(अपडेट) इजरायलबाट ९ देशले लिकाल्दैछन् आफ्ना नागरिक

Reuters/AFP

कुन–कुन देशले द्वन्द्वग्रस्त इजरायलबाट आफ्ना नागरिकलाई बाहिर निकालिरहेका छन्?

इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच द्वन्द्व चर्किंदैजाँदा ९ देशले आफ्ना नागरिकहरूलाई उद्धार गर्न हतारिएका छन्। ती देशहरूले इजरायलमा फसेका आफ्ना नागरिकलाई चाडै जन्मभूमि फर्काउन लागिपरेका छन्।

सूचीसहितः

अर्जेन्टिना
अस्ट्रेलिया
ब्राजिल
क्यानाडा
नाइजेरिया
नर्वे
स्विजरल्याण्ड
स्पेन
दक्षिण कोरिया

र, द्वन्द्वग्रस्त इजरायलमा सयाैँ नेपाली विद्यार्थीहरू अलपत्र छन्। हमास र इजरेलबीच लडाइँ भइरहेको क्षेत्रबाट सुरक्षित स्थानमा लगिएका नेपालीहरूले भने उद्धार कहिले हुन्छ भन्ने निश्चित नहुँदा आफूहरू थप अन्योलमा परेको बताएका छन्।


इजरायलमा १० नेपालीको मृत्यु, शव नेपाल ल्याउन पहल गरिँदै

इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच चर्केको पछिल्लो लडाइँका क्रममा हालसम्म कम्तीमा १० जना नेपालीहरूको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन्।

इजरायल स्थित नेपाली दूतावासलाई त्यहाँको प्रहरीले १० नेपाली विद्यार्थीको मृत्यु भएको जानकारी पठाएको बताइएको छ।

प्रहरीले अझै एक जना नेपाली नागरिक हराइरहेको र चार जना घाइते भएको र दुई जना सुरक्षित रहेको दूतावासलाई जानकारी दिएको छ।

इजरायल स्थित नेपाली दूतावासले नेपाली समय अनुसार आइतबार राति जारी गरेको वक्तव्यमा भनिएको छ, 'दक्षिण इजरेलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट १० जना नेपालीहरुको दुःखद निधन भएको छ (नामको सूची छिटै सार्वजनिक गरिने) भने ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। साथै सम्पर्कविहीन रहेका एकजना नेपालीको खोजीकार्य भइरहेको छ।'


गाजा क्षेत्र खाली गराउँदै इजरायल

इजरायली सेनाले गाजा क्षेत्रका शहरहरूमा बस्ने सबै बासिन्दाहरूलाई चौबीस घण्टाभित्र अन्यत्र सारिने बताएको छ।

प्यालेस्टिनी लडाकु समूह हमास रहेको क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्र पार्ने क्रममा सीमा नजिकका क्षेत्रहरू खाली गर्न लागेको बीबीसीले जनाएकाे छ।

दक्षिणी इजरायलमा दोस्रो दिन पनि दुई पक्षबीच भिडन्त जारी छ र त्यहाँ चार सयभन्दा बढी प्यालेस्टिनी बन्दुकधारीहरू मारिएको र कैयौँलाई गिरफ्तार गरिएको इजरायली सेनाले जनाएको छ।

गाजास्थित प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरायलले गरेको हवाई हमलामा तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको र करिब दुई हजार घाइते भएको बताएका छन्।


इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि

प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको छ।

शनिबार बिहान हमासले गरेको घातक रकेट आक्रमणमा परेर १० जना नेपालीको मृत्यु भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पुष्टि गरेकी छन्। उनकाअनुसार अन्य चार जना घाइतेकाे अस्पतालमा उपचार भइरहेकाे छ।

दूतावसका अनुसार मृत्यु हुनेमा:

