जीवनभरि आफ्नो भोक, प्यास अनि निन्द्रा त्यागेर सन्तानको सपनाका लागि आफूलाई घिसेका बाआमा बुढेसकालमा छोराछोरीका लागि बोझ किन बन्छन्?
पैतींस वर्षको उमेरमा श्रीमान गुमाएकी हिमादेवी बस्नेतले छोरीलाई एक्लै हुर्काइन्। छोरीका लागि उनी छिमेकको घरमा काम गर्न बसिन् तर बुढेसकालमा आफ्नै छाेरीलाई भारी भइन् उनी।
‘छोरी सानी हुँदा अरूको घरमा काम गरेर हुर्काएँ तर बुढेसकालमा छोरीको लागि बोझ भएँ,’ १२ वर्षदेखि हिमालय वृद्धाश्रमम बस्दैआएकी हिमाले रुँदै आफ्नो वेदना सुनाइन्।
सानै उमेरमा बुबा गुमाएकी छाेरीलाई उनले कुनै कुरामा कमी राखिनन्। श्रीमानकाे निधनपछि समाजमा खेप्नुपरेकाे लाल्छनाकाे बावजुद पनि छाेरीलाई हुर्काइन्। तर गरिखान सक्ने भएकी छाेरीले ‘अब म तँलाई पाल्न सक्दिनँ’ भनेपछि भावुक हुँदै आश्रमकाे छानामुनि हुत्तिइन्, हिमा।
धन्न नेपालमा वृद्धाश्रमम छन्!
जीवनको एकचरण कसैकी छोरी, अलि पछि कसैकी श्रीमती अनि कसैकी बुहारी भनेर चिनिन्छन्, कैयाै हिमाहरू। सन्तानपछि कसैको आमा। एउटै जीवनचक्रमा एक महिलाका परिचयहरू यसैगरी फेरिँदै जान्छन्।
एउटी महिला जब माइतीघर छाडेर श्रीमानको घर भित्रिन्छिन्, तब उनले आफ्नाे पतिधर्म निभाउँछिन्। बुहारी बनेर घरकाे जिम्मेवारी सम्हाल्छिन्। र आमा बनेपछि आफ्नो पूरै जीवन छोराछोरीको नाममा सुम्पिदिन्छिन्। आमाझैं सन्ततिकाे प्रेममा लिप्त हुन्छन्, जन्मदिने बा। जाे छाेराछाेरीका खातिर काँधले थामिनसक्ने दु:ख अनि जिम्मेवारीको भारी बाेकेर पनि सधैं मुस्कुराइरहन्छन्।
संसार देखाउने बाआमा भनेका जिउँदा देउता हुन्।
आफू भोकै भएपनि छोराछोरीको पेट भर्न तम्सिरहन्छन् तर बुढेसकालमा तीनै आमाबुबा छोराछोरीको लागि घाँडो बनिदिन्छन्। बोझ लाग्छन्।
नेपालको अन्तरिम संविधान २०६३ ले वृद्धवृद्धालाई संरक्षण र उन्नतिको लागि सामाजिक सुरक्षा प्रदान गर्ने र संविधान २०७२ को धारा ४१ मा लिखित रुपमै ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनेर उल्लेख गरिएको छ।
त्यतिमात्र होइन ६० वर्ष पुगेका ज्येष्ठ नागरिकको जीवनलाई सहज, सुरक्षित र सम्मानित बनाउन ज्येष्ठ नागरिक नीति, कार्यनीति तथा दीर्घकालिन अवधारणासहित ज्येष्ठ नागरिक कार्ययोजना (२०६२) कार्यान्वयनमा आइसकेको अवस्था छ। तर बिडम्बना अझैं पनि छोराछोरीका धनी बुबाआमा बेवारिसे भएर वृद्धाश्रममको ढोका ढकढकाउन बाध्य छन्।
सकुन्जेल लुगाा सिलाएर छोराछोरी पालेकी ज्ञानुशोभा बज्रचार्यको मन कपडाझैँ फाटेको छ तर सिलाइदिने कोही छैनन्। न छोरा न त छोरी नै।
