‘रोयल ट्रेक’लाई प्रवर्द्धन गरिँदै

गण्डकी प्रदेशभित्रका विभिन्न पदमार्गमध्येको एक हो ‘रोयल ट्रेक’।

तत्कालीन बेलायती राजकुमार चार्ल्स तृतीयले वि.सं २०३९ मा पदयात्रा गरेको यो पदमार्गसँगै प्रदेशमा विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्गदेखि धवलागिरि, मर्दी, सहस्राब्दी आदि चर्चित पदमार्ग छन्।

तत्कालीन समयमा युवराज चार्ल्स तृतीयले विजयपुरस्थित चाँपको चौरबाट पदयात्रा थालेका थिए। उनले पहिलो दिन विजयपुरमाथिको चिन्तेको डाँडामा पुगी रात बिताएको जनाइएको छ।

दोस्रो दिन उनले कालिका, सौरे, लिपयानी, राम्चे, हुँदै स्याक्लुङको डाँडामा पुगी दोस्रो रात बिताएका थिए। तेस्रो दिन रुपाकोटको चिसापानीमा बास बसेका चार्ल्स तृतीय बेगनास तालको जङ्गलमा चौथो रात बिताएर काठमाडौं फर्केको उल्लेख छ।

युवराज चार्ल्स तृतीयले पदयात्रा गरेको ‘रोयल ट्रेक’को गरिमा र महत्त्वलाई जोगाउनका लागि यसको प्रवर्द्धन र विकासलाई कास्कीको रुपा गाउँपालिकाले प्राथमिकतामा राखेको छ। पछिल्ला समयमा यसको प्रवर्द्धनमा पर्यटन सम्बद्ध सङ्घसंस्थाले पनि जोड दिँदै आएका छन्।

हाइकिङका माध्यमबाट पोखरा आसपासका पर्यटकीय गन्तव्य, घर बास आदिको प्रवर्द्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो हाइकिङको ३६औँ शृङ्खला रोयल ट्रेक क्षेत्रको पचभैयाँ–रुपाताल हुँदै हात्तीमै तासम्म सम्पन्न गरेको संयोजक कृष्ण रानाभाटले जानकारी दिएका छन्।

रोयल ट्रेकको महत्त्वलाई उजागर गर्दै पर्यटकको आगमन बढाउन सकिएमा यहाँका स्थानीय उत्पादनले बजार पाउने र होटेल तथा अन्य व्यवसायले गति लिने अपेक्षा गरिएको स्थानीय समाजसेवी एवं ध्रुव तारा युवा क्लबका अध्यक्ष त्रिविक्रम केसीले बताएका छन्।

समुद्री सतहबाट एक हजार तीन सय ५० मिटर उचाइ रहेको हात्ती मत्ता भ्यूटावर रहेको स्थानमा टेन्टमा प्रत्येक रात १५ जनासम्म बस्न सक्ने व्यवस्था मिलाइएको र होमस्टेमा अरू १५ बस्न सक्ने व्यवस्था छ।

प्रकाशित मिति: : 2023-07-16 09:50:00

प्रतिकृया दिनुहोस्