नेपालमा गर्नेभन्दा धेरै बोल्ने प्रतिस्पर्धामा छ। यो प्रतिस्पर्धा नेपालका कुन क्षेत्रमा छ भन्दा पनि कुन क्षेत्रमा छैन भन्ने अवस्था छ। त्यसमा पनि राजनीतिक क्षेत्र त सबैभन्दा अगाडि नै छ। यो प्रतिस्पर्धामा नेपालका एक से एक नेता सहभागी छन्। लाग्छ, नेपालमा को भन्दा को कम शैलीको धेरै बोल्ने प्रतिस्पर्धा जारी छ।
नेपालीमा एउटा चर्चित भनाइ छ– ‘नबोल्नेको चामल बिक्दैन, बोल्नेको कनिका पनि बिक्छ।’ यसको अर्थ नबोल्दा चामलजस्तो असल वस्तु बिकाउन सकिन्न तर बोल्यो भने कनिका जस्तो कमसल वस्तु पनि बिकाउन सकिन्छ। नेपालका राजनीतिक दलका धेरै नेता–कार्यकर्ता यहीँ भनाइलाई ‘मार्गदर्शक सिद्धान्त’ बनाएर अगाडि बढिरहेका छन्।
यस सिद्धान्तका पछिल्लो जवर्जस्त अनुयायी हुन् एमाले अध्यक्ष केपी शर्मा ओली। वाकपटू ओलीलाई नेपालमा के बोल्दा लोकप्रिय भइन्छ भन्ने जानकारी छ। आवश्यकताअनुसार हाँस्यरस मिसाएर बोल्ने उनी बोल्ने कुराको सिजनल लोकप्रिय मेनु बनाउन खप्पिस छन्। अरू मेनु तयार नहुँदा पनि उनीसँग भारत विरोधमा लुकेको नक्कली राष्ट्रवादको सदाबहार मेनु सधैँ तयार हुन्छ। उनी त्यसलाई यो वा त्यो कोणबाट थप डाइमेन्सन दिएर मजासँग बेचिरहेकै हुन्छन्।
तर, ओली आफैँको विगत हेर्ने हो भने उनी भारतीय ‘गुडबुक’मै देखिन्छन्। त्यस क्रममा उनले अनेक कुकर्म पनि गरेका छन्। महाकाली सन्धी उनले गरेको सबैभन्दा ठूलो कुकर्म हो। भारतीय गुप्तचर संस्था रअको योजनामा ओलीले संसदबाट महाकाली सन्धी पास मात्र गराएनन्, एमालेलाई फुटाए पनि।
ओली भारतका सन्दर्भमा दोहोरो कार्ड खेल्छन्। भारतले लगाएको नाकाबन्दीविरूद्ध चर्को अडान लिँदा प्रधानमन्त्री गुमाए पनि त्यसले उनको पुरानो भारतपरस्त अनुहार धोईदिएर फेरि एकपटक भारतविरोधी राष्ट्रवादी अनुहार चम्काउन सहयोग पु¥यायो। त्यही अनुहारले २०७४ को निर्वाचनबाट पुनः प्रधानमन्त्री भए।
तत्कालका लागि एमाले फुटेर एमाले, माले भए पनि त्यतिबेला एमाले छोडेकाबाटै तत्कालीन माओवादी सशस्त्र विद्रोहले ठूलो इन्धन पाएको थियो। यसमा पनि अप्रत्यक्ष रूपमा भारतीय कोण जगजाहेर नै थियो।
भारतमा ‘कांग्रेस आइ’को शासन हुँदा रअ शक्तिशाली थियो र ओली त्यही रअमार्फत् भारतको गुडबुकमा परेका थिए। ओली र रअको सम्बन्धका बारेमा यसअघि नै ‘प्रयोगशाला’मार्फत् राम्रैसँग खुलासा पनि भैसकेको छ। विगतमा एमालेले यिनै ओलीमार्फत भारतसँगको सम्बन्धको माइक्रो म्यानेज्मेन्ट गर्दै आएको थियो।
