सधैँ कार्यकर्ता अनि कर्मचारीको भीडले कोलाहल अनि अस्तव्यस्त हुने बालुवाटार (प्रधानमन्त्री निवास) बुधबारदेखि मौन छ।
सेताम्य भएका प्रधानमन्त्री प्रचण्डका परिवार छ। उनलाई भेट्नका लागि नेता अनि कार्यकर्ताहरू पनि खचाखच छन्। कर्मचारी, कूटनीतिज्ञ अनि अरू आमनागरिक पनि छन्। तर कोही कसैसँगको चिच्याहट छैन। सबका सब मौन।
जीवनका करिब ५५ वर्ष प्रचण्ड पाइला पछ्याएकी सीता दाहालले बुधबार बिहानपख अन्तिम सास लिइन्। हतियारबन्द ‘जनयुद्ध’ बिसाएर संसदीय राजनीतिक यात्राका यी १८ वर्षमा पुष्पकमल दाहाल प्रचण्डले भोगेको तेस्रो वियोग हो। क्यान्सरले छोरी लग्यो। राजनीतिमा उत्तराधिकारी देखेका छोरा प्रकाश पनि हृदयघातको चोटले निभे। अनि यो साल त प्रचण्डका सबैभन्दा प्रिय मान्छे सीताको पनि ‘महाप्रस्थान’ भयो।
बालुवाटारको एउटा बैठककक्षमा सीताको तस्वीर राखिएको छ। छेउमा एउटा रजिष्ट्रर। अर्कोतिर सेतो लुगा लगाएका प्रचण्ड, वरिपरी दुई छोरी रेणु र गंगा राखेर बसिरहेका हुन्छन्। आफन्त अनि शुभेच्छुकका भीडमै देखिन्छन्, बुहारीहरू विना मगर र सिर्जना त्रिपाठी। अनि प्रचण्डका नातीनातिनीहरू पनि।
सीताको अन्तिम संस्कार सकिएलगत्तै प्रचण्डको निजी सचिवालयले औपचारिक ‘करिया’ नगर्ने भनेर सूचना निकालेको थियो।
बिहीबार बिहान ६ बजेदेखि दश बजेसम्म र बेलुका ४ बजेदेखि बालुवाटारको त्यो हलमा यी ‘सेता’ मान्छेहरू शुभेच्छुकका ‘समवेदना’ ग्रहण गरिरहेका छन्। अनि आउने-जानेहरूलाई धन्यवाद दिइरहेका छन्। यो क्रम आगामी साउन २ गतेसम्म रहनेछ। यो बीचमा प्रचण्ड कुनै पनि औपचारिक सरकारी अनि अरू सार्वजनिक कार्यक्रमहरूमा सहभागी पनि हुने छैनन्।
संसदीय राजनीतिमा आएलगत्तै छोरी गुमाउँदा गलेकी पत्नी सीता त्यसपछि भोग्नुपरेको पुत्र विगोगले झन विक्षिप्त भइन्। त्यसपछि त उनलाई झन दीर्घ रोगले समात्यो। लाखौँमा एकजनालाई हुने ‘पार्किन्सन’ रोगले थलिएर उनी यी वर्षहरू निष्लट ओछ्यानमै ढलेकी थिइन्। त्यही रोगसँग लड्दालड्दै उनी संसारबाट बिदा भइन्।
प्रधानमन्त्री पत्नीको अन्तिम संस्कारमा राज्यले ‘राजकीय’ सम्मान दियो। हिन्दु परम्पराअनुसार ‘राजकीय’ चितामा प्रधानमन्त्री प्रचण्डले सीतालाई दागबत्ती पनि दिए। तर कम्युनिष्ट आदर्शलाई पछ्याइ हिँडेको यो परिवारले सीताको ‘मृत्यु संस्कार’ भने पूरा गरेन। ‘आसौच’ (जुठो) परेको प्रचण्ड परिवारले ‘नुन’ बारेको छैन।
सशस्त्र युद्ध सकेर संसदीय राजनीतिक यात्रामा बिसिएका प्रचण्ड त्यो यात्राको सुरुवातदेखि नै सांस्कृतिक परिवर्तनको अलमल बाटोमा छन्।
यो राजनीतिक यात्राकै दौरानमा परिवारका सदस्यहरू गुमाइरहेका प्रचण्ड पत्नीको उपचारका लागि अमेरिका अनि सिङ्गापुरलगायतका महंगा अस्पतालमात्रै धाएनन्, रामदेवको आश्रममा समेत शरण लिन पुगे। कहिले तातोपानीमा जिउ पखाल्न पुगे। कहिले हरिद्वार अनि पशुपति धाममा गएर याचना पनि गरे।
थाहा छ, मृत्यु अवश्यंभावी छ र, पनि सांस्कृतिक परिवर्तनको बाटोमा प्रचण्ड निरन्तर अलमलिइरहे। आफैँभित्र आफ्नै आदर्शको विरोधाभाषमा भौँतारिइरहे।
प्रचण्डका यी विरोधाभाष अलमलका बारेमा पटकपटक धेरैले धेरैथरि आलोचना र टिप्पणीहरू गरिरहेका हुन्छन्।
पत्नी सीताको अन्तिम संस्कार अनि बाँकी मृत्यु संस्कारलाई, उनले अपनाएको शैलीलाई पनि धेरै कोणहरूबाट टिप्पणी भइरहेको छ।
प्रचण्डलाई नजिकबाट चिनेका एकजना विश्लेषक मुमाराम खनालले यो उनको नितान्त निजी जीवनको कुरा भएकाे बताउँछन्।
‘प्रचण्डले जे जे गरिरहेका छन्, त्यो उनको नितान्त व्यतिगत कुरा हो। कुनै पनि धर्ममा आस्था राख्नु, मृत्यु संस्कार कस्तो गर्ने भन्ने कुरा निजी आस्थाको कुरा हुन्। तर पनि देशको प्रधानमन्त्री भइसकेका नाताले कतिपय बाध्यता पनि हुन्छन्’, उनी भन्छन्, ‘कस्तो मृत्यु संस्कार गर्ने, के के गर्ने निजी जीवनको कुरा हो। व्यक्तिका स्वतन्त्रताको कुरा हो। यो विषयमा प्रचण्ड आफैँ पनि स्वतन्त्र छन्।’