नेपालको आधुनिक कालखण्डमा पृथ्वीनारायण शाह र जङ्गबहादुर राणापछि सबैभन्दा बौद्धिक र दूरदर्शी, प्रभावशाली नेताको रूपमा आफूलाई उभ्याउन सफल स्वर्गीय वीपी कोइरालाको ११०औँ जन्मजयन्ती देशभर मनाइँदैछ।
नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनर्स्थापनाका लागि कठोर संघर्ष गरेका वीपी कोइरालालाई नेपाली राजनीतिका आदर्श पुरुषका रुपमा लिइन्छ।
नेपाली काँग्रेसले पार्टी कार्यालयमा वीपी साहित्य महोत्सव-२०८० आयोजना गरेको छ। ३२ र ३३ वर्ष हुँदा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना कालदेखि २०३९ साउन ६ का दिन देहान्त नहुँदासम्म उनी नेपाली राजनीतिको केन्द्रमा रहे। कोइराला २००७ सालमा प्रजातन्त्र स्थापना लगत्तै गृहमन्त्री र जेठ २०१६ देखि पुस २०१७ सालसम्म प्रधानमन्त्रीको रूपमा सत्तामा थिए।
वीपीलाई चिन्ने वा सम्झनाका धेरै कोणहरू छन्। आजको पुस्ताले झन् उहाँको विचार, आदर्श र मूल्य मान्यतासहितको राजनीतिक पदचापलाई पछ्याउनु अपरिहार्य छ।
विचारक
वीपी कोइरालालाई सर्वप्रथम एउटा महान विचारकका रूपमा हामीले पाउने गर्छौँ। उनले नेपाली राजनीतिमा प्रजातान्त्रिक-समाजवादको विचारलाई बीजारोपण गरे। त्यसले नेपाली समाजलाई गहिरो प्रभाव पारिरहेको छ।
शीतयुद्धको चरम अवस्थाको विश्व परिवेशमा विश्व दुई ध्रुवमा विभक्त भएको थियो। कम्युनिष्ट खेमा र पुँजीवादी खेमामा विश्व राजनीति ध्रुवीकरण भएको अवस्था थियो। विश्व राजनीतिक परिवेश चरम वैचारिक राजनीतिक ध्रुविकरणको अवस्थाबाट गुज्रिरहेको समयमा प्रजातान्त्रिक समाजवादको मार्ग देखाउन वीपीको ऐतिहासिक योगदान रह्यो।
वीपी कोइरालाको राजनीतिक विचारले खासगरी लोकतान्त्रिक सिद्धान्त, सामाजिक न्याय र नेपालको राष्ट्रिय पहिचानमा गहिरो जरा गाडेको थियो। नेपालको आधुनिकीकरण र प्रजातान्त्रिकरणका लागि उनको स्पष्ट दृष्टिकोण र विचार थियो।
समाजवादी दर्शनबाट प्रेरित भएर उनले आफ्ना विचार अगाडि सारेका थिए। कोइरालामा प्रजातन्त्रले राजनीतिक समानता र समाजवादले आर्थिक समानता दिलाउन सक्ने दृष्टिकोण थियो।
समाजवादलाई आर्थिक असमानताको हल मात्र नभएर जीवनदर्शन र जीवनपद्धतिका रुपमा अनुसरण गर्न प्रेरित गरे। त्यतिमात्र होइन, समाजवादले अनुदारवादी निरंकुशता र साम्यवादी निरंकुशता दुबैबाट जनतालाई मुक्त गर्न सक्ने सामर्थ्य राख्ने कुराको बोध गराउन सफल भए।
शिशु अवस्थामा रहेको प्रजातन्त्रलाई स्पष्ट विचार मार्फत मार्गनिर्देशन गर्ने विचार नेपाली राजनीतिको लागि सन्जिवनी बुटी साबित भयो। कोइराला विचारका कारण समसामयिक विश्व राजनीति र विशेषतः दक्षिण एसियाको अग्रज लोकतान्त्रिक समाजवादी नेताको रुपमा आफूलाई उभ्याउन सफल भए।
कुशल प्रशासक
राजनीतिक होस् वा सामाजिक क्षेत्रको विकास गर्न कुशल नेतृत्वको आवश्यकता पर्दछ। कुशल नेतृत्वका कारण हरेक क्षेत्रको विकास प्रभावकारी र दीगो बन्नसक्छ। जहाँ कुशल नेतृत्व हुँदैन त्यहाँको विकास पनि दीगो र प्रभावकारी बन्न सक्दैन। वीपी कोइराला छोटो समय मात्र सत्तामा रहे।
प्रधानमन्त्री भएको बेला वीपीले नेतृत्व गरेको सरकारले नेपालको प्रशासनिक आधार तय गरेको थियो। नेपालको २२औं प्रधानमन्त्रीको रूपमा कोइरालाले १८ महिना सरकारको नेतृत्व गरेका थिए।
