नेपालमा केही दिनयता एकपछि अर्को गरेर कलाकारको संदिग्ध मृत्यु हुँदैछ ।
असार १९ गते मंगलबार गायक तथा कलाकार रोविन तामाङ संदिग्ध अवस्थामा मृत भेटिए । त्यसको तीन दिन नबित्दै असार २१ गते विहीबार राति चलचित्र कलाकार सारुक ताम्राकारको पनि त्यस्तै अवस्थामा शव भेटियो ।
रोविन एन रिभोलुसन्स ब्याण्डका गायक रोविनको ढोका थुनिएको अवस्थामा बूढानीलकण्ठस्थित आफ्नै घरमा शव भेटिएको थियो भने अभिनेता ताम्राकारको शव त रातोपुलस्थित घरको छिडीमा झुण्डिएकै अवस्थामा भेटिएको थियो।
यी अक्षर लेखिरहेको बेला दुबै कलाकारको पार्थिव शरीर नेपालमा भए पनि अब उनीहरूको जीवन बाँकि रहेन । बाँकि रहने भनेका उनीहरूले गरेका कर्म मात्र हुन् ।
.....
रोविन तामाङ, सिंगापुरे लाहुरेका छोरा हुन् । सिंगापुरमै जन्मेका उनको शिक्षा-दीक्षा, लालनपालन उतै भएको थियो । अंग्रेजी भाषामै शिक्षा दीक्षा लिएका उनलाई नेपाली बोल्न पनि गाह्रो थियो । पछि नेपाल आएर रोविन एन रिभोलुसन्स ब्याण्ड स्थापना गरेर नेपालमा अंग्रेजी टोनका गीत गाउन थाले । पछिल्लो समय नेपाली चलचित्रमा खलपात्रका रूपमा स्थापति रोविन विन्दास किसिमले बाँच्ने एक फरक व्यक्तित्व थिए ।
दुई छोरी फ्रान्समा रहेका रोविन आर्थिक रूपमा कमजोर थिएनन् ।
नाम थियो, काम थियो, दाम थियो अनि परिवार पनि थियो । तर, यतिका सबै भएर पनि उनले असामयिक निधनको बाटो रोजे । यद्यपि, उनले रोजेको हो वा भयो- त्यो भने एकिनका साथ अझै भन्न सकिन्न । पोष्टमार्टम भए पनि रिपोर्ट आएको छैन । शवको प्रकृति हेर्दा हृदयाघात भएको हो कि भनेर प्रहरीको अड्कलबाजी बाहिर आएको छ ।
तर, गजबको कुरा उनको मृत्युको घोषणा उनकै फेसबुक पेजबाट भएको थियो, त्यो पनि उनकू श्रीमतीबाट ।
.....
सारूक ताम्राकार पछिल्लो पुस्ताका एक उदीयमान कलाकार थिए । युवा पुस्तामा उनको आफ्नो परिचय बनिसकेको भए पनि पुरानो पुस्ताले उनलाई अझै पनि भेट्न कालकार सानु ताम्राकारकै छोराका रूपमा उनलाई बढी चिन्छ । सानु नेपालका एक स्थापित चरित्र अभिनेता हुन् र उनले नेपालका चलचित्रसँग सम्बन्धित संघ-संस्थाका नेतृत्वदायी पदमा बसेर अहम् योगदान गरेका छन् ।
अत्यन्तै मृदुभाषी सानुका एक मात्र छोरा थिए सारूक । सारूकलाई एक किसिमले भन्दा स्टार किड्स भन्दा पनि हुन्छ ।
सारूक अविवाहित थिए तर बाँकि उनीसँगै सबै थियो । लामो समय जापान बसेर आएका उनका पिता सानु आर्थिक रूपमा सम्पन्न थिए । त्यसैले उनका एक मात्र छोरालाई आर्थिक रूपमा अभाव हुने कुरै थिएन । रूप थियो, यौवन थियो र एक किसिमको उदाउँदै गरेको करिअर पनि थियो ।
तर, यी सबै हुँदाहुँदै पनि सारूकले मृत्युको बाटो रोजेर सानु र उनको परिवारलाई ठूलो बज्रपात गरिदिए ।
....
