जुम्लाकाे तातोपानी गाउँपालिका-४ गिडीखाेलामा जन्मिएका ऋषिराम पाण्डे (५०) जुम्लामा उत्पादित अर्गानिक उत्पादनकाे ब्रान्डिङमा लागेकाे लामाे समय भइसक्याे। चन्दननाथ बहुउदेश्यीय सहकारी संस्थामा आएपछि उनी रैथाने उत्पादनकाे बजारिकरणमा लागेका छन्। उनमा यस्ताे साेच पलाउनमा समयले भूमिका खेलेकाे छ।
चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाकाे स्थापना खगेन्द्र न्याैपानेले गरेका थिए। स्थापित सहकारी व्यवस्थापककाे नामले चर्चित उनले २०६९ सालदेखि ०७२ सालसम्म चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थामा रहेर काम गरे। तर २०७२ सालमा माेटरसाइकल दुर्घटनामा परी उनकाे असामयिक निधन भयाे।
उनै खगेन्द्रले उत्प्रेरित गरेर ऋषिरामलाई चन्दननाथ सहकारी संस्थामा ल्याएका थिए। २०७१ मा चन्दननाथ सहकारी संस्थाकाे लघुवित्त कार्यक्रम हेर्नेगरी आएका उनलाई आफ्ना अग्रजकाे असामयिक निधनले सबै जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आइपर्याे।
कुशल व्यवस्थापक गुमाउँदा अभिभावकविहीन हुन पुगेकाे सहकारीमा उनले जिम्मेवारी पाउँदा धेरैलाई शंका थियाे, संस्थाले पुरानो गति समाउन सक्ने हाे कि हाेइन!
चुनाैतीकाे चाँङमाथि उभिएर उनले संस्थालाई सगरमाथाकाे शीर चुमाउनु थियाे। तर हरेस खानु थिएन। यस्ताे काममा उनले लामाे समय बिताइसकेका हुनाले अनुभव पनि थियाे। त्यसैले उनी खगेन्द्र सरकाे उत्तराधिकारी हुन तयार भए।
उनीसँग सबलम्बन विकास बैंकमा २२ वर्ष तल्लाे तहदेखि काम गरेकाे अनुभव छ। त्यही अनुभव भर्खरै मुनाकाे रुपमा राेपिएकाे चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाकाे गाेडमेलमा लगाउनु थियाे। उनी इन्च फरक नपारी काममा लागे। जाेखिम माेलेर सुरुवात गरेकाे मेहनत फुल्याे। आशा पलायाे। फल्याे। उत्साह बढायाे। परिणाम सहकारी दुबाेजस्तै जेलिँदै गयाे।
एउटा किसानले आफ्नाे बारीमा अनेकौँ प्रकारका प्रयाेग गर्छ। बरु आफू भाेकाे पेट बस्छ। कयौँपटक असफल हुँदा पनि हरेस खाँदैन। कुनै एकबाट त सफलता हात लगाएरै छाेड्छ। त्यस्तै सहकारीमा पनि अनेक अभ्यास हुँदै गए। 'उत्पादनमा संलग्न किसानकाे फसलले बजार नपाउँदा उनीहरुसँग नगद हुँदैन थियाे,' उनले भने, 'हामीले उत्पादनलाई नगदमा परिणत गर्ने अभ्यास गर्यौँ। त्यसबाट विभिन्न प्रकारका अन्नपात जम्मा हुँदै गए।'
