तत्काल संसदीय समितिका सभापति चयन गर्न शीर्ष नेताबीच सहमति

तीन ठूला दलका शीर्ष नेताहरुले संसदीय समितिको सभापति तत्काल चयन गर्ने निर्णय गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफलमा शीर्ष नेताहरुले समितिका सभापति अविलम्ब चयन गर्ने प्रतिबद्धता जनाएको सभामुख देवराज घिमिरेले जानकारी दिए।

उनले भने, ‘संसदीय समितिको सभापति चयन तत्कालै गर्ने नेताहरुले प्रतिबद्धता जनाउनुभएको छ, बजेट पारित भइसकेकाले अब हाम्रो ध्यान समिति गठनतिरै केन्द्रित भएको छ।’ छिट्टै समितिले नेतृत्व पाउने उनले बताए। समितिको नेतृत्व नहुँदा ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन भइरहेको छ। ज्येष्ठ सदस्यले नेतृत्व गर्दा विधेयकहरु माथिको छलफल अगाडि बढ्न सकेका छैन।

गत वैशाख १५ गते प्रतिनिधिसभाका १० विषयगत समिति गठन भएको थियो। समिति गठन भएको दुई सातापछि गत जेठ २ गते एकसाथ ती समितिको बैठक सुरु भएको थियो। तर सभापति चयन हुन नसक्दा समितिले विधेयकमाथि छलफल अघि बढाउन सकेका छैनन्।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेतासँग परामर्श गरेका हुन्। सभामुख घिमिरेले सहमतिबाट तोक्न नसकिएका सभापति निर्वाचन प्रक्रियाबाट चयन हुने बताए। संसदीय समितिलाई कसरी स्तरीय, प्रभावकारी र गतिशील बनाउने भन्ने बारेमा नेताहरुसँग सल्लाह मागेको उनले बताए।

‘लामो समयदेखि संसदीय समितिको नेतृत्व चयन भएको छैन, ज्येष्ठ सांसदबाट समितिको अध्यक्षता गरेर काम भइरहेको छ। त्यो परिस्थितिलाई तुरुन्त अन्त्य गर्नुपर्छ, त्यसमा तपाईंहरुको केही सुझाव सल्लाह छ, निर्वाचन गर्नुहुन्छ कि सहमतिमा टुङ्ग्याउनुहुन्छ? यसमा तपाईंहरुले प्रक्रिया थाल्नुभएन भने मैले स्टेप चाल्नुपर्ने हुन्छ’, सभामुख घिमिरेले भने।

संसदीय समितिको भूमिकालाई प्रभावकारी बनाउनका लागि सभामुख घिमिरेले आज प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गरेका हुन्। बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख विपक्षी दलका नेता एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सहभागी थिए। 

प्रकाशित मिति: : 2023-07-04 13:07:00

प्रतिकृया दिनुहोस्