जब भारतमा कांग्रेस आइ पत्तासाफ भएर भारतीय जनता पार्टीको शासन सुरू भयो र नरेन्द्र मोदी प्रधानमन्त्री भए, स्वयं रअको पनि भारतमा त्यति धेरै चल्न छोड्यो। त्यसपछि ओलीको भारतीय गुडबुक स्टाटस पनि डग्मगायो।
ओली सधैंभरी भारतका सन्दर्भमा दोहोरो कार्ड खेल्न माहिर छन्। त्यसको एक ज्यूँदोजाग्दो उदाहरण हो, नेपालमा संविधान जारी भएको बेला भारतले लगाएको अघोषित नाकाबन्दीका विरूद्ध उनको चर्को अडान। यो अडानका कारण उनले प्रधानमन्त्री गुमाउनु परे पनि त्यसले उनको पुरानो भारतपरस्त अनुहार धोईदिएर फेरि एकपटक भारतविरोधी राष्ट्रवादी अनुहार चम्काउन सहयोग पुर्यायो। उनी त्यही चम्किलो अनुहारमा माओवादीसँग चुनावी गठबन्धन गर्दै २०७४ को चुनावमा ठूलो बहुमत जिताएर प्रधानमन्त्री भए।
ओलीलाई भारतको विरोध नगरी नेपालमा बहुमत ल्याउन सकिन्न भन्ने ‘गुरूमन्त्र’ मात्र थाहा छैन, बिना भारतीय समर्थन नेपालको सत्ता हात पार्न सम्भव छैन भन्ने पनि राम्ररी थाहा छ। कथङ्कदाचित् सत्ता हात परिहाले पनि त्यो टिकाउ हुँदैन भन्ने ज्ञान पनि ओलीलाई प्राप्त छ।
यो नेपालको सत्ता राजनीतिको धरातलीय यथार्थ हो। यो यथार्थ राम्ररी बुझेका ओलीले पछिल्लोचोटि प्रधानमन्त्री भएको बेला आफ्नो सत्ता टिकाउन भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमै मध्यरातमा रातो कार्पेट ओछ्याएर स्वागत गरेका थिए।
सुरूमा यो गुप्त भेटघाट नै नभएको भनेर ठूलो स्वर गरेका ओलीको साखुल्ले प्रपञ्च जब मिडियाले छताछुल्ल पार्यो तब उनी यो भेटघाट भएको स्विकार्न बाध्य भए। समय समयमा फरक फरक टोनमा स्विकार्ने ओलीले केही दिनअघि मात्र एक प्रसंगमा आफूले खुलेआम रका प्रमुखलाई भेटेको मात्र बताएनन्, प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको बेला रअ प्रमुखलाई उनको घरमै गएर भेटेको सम्म भन्न भ्याए।
नेपालको सत्ता राजनीति अस्थिर बनाउन सधैंभरी भारतीय फ्याक्टरले काम गर्दैआएको छ। भारत नेपालमा आफ्नो हित र एजेण्डाको पक्षपोषण गर्ने सरकार चाहन्छ। त्यसका लागि उसले विभिन्न तहमा त्यही किसिमको माइक्रो म्यानेज्मेन्ट गरिरहेको हुन्छ।
यता, नेपालका सत्ताधारीमा पनि भारतको समर्थन बिना सरकारमा टिक्न सकिदैन भन्ने मनोविज्ञान रहँदैआएको छ। यो मनोविज्ञानले ग्रस्त सरकार प्रमुख वा सत्ताधारी दलको शीर्ष नेतृत्व पनि भारतीय सत्तालाई खुशी पार्न अतिरिक्त कसरत गरिरहेकै हुन्छ।
तर, नेपाल–भारत सम्बन्ध यी दुई देशबीचका अवयवले मात्र तय गर्दैन, अरू पनि धेरै अवयव यसका लागि जिम्मेवार छन्। जसले गर्दा नेपाल–भारत सम्बन्ध विशेष हुँदाहुँदै पनि सधैव जटील र सम्वेदनशील हुने गरेको छ। यही जटिलता र सम्बेदनशीलताको पृष्ठभूमीमा भारत विरोधमा नेपालको राष्ट्रियता देख्ने दलहरूले राजनीति गरिरहेका हुन्छन्।
