जुम्लाको बुम्रमाडीचौरमा पहिरोले पुल भत्काएपछि अप्ठ्याराेमा परे स्थानीय

कनकासुन्दरी गाउँपालिका- १ बुम्रमाडीचौरको खारमा हिमा नदीमाथिको ट्रस पुल पहिराले भत्काएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ। शुक्रबार वर्षासँगै आएको बाढीपहिरोले ट्रस पुल भत्काएको हो।

बुम्र, धुनौली र सिप्टी गाउँका स्थानीय बासीलाई लेब्दी वनमा आवतजावत गर्नका लागि तीन वर्षअघि फोरएस जुम्लाले ट्रस पुल निर्माण गरेको थियाे। यो तीन गाउँको घाँस, दाउरा, स्याउला, गाईवस्तुको चरण क्षेत्र र उत्पादन क्षेत्र पनि त्यहीँ वन जंगल हो।

तर, बाढी पहिराले ट्रस पुल नै भत्किाएपछि आवतजावतमा समस्या भएको वडाध्यक्ष भीम भण्डारीले बताए। ‘त्यो क्षेत्रमा आवतजावत गर्न पाँच मिटर र दुई सय मिटर तलमाथि झोलुंगे पुल त छन्,’ उनले भने, ‘तर, टाढा छन्। तत्काल पुन पनि पुर्ननिर्माण गर्न सक्ने अवस्था छैन। यस विषयमा वडापालिका र गाउँपालिकामा छलफल गर्ने छौँ।’

यस्तै बाढी पहिरोले सौराम बुढाको तीन वटा गोरु, एक वटा भेडा, १० वटा कुखुरा बगाएको छ। खड्क कठायत, धनलाल बुढा र सौराम बुढाको खानेपानीको पाइप, ट्यांकी पनि बाढीपहिरोले बगाएको वडाध्यक्ष भण्डारीले बताए।

उनकाअनुसार प्रहरी घटना स्थालमै पुगेर क्षतिको मुचुल्का बनाई सम्बन्धित निकायमा पठाएको छ।

प्रकाशित मिति: : 2023-09-16 20:08:00

प्रतिकृया दिनुहोस्