साउने घामले बेस्सरी तात्तिएको तराईवासीले घरिघरि आकाशतिर हेर्छन्। टुक्रिएका काला बादलहरू सर्लक्कै उडेर कहिले कता पुग्छन्, कहिले कता। थोपाहरू खस्न खोज्छन्, तर क्षणमै ती एक्लिन्छन्, झरीले तिनलाई समाउँदैन।
तराईं साउने घामले रापिएको छ। देशभरि मनसुन त छ तर त्यहाँ पानी पर्दैन।
अझ घरअघि धसिएका ‘चापाकल’हरूबाट पनि पानी निस्किन्न। कुनैबेला ५० देखि १०० फिटमै पानीको मूल फाल्ने चापाकलहरू अहिले ३०० फिटसम्म गाडिन्छन् तर बारैमास यसले पानी तान्न सकिरहेको छैन।
पानी कहाँ गयो?
वीरगञ्जका रैथाने लेखक चन्द्रकिशोरको भाषामा ‘त्यो भू-जल अब सुकिसक्यो।’
चापाकलको तागतले जमिन मुनि धेरै गहिरोमा हराइसकेको त्यो पानी भेट्दैन। अनि प्यासिएका मान्छेको अञ्जुलीमा पानी खस्दैन। यो तातो भुङ्ग्रोमा भ्यागुताहरू कसरी नाचुन्, भ्यागुताको वर्षे आवाज सुकेको छ। तराई जसरी सुकिरहेको छ।
‘इनारहरू मासिएका छन्। पोखरीहरू मासिएका छन्। भएका पनि सुक्दैछन्। कतिलाई सौन्दर्यीकरणको नाममा तिनलाई प्रकृतिबाट अलग गरिँदैछ’, चन्द्रकिशोर भन्छन्, ‘तराई त विस्तारै सुकिरहेको छ। पानीको चरम संकटले आम मान्छेको जीवनशैली नै फेरिन थालेको छ।’
बाध्यताको यो परिवर्तनलाई यी रैथाने तराईवासीले कसरी अपनाउलान्?
‘यो त अब तराईवासीको बाध्यता भइसक्यो। सदियौँदेखिको मनसुनले आफ्नो शैली फेरेको छ। बादल, वर्षा अनि हावाको गति र दिशा हेरेर आफ्नो दैनिकी तय गर्ने तराईवासीका लागि यो निकै अन्योलपूर्ण जीवन बाँच्नेबेला आएको छ’, उनी भन्छन्, ‘छेवैको जंगल झाडी, सिमसार र चुरे पर्वत श्रृंखला फेरिए अनि यस क्षेत्रका बासिन्दाले आफ्नो दिनचर्या फेर्नुपर्ला भनेर कहिल्यै सोचेनन्। अहिलेको पानी संकटले सबैतिरका कमी कमजोरी ह्वातै छताछुल्ल गरिदियो।’
पानी पर्दैन। परेपनि छिटाहरू मात्रै। त्यसले तातिएर सेकिएको तराईको त्यो भूमि सेलाउन पनि पुग्दैन। ‘भू-पुनर्भरण’को अलगै वात भैगयो।
तराईका खेत सुख्खा छन्। साउन उकालो लागिसक्यो, खेतहरू बाँझै पल्टिएका छन्। खेत भेटेका नहरहरू पनि सुकिसके। ‘हुनेखाने’ गहिरोगरी ठूलो क्षमताको ‘डिपबोरिङ’ धसेर पानी उकासिरहेका छन्, नसक्नेहरू अरूको खेतमा निस्केको त्यही मूल हेरर घामले तातिएको बाँझो खेतको तातो माटोमै बसिरहेका छन्।
नहरले छोए त्यसैमा बग्ने पानीमा त्यहाँका खेतहरू रोपिन्छन्। नभए बोरिङले भ्याउँछ। त्यसमै पनि साना बोरिङहरू त सुकिसके। नत्र त्यहाँ हुने भनेको त ‘आकाशे खेती’ नै हो। अर्थात् झरी लागे खेत रोपिन्छन्, नत्र बाँझै हुने हो।
तराईमा अहिले लगभग २०-३० प्रतिशतमात्रै धान रोपाइँ भएको छ। मध्य वर्षाको यो समयमा नेपाल भित्रिएको ‘मनसुन’ झरिलो बनेर अझै तराई पुगिसकेको छैन।