गाउँगाउँसम्म पुगेका सहकारीका कारण धेरैजसो किसानहरुमा बचतकाे चाहना हुन्छ। तर उनीहरुकाे उत्पादनले बजार नपाउँदा त्याे नगदमा परिणत हुन सकेकाे हुँदैन। ऋषिरामले गरेकाे अभ्यासले किसानलाई राहत दियाे। किसानमा बचतकाे माेह जाग्दै गयाे। त्यसले उनीहरुलाई मेहनती बनायाे। उत्पादन बढ्दै गयाे। उनीहरुले उत्पादनलाई सहकारी संस्थामा ल्याए। सहकारी पैसाकाे मात्रै नभएर अन्नपातकाे पनि भकारी हुन पुग्याे।
'भकारी भरिने मात्रै गरेर भएन। यसलाई एउटा चक्रमा घुमाउनु थियाे। अर्थात् किसानकाे उत्पादन सहकारीसम्म आइरहने र सहकारीमार्फत उपभोक्ता र बजारसम्म गइरहने गर्नु थियाे। जसबाट किसानको फसल नगदमा परिणत हुन्थ्यो,' ऋषिरामले भने, 'हामीले उत्पादनकाे बजार बनाउन, उत्पादनलाई ब्रान्ड बनाउन बिक्री केन्द्र खाेल्याैँ। त्यसैकाे परिणाम हाे जुम्ला र सुर्खेतमा खाेलिएका अर्गानिक मिनी मार्केट। जसले उत्पादनलाई तुरुन्तै नगरमा रुपान्तरण गरिरहेकाे छ।'
यसाे हुँदा किसानकाे उत्पादनले बजार नपाउने चिन्ता भएन। उनीहरु झन् मेहनती हुन थाले। मानाे छरेर मुरी फलाउने साेच पलाउँदै गयाे। याे याेजनाले महिलाहरुमा उत्साह बढाएकाे ऋषिरामकाे अनुभव छ। 'घरकाे काम र खेतीपाती नगदमा परिणत नहुँदा महिला दाेस्राे दर्जाको उत्पादन शक्तिमा गनिन्थ्याे। तर उत्पादन नगदमा परिणत हुने भएसँगै महिला प्रमुख उत्पादन शक्तिमा देखिन थालेका छन्।'
अहिले किसानमा आफ्नाे उत्पादनले बजार नपाउला भन्ने चिन्ता दुर भएकाे छ। बजारकाे जिम्मेवारी सबै अर्गानिक मिनी मार्केटले लिएकाे छ। मार्सी चामलकाे बजार अन्तर्राष्ट्रियस्तरसम्म बनिसकेको छ। खरायाे उनकाे टाेपीकाे मार्केट असाध्यै ठूलाे छ। चिनाे, कागुनाे, फापर, सिमीकाे माग अत्यधिक मात्रामा बढिरहेकाे छ। किसानले कम मेहनतमा फलाउने सिमीकाे मार्केट बढेसँगै आम्दानी पनि बढ्न लागेकाे छ। जंगलमा स्वतः उम्रने घाेडमच्चाेबाट राम्राे आम्दानी लिन सकिने स्थिति बनेकाे छ।
यी विविध खालका अभ्यासले सहकारी संस्थालाई उत्पादन समूह नै खाेल्ने कन्सेप्ट दियाे। किसानकाे उत्पादन समूहमार्फत संकलन हुने गरेकाे छ। सहकारीकाे लगानी पनि समूहमा भइरहेको छ। जसले 'जमिन बाँझाे नराखाैं' भन्ने नारा दियाे। याे नारा हकिकतमा बदलिँदैछ। बाँझाे जमिनलाई खेतीयोग्य बनाएर सिमी फलाउँदा किसानले एक किलाेकाे १५० पाउने भए। यसले सहकारीलाई उत्पादनकाे बजारीकरण गर्न सहज भयाे भने किसानलाई उत्पादनकाे उचित मूल्य पाउन।
मान्छेहरु अहिले अर्गानिक मिनी मार्केटमा जाैँकाे पिठाे र सातु खाेजखाेजी किन्छन्। राडीपाखी खाेज्नेकाे संख्या बढेपछि पुर्याउनै धाै परिरहेकाे छ। भेडाकाे उनकाे स्वीटरकाे मागअनुसारको पूर्ति गर्न कठिन छ। 'धेरैजसाे किसानले आफूले खाएर, लगाएर बढी भएकाे बेच्छन्,' उनले भने, 'कतिले यसैलाई राेजगारीकाे माध्यम बनाएका छन्। कमाएकाे पैसा सहकारीमै जम्मा गरेर जान्छन्। आवश्यक परेकाे बेला बचतका अलवा ऋण पनि लैजान्छन्।'
