भोजपुरी भाषामा एउटा उखान छ, ‘जिन्दगी झण्ड बा, फिर भी घमण्ड बा’ अर्थात् एकथरि मान्छेहरू यस्ता हुन्छन् कि उनीहरूको जिन्दगी बर्बाद हुँदा पनि घमण्ड भने एकरत्ति कम हुँदैन। अमेरिकामा रहेका नेपालीहरुमध्ये केहीले यो उखानलाई चरितार्थ गरिरहेका छन्।
घाम अस्ताउन लागेको समयमा छाया ठूलो देखिएको जस्तो हैसियतभन्दा ठूलो कुरा गर्न लागेपछि मान्छेलाई पनि यो त सकिएछ भन्ने ठान्नुपर्छ भने जस्तै नेपालमा रहेका आफन्तलाई यति ठूलो र बकम्फुसे गफ दिएका हुन्छन् कि पंक्तिकार जस्तै यता आएर वास्तविकता स्वीकार गर्नेहरूले यहाँको बारेमा सत्य कुरा भन्दा उल्टै झुट्टा कुरा गरेको हुने भएछ।
नेपालमा रहेका आफन्तले पनि आँखा चिम्लेर जसले जे भन्यो त्यो कुरामा विश्वास गर्नाले त्यस्तो ठुलो बेफाइदा त नगर्ला तर कुनैकुनै स्थानमा लज्जित हुन सकिन्छ। यहाँ यस्तै केही भ्रम र त्यसको वास्तविकता चिर्ने प्रयास गरेको छु।
डीभी चिठ्ठा परेर यता आएको मान्छेलाई अमेरिका पुग्नासाथ सरकारले नै घर तथा जागिर दिने कुरामा कुनै सत्यता छैन। डीभी पर्नु भनेको वैधानिक रुपमा अमेरिकामा बसेर आफ्नो क्षमताअनुसार काम गर्न पाउने आधिकार मात्र हो। अमेरिकी सरकारले जागिर र घर दिने कुरा कसैले गरेको छ भने त्यो पूर्ण रुपमा असत्य हो र त्यस्ता बकम्फुसे कुराको कुनै तुक छैन।
त्यस्तै आफूलाई एनआरएन वा कुनै अमुक संस्थाको पदाधिकारी भएको र आफूले प्रयास गरेर केही व्यक्तिलाई अमेरिका ल्याउन सक्ने गफ ठोकेर नेपालमा भएका आफन्त र परिचितहरूलाई ठग्ने गरेको पनि पाइएको छ। त्यस्ता कुरामा धेरै व्यक्तिहरु ठगिएका पनि छन्। ठगिएपछि मलाई विश्वास लागेको त थिएन तर पनि एक पटक हेरौँ भनेर प्रयास गरेको भनेर चित्त बुझाउनु अर्कै कुरा हो। तर विश्वास नै नलागेको कुराको पछाडि दौडेर पैसा र समयको बर्बादी मूर्खले मात्र गर्छ।
यहाँ यो भनिदिउँ, अमेरिकामा यस्ता संघसंस्थाहरूको दुई पैसाको हैसियत छैन, केवल म अध्यक्ष र तँ महासचिव भनेर टाई लगाएर गाडीको पृष्ठभूमिमा खिचेको फोटो फेसबुकलगायतका सामाजिक सञ्जालमा अपलोड गर्नेबाहेक। सामान्यतया यस्ता संघसंस्थाहरुमा दुई किसिमका मान्छेहरू लाग्ने गरेका छन्, पहिलो- व्यापार गरेर प्रशस्त पैसा कमाएका तर खासै परिचित नभएकाहरू, उनीहरू केही पैसा खर्च गरेर भए पनि आफू समाचारमा आउन चाहन्छन्। दोश्रो- केही नभएका नाङ्गाहरू, यहाँको वातावरणमा घुलमिल हुनु र यस्ता मान्छेको वास्तविकता थाहा पाउनुभन्दा अगाडि नवआगन्तुकलाई ठुल्ठूला गफ दिएर ठग्ने, अपवादबाहेक योभन्दा तेस्रो किसिमका मान्छेहरू यसरी संघसंस्था भनेर दौडेको मैले देखेको छैन।