कैलालीकाे घोडाघोडी–४ का नारायण न्यौपाने

बझाङकाे जयपृथ्वी–६ का गणेशकुमार नेपाली

कैलालीकै बाउनिया–३ का आशिष चौधरी

दार्चुलाकाे लेकाम–५ का दीपेशराज विष्ट

धनुषाकाे सपही–६ का आनन्द साह

सुनसरीकाे मधुवान–१ का राजेशकुमार स्वर्णकार

डाेटीकाे पाँचनलीका राजन फुलारा

डाेटीकै लामिखाल–८ का पदम थापा

सल्यानकाे सारदा–३ का प्रवेश भण्डारी

दार्चुलाकाे मालिकार्जुन–४ का लोकेन्द्र सिंह धामी

उनीहरूकाे शव नेपाल ल्याउने व्यवस्था गरिँदैछ।


इजरायलद्वारा गाजाबासीलाई घरबाट भाग्न चेतावनी

इजरायलले गाजामा बसिरहेका मानिसहरूलाई शनिबार हमासले आफू विरुद्ध गरेको भीषण आक्रमणको बदलामा कारबाहीअघि बढाइरहेको भन्दै घर छाड्न चेतावनी दिएको छ।

हमासका निशानाहरू ध्वस्त पार्ने चेतावनी इजरायलले दिएपछि गाजाका मानिसहरू सुरक्षित रहने प्रयास गरिरहेका छन्।

दक्षिण इजरायलमा साइरनका आवाजहरू सुनिएका छन्। हमासले आफूले इजरायलको एसकलोन शहरमा एक सयवटा रकेट प्रहार गरेको जनाएको छ।

इजरायली सेनाले देशभित्रका कैयौँ ठाउँमा लडाइँ चलिरहेको बताएकाे बीबीसीले जनाएकाे छ।


हमासपछि लेबनान गर्‍याे इजरायलमाथि आक्रमण

प्यालेस्टाइनी कट्टरपन्थी समूह हमास र इजरायलबीचको युद्ध दोस्रो दिन पनि जारी छ। इजरायलले भिडन्तका क्रममा आफ्ना २६ सैनिकको मृत्यु भएको जनाएको छ।

त्यस्तै, लेबनानको आतंकवादी संगठन हिजबुल्लाहले पनि इजरायलमाथि मोर्टार प्रहार गरेको छ। मिडिया स्राेतका अनुसार इजरायलले पनि लेबनानमा हवाई आक्रमण गरेकाे छ।

हमासले हिजाे इजरायलमाथि ५ हजार रकेट प्रहार गरेको थियो। युद्धको दोस्रो दिन आज गाजा क्षेत्रमा तैनाथ इजरायली रक्षा बलका कमाण्डरसहित ३०० जना मारिएका छन्। युद्धकाे क्रममा २ सय ५६ जना प्यालेस्टाइनी पनि मारिएका छन्।

इजरायलमा १ हजार ८ सय ६४ जना र प्यालेस्टाइनमा १ हजार ७ सय भन्दा बढी घाइते भएका छन्। इजरायली डिफेन्स फोर्सका प्रवक्ता जोनाथन कोनरिकका अनुसार हमासले महिला र बालबालिकासहित करिब २०० इजरायलीलाई बन्धक बनाएको छ। उनीहरूलाई गाजा लगिएको छ।


इजरायलबाट नेपालीको सन्देश

इजरायल–प्यालेस्टाइन द्वन्द्वकाे मारमा नेपालीः कहाँ–कहाँ भइरहेछ लडाइँ, ‘बङ्कर’भित्र कसरी लुक्ने? द्वन्द्वग्रस्त इजरायलबाट नेपाली महिलाको सन्देश—


रातभर रकेट प्रहार, कम्तीमा ६५० को मृत्यु, हजाराैँ घाइते

प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासको आक्रमणपछि इजरायल र प्यालेस्टाइनबीच जारी द्वन्द्व रातभर चल्याे। मिडिया स्राेतकाअनुसार दुवै पक्षले एकअर्कामाथि आक्रमण गरिरहे।