मध्यम वर्गीय खेतीपातीबाट गुजारा गर्ने परिवारमा जन्मिएका ऋषिरामलाई किसाकाे उत्पादनप्रतिकाे माेह छ। मेहनती किसानले उचित मूल्य पाए मात्रै बाँकी दुनियाँकाे हित हुने उनकाे दृष्टिकोण छ। यसाे हुनुमा उनी आफ्नाे विगत प्रेरणादायी भएकाे ठान्छन्।
एसएलसी चन्दननाथ मावि खलङ्गा बजारबाट दिएका उनी कर्णाली प्राविधिक शिक्षालयमा पढेका थिए। त्यहाँ पढ्दापढ्दै काम गरेकाे अनुभव छ। उनले भने, 'माैरीका घार बाक्दै पढेकाे हाे। शनिबार विदेशीकाे काम गर्नुपर्थ्याे। खाद्यकाे चामल बाेकेर पढ्याैँ। पढ्दापढ्दै काम गरेर कमाएकाे पैसा घर पठाउँथ्याैँ। त्यसैकाे प्रभाव हाेला मलाई आज पनि कर्णाली प्राविधिक शिक्षालयमा पढ्ने विद्यार्थी मेहनती हुन्छन् भन्ने लाग्छ।'
उनी त्यहाँ काम गरेकाे काेही बेरोजगार भएर बसेकाे छ भने उसकाे याेग्यताअनुसारकाे जागिरकाे खाेजीमा तत्कालै लागिहाल्छन्। सहकारीमा जागिर गर्न इच्छुकलाई काममा लगाइहाल्छन्। आफू त्यस्तै अरुलाई देख्छन्। किनकि उनले अध्ययनसँगै काम गरे। काम गर्दै पढ्दै गरेका उनले हिकासबाट कृषि विज्ञानमा स्नातक तहकाे अध्ययन पूरा गरेका छन्।
'पढ्दै गर्दा खल्तीमा पैसा हुँदैनथ्यो। व्यापार व्यवसाय गर्नलाई लगानी हुँदैनथ्यो। काठमाडौँकाे महाबाैद्धका साहुहरुकाे दाेकानमा नागरिकता धराैटी राखेर उदाराे सामान लिन्थ्याैँ,' उनले भने, 'समान लिइ बेचेर आर्जन गरेकाे नाफाले खाना खर्च जुटाउँथ्याैँ। यसले घरमा छाेराछाेरीलाई पैसा कसरी पठाउने भनेर तनाव हुँदैनथ्यो। पैसा जरुरी छ र त्याे सबैको पहुँचमा हुनुपर्छ भन्ने दृष्टिकोणकाे जग त्यही हाे मेराे।'
यी विविध कारणले उनमा किसानकाे उत्पादनलाई नगदमा परिणत गर्ने साेच पलाएकाे हाे। यस्ताे अभ्यास उनले विश्वका धेरै देशमा भइरहेको देखेका छन्। उनी छिमेकी राष्ट्र बंगलादेश जाँदा त्यहाँका डा. माेहाेमम्द युनियले २००६ मा नाेबेल पुरस्कार पाएकाे थाहा पाए। कारण उनले लघुवित्तमा उदाहरणीय काम गरेका रहेछन्। जुन काम उत्पादनसँग जाेडिएकाे थियाे।
उनी २०७६ सालमा रुस गएका थिए। त्यहाँ काेदाकाे पाउराेटी लन्च गर्न लागिएकाे थियाे। त्यहाँकाे पाउराेटी विश्वभरी प्रचार गर्ने कार्यक्रम रहेछ। त्याे कार्यक्रममा विश्वका ६० वटा देशबाट सहभागिता रहेकाे थियाे। ती सबै देशका सहकारीले किसानकाे उत्पादनसँग कसरी जाेडिने भनेर साेच्ने रहेछन्।
