सन् २०२५ को डिभी लट्री आज (बुधबार) राति ९:४५ बजेदेखि खुल्ला हुँदैछ। अमेरिकी सरकारको विदेश मन्त्रालयका अनुसार लट्री नोभेम्बर ७ को राति ९:४५ बजेसम्म खुल्ला रहनेछ।
अमेरिकी सरकारले हरेक वर्ष विश्वका विभिन्न मुलुकका ५० हजार नागरिकलाई अमेरिकामा स्थायी बसोबासको मौका दिन डाइभर्सिटी भिसा लट्री खोल्दै आएको छ। नेपाल पनि यो लट्री भर्न सक्ने देशको सूचीमा सूचिकृत छ। यसैको उपयोग गर्दै ठूलो संख्यामा 'भाग्यमानी नेपालीहरू' पनि अमेरिका आइरहेका छन्।
अमेरिकी सपना साकार पार्ने एक माध्यमका रूपमा रहेको डीभी भर्ने बेला नेपालमा चाड आएजस्तै हुन्छ। नेपालीका दुई ठूला चाड दशै-तिहारको छेको पारेर आउने यो डिभी लट्री चाडमा हजारौ नेपाली सहभागी हुन्छन्।
यदि तपाईं आवेदन दिने विचारमा हुनुहुन्छ भने यसो गर्नुहोस्
१. दिइएको निर्देशनहरुलाई ध्यानपूर्वक पालना गर्नुहोस्।
२. आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण उल्लेख गर्नुहोस्।
३. विगत ६ महिना भित्र खिचिएको फोटो प्रयोग गर्नुहोस्।
४. स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरुको लागि शुल्क नतिर्नुहोस्।
डिभीको आवेदन निशुल्क छ र यो तपाईंले आँफैं सजिलै भर्न सक्नुहुन्छ। आफ्नो आवेदन बुझाउनुअघि देहाएका सुझावहरू राम्ररी पढ्नुहोस्: https://travel.state.gov/.../diversity-visa-instructions...
डिभी लट्री नेपालको सन्दर्भमा १०+२ उत्तीर्ण जो कोही पनि सहभागी हुन पाउने एक भाग्योदय चिट्ठा हो। यो अमेरिकी सरकारले उपलव्ध गराएको निश्चित वेभसाइटमा गएर बिना शुल्क सजिलै भर्न सकिन्छ। त्यसका लागि ६ महिनाभित्र खिचेको २"X२" को फोटोको सफ्ट कपी र अरू आफ्ना वैयक्तिक विवरण भए पुग्छ।
तर, नेपालमा यसलाई जो कोहीले भर्न नसक्ने र भरे पनि नपर्ने भन्ने खालको भ्रम भिजाएर साइबर क्याफेवालाहरूले लखनउ लूट मच्चाउँदै आएका छन्। यस बारेमा जानकार काठमाडौैस्थित अमेरिकी दूताबासले सर्वसाधारणलाई सुसूचित गर्न यथेष्ठ सूचना पनि सार्वजनिक गर्ने गर्छ। तर, कागले कान लग्यो भन्यो भने कान नछामी कागकै पछि दौडने स्वभावको नेपाली समाज ती सूचनालाई समेत बेवास्ता गर्दै डीभी भर्ने क्रममा मज्जैले ठगिँदै आएको छ।
काठमाडौँ र मोफसलका साना-ठूला सहरमा डीभी भर्ने कारखाना नै खुल्छन् र उनीहरूले डीभी भर्ने मानिसको अनुहार हेर्दै गोजीको अनुमान लगाएर पाँचदेखि एक हजार दुईहजारसम्म पनि असुल्ने गरेका छन्।
यो वर्ष पनि डिभी खुलेसँगै त्यो वार्षिक गोरखधन्दा फेरि सुरू हुनेछ।