पाकिस्तानमा मनसुनी वर्षाका कारण ६ जनाको मृत्यु, ९ जना घाइते

पाकिस्तानमा मनसुनी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै अन्य ९ जना घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले जनाएको छ।

बाढीसम्बन्धी छुट्टाछुट्टै घटनामा ज्यान गुमाएका मध्ये तीन महिला र एक बालक रहेको एनडीएमएले बताएको छ। गत जुन २५ देखि सुरु भएको  मनसुनी वर्षा र बाढीबाट पाकिस्तानमा हालसम्म ८६ जनाले ज्यान गुमाएका छन् भने एक सय ५१ जना घाइते भएकाे एनडीएमएले बताएकाे छ।

बाढीबाट पूर्वी पञ्जाब प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र छ। त्यहाँ ५२ जनाको मृत्यु भएको छ, भने उत्तरपश्चिमी खैबर पख्तुनख्वामा २० जनाले ज्यान गुमाएका छन्। विभिन्न भागमा ९७ घर ध्वस्त भएका र ४६ वटा चौपाया पनि मरेका छन्। 

बाढी प्रभावित क्षेत्रमा एनडीएमएलगायत अन्य सरकारी संघसंस्था, स्वयंसेवी र गैरसरकारी संस्थाहरूद्वारा उद्धार तथा राहतका काम जारी छन्।

प्रकाशित मिति: : 2023-07-12 05:56:00

प्रतिकृया दिनुहोस्