बिहीबार राति बाँकेको डुडुवा गाउँपालिका–६ मा रहेको जयन्दु बालसुधार गृहमा कैदीबन्दी बालबालिकाबीच झडप हुँदा एक जनाको मृत्यु भयो। मृत्यु हुनेमा रुपन्देही कञ्चन गाउँपालिका–४ का सुलभ केसी हुन्।
झडपमा ९ जना घाइते भए। चार जना बालबालिका अहिले पनि फरार छन्।
दुई समहुबीच बाल सुधार गृहभित्र झडप भएपछि उनीहरु ज्यान बचाउन भागेका थिए। भागेका बालबालिका प्रहरीको सम्पर्कमा आएका छैनन्। प्रहरीले उनीहरूलाई खोजिरहेको छ।
भारतसँग सिमाना गाँसिएको यो ठाउँ आफैमा संवेदनशील क्षेत्र मानिन्छ।
बाँकेको बाल सुधार गृहमा भएको यो पहिलो झडप होइन। अपराधमा मुछिएका बालबालिकाको आचरणमा सुधार गर्ने भन्दै बालबालिकालाई कारागारमा नराखेर सुधार गृहमा राखिन्छ।
सुधारगृह भनिएपनि त्यो एक प्रकारको जेल नै हो।
तर एउटा घटना सेलाउन नपाउँदै बाल सुधार गृहमा एकपछि अर्को डरलाग्दो घटना घटिरहेको छ। भदौ २६ गते वीरगन्ज–४ विर्तास्थित बालसुधार गृहमा दुई समुहबीच झडप भयो।
झडपमा सुधारगृहका होल कमाण्डर सुरज यादव र कमान्डर ललित भुजेलसहित ९ जना बालबालिका र तीनजना प्रहरी घाइते भए। यादव र भुजेल सख्त घाइते भएका थिए। सुधारगृहभित्र तनाब सृजना हुँदा प्रहरीलाई स्थिति नियन्त्रणमा लिन झण्डै २४ घण्टा लागेको थियो।
यहाँ झडप गर्ने समुह भदौ ४ गते भक्तपुरस्थित सानो ठिमीमा रहेको बाल सुधार गृहमा रहेकाहरू नै हुन्।
भदौ ४ गते भक्तपुरको बालसुधार गृहमा एकजना बन्दी बालकको मृत्यु भएपछि तनाब सृजना भएको थियो। बालबालिका प्रहरीमाथि जाइलागेपछि धारिलो हतियार लिएर थुनुवाहरू सडकमै उत्रिए।
दुई सय २१ जना बालबालिका सुधारगृहबाट भागे। भागेका धेरै बालबालिकालाई प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट नियन्त्रणमा लियो। यहाँको स्थिति नियन्त्रण गर्न ठुलो संख्यामा प्रहरी परिचालन गर्नु परेको थियो।
भक्तपुरमा बबाल गर्ने समुहका मुख्य नाइकेलाई सरुवा गरेर विरगन्ज पठाइएको थियो। विरगन्ज पठाएको दुई हप्तामा पुनः भक्तपुर पठाउनुपर्ने भन्दै उनीहरूले त्यहाँ पनि हुलहुज्जत गरे।
त्यही निहुँमा राति सुधारगृहका कमाण्डरलाई कुटपिट गर्नुका साथै एक जनालाई कोठामा थुनेर बिरोध जनाए।
विरगन्जमा भदौ २६ गते भएको झडपको दुई हप्ता नपुग्दै उस्तै प्रकृतिको बाँकेमा बालबालिकाले तनाब सृजना गरेका छन्। बिहीबार राति ११ बजेदेखि सुधार गृहमा झडप भएकोमा प्रहरीलाई स्थिति नियन्त्रणमा लिन दिनभर लाग्यो।
बाँकेको सुधारगृहमा के भएको थियो?