शनिबार एकाबिहानै हमासले इजरायलमाथि २० मिनेटमा ५ हजार रकेट प्रहार गरेको थियो। त्यसपछि इजरायलले कडा जवाफ दिँदै गाजापट्टीमा आक्रमण गरिरहेकाे छ। अहिलेसम्म ३०० इजरायली मारिएका छन् भने गाजामा जवाफी आक्रमणमा २३० जना प्यालेस्टाइनीको मृत्यु भएको छ।

यसअघि हमासले केही इजरायली सैनिकलाई बन्धक बनाएको बनाएकाे थियो। इजरायली सेनाका प्रवक्ताले दक्षिणी इजरायलका केही भागमा सेना अझै पनि हमाससँग लडिरहेको र त्यहाँको स्थिति पूर्ण रूपमा नियन्त्रणमा नरहेको बताएका छन्। 


इजरायल–हमास युद्धले अमेरिकामा तनाव

मध्यपूर्व गाजापट्टिमा इजरायल र हमासबीच सुरू भएको युद्धमा अमेरिका पनि होमिएको छ।

इजरायललाई सघाउन पठाइएका अमेरिकी युद्धक विमान अन्तिम समयमा आएर इजरायली क्षेत्रमै फर्काइएका छन्। यसबाट अमेरिका युद्धमै होमिनबाट पछि हटे पनि त्यो सम्भावना टरिसकेको छैन।

प्यालेस्टाइन कट्टरपन्थी समूह हमासले आक्रमण गरेपछि इजरायलले त्यसको प्रतिकार गर्दै इजरायल युद्धमा भएको घोषणा गरेका थिए। यस बीचमा दुबैतर्फ ठूलो संख्यामा धनजनको क्षति भएको छ। यद्यपि, दुबै पक्षले परस्पर विरोधी संख्या बाहिर ल्याएका छैन जसको स्वतन्त्ररूपमा पुष्टी हुन सकेको छैन।  

यो युद्धले अमेरिकामा पनि एक्कासी तनाव बढेको छ। राजधानी वासिङ्टन डीसी, न्युयोर्कलगायतका ठूला सहरमा सुरक्षा सतर्कता बढाइएको छ।

इजरायलको कट्टर समर्थक अमेरिकाले हमासलाई आतंककारी भन्दै आएको छ। उसले हमासको यो आक्रमणलाई आतंकवादी कारबाही भन्दै त्यसको प्रतिरोधका लागि इजरायललाई आवश्यक पर्ने सबै सहयोग गर्न तयार रहेको बताएको छ।


गाजापट्टी क्षेत्रमा दुवै तर्फ कम्तीमा ३०० जनाको मृत्यु

इस्लामिक प्रतिरोध आन्दोलन (हमास) को रकेट आक्रमण र घुसपैठका क्रममा शनिबार बिहानदेखि कम्तीमा १०० इजरायलीको मृत्यु भएको इजरायली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

आक्रमणमा परी कम्तीमा ७०० इजरायली नागरिक घाइते भएको जनाइएको छ। प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो। यसअघि प्राप्त जानकारीमा गाजापट्टीमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको इजरायली अधिकारीले पुष्टि गरेका थिए।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासको आक्रमणपछि उक्त समूहसँग युद्ध भइरहेको बताएका थिए। यसैबीच, गाजाबाट प्राप्त समाचार अनुसार इजरायली हवाई आक्रमणमा परी कम्तीमा १९८ जनाको मृत्यु हुनुका साथै एक हजार ६१० जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ।

'गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा १९८ जनाको मृत्यु भएको छ भने एक हजार ६१० जना घाइते भएका छन्,' मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।


संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक आइतबार बस्दै

प्यालेस्टाइनी लडाकू समूह ‘हमास’काे आक्रमण र गाजामा इजरायली बमबारीलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आइतबार बैठक बोलाएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हमासको आक्रमणको निन्दा गर्दै व्यापक द्वन्द्व हुन नदिन सबै कूटनीतिक प्रयास गर्न आग्रह गरेको राष्ट्रसंघका प्रवक्ता स्टेफन दुजारिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


