‘महिला नेतृत्व सामाजले स्वीकार्दैन कि ! सभापति चयनपछि मैले बधाई लेख्दा नकारात्मक कमेन्टहरू आए। हामीले लिएको परिर्वतन यही हो ?’, सांसद सूर्यकुमारी श्रेष्ठले बैठकको सुरुवातमै आफ्नो गुनासो पोखिन्।
यही भदाै ११ गतेकाे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति भएकी आरजु राणालाई उनले ‘बधाई’ लेखेकी थिइन्। सभापति राणा सत्तापक्ष काँग्रेसकी सांसद हुन् भने बधाई दिने श्रेष्ठ नेकपा (एमाले)की सांसद बनेर यो समितिमा सदस्य हुन्।
‘मिनि सांसद’को रुपमा लिइने संसदीय समितिले सभापति पाएपछि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको पहिलो औपचारिक बैठक आइतबार बसेको थियो।
सभापतिमा उम्मेदवारी दिएपछि आफूलाई ‘किसानकी छोरी’ भनेर चिनाएकी आरजु त्यही दिनबाट आलोचित हुन थालिन्। र, पार्टी र नेतृत्वलाई समेत नियन्त्रणमा राख्नसक्ने नेतृका रुपमा चिनिने आरजुले यो संसदीय समितिलाई कसरी चलाउँछिन् भन्ने पनि अब चासोको विषय बनेको छ।
पहिलो औपचारिक बैठकको सुरुवातमै उनले सांसदसँग भनिन्, ‘मलाई सबै कुरा नेपालीमा भन्न आउँदैन है। अलअलि अंग्रेजी भयो भने सरी…’
संसदका सभामुख जत्तिकै अधिकार हुने यो समितिका सभापतिले बैठक पनि त्यस्तै तरिकाले चलाउनुपर्छ।
सभापति राणाले समितिका सबै सांसदहरूलाई पनि चिनेकी छैनन्।
त्यसैले सदस्य सांसदहरूको नामभन्दा पनि उनी बेला-बेला अक्मक्किइरहिन्। घरि सांसदका नाम बिर्सिन्, अनि घरि थर भन्न बिर्सिन्।
अनि उनले बैठकका कार्यसूची सरसर्ती भनेर सुनाइन्-
ऊर्जा तथा जलस्रोत उपसमितिलाई यही समितिमै राख्नुपर्ने (यसअघि यही समिति अन्तर्गत रहेको उपसमिति अहिले हटाइएको छ। आरजुले त्यसलाई अब पनि यही समितिमा राख्नका लागि पहल गर्नुपर्ने बताइन्।) अनि सबै सांसदहरूलाई त्यसका बारेमा पहल गर्न पनि भनिन्। ‘कृषि समितिबाट ऊर्जा तथा जलस्रोत खोसेर हुन्छ’ उनले भनिन् ‘यो उपसमिति हामीलाई नभइहुन्न।’
एक हप्तापछि बंगलादेशमा हुने भ्रमणमा को-को सहभागी हुने भन्नेबारे
समिति अन्तर्गत पर्ने मन्त्रालयका नीति तथा कार्यक्रमहरू झिकाएर त्यसबारे छलफल गर्ने
यस्तै-यस्तै उनले केही प्रस्तावहरू सुनाइन् र सांसदहरूलाई आफ्नो धारणा राख्न भनिन्।
आधा नेपाली अनि आधा अँग्रेजी भाषाको बीचबीचमा उनको ‘सरी’ थेगो पनि बैठकमा खुब चल्यो। उनी सांसदहरूसँग अलि खुल्ला र मिजासिलो हुन खोजिरहेकी पनि थिइन्।
बैठकमा एमालेका सांसदहरूले आरजुको धेरै प्रशंसा गरे।
‘हामी भाग्यमानी छौं २०६४ सालमा नै सभापतिको अनुभव लिइसक्नुभएका क्षमतावान व्यक्ति सभापतिको रुपमा पायौं,’ एमाले सांसद अमृतराज लालवंशीले भने। त्यो बेला आरजु संविधान मस्यौदा समिति र महिला समितिमा थिइन्।
त्यहाँ सांसदहरूले आ-आफ्नो क्षेत्रका समस्याहरू पनि राखे।
माओवादीकी सांसद रुपासोशी चौधरीले केरा खेतीको प्राेत्साहन र घरपालुवा जनावरमा फैलिइरहेको लम्पीस्कीनको संक्रमणका बारेमा कुरा उठाइन्।
सदस्य मीना तामाङले जडिबुटीको प्रवर्द्धन र त्यसको बजारीकरणका बारेमा कुरा राखिन्।
त्यस्तै सहकारीका विषयमा पनि सांसदहरूले कुरा उठाए।
सहकारी बेथितिबारे प्राय: सांसदहरूको बोली एउटै थियो।
‘सहकारीको बेथिती हाम्रो पहाडा धेरै ठूलो छ। बचत गरेको पैसा नपाएर सडकमा बचतकर्ताहरू रुँदै आन्दोलन गरिरहेका छन्। सहकारीले जनतालाई मर्नु बनाइरहेको छ’, सांसद सूर्यकुमारी श्रेष्ठले भनिन्, ‘जनता रोएर बसेको हामीले हेर्न सक्दैनौं।’