नेपाल भित्रिएको मनसुनी हावा अहिले देशभरि नै अलि सेलाएको छ। त्यसको एउटा न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर सरेको छ। जल तथा मौसम विज्ञान विभागले हरेक दिन गर्ने यस्ता अनुमानका विवरणहरूले ३५/३६ डिग्री सेल्सियस तातोमा रापिएका तराईवासीको पसिना सुकाउन सकेको छैन।
‘मेरै जीवनकालमा मैले यस्तो भोगेको थिइनँ। पानीको यो चरमसंकट मेरै पालमा आइसक्छ भन्ने अनुमान चाहिँ थियो’, उनले भने, ‘तर सामान्यतया: हरदिनको मौसमको अनुमानमा आफ्नो दैनिकी गुजार्ने यहाँको रैथाने संस्कार अब चाहिँ जबर्जस्त फेरिन थालेको छ’, उनी भन्छन्, ‘पारम्परिक जीवनशैली अनिच्छित रूपमा फेरिँदाको अप्ठ्यारो अहिले तराईवासीले भोग्दैछन्। तराईमा पानीको संकट छँदैछ, किनभने सबैको दैनिकीमा तत्काल असर गरिरहेको छ। बर्बाद त तराईको ‘माटो’ भएको छ, जो तत्काल तकलिफ दिएको छैन तर दीर्घकालीन रूपमा भयानक परिणाम ल्याउनेछ। अब आफ्नै अनि आफ्ना सन्ततीका लागि सोच्ने र दीगो समाधान खोज्नेबेला आइसकेको छ।’
चन्द्रकिशोर पनि अहिले त्यहाँका रैथाने किसानहरूका पीडा सुनिरहन्छन्। कैयौं वर्षपछि फेरि तराईले यो सुख्खायाम बेहोर्दैछ। तराईवासीले यो रापिलो साउन भोगिरहेका छन्।
पर्सामा क्रियाशील राजनीतिक दलका नेताहरूले शनिबार एउटा संयुक्त वक्तव्य निकालेर भने, ‘जिल्लावासीले चरम पानीको संकट भोगिरहेका छन्।’ अनि उनीहरूले यसको दीगो समाधानका लागि प्रदेश सरकार तथा संघीय सरकार र सबै राजनीतिक दलहरूसँग गुहार पनि मागे।
सित्तिमित्ति राजनीतिक दलका मुद्दा नबन्ने पानी अनि पर्यावरणका परिवर्तनहरूले विस्तारै उनीहरूलाई पनि छुन थालेको छ। यो सायद पहिलोपटक हो, जहाँ राजनीतिक दलहरूले घामको तातो अनि पानी नपाएर प्यासिइरहेका तराईका आफ्ना नागरिकका लागि यो ‘पानी संकट’लाई आफ्नो मुद्दा बनाएका छन्।
सायद उनीहरूका लागि ‘कलधारा’ सुक्न थाले कि!
र त चन्द्रकिशोरलाई लाग्छ, ‘पानी संकट सन्दर्भमा 'वाहवाही' लुट्ने कोसिस हुँदैछ। आम जनता पनि तत्कालीक सुविधा पाउने चाहना राख्छ तर कुनै पनि प्रकारको त्यस्ता कार्यले झन भयानक स्थिति आउनसक्छ। मधेश प्रदेस सरकारले यसका लागि विज्ञहरूको उच्चस्तरीय बैठक गरी पालिकाहरूसँग समन्वय गर्नुपर्छ। दिगो समाधान खोज्नैपर्छ।’
यो सकंटले यहाँको आदत फेरिँदैछ। संस्कार फेरिँदै छ अनि नचाहँदा नचाहँदै बाँच्ने तरिका फेरिँदैछ।
‘हावा, पानी अनि वर्षा र बादलको आकार, प्रकार र त्यसको स्वभाव नै यहाँको जीवनपद्धति बन्दै आएको हो। यहाँको रैथाने संस्कार नै त्यस्तै हो। बादल, वायु वर्षाका आधारमा जनजीवन चल्थ्यो’, चन्द्रकिशोर भन्छन्, ‘मनसुनका प्रक्रियाहरू जस्ता थिए, अब आँकलन गर्न मिल्ने भएन। त्यो जीवनपद्धति फेरियो।’
केही वर्षअघि यिनै चन्द्रकिशोरलाई लागेथ्यो, अब बाल्टिनमा थोपा थोपा पानी जम्मा पारेर नुहाउने दिनहरू पनि आउनसक्छन्।