अझ त्यसमा पनि नेपालको वामपन्थी राजनीति त भारतको अन्धविरोधमै टिकेको छ। उनीहरू आआफ्नो सत्ता स्वार्थअनुसार विभिन्न विषय छरेर जनतालाई भारतको अतिरिक्त विरोधमा भड्काइरहेका हुन्छन्।
यो परिस्थिति सिर्जना हुनमा भारतीय पक्ष पनि उतिकै जिम्मेवार छ। सुरूदेखि नै भारतको व्यवहार नेपालप्रति समानता र भाइचारामा आधारित छैन। उसले आफूलाई सधैंभरी नेपालको मात्र हैन, यो क्षेत्रकै ठूलो दाजुको रूपमा व्यवहार गर्दै आएको छ। कहिलै उपनिवेश हुनु नपरेको भनेर आफूलाई बहादुर ठान्ने नेपाली पनि उसको यो व्यवहार सजिलै पचाउँदैनन्। यस क्रममा उनीहरू केही अतिरिक्त बडप्पन देखाउन पनि पछि पर्दैनन्।
तर, सत्य के हो भने विश्व राजनीतिको पाराडाइम सिफ्ट भइसकेको छ। त्यसले नेपाल–भारतको सम्बन्धका आन्तरिक तथा वाह्य डाइनामिक्स पनि परिवर्तन गरिदिएको छ। यद्यपि, नेपालका बहुसंख्यक जनताले त्यसलाई आत्मसात गर्न सकेका छैनन्। यसले सिर्जना गरेको एक किसिमको भ्रममै नेपालको सत्ता राजनीतिको खेल जारी छ।
प्रस्तुत पृष्ठभूमीमा अहिले फेरि एकपटक नेपालको सत्ता राजनीतिमा जबर्जस्ती किसिमले भारतलाई तानिएको छ। त्यो तान्ने काम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका हुन्। उनले एक सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन एक भारतीय मूलका नेपालीले प्रयास गरेको बताएर आफू भारतीय गुडबुकमा परेरै प्रधामन्त्री भएको अर्थ लाग्ने सार्वजनिक अभिव्यक्ति दिए।
यो अभिव्यक्तिमार्फत उनी भारतीय समर्थनमै प्रधानमन्त्री भएको र अझै पनि त्यो समर्थन जारी रहेकाले आफू दह्रो प्रधानमन्त्री रहेको भन्ने सन्देश दिन चाहन्थे। केही समययता उनको सरकार ढल्नसक्ने मिडिया ट्रायल भैरहेकाले सन्दर्भमा उनको त्यो अभिव्यक्ति आएको थियो। तर, जे भए पनि त्यो अभिव्यक्ति कुनै पनि अर्थमा आवश्यक थिएन र नेपालको प्रधानमन्त्रीले पटक्कै दिन नहुने अभिव्यक्ति थियो।
उनको यो अभिव्यक्तिको ट्रायल बलुन उनकै विपक्षमा फुट्यो। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर शाख गिरेका ओली र उनको कम्पनी कोशी प्रदेश सरकार पनि गुमाएर निरन्तर दबाबमा थियो। यही बेला ललिता निबास प्रकरणले उनको समस्या अरू बढाउँदै थियो।
यसरी चौतर्फी दबाबमा परेकै बेला प्रधानमन्त्री प्रचण्डले बैमौसमी बाजा बजाएर ओलीलाई भारत विरोधी राष्ट्रवादी मुद्दा दिए। मुद्दाविहीन भैरहेका ओली र उनको कम्पनीका लागि यो मृतसञ्जीवनी बन्यो। यही मुद्दाको वैशाखी टेकेर ओली फेरि एकपटक बोलेर कनिका बिकाउने फौबञ्जारीमा उत्रिएका छन्।
