अदालतको कठघारमा उभिएर जवाफ दिँदै थिइन्। सुन्दै थिइन, न्यायधीशको कुरा। के जवाफ दिने सोच्दै थिइन। तर, एकाएक आवाज रोकियो। रोकियो नसाका चाल पनि। र, उभिएकै ठाउँमा ढलिन, राधिका सुनार।
राधिका सुनार उनै हुन्, जसको घरबास छैन। आफ्नो परिवारको नाममा एक टुक्रा जमिन छैन। दैनिक ज्याला मजदुरीबाट परिवार चलेको छ। बाँकी आय आर्जनको ठाउँ छैन।
कैलालीकाे टीकापुर नगरपालिका– १ एकता नगरको सुकुम्बासी बस्तीमा बसेर रात कटाउने राधिका एकाएक अदालतमा पुग्दा नढलुन् पनि कसरी ? जसले कानुनको ज्ञान त के, आफ्नो नाम केर्नसमेत सक्दिनन्। उनैलाई अदालतले न्यायको लागि देखाउने दफा र उपदफाको ज्ञान हुने कुरै भएन।
अदालतको कठघारामा उभिनु पर्ला र नभएको दोष आइलाग्ला भन्ने उनीमा सोचसमेत थिएन।
तर, भइदियो, त्यस्तै।
उनले २०६९ सालमा गाउँकै चिनजानका निरञ्जन रावलसँग ५० हजार रुपैयाँ ऋण (कर्जा) ल्याइन्। आफ्नै सुकुम्बासी जीवन। बचत पैसा थिएन। एकाएक आफ्नी आमा बिरामी परेपछि राधिकाले रावलसँग ५० हजार रुपैयाँ ऋण ल्याइन्।
५० हजारको राधिकाले एक लाख रुपैयाँ शिक्षकसमेत रेहका रावललाई फिर्ता गरिसकेकी छिन्। तर, विडम्बना राधिका ऋण नतिरेको आरोपमा कतिबेला प्रहरीको कठघारामा पुग्ने हुन्। थाहा छैन।
ऋण नतिरेको भन्दै शिक्षक रावलले जिल्ला अदालत बर्दियामा राधिकाविरुद्ध मुद्धा दायर गरे। ५० हजार ऋण दिँदा रावलले १२ लाख रुपैयाँ दिएको भन्दै तमसुक बनाएकै आधारमा अदालतमा मुद्धा दायर गरेका हुन्।
तर, राधिकालाई १२ लाखको तमसुक बनाएको भन्ने थाहा थिएन। उसै पनि अक्षरसँग साक्षात्कार नगरेकी उनलाई १२ लाखको तमसुक बनाएको कुरा अदालतमा पुगेपछि मात्र थाहा भयो।
२०७८ साल कार्तिकमा शिक्षक रावलले १२ लाख ऋण नतिरेको भन्दै राधिकाविरुद्धमा अदालतमा मुद्धा दायर गरे। गएको माघमा अदालतले प्रतिउत्तर माग गरेपछि राधिका जवाफ दिन अदालत पुगिन्।
जब अदालतमा १२ लाख रुपैयाँ ऋण नतिरेको सुनिन्, उनले सहनै सकिनन्। बोल्नै सकिनन्। जब तमसुकको कुरा सुनिन्, उभिएकै ठाउँमा राधिका ढलिन्। ‘१२ लाखको प्रतिउत्तर दिनेबेला मम्मी अदालतमा बेहोस हुनुभयो। नलिएको, नखाएको पैसा मम्मीमाथि बाजे (रावल)ले लगाउनुभयो’, राधिकाकी माइली छोरी सरस्वती सुनारले भनिन्।
ऋण दिने शिक्षक बर्दियाको बारबर्दिया नगरपालिकाका हुन्। राधिकाको माइतीघर पनि यही हो। राधिकाका आमाको सन्तानका रुपमा उनी एक्लै हुन्। अरु कोही छैनन्। हेरचाह आमालाई राधिकाले गर्दै आएकी थिइन।
०६९ सालमा आमा बिरामी भएपछि उनले उपचारका लागि शिक्षकसँग ५० हजार र अर्का शेर बुढामगरसँग ५० हजार रुपैयाँ लिइएकी थिइन्। उनीहरु दुवै जनाले राधिकाको आमा शारदा कसेराको नाममा रहेको १२ कट्ठा बढी जग्गा अहिले हडपेका छन्।
बुढामगरले अदालतमा मुद्धा त हालेका छैनन्। तर, पनि उनले ५० हजारको ६ लाख रुपैयाँ तमसुक बनाएको सुनेको सरस्वतीले बताइन। बेलाबेलामा मिटरब्याजी यी दुवै जनाले राधिकाको परिवारलाई धम्काउँदै आएका छन्।