रोविनसँग मेरो राम्रै परिचय थियो । मैले त उनलाई चिन्थे नै, उनले पनि मलाई राम्ररी चिन्थे । मैले लेखेको एक मात्र नेपाली चलचित्र 'वान वे'को खलनायक थिए । मैले लेखेको चलचित्रको प्लग सङ पनि उनले नै गाएका थिए ।
त्यही चलचित्र लेखन र निर्माणको क्रममा उनीसँग दुई पटक जति भेट भएको थियो । आवरणमा डरलाग्दा रोविन व्यवहारमा भने अत्यन्तै भलादमी थिए । चलचित्र वान वेको फाइनल लेखन मैले न्युयोर्कमा हुँदा गरेको थिएँ । त्यही क्रममा भएको कुराकानीमा उनले भनेका थिए, ' म सिंगापुरमा जन्मेर नेपाल फर्कें, तपाईं नेपाल जन्मेर अमेरिका जाँदै हुनुहुन्छ । सन्तान थरिथरिका ।'
.....
म व्यक्तिगत रूपमा सारूकलाई चिन्दिन । तर, उनका बाबु सानुलाई भने राम्ररी चिन्छु । नेपाली चलचित्रका विभिन्न संघसंस्थामा उनी कार्यरत रहदा हाम्रो भेट बाक्लै हुन्थ्यो । त्यही क्रममा मलाई उनले सारूकलाई चिनाएका थिए ।
अझै पनि उनले भनेको कुरा मलाई सम्झना भैरहेको छ, ' डाक्टर सा'प, यो मेरो छोरो चलचित्रमै केही गर्छु भन्छ । यसलाई हजुरको आशीर्वाद चाहिन्छ है। '
मैले भनेको थिएँ, 'सानुजी, तपाई त्यो समयमा जन्मेर त यति धेरै गर्नुभयो । उनीमा तपाईंको रगत छ, अभिभावक छ, उनले नगर्ने कुरै हुँदैन । व्यक्तिगत रूपमा मेरो सदैव शुभेच्छा रहन्छ नै ।'
.....
आफ्नो एक मात्र छोरा गुमाएका सानुजीको अवस्था कस्तो होला ? अहिले म कल्पना पनि गर्न सक्दिन । तर, यति भन्छु सारूकले सही गरेनन् । उनले त्यसो गरेर आफ्नो बाबुलाई पीडा त दिए नै, जीवनभर एउटा प्रश्नचिन्ह मुनि छोडेर गए ।
अब मानिसहरूले कहिले मनमनै त कहिलै मुख खोलेरै सोधिरहने छन्, ' सारूकले किन त्यस्तो निर्णय गर्यो ?'
यो प्रश्नको उत्तर सानुजीसँग भएको भए सायद उनले आफूलाई सकेर पनि छोरालाई बचाउने थिए । सानुजीलाई नजिकबाट चिनेको म यतिचाँहि ढुक्कसँग भन्न सक्छु ।
....
नेपाली कलाकारिता फर्टिनिटीले तीन दिनको अन्तरालमा दुई होनहार कलाकार गुमाएको बेला म संसारकै सबैभन्दा एक्लो सहर भनिने अष्ट्रलियाको पर्थमा छु । पश्चिम अष्ट्रेलियाको सबैन्दा ठूलो यो सहरबाट अष्ट्रेलियाको अर्को सहर एडिलेड पुग्न पनि तीनघण्टा हवाइजहाजमा उड्नुपर्छ । इण्डोनेसियाको बाली जतिकै टाढा छ एडिलेड ।
सपरिवार घुम्न निस्केको यतिबेला पनि मलाई भने एउटा प्रश्नले घनझै ठोकिरहेको छ, 'आखिर किन यी दुई कलाकारले मृत्युको अप्रिय बाटो रोजे ? कतै नेपाली कलाकार चर्को डिप्रेसनको शिकार त भैरहेका छैनन् ? '
प्रश्न कलाकारको मात्र हैन, सबै तह र तप्काका नेपालीमा पछिल्लो समय मानसिक तनाव, निराशा, कुण्ठा र हतासाको मात्रा ह्वात्तै बढेको छ । त्यसैको प्रतिविम्ब हुन सक्छ, रोविन र सारूकको यो अप्रिय निधन ।
भन्न सजिलो हुन्छ तर जे भए पनि रोविन र सारूक यसरी मर्नु हुदैन थियो । उनीहरूको दिवंगत आत्मालाई शान्ति मिलोस् त भन्ने पर्ने हुन्छ तर पनि उनीहरूले ठीक गरे कदापि भन्न सकिन्न । किनकि, अनेक संघर्ष गरेर पनि जिउनुको नाम जिन्दगी हो, आफैलाई सकाएपछि कसरी रहन्छ र जिन्दगी ? '
भनाइ नै छ, बाँचे पो देखिने हो त, मरे पछि त सक्किगो नि !