कार्यक्रममा जापान प्रथम भयाे। किनकि उसले उत्पादनलाई सहकारी जाेडेकाे लामाे अभ्यासअनुसारको अनुभूति संगालेकाे थियाे। २०७९ मा उनी थाइल्यान्ड गए। त्यहाँका सहकारीहरु उत्पादनमुखि हुँदा किसान लाभान्वित भएकाे देखे। 'बचत गर्नलाई पैसा हुन पर्दैन रहेछ,' उनले भने, 'उत्पादनलाई नगदमा परिणत गर्ने संयन्त्र बनाइदिए पुग्ने रहेछ।'
किसानकाे उत्पादनसँग जाेडिनु नै सहकारीकाे बलियाे पिलर सम्झेका ऋषिरामले अब सहकारीमार्फत दुध डेरी खाेल्ने विषयमा पनि साेचिरहेका छन् भने त्यसकाे अलबा हप्ताकाे निश्चित दिन हाटबजार लागाउने विषयमा साेचिरहेका छन्। चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले रैथाने बालीकाे हाटबजार लगाउने विषयलाई आफ्नाे आगामी याेजनामा राखेकाे छ।
बजार एकीकृत हुँदा मान्छेकाे मानसिकतामा फलानो ठाउँमा फलानो सामान पाइन्छ भन्ने पर्छ। ठाउँठाउँमा अव्यवस्थित बजार लगाउँदा फाेहाेर थुप्रिन लाग्छ। बजारकाे सुन्दरता नै हराउने सम्भावना रहन्छ। त्यसैले पनि हाटबजार जरुरी रहेकाे उनकाे बुझाई छ।
जुम्लामा काेल्ड स्टाेर मात्रै हुँदा माग धान्न नसकिने स्थिति आउनेछ। अप सिजनमा किसानले राम्राे आम्दानी लिन सक्नेछन्। बिजुली राम्राे भयाे भने किसानले आफ्नाे फसलकाे उचित मूल्य पाउनेछन् भने उपभोक्ताले सस्तोमा सामान खरिद गर्न पाउनेछन्।
सहकारीले जुम्ली मार्सी चामलकाे ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउने र डलर कमाउने साेचेकाे छ। हिजाे बजार नहुँदा मार्सी चामल ९० रुपैयाँ किलाेमा बेच्नुपर्ने स्थिति थियाे। अहिले किसानले किलाेकाे १५० रुपैयाँ बुझिरहेका छन्।
'यसले फाइदा किसानलाई नै भएकाे छ। कालिकोटकाे टिमुर हामीले बिक्री गरिरहेका छाैँ। मूल्य र बजारकाे चिन्ता छैन। केवल उत्पादनकाे मात्रै चिन्ता छ,' उनले भने, 'सहकारीकाे आफ्नै घर बनाउने, मिनी मार्केटलाई प्रालि बनाएर आइपिओ खाेल्ने र दुई वर्षमा काठमाडौँमा समेत मिनी मार्केट खाेल्ने याेजना छ।'
यसरी हरेक दिन उभाे लागिरहेकाे सहकारी संस्थाकाे वार्षिक आम्दानी ८ कराेड ६५ लाख बढी छ भने खर्च ७ कराेड ७६ लाख छ। हाल उनी सञ्चालक समितिकाे सदस्य छन्। सञ्चालक समितिकाे सदस्य नै कार्यकारी व्यवस्थापक हुने प्रावधानअनुसार उनी जिम्मेवारीमा छन्। जिम्मेवारी बाेध गरकै कारण जुम्लामा खाेलिएकाे सहकारी कर्णाली प्रदेशभरि विस्तार हुँदैछ। अर्गानिक वस्तुले विस्तारै बजार आफ्नाे नियन्त्रणमा लिने परिस्थिति बन्दैछ।