सरस्वतीकाअनुसार रावलले ४ कट्ठा ७ धुर र बुढामगरले ५ कट्ठा जग्गा हडपेका छन्। रावलले घरसमेत बनाइसकेको सरस्वतीले बताइन। बुढामगरले हडपेको जग्गा दोस्रो व्यक्तिलाई बिक्री गरिसकेका छन्।
राधिकामाथि पक्राउ पुर्जी जारी
१२ लाख रुपैयाँ कर्जा (ऋण) लिएर नतिरेको भन्दै रावलले जिल्ला अदालत बर्दियामा राधिकाविरुद्धमा १४ कात्तिक २०७८ मा मुद्धा दायर गरे। उक्त मुद्धाको २४ माघ २०७९ मा फैसला गर्दै अदालतले १२ लाख रुपैयाँ कर्जा तिर्नूपर्ने आदेश दियो।
न्यायधीश टेकराज जोशीको एकल इजलासले गरेको फैसलामा भनिएको छ, ‘प्रतिबादी राधिका सुनारले बादी निरञ्जन रावलबाट साँवा रु. १२ लाख लिई सो रकम बादीलाई बुझाएको नदेखिएको, तिखित रीतपूर्वक र नासिल हदम्याद भित्रको देखिदा बादीले प्रतिबादीबाट साँवा रु. १२ लाख र अदालती शुल्कसमेत भराई लिन पाउने देखिन आयो।’
राधिकाले अदालतमा १ लाख रुपैयाँमात्र रावलसँग लिएको बाँकी सबै झुक्याएर तमसुक बनाएको बयान दिएकी छिन्। उनले रावलसँग ५० हजार रुपैयाँ मात्र लिएको भएपनि वकिलले एक लाख रुपैयाँ लिएको हुँ भनेर बयान दिन भनेपछि त्यसै गरेको राधिकाकी छोरी सरस्वतीले बिएल नेपाली सेवासँग बताइन।
अदालतले तमसुकको भरमा गरेको फैसलाले अहिले सुकुम्बासी राधिकाको परिवारको उठिबास भएको छ। उक्त फैसलापछि कतिबेला पक्राउ पर्ने हो भन्ने डरले राधिका घरमा छैनिन्। उनीसहित उनका श्रीमान पनि घरमा छैनन्।
‘यहाँ बसेपछि नगरेको गल्तीमा पक्राउ पर्ने डरले आमा–बुवा कता जानुभयो। हामीलाई पनि थाहा छैन,’ सरस्वतीले भनिन्, ‘झुक्याएर तमसुक बनाएकै आधारमा अदालतले फैसला गर्यो। गृहमन्त्रालयसम्म पुग्दा पनि हामीले न्याय पाएका छैनौँ।’
शिक्षक रावलकै कारण राधिकाकी कान्छी छोरीले कक्षा ११ बढ्दा पढ्दै पढाइ छाडेकी छिन्। सरस्वतीकाअनुसार आमा-बुवा बेपत्ता भएपछि घरमा भएकी कान्छी बहिनीलाई रावलले पैसाको विषयमा स्कुलमा गएर भनिदिन्छु। बेइज्जत गरिदिन्छु भन्दै धम्काउने गरेका थिए।
त्यसपछि कान्छी बहिनी डिप्रेसमा परेको सरस्वतीले बताइन। डिप्रेसको बिरामी भएपछि बहिनीले भारतमा रहेकी ठुली दिदीकोमा बसेर उपचार गरिरहेको उनले बताइन्।
रवालले झुक्याएर अक्षर नचिनेकी आमासँग तमसुक बनाएको सरस्वतीको भनाइ छ। ‘मम्मीले पढ्नु भएको छैन। बाजे (रावल)ले तमसुक बनाउनु भएछ। हामीले पछि तमसुक बनाउनु भएको छ रे बाजे के हो भन्दा उहाँले बनाएको छैन भन्नु भएको थियो,’ उनले भनिन्, ‘पछि त जग्गा हत्याउने खेलमा अदालतमा गएर मुद्धा हाल्नु भएछ। नभएको आरोपमा हामीलाई दोषी देखाउँदा अन्याय भएको छ।’