त्यस्तै कसैकसैले आफ्नो कमाइलाई लिएर बढाइ-चढाइ कुरा गरेको र नेपालमा रहेका उसका परिवारले त्यो कुरामा विश्वास गरेर खुसी हुने गरेको पाइएको छ। यतैको विश्वविद्यालयमा अध्ययन गरेका र विशेष प्रतिभा भएकाहरुलाई छोड्ने हो भने सामान्य रुपमा हप्ताको अधिकतम आय भनेको पाँच सय डलर हो। अब अमेरिकी डलरलाई नेपाली रुपैयाँमा रुपान्तरण गरेर यति र उति कमाइ छ भनेर भन्नु अर्को मूर्खता हो। किनकि, कमाइ डलरमा छ भन्ने हो भने खर्च पनि त डलरमै छ, न कि नेपाली रुपैयाँमा। अब कसैले आफूले काम गर्ने गरेको स्थानमा लामो हात गरेर अतिरिक्त आर्जन गरेको छ भने त्यसलाई कमाइ भन्ने होइन कि अपराध भन्नुपर्ला जस्तो लाग्छ।
त्यसै गरेर यहाँ सबैभन्दा सस्तो किसिमले भन्ने तीन किसिमका पद छन्। पहिलो- म्यानेजर, दोश्रो- नर्स र तेस्राे- आइटी इन्जिनियर। जो वास्तविक रुपमै माथि उल्लेखित पद र पेशामा छन्। उनीहरूलाई केही भन्ने कुरा भएन। तर पंक्तिकारले नेपालमा मानविकी अध्ययन गर्दा पनि तीन पटकमा मात्र उत्तीर्ण गरेको एउटा परिचितले यता आएर म नर्स छु भनेको सुन्दा तीन होइन कि एक हजार छक्क परेको छु।
अमेरिकामा नर्स पढ्न कतिको सजिलो छ, त्यो पंक्तिकारलाई जानकारी छैन। तर नेपालमा जस्तै कठिन छ भने त्यो कुरा सतप्रतिशत असत्य हो। त्यस्तै, यतै अध्ययन गरेको हकमा म्यानेजर पद के कस्तो हुन्छ, त्यसको बारेमा पनि जानकारी छैन तर नेपालमा मात्र अध्ययन गरेर आएकाहरूको हकमा म्यानेजर भनेको हेड पिउन हो।
त्यस्तै कम्प्युटरमा काम गर्नेहरूले लगभग सबैले आफूलाई आइटी इन्जिनियर दाबी गरेका हुन्छन्। डाटा इन्ट्री गर्नेदेखि ग्राफिक डिजाइनिङ्ग गर्नेसम्म र टाइपिङ्ग गर्नेदेखि वेब मास्टरसम्मले सबैले माइक्रोसफ्टमा जागिर भएको कुरा गर्छन्। अब यसबारेमा जानकारी नभएकाहरूले सहजै विश्वास गर्ने भए। जसलाई यसबारेमा सामान्य जानकारी छ, त्यसले सोधखोज गर्यो भने आलटाल गरेर उम्किने गर्छन्। अमेरिकामा कामको बारेमा सोध्न नमिल्ने बेतुककाे तर्क दिन्छन्, अर्काको कामको बारेमा केही सोध्न नमिल्ने हो भने हुँदै नभएको कुरा गर्न पनि नमिल्नुपर्ने होइन र?
