खस सभ्यताबाट सिक्नुपर्ने सांस्कृतिक समन्वयको पाठ

BreaknLinks
BreaknLinks

पछिल्लो समय देशमा भिन्नभिन्न धर्म र समुदायकाे आस्थालाई लिएर टिप्पणी गर्दा धार्मिक दंगा भड्किरहेकाे छ। कुनै निश्चित समुदायकाे खानपिनदेखि आस्थामा नचाहिँदाे टिप्पणी गरिँदा द्वन्द्व निम्तिँदैछ। नेपालगञ्जमा भड्किएकाे द्वन्द्व त्यसैकाे परिणाम हाे।

धर्मनिरपेक्षता घाेषणा गरिएकाे राष्ट्रमा केही निश्चित धर्मका अतिवादीहरुले देखाउने अराजक प्रवृत्ति र राेजेकाे हिंसात्मक गतिविधिले समाज अनियन्त्रित द्वन्द्वमा फस्न सक्ने सम्भावना बढेकाे छ। सदियाैँदेखि संस्कृति आदानप्रदान गरी मिलेकाे सहर नेपालगञ्जमा बेलाबेला भड्काइने दंगाले सद्भावना खलबलिने स्थिति देखा परेकाे छ।

भिन्न भाषाभाषी र संस्कृतिका मान्छेलाई कुनै शासक वा धर्मका अगुवाले नभई समाज आफैँले मिलाएकाे हाे। तर वर्तमान समयमा धर्मकाे नाममा अतिवादी गतिविधि गरिरहेका कथित धर्मगुरुका कारण युगाैँ पुरानाे सामाजिक सम्बन्धमा खिया लाग्दैछ।

याे छाेटाे टिप्पणी खस सभ्यताले सिकाएकाे सांस्कृतिक समन्वयकाे पाठमा आधारित छ। जाे आज पर्यन्त मजबुत छ। यसलाई जाेगाइराख्न नसके भविष्यमा जताततै दुर्घटना हुने उच्च सम्भावना छ।

मष्टाे परम्परा मान्नेहरुका लागि सबैभन्दा ठूलो पर्व पुनी (पूर्णिमा) हाे। वर्षभरिका १२ वटा पुनीमध्ये वैशाख, साउन, कात्तिक र माघ पुनी विशेष छन्। मष्टाेका बाह्र भाइबाहेक महादेउता, वन देउताका लागि काेजगरात पूर्णिमा र भदाै पूर्णिमामा पनि पूजा लाग्छ।

मष्टाे पूजकका लागि पुनी आज पनि महत्वपूर्ण छ। भाेट-मधेस गएका, राेजगारीका लागि इन्डिया (भारत) गएकाहरु सबैतिरबाट पुनीमा घर पुग्ने भनी भाकल गर्छन् र पुग्छन् पनि। यदि पुग्न नसके जरिवाना तिर्नुपर्छ भने बाहिर हुँदा चिताएकाे पुग्याे भने खुसीले जस दिने चलन छ।

पुनीकाे बेला भविष्य हेराउने, शुभ कार्यकाे साइत खाेज्ने, बालीनाली भित्र्याउने लगायतका महत्वपूर्ण निर्णय धामीबाट गराइन्छ भने पुनीमा रमाइलाे गर्ने, देउडा खेल लगाउने गरिन्छ। त्यतिबेला खेलिने देउडाहरु माया-प्रेम, विछाेड, वियोग आदिसँग सम्बन्धित हुन्छन्। जस्तै:
नक्कल पाड्ना ऐना छियाे, उहीँ पुनि फुटिगाे।
नआयै पुनिका रात, मायाजाल छुटिगाे।।

वर्षभरिका १२ वटै पुनीमा चाेखाे निउताे गर्ने, बाह्रभाई मष्टाे र नाै दुर्गन भवानीलाई सम्झिने गरिन्छ। त्यसैले मष्टाे परम्परामा पुनी नै सबैभन्दा ठूलाे पर्व हाे।

११औँ शताब्दीको मध्यतिर नागराजले सिंजामा साम्राज्य खडा गर्दाताकाका खसहरु बाैद्ध धर्मावलम्बी थिए। थुप्रै अध्ययनअनुसार नागराज तिब्बततिरबाट आएकाे देखिन्छ। खसहरु बाैद्ध धर्मावलम्बी भएकाे प्रमाण हालसम्म पनि अस्तित्वमा रहेका अधिकांश देवलहरुकाे निर्माण शैली हाे। जाे बाैद्ध धर्मकाे कलासँग मेल खान्छ।