१२ लाख रुपैयाँ ऋण लिने आमा-बुवाको कुनै हैसियत नै नरहेको सरस्वती बताउँछिन्। ‘त्यसै सुकुम्बासीमा बसेका हामी। त्यति धेरै ऋण ल्याउने आँट नै हुँदैन। पैसा नभएकै कारणले दिदीले, मैले पढ्न पाएनौँ। सानै उमेरमा विवाह भयो,’ सरस्वतीले भनिन्, ‘त्यति धेरै पैसा ल्याएको भए कैलालीमा जमिन हुने थियो होला। हामीले पढ्न पाउने थियौँ होला। तर, केही छैन नि।’
शिक्षक रावलले गाउँकै जलजला दीपज्योती विद्यालयमा पढाउँछन्। उनी स्थानीय तहको छलफलमा बोलाउँदा पनि जाने नगरेको सरस्वतीले बताइन्। ‘उहाँ (रावल)लाई पालिका, जिल्ला प्रशासन, प्रहरीमा छलफलका लागि बोलाउँदा जानु भएन,’ उनले भनिन्, ‘तमसुक देखाउँदै सिधैं अदालतकोमा जानुभयो।’
न्यायको लडाइँमा सरस्वती
सरस्वती सुनार राधिकाकी माइली छोरी हुन्। मिटरब्याज साहुले आमा (राधिका)लाई धम्काइरहँदा देशमा मिटरब्याजविरुद्धको आवाज त्यति ठुलो थिएन। तर, सरस्वती त्यसको लडाइँमा एक्लै थिइन। जिल्लामा प्रशासनमा, स्थानीय तहमा आमामाथि अन्याय भएको भनेर उनी लडिरहिन्। तर, कतै पनि उनले न्याय पाइनन्।
गएको चैत २ गते हिँडेरै मिटरब्याज पीडित विभिन्न जिल्लाबाट राजधानी आए। उनीहरुको आन्दोलनबाट सरकारले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी उच्चस्तरीय आयोग गठन गर्यो। आयोगले काम गरिरहेको छ।
सरकारले मिटरब्याजसम्बन्धी कानुन संशोधन गर्यो। तर, सरकारले गरेको हरेक कदमले सरस्वतीकी आमालाई न्याय दिन सकेको छैन। घर फर्काउन सकेको छैन। त्यसकै लडाइँमा सरस्वती अहिले जिल्लामा मिटरब्याजविरुद्ध लडिरहेकी छिन्।
उनी मिटरब्याज संघर्ष समिति बर्दियाको संयोजक बनेकी छिन्। बर्दियामा मात्र होइन, सरस्वती बाँकेमासमेत पीडित तर्फबाट न्यायका लागि लडिरहेकी छिन्। बिएल नेपाली सेवासँग कुरा गर्दै गर्दा आइतबार (हिजो) बाँके प्रहरीमा पीडितको पक्षमा आवाज उठाउन आएकी थिइन्।
‘मिटरब्याजको समस्या बिकराल छ सर, कोही आत्महत्या गरेका छन्। कोही डिप्रेसनमा परेका छन्। कोही घर छाडेर भागेका छन्,’ उनले भनिन्, ‘अहिले सरकारले कानुन ल्याएको छ। तर, त्यसले पीडितलाई छुन सकेको छैन। साहुले अदालतबाट फैसला गराउँदै पक्राउँदै आएका छन्।’
आफ्नो आमाजस्तै धेरैलाई अन्याय भएको भन्दै उनले पीडितको लागि लडिरहेन बताइन। तर, जिल्लाका प्रशासनमा पीडितलाई न्याय दिने वातावरण नभएको बताइन। उनले भनिन्, ‘यहाँ प्रशासनमा पनि साहुलाई सानो स्वर गर्ने। पीडितलाई ठुलो स्वर गर्छन्। जसले गर्दा पीडितले प्रशासनबाट अन्याय भएको महसुस गरेका छन्।’
सरस्वतीको नेतृत्वमा मिटरब्याज साहुले लगेको जग्गा कब्जामा ल्याएर धान रोपाइँ भएको थियो। बर्दियाको गुलरिया नगरपालिका– ११ मा राजेन्द्र मुनियारको जग्गा साहुबाट कब्जामा ल्याएर मिटरब्याज संघर्ष समितिले धान रोपाइँ गरेको थियो।
एकातर्फ सरकारले मिटरब्याज पीडितका लागि आयोग गठन गरेर काम गरेको छ, अर्कोतर्फ साहुले अदालतबाट फैसला गराउँदै पक्राउँदै गरेको अवस्था छ, जसले गर्दा सरकारले गरिरहेको कामप्रति प्रश्न उठेको छ।