पाँचथरमा बाढीले बगाउँदा चार पुरुष र एक महिला बेपत्ता

गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा ५ जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा हेवा– १ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ– ७ का दिलकुमार तामाङ र फिदिम– १० का सन्जोग लोवा, फिदिम– ४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम– ४ हेवाखोलाबाट एक जना रहेका छन् 

फालेलुङ– ३ खोलाघारी सेपीमा पहिराले पुरेको बालिकाको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिए। वर्षात्ले मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका– ४ र हिलिहाङ गाउँपालिका– ७ जोड्ने हेवाखोला पुल समेत बगाएको छ।

पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए। तमोर करिडोरको ‘बेलीब्रिज’ बगाएको छ।

याङ्वरक गाउँपालिका– ३ र २ मा घर बगाएको स्थानीयले बताएका छन्। यस्तै फालेलुङ गाउँपालिका– ३ मच्छेबुङमा मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रकाशित मिति: : 2023-06-18 08:30:00

प्रतिकृया दिनुहोस्