यही सिलसिलामा ओलीले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै राजीनामा नदिए संसद नै चल्न नदिने भनेर अड्डी कसे। ओलीको कृपाबाट संसदको सभामुख भएका देवराज घिमिरेले पनि ओली–अड्डीलाई राम्ररी सघाइ दिए। यही ओली–घिमिरे जालमा परेको संसद तीन दिनसम्म नचल्दा मिटरब्याजसम्बन्धी विधेयक पारित हुन सकेन। अध्यादेश निस्क्रिय हुँदा मिटरब्याजी छुटे। संसद नचल्दा अरू पनि महत्वपूर्ण संसदीय काम अगाडि बढ्न सकेनन्। एक किसिमले भन्दा संसद ओलीको ढोक्सामा पर्यो। तर, यसो गर्दा पनि संसद बन्धक बनाउने उनको भूमिकालाई लिएर प्रश्न उठ्यो। यही बीचमा प्रचण्डले संसदमा माफी मागिदिएर ओलीको फेस सेभिङ गरिदिए।
प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेका ओलीसँग सरकार बनाउने अंकगणित छैन। गठबन्धनबाट निश्चित समयका लागि प्रधानमन्त्री बनेका प्रचण्डको पक्षमा गठबन्धन एकढिक्का हुँदा उनले राजीनामा दिनुपर्ने अवस्था नै थिएन। यद्यपि, प्रचण्डले बोल्नै नपर्ने अनावश्यक कुरा बोलेर आफैं समस्या निम्त्याएको कुरामा गठबन्धनका अन्य दल मात्र हैन, स्वयं प्रचण्डको दल माओवादी पनि सहमत थियो। तर, उनीहरू यति बोलेकै आधारमा राजिनामा गर्नु नपर्ने, आत्मालोचना गरेर भविष्यमा यस्तो अनावश्यक कुरा नबोल्ने प्रतिवद्धता मात्र गरे पुग्ने निस्कर्षमा थिए।
अहिले प्रचण्ड अनावश्यक कुरा बोल्ने प्रतिस्पर्धामा उत्रदा जुन परिस्थिति सिर्जना भएको छ, यो ओलीले सुरू गरेको बोल्ने प्रतिस्पर्धाको साइड इफेक्ट हो। उनले ‘आखिर जिब्रोलाई ठेस लाग्ने हैन जे बोले पनि हुन्छ’ भन्ने किसिमको बोलीलाई लगाम नलगाउने किसिमको प्रियतावादी भाष्य निर्माण गरिदिए।
ओलीको यो क्रियालाई प्रतिक्रिया दिन अरू नेता पनि मैदानमा उत्रिए। त्यही मेसोमा उत्रिएका प्रचण्ड ओली जत्तिको कूटील भाषणभट्ट हैनन्। हिसाबकिताव नगरी छिट्टै भावनामा बगेर जे पायो त्यही बोल्दा त्यसले सिर्जना गर्ने विवादको भुँवरीमा उनी पटकपटक पर्दैआएका छन्। पछिल्लो परिघटना पनि त्यसैको एक श्रृङ्खला हो।
साँच्चै भन्ने हो भने, ओली मेक्लोमेनको शिकार भएका छन्। चिकित्सकीय भाषामा मेक्लोमेनको बारेमा यस्तो लेखिएको पाइन्छ– ‘कुनै पनि अंग प्रत्यारोपण गर्दा शरीरको प्रतिरोधात्मक शक्तिले त्यसलाई बाहिरी वस्तु ठान्दै त्यसविरुद्ध संघर्ष गर्न खोज्छ। यस क्रममा शरीरको प्रतिरोधात्मक शक्ति कम गरी प्रत्यारोपित नयाँ अंग शरीरमा अभ्यस्त गराउने औषधि प्रयोग गरिन्छ।
