निजी शिक्षक, जाे ‘सरकारी’सरह सेवा नपाए पनि चुपचाप पढाइरहेछन्

स्थानीय तहरुले आफूहरुमाथि शासन गर्न नहुने तथा आफूहरुलाई निजामती कर्मचारीसरह सेवा सुविधा उपलब्ध गराउनुपर्ने मागसहित देशभरका सामुदायीक विद्यालयका शिक्षकहरुले तीन आन्दाेलन गरे। राज्यले समान व्यवहार र उचित पारिश्रमक नदिएकाे भन्दै वर्षाैदेखि आन्दाेलित शिक्षकहरु सरकारले विद्यालय शिक्षासम्बन्धी विधेयक संसदमा दर्ता गर्न साथ उर्लिएर काठमाडाैँमा आएका थिए।

सरकारले भर्खरमात्र विधेयक संसदमा दर्ता गरेकाे छ। त्याे विधेयक विभिन्न चरणका छलफल, बहस र परिमार्जनपछि बल्ल ऐनमा परिणत हुनेछ। त्यसकाे लागि महिनाैँ समय पनि लाग्न सक्छ।

तर, सामुदायीक विद्यालयका शिक्षकहरु उक्त विधेयक छलफल संशाेधन हुनुअघि नै १७ बुँदे माग राखेर सरकारलाई घुर्की लगाउन सुरु गरिसकेका छन्। विभिन्न बहानामा सरकारलाई दबाब दिने र सम्झाैता गर्ने काम शिक्षक र सरकारबीच विगतदेखि नै भइरहेकाे छ। यस पटककाे आन्दाेलन पनि सात बुँदे सम्झाैतामा टुङ्गिएकाे छ।

अर्थात्, शिक्षकहरुले यसपटक शिक्षकहरुले सरकारलाई दबाब दिएर आफ्नाे माग पूरा गर्ने दिशाउन्मुख भएका छन्।

शिक्षकहरु प्राय: गरी आफ्नाे सेवा सुविधाकाे विषयलाई लिएर आन्दाेलित हुने गर्छन्।

तर, उनै सामुदायीक विद्यालयका शिक्षकहरु जसरी पठनपाठनमा सक्रिय रहने निजी विद्यालयका शिक्षकहरु भने न कहिले आन्दाेलनमा उत्रिन्छन्, न त राज्यले सुन्ने गरी गुनासाे गर्छन्।

माध्यमिक तहसम्मकाे शिक्षा नि:शुल्क हुनुपर्ने उल्लेख संविधानमा गरिएकाे छ। तर, त्यसविपरीत देशभर ठुलाे संख्यामा निजी विद्यालयहरु सञ्चालनमा छन्। ती निजी विद्यालयमा रहेका लाखाैँकाे संख्याका शिक्षकहरु सामुदायक विद्यालयका शिक्षकहरुले भन्दा कम सेवा सुविधा लिएर विद्यार्थी पढाउनु बाध्य छन्। उनीहरु नै गुणस्तरीय शिक्षा प्रदान गर्नमा सफल छन्। ‘निजी विद्यालयका शिक्षकहरुकाे तलब कम छ तर पनि हामी याे दाबा गर्छाैँ कि संसारभरि बिक्ने गरी उत्कृष्ट जनशक्ति उत्पादन गर्ने निजी विद्यालय नै हुन्,’ काठमाडाैँकाे नयाँ बानेश्वरमा अवस्थित भद्रघले विद्या सदनका शिक्षक बिजय बेलबासेले भने।

शिक्षकहरु काठमाडाैँ केन्द्रित भएर आन्दाेलन ‘नालायक सरकारका मुर्दावाद’ भन्दै प्रहरीमाथि ढुङ्गामुढा गरिरहँदा देशभरका निजी विद्यालयहरुमा निरन्तररुपमा पठनपाठन चलिरहेका छन्।

औसतमा निजी विद्यालयका शिक्षकहरुकाे भन्दा सामुदायीक विद्यालयका शिक्षकहरुकाे तलब सुविधा धेरै हुने गर्छ।

सरकारले माध्यमिक तहकाे प्रथम श्रेणीका शिक्षकलाई मासिक ५६ हजार ७ सय ८६ रुपैयाँ, द्वितीय श्रेणीका शिक्षकलाई ४८ हजार ७ सय ३७ र तृतीय श्रेणीका शिक्षकहरुले ४३ हजार ६८९ रुपैयाँ तलब पाउने गरेका छन्।

त्यस्तै निम्न माध्यमिक तहकाे प्रथम श्रेणीका शिक्षककाे ४५ हजार ८ सय ६२ रुपैयाँ, द्वितीय श्रेणीको ४३ हजार ६ सय ८९ र तृतीय श्रेणीको ३४ हजार ७ सय ३० रुपैयाँ पाउँछन्।

