‘अपराधका नाइके’ दावा कसरी जाेडिए अमला र माओवादी नेतासँग ?

‘एक क्विन्टल सुन प्रकरण’मा मुछिएका तिब्बती मूलका ‘नेपाली ज्वाइँ’ दावा छिरिङ शनिबार राति पक्रिएपछि चर्चामै छिन्– श्रीमती अमला रोका। अनि,‘दावा–अमला’सँगै आलोचित भइरहेका छन्, माओवादी उपमहासचिव वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन।

माओवादी आन्दोलनको ‘लाल किल्ला’ भनेर चिनिने थबाङको सामान्य परिवारमा जन्मिएकी अमला कसरी तिब्बती मूलका ‘बेल्जियन तस्कर’सँग वैवाहिक सम्बन्धमा बाँधिइन्, सबैतिर चासो छ।



‘अमला’सँगै तस्करीमा झाँगिएको माओवादी साइनो

ठमेलकाे होटल भियनामा छापा, सञ्चालक पक्राउ

राजस्व अनुसन्धान विभागले १०० केजी सुन तस्करी प्रकरणमा दावा छिरिङलाई नियन्त्रणमा लिएपछि श्रीमती अमला फरार छिन्।

‘नेपालमै बसेर पटकपटक आपराधिक गतिविधिमा संलग्न भएका दावा छिरिङमाथि अनुसन्धान जारी छ। उनीसित राजनीतिक नेतृत्वसमेत जोडिएको आशंका छ। तरपनि अनुसन्धान भइरहेको छ,’ अनुसन्धानमा खटिएका एक अधिकारीले भने।

अहिले सुन तस्करी प्रकरणमा दावाको नाम मुछिए पनि नेपाल प्रहरी र माओवादी नेताहरूका लागि उनी नयाँ होइनन्। दावा एक दशकदेखि राजधानी छेउछाउ र रोल्पाका माओवादी नेताहरूको समिपमा हुर्किरहेका पात्र हुन्।

दावा पक्राउ भएपछि माओवादी नेता वर्षमान र पूर्वउपराष्ट्रपति नन्दबहादुरसँग खिचाएका उनका र उनकी श्रीमती केही तस्बिरहरू सार्वजनिक भए।

सामाजिक सञ्जालमा फैलिएका ती तस्बिर र उनीहरूबीचको हिमचिमले सुन तस्करी प्रकरणको अनुसन्धान उच्च राजनीतिक नेतृत्वतर्फ सोझिएको छ।

वर्षमान पुनले दावासँग खिचिएको तस्बिरबारे प्रष्टीकरण दिएपनि उपराष्ट्रपति नन्दबहादुर मौन छन्। र, दावा–अमला र माओवादी नेताहरूको साइनो–सम्बन्ध तस्बिरमा मात्र सीमित नभएको माओवादी केन्द्रकै नेताहरू बताउँछन्।



चिनियाँ नागरिक बस्ने एक घरमा राजश्वले गर्यो खानतलासी

‘रेडी ट्रेड’को सोह्रखुट्टे गोदाममा राजस्वको छापा

अमला रोल्पाली चेली नै हुन्। तर उनी जडीबुटी र भाङ्गो व्यापार गर्ने क्रममा चिनियाँ मूलका दावासँग वैवाहिक जीवनमा जोडिएकी विवादित पात्र हुन्।

‘२०७० सालतिर अमला सामान्य नै थिइन्। उनी भाङ्गोको डल्ला र जडीबुटी ओसारपसार गर्थिन् तर अहिले एकाएक चिनियाँसँग बिहे भएको हल्ला सुनेँ,’ थबाङका एक युद्धकालीन माओवादी कार्यकर्ताले भने।

दाङ हुँदै काठमाडौँ छिरेपछि अमला कसरी जोडिइन्, माओवादी नेतासँग? एउटा गम्भीर प्रश्न। तर थबाङ्गीहरू भने अमलाको ‘रातारात भइरहेको प्रगति’ देखेर चकित छन्।

उनीहरू भन्छन्, ‘माओवादी आन्दोनलसँग कुनै साइनो–सम्बन्ध नभएकी अमला र उनका तस्कर चिनियाँ श्रीमानलाई किन बोकेका होला माओवादी नेताहरूले? कतै तस्करीको साइनो त होइन? उनीहरूको आशंका छ।

काठमाडौँ आएपछि अमलाले थबाङ्गी समाजमार्फत माओवादी उपमहासचिव वर्षमान पुन र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग ‘दाजु नाता’ गाँसिन्। उनीहरू हर्ताकर्ता र चलायमान सहजै पैसा खर्च गर्न सक्ने अमलालाई देखेपछि मोहित भए नै।

वर्षमान र नन्दबहादुसँगै शुकबहादुर रोका, जीवन रोका, जुना मगर, दीपेश पुन र मौसम रोकासित मित्रता फैलाइन्। र, आफ्ना चिनियाँ श्रीमान दावासँग पूर्वउपराष्ट्रपतिकी बुहारी जुनासँग भाइटीका लगाउने साइनो विस्तार गरिन्।

पूर्वउपराष्ट्रपतिका प्रमुख स्वकीय सचिव शुकबहादुर र विद्यार्थी नेता दीपेशसँग सुमधुर सम्बन्ध कायम गरिन्। थबाङनिवासी जीवन र मौसमलाई पारिवपारिक नाता-साइनो लगाइन्। अनि चिनियाँ तस्कार श्रीमान दावा छिरिङलाई सहजै राजनीतिक शक्तिको पहुँचमा पुर्याइन्।

दावा पक्राउ परेपछि वर्षमान र नन्दबहादुरसमेत विवादित बनेका छन्। नन्दबहादुर परिवार मौन देखिएपनि वर्षमान पुनले आफ्नो नाम र आठ वर्ष पुरानो फोटो जोडेर भाइरल बनाएको भन्दै आपत्ति जनाएका छन्।

सबैतिरबाट आलोचित भएपछि वर्षमानले भने, ‘जनयुद्धका सहीद परिवार, रोल्पाकी चेली, पार्टी कार्यकर्ता अमला रोकासँग पारिवारिक भेटघाटको सन्दर्भमा ८ वर्ष पहिला नै सार्वजनिक भईसकेको तस्बिरलाई अहिले मसँग जोडेर गरिएको प्रचारप्रति मेरो गम्भीर आपत्ति छ।’

सुन तस्करी प्रकरणमा मुछिएपछि वर्षमान पुनले आफू उम्किनका लागि सहीद परिवार भनेर भ्रम फैलाएको थबाङ्गीहरूले जनाएका छन्। उनीहरू भन्छन्, ‘अमला रोका जनयुद्धका सहीद परिवारकी सदस्य होइनन्। उनका पहिलो श्रीमान व्यक्तिगत लफडामा मारिएका हुन् तर अमला सहीदपत्नी होइनन्।’

प्रकाशित मिति: : 2023-08-02 21:10:00

प्रतिकृया दिनुहोस्