त्योबेला कैयौं ‘विज्ञ’हरूले पनि उनलाई खुब उडाए।
मलाम जाँदा कुनैबेला मानिस खोला, नदीको पानीमा शव बिसाउँथे। जल छुवाउँथे अनि अन्तिम संस्कार गर्थे। मलामीले त्यही खोला नदीमा नुहाउँथे र आफूलाई पखालेर फर्किन्थे।
अहिले खोला नदीमा शव त लगिन्छ, मलामी पनि जान्छन्। तर पानी हुँदैन। घरबाटै बाल्टिनमा पानी बोकेर जानुपर्छ।
आज तराईवासीले भोगिरहेको बाध्यता हो यो। पानी सुक्दैछ। नदीमा छैन। खोलामा छैन। मुहानमा छैन। चापाकलहरूमा छैन। कुँवा-इनारहरूमा छैन। ताल-पोखरीहरूमा छैन। जमिनमा छैन। जमिनमुनि पनि छैन। कहिलेकाहीँ बटारिँदै तराईका आकाशमा लुकामारी खेल्ने काला बादलका टुक्राहरूमा पनि त्यो पानीको थोपा छैनन्। र, हराइरहेका यो पानीसँगै यहाँको रैथाने आदत पनि विस्तारै फेरिँदो छ।
घामले उस्तै पोल्थ्यो। बर्खे झरीले क्षणभर चिस्याउने तराई हर गर्मीमा उस्तै तातो नै हुन्छ। तर केही वर्ष भयो, हिउँद यामको चिसो तराईले थेग्न सकिरहेको छैन। बरू चर्को घामलाई ‘आदत’ बनाइसकेका तराईवासी त्यसको रापले पनि बाँचिरहन्छन्। तर अब हिउँदको चिसोले कठ्याङग्रिएर मर्ने तराईवासीको सूची लामो हुन थालेको छ।
यो सब कसरी भयो?
चन्द्रकिशोरलाई लाग्छ, तराईका छातीमा गाँसिएका हिमालहरू पनि तात्तिँदै छन् सायद। त्यही छातीको गर्भमा रहेको चुरेको पानी सायद जमिनको भित्रभित्रै कतै गहिराइमा लुक्दैछन्। त्यसको क्रुर दोहनले चुरेको पानी लुटिरहेको छ। आकाश चुहिन्न, जमिनमा पानी एकछिन पनि अडिनै पाउँदैन। अनि कसरी त्यसले सोसोस्, कसरी जमिनमुनि पानी पुगोस् र फेरि त्यो कुनै माध्यमबाट फेरि जमिनमै तानियोस्। त्यसैले झन् झन् प्यासिलो बन्दैछ तराई।
सदियौंदेखि जमिनमुनि छिरिरहेको पानीलाई पनि अनेकौँ निहुँमा बोरिङ गरेर जथाभावी तानिन्छ। त्यो कसैको नियन्त्रणमा हुन्न। न मनसुनमा चाहिनेजति पानी पर्छ। नपर्ने सिजनको त अर्कै कुरा भइगयो। पोखरीहरू मासिएका छन्। कुँवाहरू मासिएका छन्। सुकेका छन्। चापाकलहरूले पानी तानेको तान्यै गरेका छन्।
अहिले त १५० फिटसम्म गाडिएका सबैजसो चापाकलहरू सुकिसकेका छन्। नदीहरू लुटिएका छन्। खोतलिँदै र बिथोलिँदै गएपछि ती नदीखोलाहरू सुक्दैछन्। भएका रुखहरू काटिइरहेका छन्। नयाँ रुखहरू धेरै रोपिएका छैनन्। रोपिएका पनि स्याहार नपाएर मरिरहेका छन्। ‘सिमेन्टकृत भएका विकास-मण्डल’हरूले धर्ती र त्यसमुनिको आवागमन ठ्याम्मै रोकेका छन्।
केही समयअघि नेपालका प्रमथ राष्ट्रपति डा. रामवरण यादवले एउटा सार्वजनिक कार्यक्रममै भनेका थिए, ‘अब यो तराईमा त मैले मरूभूमिको छायामात्रै देखिरहेको छु…।’
हरेकदिन जसो तराईको पानी संकटलाई रैथाने जीवनसँग जोडेर केही न केही शब्दहरू लेखिरहेका चन्द्रकिशोर भन्छन्, ‘सायद त्यो दिन चाँडै आउनेछ, यो सुख्खा अनि तो भुङ्ग्राको समाधान खोजिएन भने…।’