भने, प्राथमिक तहका प्रथम श्रेणीका शिक्षले ४३ हजार ६ सय ८९ रुपैयाँ, द्वितीय श्रेणीका शिक्षकको तलब ३४ हजार ७ सय ३० र तृतीय श्रेणीको तलब ३२ हजार ९ सय २ रुपैयाँ रहेकाे छ।

यता, निजी विद्यालयका अधिकांश शिक्षकहरु सामुदायीक विद्यालयका शिक्षकहरुकाे भन्दा कम तलब सुविधामा काम गर्न बाध्य छन्।

तुलनात्मक रुपमा सामुदायीक विद्यालयकाे भन्दा निजी विद्यालयकाे गुणस्तर उच्च छ। निजी विद्यालयमा पढेका विद्यार्थीहरु नै विश्वबजारमा बिक्न सफल छन्।

तर, निजी विद्यालयका शिक्षकहरुले आफ्नाे इच्छाअनुसारकाे काम गर्छन् र परिणाम निकाल्छन्। तर, सामुदायीक विद्यालयका शिक्षकहरु परिणाममुखी नभएकाे गुनासाहरू आउने गर्छन्।

भद्रघले सदनका शिक्षक बेलबासे नै भन्छन्, ‘निजी विद्यालयका शिक्षकहरु सामुदायीक विद्यालयका शिक्षककाे भन्दा कम तलबमा काम गर्न बाध्य छन्, तर पनि उनीहरु राम्राे नतिजा हात पार्न सफल छन्। तर, सरकारी विद्यालका शिक्षकहरु आफ्नाे सेवा सुविधा बढाउनमा सरकारलाई दबाब दिए पनि गुणस्तर बढाउने कुरामा ध्यान दिएकाे पाइँदैन, यसले शिक्षा प्रणालीमा समस्या हुन सक्छ।’

पाेखराकाे प्रतिभा माध्यमिक विद्यालयका शिक्षक प्रदीप खनाल सामुदायीक विद्यालयका शिक्षकहरु कुनै दलकाे झण्डामुनि रहेर सरकारलाई अनावश्यक दबाब दिने गरेकाे बताउँछन्।

‘शिक्षकको पेसा मर्यादित हुनुपर्छ, शिक्षकहरु सम्मानित हुनुपर्छ भन्नेमा हामी पनि सहमत छौँ,’ खनालले भने, ‘तर, हाम्रा सरकारी विद्यालयका शिक्षकहरु अलिक गैरजिम्मेवार भएको कारण शैक्षिक प्रणालीमा समस्या भएको छ।’ सरकारी शिक्षकहरु राजनीतिक दलको झण्डा र आस्था बोकेर आन्दोलनमा उत्रिनु गलत भएको उनको भनाइ छ।

तलबमात्र हाेइन गुणस्तर बढाउने कुरामा पनि ध्यान जाहाेस्

निजी विद्यालयका शिक्षकहरु आफ्नै विद्यालयकाे लक्ष्यअनुसार काम गर्छन्। त्यसैले पनि निजी विद्यालयकाे नतिजा पनि उत्कृष्ट आउने गरेकाे शिक्षक बेलबासे बताउँछन्। ‘निजी विद्यालयका शिक्षकहरु एउटा लक्ष्यमा लागेर त्यहीअनुसार काम गर्ने गर्छन्,’ बेलबासेले भने, ‘र, त उनीहरुकाे नतिजा उत्कृष्ठ हुन्छ।’

पाेखराकाे हिमाल कलेज अफ म्यानेजमेन्ट शिक्षक हरि कार्की सामुदायीक विद्यालयका शिक्षकहरुमा परीक्षा उत्तीर्णपछि घमण्ड जाग्ने गरेकाे बताउँछन्। ‘एउटा प्रश्न–उत्तरको प्रक्रिया पूरा गरेपछि एउटा व्यक्ति स्थायी शिक्षक बन्छ। त्यसपछि ऊ कुनै पनि प्रक्रियामा सहभागी हुँदैन। अनि, उसले कुनै पनि रुल्सहरु सिक्दैनन्। उनीहरुमा घमण्ड सिर्जना हुँदैजान्छ। यसले शिक्षा क्षेत्र नै खराब बनाइदिन्छ,’ कार्कीले भने।

उनले सामुदायीक विद्यालयका शिक्षकहरुले आफ्नाे लागि सेवा सुविधा सुधारमा माग राखेर आन्दाेलन गर्नु स्वभाविक भएकाे र शिक्षकले शिक्षाकाे गुणस्तर सुधारमा पनि ध्यान दिनुपर्ने बताए।

प्रकाशित मिति: : 2023-09-22 18:54:00

प्रतिकृया दिनुहोस्