फोटो पत्रकार गिरी र पर्वतका पत्रकारहरूबीच भयो यस्तो सहमति

जिल्ला प्रहरी कार्यालय पर्वतबाट पक्राउ पूर्जी जारी भएका संस्कृतिकर्मी एवं फोटो पत्रकार आरके अदिप्त गिरी र पर्वतका पत्रकारहरूबीच सहमति भएको छ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको रोहोबरमा प्रहरी र गिरीबीच सहमति भएको प्रहरी अधिकारीहरूले जनाएका छन्। सहमतिअनुसार फोटो पत्रकार गिरीविरुद्धको मुद्दा बिहीबार फिर्ता लिने सहमति भएको पत्रकार महासंघ गण्डकी प्रदेश समितिका महासचिव गोविन्दप्रसाद सुबेदीले बताएका छन्।

पत्रकार–पत्रकार भिड्नु हुँदैन भनेर प्रदेश समितिको रोहवरमा दुवैपक्षलाई छलफल गराइएको थियो। पत्रकारविरूद्ध फेसबुकमा स्टाटस लेखेको आरोपमा पर्वतका लेखक तथा अभियन्ता गिरीविरुद्ध मंगलबार पक्राउ पूर्जी जारी गरिएको थियो।

गिरीविरुद्ध नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एबम निर्वतमान जिल्ला अध्यक्ष छविलाल तिवारी, जिल्ला शाखा अध्यक्ष सन्तोष थापा र पूर्वकार्यवहाक अध्यक्ष गणेश पौडेललगायत सात जनाले गिरीविरुद्ध प्रहरीमा साइबर क्राइम मुद्दा दर्ता गराएका थिए।

यसअघि नेपाल पत्रकार महासंघको केन्द्रिय समितिका सचिव पवन आचार्यले एक प्रेसविज्ञप्ति जारी गरेर पर्वतमा देखिएको समस्यालाई संवाद र विद्यमान अन्य कानुनी प्रक्रियाबाट टुंगोमा पुर्याउन सम्वद्ध पक्षसँग आग्रह गरेका थिए। उक्तविज्ञप्तिमा ‘कुनै पनि संस्था वा व्यक्तिलाई प्रश्न सोध्ने तथा खबरदारी गर्ने लोकतान्त्रिक अधिकार हो। तर, त्यसको भाषाशैली सभ्य हुनुपर्छ भन्ने महासंघको मान्यता रहेको’ विज्ञप्तिमा उल्लेख गरेकाे छ।

नेपाल पत्रकार महासंघले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को प्रयोग गलत ढंगले भइरहेकोले त्यसको खारेजीको माग गर्दै आइरहेको उल्लेख गर्दै उक्तविज्ञप्तिमा ‘जुन उद्देश्यले कानुन ल्याइएको हो, त्यही प्रयोजनका लागि मात्र त्यसको प्रयोग गर्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ’ भनिएको छ।

प्रकाशित मिति: : 2023-08-10 07:20:00

प्रतिकृया दिनुहोस्