जुम्लाको गुठीचाैर गाउँ कार्यपालिकाकी सदस्य गोइतु कामीलाई जातीय विभेद गर्ने केसी भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।
भण्डारीले असार ३१ गते गुठीचौर गाउँपालिकाको प्राङ्गणभन्दा बाहिर रहेको हिमाली होटल अगाडिको मुल सडकनेर जातीय विभेद गरेकाे कामीले बताएकी छिन्।
असार ३१ गते चालु भएको गाउँसभामा सहभागी भएर हिमाली होटलमा राखेको झोला लिन जाँदै गरेको अवस्थामा माधक पदार्थ सेवन गरेका केसी भण्डारीले जातीय विभेद गरेकाे उनकाे भनाई छ।
'उनले म हिँडिरको अवस्थामा मेरो नजिक आई मलाई धकेले। मैले उनलाई तपाईंले के गर्न खोज्नुभएको हो? तपाईंलाई मैले जेठाज्यू भन्छु। सम्मान गर्छु। किन एक महिलालाई साँझको समयमा होचो देखि हातपात गर्नु हुन्छ? भनेँ,' उनले भनिन्।
उनका अनुसार भण्डारीले तँलाई एकपटक धकेले के भयो? डिमिनि तँ डुमको जोई होस् बड्ता नबोल। डिमिनि चुप लाग। तँ कति पढे लेखेकी छस्? तेराे के औकात छ? भने।
उनले भनिन्, 'सार्वजनिक स्थानमा मलाई अवाञ्छित, अमर्यादित व्यवहार गर्नुको साथै अपराधिक मनसाय राखी 'डिमिनि' भनि अत्यन्त घृणा गरी अपमानजनक शब्द बोलेर गालीगलौज गरी जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुर अपराध गरेको हुँदा म न्यायिक निकाएका पुगेकी हुँ।'
कामीले भण्डारीलाई जातीय भेदभाव तथा छुवाछुतको कसुर र सजाय ऐन २०६८ बमोजिम हदैसम्म सजाय र जरिवानाकाे मागसहित दिएकाे जाहेरी प्रहरीले साउन २ गते दर्ता गरेकाे प्रहरी निरिक्षक धर्मराज जाेशीले बताए।
'जाहेरी दर्ता भएपछि आराेपित भण्डारीलाई प्रहरीले पक्राउ गरेकाे छ,' उनले भने, 'हामीले हिरासतमा राखेर अनुसन्धान जारी राखेका छाैं।'
जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ को अनुसार जातीय विभेदकाे घटना अक्षम्य अपराध मानिन्छ।
ऐनकाे दफा ४ अनुसार कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात-जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा जातीय तथा अन्य सामाजिक छवाछुत र भेदभाव गरी सार्वजनिक वा निजी स्थानमा प्रवेश गर्न, उपस्थित हुन वा भाग लिन, निषेध गर्ने वा कुनै किसिमले रोक, नियन्त्रण वा प्रतिबन्ध लगाउने, व्यक्तिगत वा सामूहिक रुपमा सार्वजनिक स्थान वा समारोहबाट निष्काशन, सामाजिक बहिष्कार वा कुनै प्रकारको भेदभाव गर्ने वा त्यस्तो कार्यमा प्रतिबन्ध लगाउने वा अन्य कुनै किसिमको असहिष्णु व्यवहार प्रदर्शन गर्ने गरेमा छुवाछुत गरेकाे ठहर्छ।
यस्ताे कार्य गरेकाे ठहरेमा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ काे दफा ४ काे उपदफा १ र २ अनुरुप कसुर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ भने पीडितले दफा ९ काे उपदफा १ बमाेजिम अदालतले कसुरदारबाट पीडितलाई दुई लाख रुपैयाँसम्म क्षतिपूर्ति भराइदिनु पर्ने हुन्छ।
त्यतिमात्र नभइ साेही ऐनकाे दफा ५ मा दफा ४ बमोजिमको कसुर कसैले गरेको वा गर्न लागेको थाहा पाउने व्यक्तिले समेत नजिकको प्रहरी कार्यालयमा तोकिएबमोजिम उजुर गर्न सक्ने प्रावधान छ।
गुठीचाैरमा गाउँ कार्यपालिका सदस्यलाई जातीय विभेद गर्ने भण्डारी पक्राउ परेपछि उनका दाइ भिम भण्डारीले पीडित गाेइतु कामीका छाेरा अर्जुन कामीलाई म्यासेन्जरमा म्यासेज गरेर थर्काएकाे बुझिएकाे छ।
कार्यपालिका सदस्य गाेइतुका छाेरा अर्जुनले आफूलाई केसी भण्डारीका दाइबाट साउन दुई गते राति म्यासेन्जरमा धम्की आएकाे बताएका छन्।