थाइल्यान्डमा गुञ्जिँदैछ ‘डाँडाघरे साइँली’

BreaknLinks
BreaknLinks

गायक तथा संगीतकार श्रीकृष्ण बम मल्ल र गायिका लक्ष्मी मल्ल ‘नेपाली संगीत बजार’मा माटो सुहाउँदो गीत–संगीत दिन्छन्। उनीहरू नेपाली दर्शक–श्रोतामाझ लोकप्रिय नै छन्।

‘मल्ल एण्ड मल्ल’ आउँदो २५ नोभेम्बरमा थाइल्यान्डको ‘सुन्दर नगरी’ बैंकक जाँदैछन्। र, थाइल्यान्डमा गुञ्जिँदैछ— ‘डाँडाघरे साइँली’, ‘काँकरी हरिया’, ‘निरमाया ठूली’, ‘हजुर मुसुक्कै’।

श्रीकृष्ण र लक्ष्मी ‘नामी स्टुडियो लुजा’, ‘जी–फोर रकर्स इन्टरटेनमेन्ट ग्रुप’ र ‘हंग्री आइ नेपाली, इन्डियन एण्ड चाइनीज कुइजिन’काे प्रस्तुतिमा बैंकक जाँदैछन्।

लाेकप्रिय लाेकगीत ‘डाँडाघरे साइँली’मा श्रीकृष्णले संगीत भरेका छन्, लक्ष्मीले स्वर। उनीहरूसित जाँदैछन् ‘पप स्टार’ सविन राई। ‘सविन राई एण्ड द फारोह’ देश–विदेशमा चर्चित छ।

थाइल्यान्डमा सविनले सुनाउनेछन्– ‘गुँरासको फेदमुनि’, ‘मलाई अँगाली देऊ’, ‘म संसार जित्ने प्रयास गर्दैछु’, ‘कोमल त्यो तिम्रो वदन’ जस्ता चर्चित गीत।

बैंककको लाइभ कन्सर्टमा सविन राई, श्रीकृष्ण बम मल्ल, लक्ष्मी मल्ल सँगसँगै सुनिँदैछन् गायक दीपेश श्रेष्ठ, कृष्ण विक। र, साथमा हुनेछन् स्थानीय ब्यान्ड बिजिस् आउट ब्यान्ड र द वान बैंक। अनि थाइल्यान्डका स्थानीय कलाकारहरूले आ–आफ्नाे प्रस्तुति दिँदैछन्।

‘नामी स्टुडियो लुजा’को प्रस्तुतिमा हुन लागेको ‘सविन राई एण्ड द फारोह’ लाइभ समारोह ‘स्पाइसी क्लव’ प्रथुनमस्थित पेचनाबुरी–१५ बैंककमा हुँदैछ। ‘लाइभ इन बैंकक’ भन्ने नाराका साथ आयोजना गरिएको कन्सर्ट स्थानीय समयअनुसार साँझ ६ बजेदेखि सुरु हुनेछ।

गैरआवासीय नेपाली संघ थाइल्यान्डको साझेदारीमा बैंककमा आयोजित ‘लाइभ कन्सर्ट’ जी–फोर रकर्स इन्टरटेनमेन्ट ग्रुप र हंग्री आइ नेपाली, इन्डियन एण्ड चाइनीज कुइजिन मुख्य सारथि छ।

थाइल्यान्डको नेपाली संगीत समारोहमा हजारौँ थाई नेपालीहरू झुम्नेछन्। उनीहरू ‘पप स्टार’ सविन राईको पर्खाइमा छन्। र, नेपाली गीत–संगीतमा रमाउन आतुर छन्। बैंककको ‘लाइभ कन्सर्ट’ सानदार तरिकाले सम्पन्न हुने गायक दीपेश श्रेष्ठले बताएका छन्।

प्रकाशित मिति: : 2023-09-26 08:20:00

प्रतिकृया दिनुहोस्