शरीरमा ताकत भइन्जेल खुट्टाले मेसिन चलाएर उनले छाेराछाेरीलाई दु:खबाट टाढा राखिन् तर सुख पाउने उमेरमा उनी स्वयंम घरबाट टाढा भइन्। उमेरले ९० वर्ष पुगेकी उनकाे आश्रम बस्ने उनको रहर हाेइन तर बाध्यताले उनलाई घर बस्नै दिएन।
८ वर्षदेखि आश्रमलाई घर बनाएकी उनलाई छाेराहरूलाई असल बनाउन नसकेकाे कुराकाे थकथक छ।
०००
९ महिना गर्भमा राखेर जन्माएको छोराछोरीको नाम सुन्नै चाहँदिनन्, भक्तपुरकी रुकु कोइराला। १४ वर्षकै उमेरमा दुलही बनेकी रुकुका तीन छोरा र एक छोरी छन् तर उनी अहिले आश्रममै छिन्, बेवारिसे बनेर जीवन बिताइरहेकी छिन्।
श्रीमान हुँदापनि कहिल्यै साथ नपाएकी उनले एक्लै संघर्ष गरेर छोराछोरीलाई आत्मनिर्भर बनाइन्। तर बुढेसकालमा उनै छाेराछाेरीकाे साथ पाइनन्। जसको कारण थियो, उनको कमजोर मानसिकता।
३५ वर्षको उमेरदेखि जताततै भौतारिएर हिँड्न थालेकी उनी मानवसेवा आश्रम पुगिन्। त्यही बसेर उनले आफ्नो उपचार गराइन्। तर निको भएर गाउँ फर्किदा उनलाई बुहारीले घरभित्र छिर्न दिइनन् र छोरीले ‘आमा मरिसक्याे चिन्दिनँ’ भनेर हप्काइन्।
जिउँदो आमाकै अगाडि छाेरीले मरिसकिन् भनेर झपारिरहँदा आमालाई त्याे भन्दा पीडा कुरा अरू के हुन्थ्याे हाेला र? बुहारी र छोरीकाे गालीगलाैज सुन्न नसकेकी उनी रुँदै आश्रम घुरिन्।
वि.स २०७८ असार २६ गते। छोरा जंगबहादुरसँग रमाउँदै काठमाडौं आइन्, सिन्धुपाल्चोककी फुलमाया नेपाली। तर सहर घुम्ने सपना बोकेर काठमाडौं छिरेकी उनी छोराको कारण बेपत्ता परिन्।
बुढेसकालमा आमालाई पाल्नुपर्छ भनेर दुखी बनेका छाेराले फुलमायालाई काठमाडाैं ल्याए र बिच बाटाैमै छाडेर भागे। छाेराकाे साहरामा राजधानी आएकी उनी अलपत्र परेर आश्रम पुगिन्।
घरबाट निकाल्न छाेराले झुक्काएर आमालाई सहर ल्याए पनि फुलमायाकाे सपना भने गाउँमै अन्तिम श्वास फेर्ने थियो।
०००
काठमाडौंकी सूलोचना राजभण्डारका दुई छोरा नै सरकारी जागिरे हुन्। आफू नपढे पनि उनले दुबै जनालाई नेपाल विद्युत प्राधिकारणकाे सेवा निवृत्त (रिटायर) बनाइन्। तर चार वर्षदेखि उनी भने आश्रमकाे साहरामा बाँचिरहेकी छिन्।
आमा आश्रममा बसेकाे कुरा छाेराहरूलाई थाहा नभएकाे हाेइन तर दुइटै छाेरा आमा पाल्न चाहँदैनन्। आफू व्यस्त रहेकाे बहाना बनाइदिन्छन्।
०००
भोजपुरका सुन्दरकुमार विष्टले छोराछोरीलाई उच्च शिक्षा दिए। त्यही शिक्षा लिएर छोरा बेलायत र छोरी अमेरिका पुगिन्। तर ८७ वर्ष सुन्दर भने वृद्धाश्रमम पुगे।
नातानातिनीसँग रमाउनुपर्ने उमेरमा उनी आश्रममा छन्। तीन वर्षदेखि छाेराछाेरीसँग सम्पर्कविहिन भएका सुन्दर उनै सन्तान आउने आशमा बाँचिरहेका छन्।