यसै गरेर अमेरिकामा कुनै काम सानो वा ठुलो हुँदैन भन्नेहरू आफै हीन भावनाको शिकार भएर त्यस्तो तर्क गरेका हुन् भन्ने पंक्तिकार ठोकुवा गर्छ। कुनै पनि समाजमा कामको तह र तप्का हुन्छ। नहुने हो भने हरेक कार्यालयमा विभिन्न पद नहुनुपर्ने हो।
अमेरिकी राष्ट्रपतिले पनि आफ्नो कार्यालयमा आफै कुचो लगाउँछ भनेर गफ दिनेहरू पनि मैले पाएको छु। अमेरिकी राष्ट्रपतिले आफ्नो कार्यालयमा कुचो लगाएको उनीहरूले आफै देखेको हो कि कुनै सञ्चार माध्यममा आएको हो, त्यो मैले पनि थाहा पाउन पाए सम्बन्धित व्यक्तिसँग अनुग्रहित हुने थिए। त्यस्तै आफू डेरा गरेर बसेको घरलाई आफ्नै घर हो भन्ने र वास्तविकता खुल्ला भनेर भागाभाग गर्ने एक/दुई जनासँग पंक्तिकारको पनि भेट भएको छ।
यस्तै यहाँ कालो-सेतो वा धनी-गरीबको कुनै मतलब हुँदैन भन्ने कुरासँग पनि म सहमत छैन। कानुनको दृष्टिमा यो कुरा सत्य होला तर व्यवहारिक रुपमा यस्तो छँदैछैन। मैले आजसम्म कुनै पनि सार्वजनिक स्थलमा कालो र सेतो रङ्ग भएको मान्छेहरुको जोडी देखेको छैन। एसिया र दक्षिण अमेरिकी मुलुकबाट आएका मान्छेहरुले यता आफू वैधानिक हुनको लागि आफूभन्दा उमेरदार र अनमेल जोडीको रुपमा स्वीकार गरेका होलान्, त्यो भिन्दै कुरा भयो। यस्तो अवस्थालाई सामान्य रुपमा लिन मिल्दैन। अपवादको रुपमा कसको कसैसँग आत्मीय र प्रेम सम्बन्ध हुनसक्ला तर सामान्य रुपमा सामाजिक र आर्थिक हैसियत नमिलेको जोडी हुने सक्दैन। कुनै कारणवश भयो भने पनि लामो समय टिक्दैन।
जसले यस्ता हावादारी कुरा गरेका छैनन् र त्यस्तो कुरा सुनेर पनि विश्वास गरेका छैनन्, उनीहरू उत्तेजित हुनुपर्ने कारण नै भएन। तर जसले यस्ता कुरा गरेका छन् र त्यस्तो कुरामा विश्वास पनि गरेका छन्, उनीहरुले एक पटक ‘कमन सेन्स’ को प्रयोग गर्दा उचित हुन्छ। पंक्तिकारसँग कतिपय प्रसंगमा यस्तो हो वा यस्तो होइन भनेर भन्दा नेपालमा रहेकाहरुले खै हामी अमेरिका गएका छैनौँ। अब उताका मान्छेले भन्छन्, विश्वास गर्नैपर्यो भनेर उल्टै सत्य कुरा गर्नेलाई अविश्वास गर्ने गरेको अनुभव छ। अब आफूले नदेखेको ठाउँको सबै कुरा आँखा चिम्लेर विश्वास गर्ने नै कसैको इच्छा छ भने त्यो उसको व्यक्तिगत स्वतन्त्रता हो, जसलाई सबैले सम्मान गर्नुपर्छ।
संक्षेपमा भन्ने हो भने हुँदै नभएको काल्पनिक कुरा गरेर आफ्नो सामाजिक तथा आर्थिक हैसियत उच्च देखाउन खोज्नु मानसिक रोग हो। यस्तो रोगको उपचार छ कि छैन पंक्तिकारलाई जानकारी छैन। तर सत्य तथा वास्तविकतामा उभिएर मात्र कुरा गर्यो भने आफैलाई सुविस्ता हुन्छ।