इजरायलमा ९ नेपाली घाइते, २ जनाकाे अवस्था गम्भीर

इजरायलमा प्यालेस्टाइनी लडाकू समूह ‘हमास’को आक्रमणमा परेर ९ जना नेपाली घाइते भएकाे र ती मध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ।

शनिबार मन्त्रालयमा बसेकाे आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले घटनाकाे विवरण सार्वजनिक गरेकाे हाे। ती घाइतेहरुकाे पहिचान खुलाइएकाे छैन।

घाइतेमध्ये सात जनालाई गाेली लागेकाे जनाइएकाे छ। भने, दुई जना बेहाेस् अवस्थामा भेटिएका थिए।

प्यालेस्टाइनी लडाकू समूह ‘हमास’ले गाजा क्षेत्रमा हराजाैँ रकेट प्रहार गरेकाे थियाे। भने, त्यस लगत्तै गाजा क्षेत्रमा प्रवेश गरेकाे थियाे। हमासकाे आक्रमणमा परेकाहरुकाे उद्दारकाे लागि खटेकाे इजरायली प्रहरी गाजा क्षेत्रका घर र बंकरसम्म पुगेकाे छैन।

हमासले गाजा क्षेत्रका केही घर र बंकरहरु कब्जा गरेकाे छ। त्यहाँ रहेकाहरुकाे अवस्थाबारे अहिलेसम्म कुनै सूचना प्राप्त भएकाे छैन।

विज्ञप्ति :

 


इजरायलको ‘बङ्कर’भित्र घाइते नेपाली- कसैकाे हात छैन, कसैकाे खुट्टा छैन


हमासले बन्धक बनायाे दर्जनाैँ इजरायली सैनिक

इजरायली सेनाका प्रवक्ता डेनियल हागारीले प्यालेस्टाइनको विद्रोही समूह हमासले गाजा क्षेत्रमा कैयौँ इजरायली सैनिकको मृत्यु भएको पुष्टि गरेका छन्। र, बन्धक बनाएको दाबी गरेका छन्।

मारिएका इजरायली सैनिकको संख्या यकिन भइनसकेको भएपनि २२ स्थानमा लडाइँ जारी रहेको हागारीले बताएका छन्। उनले गाजा क्षेत्रसँग सिमाना जाेडिएका चारवटा डिभिजन तैनाथ गरिएको र त्यहाँ थप ३१ वटा बटालियन तैनाथ आवश्यक रहेकाे बताएका छन्।


गाजामा १०० इजरायलीको मृत्यु, ९०० घाइते

इजरायली स्वास्थ्य मन्त्रालयका अनुसार प्यालेस्टाइनी आक्रमणमा परी करिब ९०८ जना घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।

आक्रमणमा परी हालसम्म १०० जना इजरायलीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।


गाजामा मृत्यु हुनेको संख्या १९८ पुग्यो

प्यालेस्टाइनी हमला र प्रतिउत्तरमा इजरायलले गरिरहेको कारबाहीका क्रममा गाजा क्षेत्रमा ज्यान गुमाउने प्यालेस्टाइनीको संख्या १९८ पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

मिडिया स्राेतका अनुसार एक हजार ६०० भन्दा बढी घाइते भएका छन्। इजरायली सेनाले गाजाका विभिन्न भागलाई लक्षित गरी हवाई आक्रमण गरिरहेकाे छ।


हमासले बन्धक बनाएको ‘बङ्कर’भित्र १७ नेपाली, ९ गम्भीर घाइते 

प्यालेस्टाइनको विद्रोही समूह हमासले नियन्त्रणमा लिएको एउटा इजरायली ‘बङ्कर’भित्र नेपाली बन्धक बनेका छन्।

शनिबार बिहान प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायली भूमिमा रकेट आक्रमण गरेको थियो। सुरक्षा साइरन बजेपछि बङ्करमा छिरेका स्थानीयसँगै त्यहाँ नेपाली पनि थिए।

