माओवादीमा फर्किँदै ‘विप्लव’, महासचिव बनाउन लागिपर्लान् ‘अनन्त’

समाजवादी मोर्चामार्फत् माओवादी केन्द्रका ‘सुप्रिमो’ प्रचण्ड अर्थात् पुष्पकमल दाहालसँग नजिकिएका नेत्रविक्रम चन्द ‘विप्लव’ पार्टी एकताकै उकालो यात्रामा दौडिरहेका छन्।

पार्टी नेतृत्वमाथि समयअनुसार ‘उग्र आलोचक–समर्थक’ रहँदै आएका उनी हिजोआज बालुवाटारको दौडमा व्यस्त छन्। माओवादीनिकट स्रोतकाअनुसार प्रधानमन्त्री प्रचण्ड ‘विप्लव’लाई समाजवादी मोर्चा हुँदै ‘माओवादी–नेकपा’ एकताको फूर्को जोडेर महासचिवको जिम्मेवारी सुम्पिन लगभग तयारै छन्।

एकताका सँगसँगै हिँडेका आफ्ना पूराना मित्र विप्लवलाई महासचिव मान्न तयार भएको प्रतिक्रिया दिँदै हिँडिरहेका माओवादी उपमहासचिव वर्षमान पुन ‘अनन्त’ अर्का नेता जनार्दन शर्मा ‘प्रभाकर’भन्दा ‘विप्लव’लाई नै थप उदार र आफूअनुकूल नेता ठान्छन्।

०५५ सालमा भएको विस्तारित बैठकबाट ‘रोल्पाली नेता’ विप्लव र अनन्त एकैसाथ पहिलोपटक केन्द्रीय समितिमा अटाएका थिए। उनीहरूबीचको राजनीतिक सम्बन्ध भने युद्धकाल र शान्ति प्रक्रियापछि भने निकट र दूर रहिरह्यो।

वर्षमाननिकट स्रोतकाअनुसार विप्लवलाई पार्टीमा भित्र्याउन उनी आफैं लागि परेका छन्। र, प्रधानमन्त्री प्रचण्डसमेत वर्षमानको पछिल्लो कदममा पूर्ण सहमत छन्। प्रचण्ड–विप्लव र वर्षमानको कानेखुसी पत्तो पाएसँगै माओवादी उपमहासचिव प्रभाकर भने ‘प्रचण्ड कदम’बाट झस्किएका छन्।

‘चाइनाबाट फर्किएपछि अध्यक्ष कमरेड र वर्षमान दाइबीच लामो कुराकानी भएको छ। उहाँहरू विप्लव दाइलाई पार्टीमा ल्याएर महासचिव बनाउने कुरामा एक ठाउँमा हुनुहुन्छ। मेरो विचारमा जनार्दन सहमत नहुँदैमा केही हुनेवाला छैन। अब रोल्पाली माओवादीहरू मिल्छन्,’ वर्षमाननिकट एक केन्द्रीय सदस्यले भने।

ओरालो लागिरहेको माओवादी आन्दोलनको ‘प्रचण्ड जीवन’मा उदात्त फैलिएका दुई किनारा हुन्– ‘अनन्त’ र ‘प्रभाकर’।

माओवादी जीवन रेखामा ‘प्रचण्ड’ रहँदासम्म यी दुई किनाराको संगम भेट्न लगभग मुस्किलै छ। तर शान्ति प्रक्रियापछि जोतिँदै–ठोकिँदै फेरि ‘प्रचण्ड जीवन’मा आइपुग्नै लागेका विप्लव र अनन्त अन्ततः ‘प्रेम सम्बन्ध’को चर्चामै छन्।

अर्थात्, उपमहासचिव अनन्त र प्रभाकर जुधिरहेका बेला ‘विप्लव इन्ट्री’लाई अर्थपूर्ण रुपमा हेरिएको छ।

१७ सदस्यीय केन्द्रीय समिति, थिएनन् अनन्त, विप्लव र प्रभाकर

जनयुद्ध घोषणा गर्दा माओवादीले २०५२ साल फाल्गुन १ गते युद्ध सुरु भएको जनाउ दिन रोल्पा, रुकुम, सिन्धुली, जाजरकोटलगायत झण्डै आधा दर्जन जिल्लामा रहेका सुरक्षा निकाय र वित्तीय संस्थामाथि आक्रमण गरेको थियो माओवादीले। महामन्त्री प्रचण्डको नेतृत्वमा १७ सदस्यीय केन्द्रीय समितिले सशस्त्र ‘जनयुद्ध’मा जाने हिम्मत गरेको थियो।