जस्तै जुम्ला जिल्लाकाे मिचा र त्यस आसपास तथा सिंजामा रहेका पञ्च देवाल, दैलेखकाे भुर्तीमा रहेका पञ्च देवल, सुर्खेत काँख्रे बिहार आदिकाे निर्माण शैली त्यस्ताे छ।

त्यस्तै कयाैँ शिला लेखहरुमा 'ओम मणि पद्मे हुँ,' 'ओम नमाे बुद्धाय' लेखिएकाे पाइन्छ।

पछि सिंजा साम्राज्यकाे सीमा विस्तार भएपछि खसहरु विभिन्न धर्म र संस्कृतिहरुसँग नजिक भए। त्यसै क्रममा खसहरुले मष्टाे संस्कृतिलाई अंगालेकाे देखिन्छ।

जसकाे प्रमाण स्वरुप खस सभ्यताकाे सीमा विस्तार भएकाे क्षेत्रका ठूला तीर्थस्थलहरु छायाँनाथ, मुक्तिनाथ आदिमा पनि (पूर्णिमा) काे दिनसम्म मष्टाे पूजकहरु पुजा गर्छन् भने पडेवाकाे दिनबाट बुद्धमार्गीहरु पूजा गर्छन्। यसरी खस साम्राज्यले सांस्कृतिक समन्वय गरेर अघि बढ्काे देखिन्छ।

भारतीय उपमहादीपअन्तर्गत हालकाे भारतमा हिन्दू धर्मकाे प्रभाव पहिलेदेखि नै बढी थियाे। नेपाल उपत्यका (हालकाे काठमाडौँ) मा पनि हिन्दू धर्मकाे प्रभाव बढ्दै थियाे।

सिंजा साम्राज्यका राजा क्राचल्लदेवले कुमाउ विजय गरेर सिंजा साम्राज्यसँग मिलाएपछि हिन्दू धर्मसँग नजिक भए। त्यसपछि हिन्दुहरुले पूजा गर्ने मन्दिरहरु पनि बनाउन थाले।

जस्तै अछामकाे विनायक मन्दिर, गडवालकाे गुप्तेश्वरमा रहेकाे कृष्णकाे मन्दिर, शिवकाे मन्दिर आदी। जुन खस साम्राज्यकालमा बनेका हुन्। त्यहाँ बनाएकाे एउटा ठूलाे त्रिशूलमा खस सम्राटकाे नाम उल्लेख छ।

खसकालमै मष्टाे, बुद्ध र हिन्दू धर्म सबैकाे समन्वय भएकाे देख्न सकिन्छ। जसकाे उदाहरण जुम्लाकाे ओदी र लेकपुरकाे रहेका लामा विष्णुका थानलाई लिन सकिन्छ।

लामा बुद्ध धर्मका देउता हुन् भने विष्णु हिन्दू धर्मका देउता हुन्। थान मष्टाे पूजककाे पूजा स्थल हाे। यी तीनै फरक–फरक समुदायका धर्म, संस्कृति हुन्।

हिन्दू र बाैद्ध दुबै धर्मावलम्बीका एकै देउता भनेका लामा-विष्णु हुन्। कति थानमा पतुर्ने लामा र विष्णुका फरक–फरक धामी हुन्छन् भने कति थानमा पतुर्ने धामी एउटै हुन्छ। जसले मष्टाे पूजक, बाैद्ध र हिन्दू सबै धर्मावलम्बीका मनाेकांक्षा पूरा गर्छ भन्ने जनविश्वास छ।

यसरी विभिन्न संस्कृतिलाई एकै ढाेकाबाट पसाएर एकै घरमा मिलाएर राख्न सक्नु खस सभ्यताकाे विशेषत थियाे। जाे आज पनि विना कुनै द्वन्द्व निरन्तर चलिरहेकाे छ। आज पनि भिन्न धर्मावलम्बीकाे आस्था बनिराखेकै छ।

तर पछिल्लो समय फरक आस्था, धर्म, संस्कृति र खानपिन शैलीसमेतकाे अस्तित्व अस्वीकार गरिँदा सामाजिक सद्भाव खलबलिँदाे छ। बेलैमा सचेत नहुँदा अस्तित्व नै नामेट नहाेला भन्न सकिँदैन। हाेस गर्‍या है मान्ठाै!

प्रकाशित मिति: : 2023-10-05 19:01:00

प्रतिकृया दिनुहोस्