भावविह्वल पेरिसडाँडा (तस्बिरहरू)

दुई दिन पार्टीको झण्डा आधा झुकाइने

शनि शाक्य

काठमाडौं

नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडा भावविह्वल छ। माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको पार्थीव शरीर ११ बजेदेखि पार्टी कार्यालयमा राखिएसँगै पेरिसडाँडा भावविह्वल भइरहेको छ।

श्रद्धाञ्जलीका लागि सीताको पार्थीव शरीर दिउँसो १ बजेसम्म राखिने छ। ११ बजे शोक प्रस्ताव पढ्दै गर्दा पेरिसडाँडामा उपस्थित रहेकाले मन थाम्न सकेनन्। एक मिनेट मौन धारण गर्दा पनि पेरिसडाँडा सम्हालिन सकेन।

दुई छोरी (गंगा–रेणु)लाई छेउमा राखेर सम्हालिन प्रयास गरेका प्रचण्ड सम्हालिननै सकेनन्। दुई छोरी त बिहान ८ बजेर ३३ मिनेटमा सीताको नर्भिक अस्पतालमा मृत्यु भएदखि नै सम्हालिन सकेका छैनन्।

पेरिसडाँडामा अहिले श्रद्धाञ्जलीका लागि सीतको पार्थीव शरीर राखिएको छ। भावविह्वल पेरिस डाँडामा शुभेच्छुकहरु श्रद्धाञ्जलीका लागि पुगिरहेका छन्। १ बजेसम्म यसैगरी श्रद्धाञ्जली चल्ने छ र पेरिडाँडा भावविह्वल भइरहने छ।

२ बजे सीताको पार्थीव शरीरलाई पशुपतीको आर्यघाटमा अन्त्यष्टि गरिने छ।

पञ्चायतकालदेखि राजनीतिमा होमिएकी सीताले प्रचण्डलाई जनयुद्ध गर्न निकै सघाएको माओवादी नेताहरु बताउँछन्। 

हाल माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार रहेकी सीता २०११ असार २१ गते कास्कीमा जन्मिएकी थिइन्। संयोग भनौँ, सीताको मृत्यु पनि असारमै भएको छ। त्यो पनि जन्मदिन मनाएको हप्तादिनमा।

२०३६ सालमा विवाह बन्धनमा बाँधिएकी सीताले यसअघि छोरी ज्ञानु र छोरा प्रकाशलाई गुमाइ सकेकी थिइन्।

जेठी छोरी र एक मात्र छोरा गुमाएपछि पीडामा रहेकी सीता पछिल्लो ४ वर्षयता गम्भीर रोग (पार्किन्सन)ले बेडमा थला परेकी थिइन्।

सीताको मृत्युपछि माओवादी केन्द्रले दुई दिन (आज र भोलि) देशभरका पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने भएको छ।

प्रकाशित मिति: : 2023-07-12 12:23:00

प्रतिकृया दिनुहोस्