काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले संघीय तहले प्रस्तुत गर्नुपर्ने विद्यालय शिक्षा विधेयक संघीय संसद्मा दर्ता गर्नु संविधानको बर्खिलाप भएकाे बताएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै उनले शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधानविपरीत रहेकोले स्वीकार गर्न नसकिने बताए।
‘संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो। संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधानविपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन’, मेयर साहले भने।
उनले स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानित अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराए।
तर यति भन्दै गर्दा शिक्षकले स्कुल बन्द गरेर पठन पाठनमा अवरोध नपुराउन आग्रह गर्दै बालेनले यस्ता अबरोध पुराउनेहरुलाई कानुनअनुसार कारबाही हुनेछ बताए।