डा. बाबुराम भट्टराई, मोहन  वैद्य, सिपी गजुरेल, रामबहादुर थापा, पोष्टबहादुर बोगटी (स्व.), पार्टीको  पोलिटब्युरो सदस्य थिए भने पम्फा  भुसाल, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, यानप्रसाद गौतम (स्व.), हरिभक्त कँडेल, लोकेन्द्र बिष्ट, देव गुरुङ, अग्नि सापकोटा, नारायण शर्मा, दण्डपाणि न्यौपाने, रामवृक्ष यादव र मातृका यादव केन्द्रीय सदस्य थिए। माओवादी ‘जनयुद्ध’ सुरु भएको केही महिनापछि रोल्पाका कृष्णबहादुर महरा र गोरखाका सुरेश वाग्लेलाई केन्द्रीय समितिमा थप गरिएको थियो।

सँगसँगै हिँडिरहेका ‘विप्लव’– ‘अनन्त’

२०५५ सालमा भएको विस्तारित बैठकबाट रोल्पाका विप्लव र अनन्त, कपिलवस्तुका बलदेव, प्युठानका मणि थापा, जाजरकोटका शक्तिबहादुर वस्नेत, बाग्लुङका हितमान शाक्य र काठमाडौंका रविन्द्र श्रेष्ठलाई केन्द्रीय समितिमा थप गरिएको थियो। जनयुद्ध सुरु गर्दा केन्द्रीय समितिमा शून्य प्रतिनिधित्व  गरेको रोल्पाले तीन वर्षभित्र तीन जना केन्द्रीय नेता पायाे।

२०५७ सालमा भएको दोश्रो राष्ट्रिय सम्मेलनबाट कृष्णबहादुर महरा, विप्लव र अनन्त एकैपटक पोलिटयूरो सदस्य बने। कुलप्रसाद केसी, सन्तोष बुढामगर, जयपुरी घर्ती, झक्कु सुवेदीलाई केन्द्रीय सदस्यमा पदोन्नति गरियो। पछि थपिएका चारसहित जनयुद्ध सुरु भएको पाँचवर्षमा रोल्पाका सात जना नेता केन्द्रीय समितिमा पुगे। 

२०६१ भदौमा विस्तार गरिएको ९५ सदस्यीय केन्द्रीय समितिमा रोल्पाका महरा सातौँ वरियातामा थिए। सो बैठकमा नन्दकिशोर पुन, जोखबहादुर महरा, दीपेन्द्र पुन, ओनसरी घर्तीलाई केन्द्रीय समितिका थप गरिएयो। नन्दकिशोर पुनलाई वैकल्पिक पोलिटव्यूरो सदस्य र महरा, पुन र घर्तीलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको थियो।

सशस्त्र संघर्ष सुरु गरेको नौँ वर्षभित्र  माओवादीको ९५ सदस्यीय केन्द्रीय समितिमा ११ जना रोल्पालीले प्रतिनिधित्व गरेका थिए। यो संख्या झण्डै १२ प्रतिशत हो। यसबाट नै प्रष्ट हुन्छ– माओवादी सशस्त्र द्वन्द्वमा रोल्पालाई कति महत्व दिइएको थियो भनेर। 

०००

नेतृत्वमा मात्रै हैन, सशस्त्र द्वन्द्वको अवधिमा रोल्पामा ९६४ जनाले ज्यान गुमाएका थिए, जसमध्ये नेपबहादुर केसी, किमबहादुर थापा र तेजमान घर्ती सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका रोल्पाका माओवादीका उच्च स्तरीय नेता हुन्। केसी र थापा केन्द्रीय सदस्य र घर्ती केन्द्रीय सल्लाहकार थिए।

०६२ साल असोजमा भएको चुनवाङ बैठकले केन्द्रीय समिति विघटन गरी ३३ सदस्यीय साताैँ महाधिवेशन आयोजक समिति निर्माण गरेको थियो। उक्त समितिमा रोल्पाबाट कृष्णबहादुर महरा, विप्लव, अनन्त, नन्दकिशोर पुन र कुलप्रसाद केसी केन्द्रीय सदस्य थिए।

११ सदस्यीय सचिवालयमा तीन राेल्पाली

सरकार–माओवादीबीच विस्तृत शान्ति सम्झौता भएपछि २०६३ साल  पुसमा सम्पन्न बैठकले ११ सदस्यीय सचिवालय गठन गरेको थियो, जसमा रोल्पाका महरा, विप्लव र अनन्त थिए। 

०६४ साल जेठमा संविधानसभाको निर्वाचन हुने भएपछि माओवादीको बालाजु भेलामा चुनावबारे दुईवटा मत व्यक्त भए। मोहन वैद्यले  पेश गरेको चुनावभन्दा जनविद्रोहको कार्यदिशा पारित भएसँगै पार्टीमा जनविद्रोहको लाइन आधिकारिक बनेको थियो। 