पार्टी र राजकीय सत्ता एउटै व्यक्तिको हातमा दिनुहुँदैन भन्ने दृष्टिकोण उनले पहिलोपटक नेपाली राजनीतिमा अगाडि सारेका थिए। राज्यलाई परिणाममुखी बनाउनेतर्फ सदैव अग्रसर भए।
वीपी कोइरालाको १८ महिने शासनकालमा नेपालले अन्तर्राष्ट्रिय जगतमा प्रवेश र परिचय पायो। पछि वीपीले नै थालेको कामलाई राजा महेन्द्रले अगाडि बढाए। कोइराला नेतृत्वको सरकारले मुलुकमा पहिलोपटक आधुनिक, सक्षम र लोककल्याणकारी राज्यको प्रयोग गरेको थियो।
वीपी कोइरालाले आफ्नो प्रजातान्त्रिक सरकारको नेतृत्वका समयमा कुशल परराष्ट्र नीति अवलम्बन गरेका थिए। उनकै कार्यकालमा देशले असंलग्न परराष्ट्र नीतिलाई निर्देशक सिद्धान्तका रुपमा लियो। जसको फलस्वरुप नेपालले दुई ठूला छिमेकी भारत तथा चीनलगायतका विश्वका सबै मित्र राष्ट्रहरूसँग यसै नीतिका आधारमा कुटनीतिक सम्बन्ध स्थापना र विस्तार गर्न सफल भयो।
आर्थिक विकास र सामाजिक रुपान्तरणका कार्यक्रमलाई तात्कालिक वीपी कोइरालाको जनमुखी सरकारले प्राथमिकताका साथ लागू गर्दै छोटो समयको सरकारले उनकै समाजवादी चिन्तन र नीतिअनुसारको राज्य व्यवस्था सञ्चालन र विकासलाई अघि बढाउन प्रयास गरेको थियो।
जनताबीच वीपी कोइरालाका आर्थिक विकासका नीतिगत कार्यक्रम तथा त्यसैको जगमा उठेको सामाजिक, सांस्कृतिक परिवर्तनका कार्यहरूले नेपालको विकासमा नयाँ बिहानीको सुरुवात गरेको थियो। बिर्ता उन्मूलन, प्रगतिशील कर, नेपाली मुद्रालाई देशव्यापी बनाउने, तथ्यांक विभाग गठन र विश्वविद्यालय स्थापनाजस्ता ऐतिहासिक कदम कोइराला सरकारका मुख्य उपलब्धि हुन्।
साहित्यकार
वीपी राजनीतिक चिन्तनमा मात्र होइन, साहित्यिक कृतिहरूको निर्माणमा पनि उत्तिकै समर्पित रहे। यस्तो अद्भुत क्षमता सामान्य मानिसमा विरलै हुन्छ।
नेपाली आख्यान विधाका शिखर व्यक्तित्व कोइराला नेपाली साहित्यमा यौन मनोविज्ञान भित्र्याउने एक सशक्त साहित्यकार पनि हुन्।
यौन मनोविज्ञानलाई मात्र नभएर नेपाली साहित्यमा व्यवहारवादी, फ्रायडवादी, मनोविज्ञानवादी, आदर्शवादी, छायाँवादी, अध्यात्मवादी साहित्यकारको रुपमा पनि वीपीलाई नेपाली साहित्यले परिचय दिएको छ।
कोइरालालाई नेपाली साहित्यमा नवीनतम चिन्तन, आयाम, परम्परा एवं र शैलीलाई संस्थागत गर्ने एक प्रमुख पात्रको रूपमा स्थापित छन्। तत्कालीन राजनीतिका बारेमा जान्न, बुझ्न चाहने व्यक्तिहरूको लागि त कोइरालाका रचनाहरू ब्रह्मास्त्र नै सावित हुन्छन्।
२०१७ सालमा राजा महेन्द्रले वीपीलगायत देशका शीर्ष नेताहरुलाई ‘कु’ गरी जेल हालेपछि काराबास जीवनमा पुनः वीपीको साहित्य सिर्जनाले तीब्रता पाएको थियो। जेल जीवनका बेला कोइरालाले ६ वटा उपन्यास र एउटा कथा संग्रह, जेल जर्नल, आत्म वृत्तान्त लेखे।
कोइरालाका कृतिहरु आज पनि उत्तिकै सान्दर्भिक र गहन छन्। कोइराला नेपाली प्रगतिशील साहित्यका खम्बाको रूपमा साहित्यकाशमा स्थापित भए।
देशभक्त
२००७ सालको क्रान्तिको नेतृत्व गरेका वीपी कोइराला कांग्रेसको सर्वाधिक प्रभावशाली नेताका रूपमा प्रतिष्ठित थिए। उनले नेपाल र नेपाली जनतालाई सदैव केन्द्रमा राखेर राजनीतिक गरे।
