्रिया शिविरबाट ४१ जनाकाे शल्यक्रिया गरेकाे हिमाले मुटु जाेगाउ अभियानअन्तर्गत २१ सय बढी बालबालिकाे मुटु राेग परीक्षण गराएकाे छ।

गाउँपालिकाकाे आयाेजना तथा ‘मुटु जाेगाउ‘ काठमाडौँकाे प्राविधिक सहयाेगमा कूल दुई हजार तीन सय ७३ जनाकाे मुटु परीक्षण गरिएकाे अध्यक्ष शाहीले जानकारी दिए।

उनले भने, ‘मेराे पहिलाे प्रथामिकता नागरिककाे स्वास्थ्य हाे। पालिकाभरका सबै नागरिककाे नि:शुल्क बिमा गर्ने पनि नीति छ। विद्यार्थीहरूकाे मुटुकाे अवस्था थाहा पाउनकाे लागि परिक्षण गरेका हाैँ।’

परीक्षण गरिएकामध्ये १३ जनाकाे नि:शुल्क शल्यक्रियाकाे लागि मनमोहन कार्डियो थोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौँमा रेफर गरिएकाे छ।

गाउँमै नि:शुल्क उपचार पाएपछि हिमाका विपन्न नागरिक खुसी भएका छन्। महंगाे खर्च गरेर उपचार गराउन जाने स्थिति नरहेका स्थानीय बालबालिकादेखि वृद्धले गाउँमै उपचार पाउँदा सरकार भएकाे महसुस गरिरहेका छन्।

प्रकाशित मिति: : 2023-10-17 08:33:00

प्रतिकृया दिनुहोस्