बहुचर्चित खरिपार्टी भेलामा सो पार्टीमा स्पष्ट दुई लाइन देखिएको थियो। ३५ सदस्यीय  महाधिवेशन आयोजक समितिमा प्रचण्डको पक्षमा बाबुराम भट्टराई, रामबहादुर थापा, पोष्टबहादुर बोगटी, दीनानाथ शर्मा, टोपबहादुर रायमाझी, अनन्त, नन्दकिशोर पुन, बलदेव, हिसिला यमी, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, हेमन्तप्रकाश ओली, नारायण दाहाल, लेखराज भट्ट, गोपाल किराँती, हितराज पाण्डे, अग्नि सापकोटा र हरिबोल गजुरेलसहित १९ जना भए।

मोहन  वैद्यको पक्षमा सीपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरुङ, विप्लव, पम्फा भुसाल, कुलप्रसाद केसी, देवेन्द्र पौडेल, पार्थ क्षेत्री, हितमान शाक्य, ईन्द्रमोहन सिग्देल, नारायण शर्मा, लोकेन्द्र विष्टमगर, हरिभक्त कँडेल, खडगबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोलासहित १६ जना  थिए। यो दुईलाइन संघर्षमा रोल्पाका पाँच जना केन्द्रीय सदस्यमध्ये अनन्त  नन्दकिशोर पुनले प्रचण्डलाई साथ दिएका थिए भने महरा, विप्लव र कुलप्रसाद केसीले वैद्यलाई साथ दिएका थिए।

०६५ सालमा नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको एकताकेन्द्र–मसालसँग गरिएको पार्टी एकतापछि माओवादीभित्र विवाद सुरु भएको मानिन्छ। जसले माओवादी पार्टीलाई क्षत–विक्षत बनायो। एकतामा श्रेष्ठ उपाध्यक्ष भए। अमिक शेरचन, गिरीराजमणि पोख्रेल र लीलामणि पोख्रेललाई सचिवालय सदस्य बनाइयो। निनु चापागाईं, भीमप्रसाद गौतम, दिलबहादुर श्रेष्ठ, स्वनाम साथी, विश्वभक्त दुलाल आहुति, विश्वनाथ साह र नरबहादुर कर्माचार्यलाई पोलिटव्यूरो सदस्यको जिम्मेवारी दिइएको थियो। यसैगरी, शशी श्रेष्ठसहित २१ जनालाई केन्द्रीय सदस्य बनाइएको थियो।

पार्टी एकताले जनयुद्धकालीन माओवादीलाई एक ढिक्का राख्न सकेन। मोहन वैद्यले पार्टी संसदीय भाषमा जाकिएको भन्दै असन्तुष्टि जाहेर गरिरहे। ०६४ सालमा भएको संविधानसभा निर्वाचनबाट समानुपातिक सभासद् रहेका वैद्यले पदबाट राजीनामा दिएपछि विवाद झनै सतहमा आएको थियो। वैद्यलाई नेत्रविक्रम चन्द ‘विप्लव’ को बलियो साथ सहयोग थियो।

अन्ततः २०६९ सालमा वैद्यले करिब ४० प्रतिशत केन्द्रीय सदस्यको टोली लिएर नेकपा माओवादी पुनर्गठन गर्न पुगे। वैद्यको केन्द्रीय समितिमा ‘विप्लव’ सचिव थिए। युवाको चाहना ‘विप्लव’लाई महासचिव बनाउनुपर्ने माग रहे पनि पार्टीमा ‘विप्लव’ भन्दा रामबहादुर थापा ‘बादल’ वरिष्ठ नेता थिए, त्यसैले उनी महासचिव बने। 

‘बादल’ वैद्यसँग लामो समय बस्न  सकेनन। वैद्यले पार्टी विभाजन गरेसँगै उनलाई रोल्पाका ‘विप्लव’, कुलप्रसाद केसी, सन्तोष बुढा र जयपुरी घर्तीले साथ दिए। प्रचण्डलाई साथ दिनेमा कृष्णबहादुर महरा, अनन्त, नन्दकिशोर पुन, झक्कु सुवेदी, जोखबहादुर महरा, दीपेन्द्र पुन र ओनसरी घर्तीले सहयोग गरे।

