पाकिस्तानको लाहोरमा भारी वर्षाका कारण १७ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पाकिस्तानको पूर्वी प्रान्त लाहोरमा २४ घण्टाको अवधिमा मुसलधारे वर्षाका कारण कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना भन्दा बढी घाइते भएको उद्धार विभागले बिहीबार जनाएको छ।

उद्धार विभाग (रेस्क्यु–११२२) का अनुसार पूर्वी पञ्जाब प्रान्तको प्रान्तीय राजधानीमा विगत ३० वर्षयताकै सबैभन्दा बढी २९१ मिलिमिटर वर्षा हुँदा करेन्ट लागेर, डुबेर र भग्नावशेषमा पुरिएर ती व्यक्तिको मृत्यु भएको हो।

उद्धार विभागका अनुसार बुधबार साँझ शहरको मिश्री शाह क्षेत्रमा भारी वर्षाका कारण घरको छाना भत्किँदा एक दम्पती र उनीहरूका दुई छोरासहित चारजनाको परिवारको मृत्यु भएको हो।

लाहोरको थोकर सन्नी पार्क क्षेत्रमा वर्षाको पानीमा डुबेर एक ११ वर्षीय बालकको मृत्यु भएको छ भने एक महिलासहित चारजनाको करेन्ट लागेर मृत्यु भएको छ।

बुधबार र बिहीबारको वर्षाका कारण सहरी क्षेत्रमा बाढी आएको छ भने धेरै क्षेत्रमा पूर्वाधारमा क्षति पुगेको छ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक इमरान कुरेशीले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार शहरका अधिकांश सडक र ‘अन्डरपास’हरू वर्षाको पानीले डुबानमा परेकाले आवागमन गम्भीर अवरोध उत्पन्न भएकाले उच्च सतर्कतामा मेशिनरी र कर्मचारीहरूको साथ स्थितिको अनुगमन गरिरहेका छन्।

पञ्जाबका मुख्यमन्त्री मोहसिन नकवीले मुख्य सडकहरू सफा गर्न र जलमग्न क्षेत्रहरूबाट पानी निकास गर्न सहरभरि टोलीहरू नियुक्त गरिएको र शहरमा अर्को वर्षा हुने सम्भावना रहेको र अधिकारीहरूले यसको लागि तयारी गरिरहेको बताएका छन्।

पाकिस्तानको मौसम विज्ञान विभाग (पीएमडी) ले अरब सागरबाट आएको वायुको तरंगको प्रभावले वर्षा गराउने भन्दै प्रान्तका अन्य भागहरूमा भारी वर्षाको पूर्वानुमान गरेको छ।  

यसअघि बुधबार पनि पीएमडीले आगामी दुई दिनमा प्रान्तको तल्लो क्षेत्रमा भारी वर्षाका कारण सहरी बाढी आउने चेतावनी दिएको थियो।

प्रकाशित मिति: : 2023-07-07 05:48:00

प्रतिकृया दिनुहोस्