बाँकेको डुडुवा गाउँपालिकामा रहेको बाल सुधार गृहमा बिहीबार राति ११ बजेदेखि झडप भएको हो। झडप भएपछि उत्पन्न तनाब मत्थर गर्न प्रहरीलाई हम्मेहम्मे पर्यो।
जिल्लाबाट थप प्रहरी बल मागेर तनाब मत्थर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बिएल नेपाली सेवालाई जानकारी दिए।
सुधारगृहमा रहेका दुई समुहका बालबालिकाबीच झडप भएको हो। सुधार गृहमा ती कैदीबन्दी बालबालिकाका आ-आफ्नै गुट, उपगुट रहेका छन्। ती गुटबीच पहिलेदेखि नै विवाद हुँदै आएको थियो। एउटा लागुऔषध सेवनकर्ताको गुट छ भने अर्को साधारण समुहको गुट छ।
यी दुईबीच सुधारगृहमा पहिलेदेखि नै विवाद हुँदै आएको सुधार गृहकी प्रमुख विमला काउचा मगरले बिएल नेपाली सेवालाई बताइन्। तर झडपको स्थिति आउनुको यही कारण भन्ने खुलेको छैन।
‘सुधारगृहमा लागुऔषध सेवन गर्ने र अर्को साधारण समुहको छ। यी दुई समुहबीच पहिलेदेखि नै विवाद हुँदै आएको थियो,’ काउचा मगरले भनिन्, ‘गएराति के कारण झडपको स्थिति आयाे भन्ने अहिलेसम्म खुलेको छैन।’
एकले अर्को समुहलाई आरोप लगाउने गरेको उनले बताइन्। अगाडि भनिन्, ‘झडपबाट दुबै समुहका ९ जना घाइते भएका छन्। उनीहरूले एकले अर्को समुहलाई आरोप लगाएका छन्। कसले पहिले कुटेको थाहा भएको छैन।’
झडपमा लागुऔषध सेवन गर्ने समुहका केसीको मृत्यु भएको छ। उनको मृत्यु आफ्नै साथीको कुटाइबाट भएको खुलेको मगरले बताइन्। झडपको स्थिति अहिले सामान्य भएको छ।
दिउँसो बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, प्रहरी प्रमुखलगायतको उपस्थितिमा बालबालिकासँग छलफल भएपछि स्थिति सामान्य भएको हो। छलफलपछि दुई समुहलाई छुट्टा–छुट्टै ठाउँमा राखिएको छ।
बालबालिकाको उग्र रुप
बाँकेको सुधारगृहमा राखिएका थुनुवा बालबालिकाहरू उग्र भइरहन्छन्। बाँकेमा उनीहरूले साथीको मृत्यु हुनेगरी कुटपिट गरेका छन्। भित्रबाट ताला लगाएर प्रहरीलाई भित्र जान नदिएर उनीहरूले उग्र रुप देखाए।
प्रहरीको पेस्तोलसमेत खोसेर लगेको मगरले बताइन्। पछि खोसेर लगेको प्रहरीको पेस्तोल उनीहरुले फिर्ता दिएका छन्।
त्यति मात्र होइन, थुनुवा बालबालिकाले सुधारगृहको भवनका झ्यालका सिसा, रेलिङ, बारहरू भत्काएका र फुटाएका छन्। सुधारगृहमा रहेका दुई मोटरसाइकल, एउटा कम्प्युटर तोडफोड गर्नुका साथै प्रहरीको पोसाकमा पनि आगजनी गरेका छन्।
दुईसय ५४ थुनुवा रहेको सुधारगृहमा १८ वर्षमाथिका एक सय ६५ थुनुवा छन्। १८ वर्ष माथिकाले नै सुधारगृहमा बढी तनाब सृजना गरेको उनले बताइन्।
बाँके, भक्तपुर र विरगन्जमा झगडा गर्ने समुह एउटै
भक्तपुरमा भदौ ४ गते झडप गर्ने समुह पहिले बाँकेको सोही सुधारगृहमा थिए। उनीहरूले बाँकेका निकै तनाब सृजना गरेपछि भक्तपुरमा सारिएको थियो। भक्तपुरमा सारिएका उनीहरूले अन्य समुहलाई कुटपिट समेत गरे।
भक्तपुरमा तनाब सृजना गरेपछि उनीहरूलाई विरगन्ज लगियो। त्यहाँ पनि फेरि उनीहरूले नै झडप गरेको विरगन्ज बाल सुधारगृह प्रशासनले बताएको थियो।
उनीहरुकै समुहले अहिले बाँकेमा झडप गरेको सुधार गृहकी प्रमुख मगरले बताइन्। ‘यहाँबाट लगिएकाले भक्तपुरमा झडप गरे। उनीहरु ठुलो भएपछि भक्तपुर पठाइएको हो,’ उनले भनिन्, ‘अहिले फेरि त्यही भक्तपुर गएका समुहका साना बालबालिका ठुला भइसकेका छन्। तिनीहरुले नै यहाँ तनाब सृजना गरेका छन्।’
सुधारगृहका बालबालिका किन यस्तो?