बेग्लाबेग्लै बाटाेमा विप्लव–अनन्त

०७१ सालमा विप्लवले आफ्नै नेतृत्वमा नेकपा माओवादी गठन गरे। प्रचण्डबाट छुट्टिएर वैद्य नेतृत्वको नेकपा माओवादीमा गएका चार जना केन्द्रीय सदस्यमध्ये सन्तोष बुढाले ‘विप्लव’लाई साथ दिए भने जयपुरी घर्ती निष्कृय बसिन्। कुलप्रसाद केसी वैद्यसँगै रहे। 

रामबहादुर थापा ‘बादल’ प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएसँगै जयपुरी घर्तीसमेत स्वतन्त्र समुहको रुपमा प्रचण्डको पार्टीमा फर्किइन्। सशस्त्र द्वन्द्वकालीन माओवादीमा ११ जना केन्द्रीय नेतृत्वमा रहेका रोल्पालीमध्ये विप्लवले पछिल्लो पटक पार्टी गठन  गर्दा सन्तोष बुढामगरलाई मात्रै साथमा लिएका थिए।

एकीकृत जनक्रान्तिको नारा दिएका ‘विप्लव’ले काठमाण्डौँको खुलामञ्चमा उद्घाटन गरी रोल्पाको थवाङमा सम्पन्न गरेको आठौँ महाधिवेशन पछि पार्टीको नामको पछाडि रहेको पुच्छर (माओवादी) हटाई ‘नेपाल कम्युनिष्ट पार्टी’ मात्र कायम गरे। 

सरकारले ०७५ साल फागुन २८गते नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको पार्टीका ‘हिंसात्मक गतिविधिमाथि प्रतिबन्ध’ लगाएसँगै दुई वर्ष बढी भूमिगत राजनीति गरेका ‘विप्लव’ सार्वजनिक भए। शान्तिपूर्ण खुला राजनीति गर्न सहमत उनले ‘एकीकृत जनक्रान्तिबाट वैज्ञानिक समाजवाद’ सम्म पुग्ने लक्ष्य निर्धारण गरेका छन्।

राेल्पा–रुकुमकाे लडाइँ

रोल्पाका वर्षमान। रूकुमका जनार्दन। भू-गोलसँगै राजनीतिक संस्कार पनि एकैखाले छ। रोल्पामा वर्षमानको प्रभाव खस्किँदो छ। जिल्लामा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा समूह पनि उत्तिकै सक्रिय छ। अर्कोतिर प्रदेशसभा सदस्य दीपेन्द्र पुन पनि वर्षमानभन्दा हाबी छन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले सातवटा पालिका जित्दा एमाले दुई र कांग्रेस एक सीटमा उक्लियो।

जनार्दन अझैसम्म रूकुमलाई माओवादी ‘किल्ला’ कै रूपमा चिनाउन सफल छन्। ०७४ सालको स्थानीय निर्वाचनमा रूकुमका दशवटै पालिका माओवादी केन्द्रले जित्यो। वर्षमानको जस्तो रूकुममा अर्को कुनै समूह पनि छैन। जिल्ला नै टुक्राएर गणेशमान पुनजस्ता युवा नेतालाई पाखा लगाइसकेका छन्।

०००

रूकुममा कम्युनिष्ट पार्टी संस्थागत गर्न जनार्दनका बुबा स्कन्द शर्माको महत्वपूर्ण भूमिका मानिन्छ। सानै उमेरदेखि राजनीतिक संस्कारमा हुर्किएका उनी ०३४ सालदेखि कम्युनिष्ट आन्दोलनमा होमिएका हुन्।

उनी जनमुक्ति सेना नेपालका चारजना डेपुटी कमाण्डरमध्ये एक हुन्। २०४८ सालमा जनमोर्चा नेपालको तर्फबाट उम्मेदवारसमेत बने। उनी पार्टीको कुशल सङ्गठन मानिन्छन्। युद्धकालमा सेती-महाकाली केन्द्रीत संगठन विस्तार अभियानमा लागे।

रोल्पाका वर्षमान पञ्चायती कालमा बाम विद्यार्थी आन्दोलनबाट प्रभावित थिए। ०५२ साल फागुन १ गते होलेरी चौकी आक्रमण गरेर सशस्त्र संघर्षको औपचारिक राजनीतिक यात्रा आरम्भ थालेका हुन्।

रोल्पाको निम्न मध्यम वर्गीय मगर परिवारमा जन्मिएका हुन्, उनी। युद्धको बेला पूर्वाञ्चल र राजधानीमा संगठन विस्तारमा लागे।

र, माओवादीभित्र ‘स्पेस’को लडाइँमा रहेका जनार्दन शर्मा र वर्षमान पुन अध्यक्ष प्रचण्डकाे वारिपारिका दुई किनारा जस्तै बनेका छन्।

प्रकाशित मिति: : 2023-06-28 21:30:00

प्रतिकृया दिनुहोस्