नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकहरुले नेपालमा गोलभेँडामा लाग्ने रोग ‘टार्गेट स्पट’ पहिलो पटक भेटिएको जनाएका छन्।
गत वर्ष काभ्रेको पनौतीमा देखिएको यो रोग अल्टरनेरिया डढुवा, सेप्टोरिया थोप्ले रोग र व्याक्टेरियल स्पटसँग मिल्दोजुल्दो देखिए पनि शङ्का लागेर नार्कको प्रयोगशालामा जाँच गर्दा यो नयाँ रोग पता लागेको हो।
हाल यो रोग नुवाकोटको बेलकोटगढी नगरपालिकामा पनि देखिएको छ। नार्कअन्तर्गतको राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा.रामबहादुर खड्काले किसानबाट गोलभेँडामा रोग लागेको गुनासो आएपछि अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताए।
‘सुरुमा किसानहरुले ब्याक्टेरिया भनेर विषादी हालेको तर रोग नियन्त्रणमा नआएपछि सो रोगको बारेमा हामीले अनुसन्धान सुरु गर्यौँ’, वैज्ञानिक खड्काले भने, ‘हामीले सर्वप्रथम नयाँ रोग भन्ने कुरा एकिन गर्यौं। त्यसपछि डिएनए परीक्षण गरेर पिसिआर गर्यौं। त्यसपछि हङकङमा सिक्वेन्सिङ गरेर थप प्रमाणित गर्ने काम गर्याैँ।’
अनुसन्धान गर्दा टार्गेट स्पोट रोग पत्ता लागेको र त्यसका लागि म्यान्कोजेब र कपर अक्सिक्लोराइड ढुसीनासक विषादी त्यसमा प्रयोग गर्न सिफारिस गरेको उनले बताए। यसमा थप अनुसन्धान जारी नै रहेको उनले बताए।
यो रोगबाट बचाउन बिरुवादेखि बिरुवासम्मको दुरी प्रशस्त राख्ने, नियमित झारपात हटाउने, बिरुवाको काँटछाँट गरी सरसफाइ गर्ने, नाइट्रोजनयुक्त मलको प्रयोग कम गर्ने र फोहोरा सिँचाइ नगर्ने गर्दा रोगको प्रकोप घटाउन सकिने डा. खड्काले जनाएका छन्।
राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारका प्रमुख सुरज वैद्यले यस्तै रोग गोलभेँडामा पहिले पनि छिटपुट देखिने गरेको तर अरु रोगसँग मिल्दाजुल्दा लक्षणका कारण किटान गर्न नसकिएको बताए। हाल आएर किसानले गुनासो गरेपछि गहिरो अनुसन्धान गर्दा नयाँ रोग फेला परेको वैद्यले बताए।
उक्त केन्द्रका अनुसार यो रोग आद्रर मौसममा बढी देखिन्छ। यो रोग लागेमा पातमा स–साना खैरा थोप्ला देखिन्छन् र बढदै जान्छन्। यस्ता थोप्लाहरु पातको मुख्य नसा वरिपरि बढी देखिन्छन्।
यो रोगको लक्षण प्रायः तलका, पुराना र भित्र पट्टिका पातहरूबाट सुरु हुन्छ र विस्तारै रोगले डाँठ र फलमा पनि सङ्क्रमण गर्ने गर्छ। सङ्क्रमण बढी भएको अवस्थामा पात र डाँठ जोड्ने भागमा खैरो घेरा बनी बिरुवाबाट पात सजिलै छुट्टिन्छ। रोगको संक्रमण अत्यधिक भएमा पात र डाँठ पूरै मर्ने हुँदा समयमै व्यवस्थापन गर्न जरुरी हुन्छ।
यस रोगको कारक ढुसी खेतमा गोलभेँडा नभएको बेला झारहरू र गोलभेँडाका अवशेषहरूमा बाँच्ने गर्दछ। मौसम आद्रर, तापक्रम बढेको बेला र पातहरू लामो समयसम्म भिजिरहने अवस्थामा ढुसीले सङ्क्रमण गर्न सुरु गर्दछ। खास गरी पानीको थोपाहरू र हावाले ढुसीका वीजाणुहरूलाई स्वस्थ बिरुवासम्म लैजाने गर्दछन्।
राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले नेपालमा हालसालै केही नयाँ रोग र किराहरु फेला पर्ने क्रम जारी रहेको र यसबाट सरोकारवालाहरु सजग रहनुपर्ने आवश्यक रहेको जनाएका छन्।
उनले विभिन्न बीउबिजनको बिना क्वारेन्टिन लुकाइछिपाइ पैठारी, जलवायु परिवर्तन र बदलिएका खेतीपातीका तौरतरिकाका कारण यस्ता समस्या देखिने गरेको हुनाले समयमै किसानले कुनै शङ्कास्पद रोगका लक्षण देखिएमा सूचना दिँदा समयमै अनुसन्धान गरी ती रोगको निदान र व्यवस्थापन विधि उपलब्ध हुने बताए।