पोखरामा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुँदै

हरितालिका तीजको अवसरमा पोखराको लामाचौरमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको हुँदैछ। नव आदर्श सामुदायिक विकास समाजले भदौ २९ देखि असोज १ गतेसम्म १०औं संस्करणको ‘लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल’ प्रतियोगिता गर्न लागेको हो।
 
संस्थाका उपाध्यक्ष दिनेश भण्डारीका अनुसार लामाचौर तीज महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितासँगै अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, अन्तर महिला समूहगत खुल्ला तीज गीत प्रतियोगितासमेत आयोजना गरिएको छ।
 
१०औं संस्करणको लामाचौर कपमा आयोजित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले दुबै विधामा सहभागिता नजनाउने आयोजकले जनाएको छ। 

यस्तै एसियन च्याम्पिनसिपको बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय महिला तथा पुरुष खेलाडीले यस प्रतियोगितामा सहभागिता हुने छैन। 

महिलातर्फ सशस्त्र प्रहरी बलको एफिएफ क्लब, नेपाल पुलिस क्लब, न्यू डायमण्ड स्पोर्टस क्लब र न्यू एभरेष्ट भलिबल क्बल बुटवलले सहभागिता जनाउने छन्। 

दोस्रो संस्करणको पुरुष भलिबलतर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस क्लब बागलुङ र बुटवलको मणिमुकन्द भलिबल क्लबले सहभागिता जनाउने छन्।
 
‘लामाचौर कप’ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुबै विधाका विजेताले नगद १ लाख ५० हजार १ सय ११, दोस्रो हुने समूहले १ लाख १ सय ११ र तेस्रो हुने समूहले ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी पाउनेछन्। 

यस्तै तीज गीत प्रतियोगिताको विजेताले ५० हजार १ सय ११, दोस्रो हुने समूहले ३० हजार  १ सय ११ र तेस्रो हुने समूहले २० हजार १ सय ११ र सान्त्वना हुुने समूहले १० हजार १ सय ११ पुरस्कार प्राप्त गर्नेछन्, भने सहभागि समूहलाई प्रोत्साहन स्वरुप २ हजार भत्ता उपलब्ध गराउने आयोजकले जनाएको छ। 

तीज महोत्सवमा आयोजित अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको विजेताले ४० हजार १ सय ११, दोस्रो हुने समूहले २५ हजार १ सय ११, तेस्रो हुने समूहले १५ हजार १ सय ११ र सान्त्वना हुने तीन समूहले ५ हजार १ सय ११ र उत्कृष्ट भेषभुषालाई ५ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। 

भदौ २९ गतेदेखि असोज १ गतेसम्म सञ्चालन हुने तीज महोत्सवमा २९ गतेदेखि पुरुष भलिबल प्रतियोगिता सुरु हुने संस्थाका प्रथम उपाध्यक्ष एवम् संयोजक भण्डारीले बताए। 

‘लामाचौर कप’ दर्शकलाई पहिलो दिन १ सय, दोस्रो र तेस्रो दिन २ सय र फाईनल खेल सञ्चालनको दिन ३ सय रुपैयाँ टिकट शुल्क कायम गरेको छ भने, ४ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट समेत निर्माण गरेको छ। 

आयोजकले भलिबल कोर्टमा खेल सञ्चालन भइरहेको समयमा रेफ्री र खेलाडीलाई बोटल प्रहार भएको घटनापछि दर्शकलाई यसपटक हेल्मेट र पानीको बोटल लैजान निषेध गरेको छ। 

भलिबल कोर्टसँगै प्याराफिटमा नै दर्शकलाई पानीको व्यवस्था गर्ने आयोजकले जनाएको छ। 

तीज महोत्सव एवम् लामाचौर कपमा करिव ५२ लाख ७७ हजार ५ सय रुपैयाँ आम्दानी हुने आयोजकले अनुमान गरेको छ।

प्रकाशित मिति: : 2023-09-10 20:28:00

प्रतिकृया दिनुहोस्