नेपाली जनतालाई स्वतन्त्रता दिलाउने र नेपाललाई अन्तर्राष्ट्रिय जगतमा एउटा सार्वभौम मुलुकको रूपमा चिनाउन उनको राजनीतिक जीवनको सबैभन्दा ठूलो योगदान रह्यो।
अन्तर्राष्ट्रिय रूपमा अस्थिर एवं दुई ध्रुवबीचको शीतयुद्धको समयमा नेपाललाई फरक रूपमा उभ्याउनु वीपी नेतृत्वको सरकारको सफलता थियो। असंलग्न परराष्ट्र नीतिलाई अंगिकार गर्नु राष्ट्रिय हितको पक्षमा महत्वपूर्ण कदम थियो।
राष्ट्रियता र प्रजातन्त्र दुबैलाई संयोजन गरेर मात्र देशलाई अगाडि बढाउन सकिने बलियो राष्ट्रवादी चिन्तन कोइरालामा थियो। उनले अगाडि सारेको राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुनसक्छ र प्रजातन्त्रको जगमा देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुनसक्छ भन्ने दृष्टिकोणले देशलाई मजबुत बनाउन महत्वपूर्ण योगदान गर्छ।
राष्ट्रिय सङ्कटको घडीमा बितेका अप्रिय विवाद र अनुभव र मत भिन्नतालाई बिर्सेर अनि त्यसलाई समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ भन्ने मान्यता स्थापित गरे। राष्ट्र रहेन भने हामी रहन्नौँ भन्ने भावनाले राष्ट्रिय मेलमिलाप नीतिका साथ वीपी कोइराला २०३३ सालको पुस १६ गते स्वदेश फर्किएका थिए।
स्वर्गीय कोइरालाले अगाडि सारेको राष्ट्रको एक मुठी माटोसँग जनताको समग्र जीवनको मूल्य जोडेर हेर्ने गहन दृष्टिकोणले सच्चा देशभक्तको रूपमा उभ्याउन सफल भयो।
स्वतन्त्रतावाद र मानवअधिकार
वीपी कोइरालालाई स्वतन्त्रतावादी व्यक्तित्वका रूपमा चिन्नुपर्छ, त्यसको फलस्वरूप नेपाली जनतालाई निरंकुशताबाट मुक्ति दिलाउने अभियानको नेतृत्व गरे। त्यतिमात्र होइन, भारतमा रहेको अंग्रेज साम्राज्यवादका विरुद्ध पनि उनी लडे। अनेक जेल–यातना सहे।
हरेक मानिस स्वतन्त्रतापूर्वक स्वाभिमानी जीवन जिउने कुराको प्रत्याभूति राज्यले दिनुपर्नेमा उनको लडाइँ रह्यो। स्वर्गीय कोइराला मानवअधिकार अभियन्ता पनि थिए।
नेपालको सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन दिएर गैरकानुनी थुनामा राख्ने तत्कालीन शासकीय प्रवृत्तिलाई चुनौती दिँदै रिट निवेदनको अभ्यासको प्रारम्भिक अभियन्ता पनि वीपी कोइराला नै थिए। यो जानकारी पनि कमैलाई मात्रै हुनसक्छ।
व्यक्तिगत स्वतन्त्रतासम्बन्धी ऐन, २००६ मा गैरकानुनी थुनालाई कसूरको रूपमा परिभाषित गरिएको थियो। प्रधान न्यायालय ऐन, २००८ को दफा ३० ले प्रधान न्यायालयलाई बन्दी प्रत्यक्षीकरणलगायतका रिट जारी गर्ने अधिकार दिएको थियो। त्यसको पहिलो प्रयोगकर्ता वीपी थिए।
प्रधान न्यायालयले २०१० सालको कात्तिक २६ गते बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट जारी गरेको थियो। यस ऐतिहासिक कार्यबाट वीपीको वैयत्तिक स्वतन्त्रता र मानवअधिकारको मामिलामा रहेको उच्च सचेतनतालाई प्रकट गर्दछ।
हामीले स्वर्गीय वीपी कोइरालालाई विचारक, कुशल प्रशासक, प्रगतिशील साहित्यकार, देशभक्त स्वतन्त्रता प्रेमी मानवअधिकारवादी अगुवाको रूपमा बुझ्नसक्छौँ।
आदर्शवादी, अग्रगामी र प्रजातान्त्रिक समाजवादी जीवन मूल्यमा अविचल निष्ठावान राजनेता वीपी कोइरालाको ११०औं जन्मजयन्तीको अवसरमा हार्दिक श्रद्धाञ्जली!