सन्दीपविरूद्धको मुद्दा हेर्ने न्यायाधीश नहुँदा भएन सुनुवाइ

File Photo
File Photo

नाबालिग बलात्कार मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएकाे छ।

गत हप्ता न्यायाधीश अभावको कारण सुनुवाइ स्थगित गरिएको मुद्दा आज न्यायाधीश नहुँदा आज पनि सुनुवाइ हुन नसकेकाे हाे।

यस मुद्दाको फैसला गर्न पटक–पटक पेसी तोकिए पनि विभिन्न कारण देखाउँदै मिति सार्ने गरिएको छ।

असोज १ गते नै मुद्दाको सुनुवाइ हुने भनिए पनि त्यस दिन तीज परेको कारण केही न्यायाधीशहरु बिदामा रहेको तथा केही न्यायाधीशहरुको सुरुवा र बढुवा भएका कारण सुदुवाइ स्थगित गरिएको थियो।

सन्दीपमाथि एक किशोरीमाथि बलात्कार गरेको आरोप छ। १७ वर्षीया किशोरीको उजुरीपछि सन्दीप गत वर्षको असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए।

सन्दीपलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासले गत कात्तिक १८ गते पुर्पक्षको लागि थुनामा पठाएको थियो। तर, त्यसको करिब तीन महिनापछि पुस २९ गते उच्च अदालत पाटनले विभिन्न सर्तसहित २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

त्यसयता काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाइको लागि पेसी तोकिँदै आएपनि फैसला हुन सकेको छैन।

प्रकाशित मिति: : 2023-09-24 10:57:00

प्रतिकृया दिनुहोस्