०००
छोराबुहारीले वेवास्ता गरेपछि आश्रम बस्न थालिन्, काभ्रेकी पदमाकुमारी उप्रेती। छोरा रिटायर इण्डियन आर्मी थिए। त्यसैले बुहारी पनि उतै पलायन भइन्।
परिवारले सम्पन्न पदमाकुमारीले एक्लै घरमा २० वर्ष बिताइन् तर छाेराबुहारी गाउँ नफर्किएपछि उनी ८ वर्षदेखि लुकेर आश्रम बस्न थालिन्।
सिन्धुलीका चन्द्रबहादुर लामाका चार जना सन्तान छन्। दुई छोरी विवाह गरेर श्रीमानको घर गइन्। दुई छोराले श्रीमती ल्याएर घरजम गरे।
लालाबालालाई बढाउन उनी कहिले ज्यामी बने त कहिल्यै भरिया। तर बुढेसकालमा सबै छाेराछाेरी लाखापाखा लागे। बिरामी हुँदा आफूलाई पानी खुवाइदिने समेत काेही नभएपछि उनी आश्रम बस्न बाध्य भए।
वेवास्ता गर्ने बहाना बन्याे जागिर
व्यस्त जीवनशैलीको बहाना बनाउँदै बाआमालाई वेवास्ता गर्ने छोराछोरीहरूको मुख्य बहाना बनेको छ। जागिरे भनाउँदाेहरूले नै आमाबुबालाई अपहेलना गरेर वृद्धाश्रममसम्म पुर्याएका छन्।
तीनै बाआमाहरूकाे खाेजी बिएल नेपाली सेवाले गरेकाे थियाे। काठमाडाैंका गल्ली-गल्लीमा खुलेका आश्रमहरूमा बिएलले १५ जना बाआमाकाे कथा लेख्याे। जसमध्ये तीन जना आमाकाे पारिवारिक पुन: मिलन भयाे।
बिएलमा छापिएकाे ‘घुमाउने सपना देखाएर छोराले काठमाडौं ल्यायो, सडकमा छोडेर भाग्यो’ भन्ने फुलमाया आमाकाे कथा सामाजिक सञ्जालमा जताततै फैलियाे। जसकारण आमा लिन बुहारी दुर्गा आश्रम पुगिन्। बुहारी देखेर मख्ख परेकी फुलमाया आमा पनि खुसी हुँदै दुई वर्षपछि गाउँ फर्किइन्।
बिएल नेपालीमा गत फागुन सूलोचना राजभण्डारीकाे ‘८० वर्षीया आमा वृद्धाश्रमममा: दुई छोरा सरकारी जागिरे, वृद्धाभत्ता लिन तछाडमछाड’ गरेकाे कथा छापियाे। आमाकाे कथा जताततै फैलिएपछि चार वर्षसम्म आश्रमबाट घर नलगेका छाेराहरूले त्यही कथा देखेर रातारात आमालाई घर फर्काए।
बिएल नेपाली सेवामा छापिएकाे अर्काे कथा ‘छोराबुहारीलाई दु:ख हुन्छ भनेर आश्रम आएँ’काे कारण आफ्नो परिवारसँग भेट्न सफल भएकी छिन्, पदमाकुमारी। ८ वर्षसम्म परिवारसँग सम्पर्कविहिन भएकी आमालाई लिनका लागि छाेराछाेरी नै गत शनिबार मातातीर्थ वृद्धाश्रम पुगेका हुन्। छाेराछाेरी देखेर दंग परेकी उनी पनि खुसी हुँदै काभ्रे गइन्।
बा–आमाभन्दा कामलाई प्याराे सम्झने ती छोराछोरीहरू त्याे किन बुझ्दैन उनीहरूलाई जिन्दगीमा काबिल बनाउने पनि छाउरीपरेका तीनै आमाबुबा हुन्।
भोक, प्यास र निन्द्रा त्यागेर सन्ततिकाे उज्वल भविष्य कोर्ने सपना बुनेर काम गर्न कहिल्यै नथाक्ने बाआमा बुढेसकालमा छोराछोरीका लागि बोझ हुन्छन् र?