उनीहरू कृषि तालिमका लागि त्यहाँ पुगेका थिए। 

नीतिबोद भन्ने ठाउँमा रहेको किबुज वस्तीमा सुरक्षाका लागि बनाइएका बङ्करहरू पनि हमासले नियन्त्रणमा लिएको थियो। 

सुरुमा हमासले रकेट हानेपछि इजरायली सेनाले पनि प्यालेस्टाइनका धेरै ठाउँमा आक्रमण गर्न थालेको थियो। तर हमासका हजारौं लडाकुहरू इजरायली भूमिमै छिरेर धेरै ठाउँमा युद्धबन्दीहरू बनाएको छ। 

गैरआवासीय नेपाली संघ इजरायलका अध्यक्ष गणेश गिरिका अनुसार हमासले नियन्त्रणमा लिएको एउटा बङ्करभित्रका केही नेपाली सम्पर्कमा आएका थिए। तीमध्ये कम्तीमा ९ जना घाइते भएका छन्। 

उनीहरूको अवस्था गम्भिर रहेको हुनसक्ने उनले बताए। इन्टरनेट चल्ने बङ्करमा रहेका नेपालीले बाहिर रहेका नेपाली समुदायका अगुवाहरूसँग केहीबेर भिडियो सम्पर्क पनि गरेका थिए। 

त्यो भिडियो दृश्यमा रगत लतपत भएका धेरै नेपाली देखिएका थिए। विद्रोहीले बाहिर घेरिरहेका कारण कोही पनि बाहिर निस्किन पाइरहेका छैनन्। धेरैजसो बङ्करहरूमा इन्टरनेट चल्दैन। 

शनिबार बिहान हमासले इजरायलतर्फ हजारौँ  रकेट आक्रमण गरेको थियो। आक्रमणपछि सुरक्षाका लागि बङ्करमा छिरेका समूहमाथि बन्दुकधारीले आक्रमण गरेका थिए।

अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दीपकप्रसाद वलीले जानकारी दिएका छन्। उनीहरू त्यहाँस्थित फायर वेस्टर्न युनिर्भसिटीमा कृषि विषय अध्ययन गर्न गएका थिए। यो विश्वविद्यालयमा करिब १७ जना नेपाली छन्। उनीहरू कृषि पढ्दै-कमाउँदै कार्यक्रमअन्तर्गत गएका हुन्। उनीहरू धेरैजसो सुदूरपश्चिम प्रदेशका हुन्। 

नेपालीहरूका बारेमा तेल अवस्थित नेपाली दूतावासले आधिकारिक जानकारी दिएको छैन। तर उसले नेपालीलाई सम्पर्कमा आउन अपील भने गरेको छ।

शनिबार एक विज्ञप्ति जारी गर्दै दूतावासले नेपाली समुदायलाई स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्न र आफू पनि सुरक्षित रहन अपिल गरेको छ।


इजरायलमा कम्तीमा सात नेपाली घाइते

प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायली भूमिमा गरेको आक्रमणमा नेपाली पनि घाइते भएका छन्।

शनिबार बिहान हमासले इजरायलतर्फ हजारौँ रकेट आक्रमण गरेको थियो। आक्रमणपछि सुरक्षाका लागि बङ्करमा छिरेका समूहमाथि बन्दुकधारीले आक्रमण गरेका थिए।

त्यही बंकरमा रहेका कम्तीमा सात जना नेपाली घाइते भएको अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दीपकप्रसाद वलीले जानकारी दिएका छन्। उनी आफैँले त्यहाँ रहेका नेपालीसँग सम्पर्क गरेका थिए।

उनका अनुसार ती नेपाली फायर वेस्टर्न युनिर्भसिटीमा कृषि विषय अध्ययन गर्न इजरायल पुगेका हुन्।

प्रकाशित मिति: : 2023-10-07 18:54:00

प्रतिकृया दिनुहोस्