अहिले बालसुधार गृहहरूमा झडपका घटनाहरु भइरहेका छन्। दुई महिना नहुँदै तीन वटा बाल सुधार गृहमा झडप भएको छ। बालबालिका उग्र बनिरहेका छन्।
बालबालिका किन यस्तो? लागुऔषध ‘केस म्यानेजर’ पबन श्रेष्ठ भन्छन्– अहिले बबाल गरिरहेकाहरू धेरैजसो बालबालिका लागुऔषध प्रयोगकर्ताहरू हुन्।
सिमानाको सहरमा बस्नेहरू उनीहरू लुकिछिपी लागुऔषध प्रयोग गर्ने र त्यसैक्रममा उनीहरू प्रहरीको फन्दामा पर्ने गरेको उनको भनाइ छ।
उनले भने, ‘जब बालसुधार गृहमा बसेका बालबालिकाहरू कुनै कुरामा ‘अपसेट’ हुन्छन्, अनि उनीहरू एकाएक ‘एग्रेसिभ’ बन्छन्। र, उनीहरू एकाएक आवेशमा आउँछन्। तोडफोड र हानमारमा उत्रिने अवस्थामा पुग्छन्।’
श्रेष्ठकाअनुसार ड्रग्सको डोज नपाएर कसैले झगडा गर्दैनन् तर ‘बुलिङ’ गर्यो वा जिस्क्याउने गर्यो भने उनीहरू तनावमा आउनसक्छन्। ‘ड्रग्स नपाएर उनीहरू कमजोर हुन्छन्। अरूलाई नोक्सान गर्ने हिम्मत गर्दैनन्,’ उनले भने, ‘तर जब उनीहरूलाई सुधार गृहमा जिस्काउने वा हेप्नेखालको व्यवहार हुन्छ अनि उनीहरू झगडा गर्न थाल्छन्। एक्शनको रिएक्शन दिइहाल्छन्।’
बालसुधार गृहमा राख्दा सुरुमा उनीहरूको स्वास्थ्य चेकजाँचका साथै डिटेक्सन रुम (कुलतमा फसेकाहरूलाई पहिलोपल्ट डाक्टरको हेरचाहरमा राखिने एक किसिमको कोठा) मा राख्नुपर्ने उनको सुझाव छ। त्यसो गर्नाले उनीहरूको समस्या बुझ्न सकिने उनले बताए।
‘कुलतमा फसेकाहरूलाई सुधार गृहमा राख्दा साइकोलोजिस्टहरूलाई देखाउनुपर्छ। त्यसपछि उनीहरूलाई साइकोलिजी डिसअर्डर छ वा छैन भनेर थाहा हुन्छ अनि त्यही अनुसारको मेडिसिनहरू चलाउन सकिन्छ’, उनले भने, ‘त्यसो गर्नाले आपराधिक घटनाहरू रोक्न सकिन्छ।’
उनका अनुसार त्यस्ता बालबालिकालाई कुनै दबाब वा यातना दिएर भन्दा सम्झाइ–बुझाइ गरेर उनीहरूकै मनोभावअनुसार व्यवहार गर्नुपर्छ।
याे पनि