मृगौला प्रत्यारोपण गरिएपछि ओलीले इमिनोसस्प्रेस्यान्ट नामक त्यस्तो औषधि सेवन गर्दैआएका छन्। यो औषधि एक किसिमको ड्रग्स नै हो जसले आफ्नो सामर्थ्यभन्दा बढी गर्न सक्छु भन्ने भ्रम पैदा गरिदिन्छ। चिकित्सकीय भाषामा त्यसलाई मेक्लोमेन (ःभअयिmभल) भनिन्छ।
ओलीको पछिल्लो व्यवहार हेर्दा उनी मेक्लोमेनकै शिकार भएजस्तो देखिन्छ। उनी एकजना सामान्य मानिसले गर्ने स्वभाविक कामभन्दा पनि अस्वभाविक मानिसले गर्ने खालका गतिविधि गरिरहेका हुन्छन्। उनका गितिविधिको प्रतिरक्षा गरेर अरू नेतालाई पनि आफ्नो राजनीति बचाउनु परेको छ। त्यसैले अहिले ओलीसँगै सिङ्गो मुलुक नै मेक्लोमेनको शिकार भैरहेको छ।
किनकि, गतिको सामान्य नियमअनुसार पनि ओलीको हरेक क्रियामा अरूले पनि त्यही तहको प्रतिक्रिया गर्नुपर्ने हुन्छ, त्यसो हुँदा मुलुक दोहोरो मेक्लोमेनको शिकार हुन पुगेको हो। समाचारको भाषामा भन्दा फ्लो र कन्ट्राफ्लोको स्थितिले यस्तो अवस्था सिर्जना भएको हो।
केही समयअघि एकजना अमेरिकी प्राध्यापकसँग मेक्लोमेनको बारेमा कुरा गर्दा उनले भने, ‘मेक्लोमेन व्यक्तिगत रूपमा मानिसको मेन्टल स्टाटससँग सम्बन्धित छ, त्यसैले यो रोग सर्दैन।’
ती प्राध्यापकको कुरा सुनेर यो स्तम्भकार पूरै सहमत हुन सकेन। र, उसले आफ्नो देशको पछिल्लो तस्बिर प्रस्तुत गर्दै भन्यो, ‘नेपालमा पहिला केपी ओली भन्ने नेतालाई यो रोग लागेको थियो। नेपालीको छिटै विस्मृतिमा जाने समस्या र उनको वाकपटुताले यस्तो स्थिति पैदा गरिदियो कि जनताले पनि त्यो पत्याउन थाले। त्यसपछि अरू नेता पनि त्यस्तै कुरा गर्न थाले। परिणामतः सिङ्गो देश नै मेक्लोमेनको शिकार हुन पुग्यो।!
नेपाललाई मेक्लोमेनको शिकार बनाउन केपी ओलीको अहम् योगदान छ। त्यसैले पनि उनी वर्तमान नेपालका जड समस्या हुन् भन्न सकिन्छ। उनले आफ्नो उपस्थिति ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छाबाबुको अनुहार’ भनेजस्तै बनाएका छन्। उनलाई बहुमत दियो भने संसद भंग गर्छन्, बहुमत दिएन भने संसद नै चल्न दिदैनन्। टाइमलाइनमा २०७४ र २०७९ को चुनावी परिणामलाई ऐना बनाएर हेर्यो भने दुरूस्तै यस्तै अनुहार देखिन्छ।
संजोग नै भन्नुपर्छ, संसद भंग गर्ने र संसद बन्धक बनाउने दुबै परिघटनामा ओलीसँगै प्रचण्ड पनि जोडिएका छन्। र, प्रचण्डको पछिल्लो असामान्य बर्बराहट हेर्दा उनी पनि मेक्लोमनको शिकार हुँदै गएजस्तो देखिन्छ। अन्यथा, प्रधानमन्त्रीजस्तो ओहोदामा रहेको कुनै पनि व्यक्तिले जिब्रोलाई ठेस लाग्दैन भन्दैमा जे पायो त्यही बोल्दैन, बोल्नु पनि हुँदैन।