सांसदहरूले बैठकमा बाँदरको नियन्त्रणदेखि राष्ट्रिय कृषि अनुसन्धान केन्द्र(नार्क)का बारेमा समेत कुरा उठाउन भ्याएका थिए।
बैठकमा सबै सांसदहरूलाई सभापति राणाले खुल्लासँग बोल्न दिइन्। अनि आफैँले पनि शालिन भएर भनिन् ‘हरेक समस्या समाधानका लागि सम्बन्धित मन्त्रालय र नभए मन्त्रिपरिषदसम्मै हामीले पहल गर्नुपर्छ।’
उनले समितिका हरेक सांसदहरूलाई बैठकका निर्णयहरूका बारेमा पारदर्शीरुपमा जानकारी हुनुपर्ने भन्दै आफ्नो समितिले उठाएका र निर्देशनहरूको पालना र कार्यान्वयनका बारेमा सबै जानकार हुनुपर्नेमा पनि जोड दिइन्।
अन्तिममा सबै सांसदहरूलाई एकमुष्ठ जवाफमा उनले भनिन्, ‘भूमिसम्बन्धि समस्या आयोगले जिल्लामा कसरी काम गरेको छ ? बुझेर आयोग चलायमान बनाउनुपर्छ। गाँजा खेतीलाई प्राेत्साहन गर्नुपर्छ। कृषि जडिबुटीलाई कसरी हुन्छ ? बजार व्यापार प्रवर्द्धनका बारेमा सोच्नुपर्छ। वातावरणीय समस्याका बारेमा सरकारलाई झक्झक्याउनुपर्छ। विभिन्न विषयमा विज्ञहरूको सुझाव लिएर हामीले समितिमा निर्णय र निर्देशनहरू दिनेछौं।’
बैठकका केही निर्णयहरू सुनाएर त्यसपछि उनले बैठक सकिन्।
बैठकले के-के निर्णय गर्यो ?
खाद्य स्वच्छता तथा गुण नियन्त्रणसम्बन्धी विधेयकमा छलफलका लागि उपसमिति बनाउने, विगतमा समितिको कार्यक्षेत्र रहेको ऊर्जा, सिँञ्चाइ तथा जलस्रोत मन्त्रालयलाई प्रतिनिधिसभा नियमावली २०७९ बाट सो समितिबाट झिक्दा कृषि क्षेत्रको समग्र सुधार कार्यमा कठिनाइ हुने भएकोले ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयलाई सोही समितिको क्षेत्राधिकारभित्र राख्न सभामुखसँग आग्रह गर्ने निर्णय बैठकले गरेको छ।
यस्तै बङ्गलादेशको मसुराे (दाल) उत्पादनको अवस्था अवलोकनका लागि एक हप्तापछि पाँच दिने भ्रमणमा सहभागी हुने सांसदहरूको नाम छनोट गर्ने निर्णय भएको छ।
साथै समितिले हालसम्म छलफल गरी सम्बन्धित मन्त्रालयका लागि गरिएको निर्णय तथा दिइएको निर्देशन कार्यान्वयनको अवस्थाबारे लिखित रूपमा ७ दिनभित्र उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ।
नेपालको तराई तथा मध्यपहाडी क्षेत्रमा उत्पादन हुने गाँजा खेती बहुउपयोगी रहेकोले यसको उत्पादन, प्रशोधन र बिक्री वितरण गर्ने कार्यलाई वैधानिक बनाउने सम्बन्धमा सम्बन्धित निकायहरूसँग थप छलफल गरी निष्कर्षमा पुग्ने निर्णय गरेको छ।
यस्तै राष्ट्रिय भूमि आयोगबाट सम्पादन हुने कार्यहरूलाई व्यवस्थित गर्न आयोगका अध्यक्ष लगायतका पदाधिकारी र भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई समितिको अर्को बैठकमा बोलाएर छलफल गर्ने निर्णय गरेको छ।
कार्बन उत्सर्जन र जलवायु परिवर्तनको विषयमा मन्त्रालयगत रहेको नीति र के-के काम भएको छ त्यो विवरण माग गर्ने निर्णय भएको छ।
को-को जाँदैछन् बंगलादेश ?
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको एउटा टोली आगामी साता बंगलादेश भ्रमणमा जाँदैछ।
यो भ्रमण टोलीमा सभापति देउवासहित छ जना सांसदहरू सामेल हुनेछन्। सभापति देउवाकाअनुसार एमालेबाट सूर्यकुमारी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विनिता कठायत, माओवादीबाट रुपा सुशी चौधरी, राप्रपाबाट अनिसा नेपाली र एकीकृत समाजवादीबाट अम्मर थापा यो भ्रमण टोलीमा हुनेछन्।
यो टोलीले बंगलादेशको मसुराे खेती र उत्पादनका बारेमा अध्ययन गर्नेछ।