भोलिबाट रिलिज हुन लागेको दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को नेपाल प्रदर्शन अन्यौलमा परेको छ।
चलचित्र सेन्सर बोर्डले नेपालमा ‘आदिपुरुष’ खरिद गरेका वितरकलाई ‘जानकी भारतमा जन्मिएकी हुन्’ भन्ने आशयको संवाद हटाउन निर्देशन दिएको थियो। सेन्सर बोर्डको निर्देशनपछि यो फिल्मबाट सो संवाद हटाइएको छ।
तर, अब काठमाडौं महानगरका मेयर बालेन शाहले नेपालमा मात्र नभई भारतमा पनि फिल्ममा समावेश उक्त संवाद नहटाइए कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरपालिकाभित्र चल्न नदिने चेतावनी दिएका छन्। योसँगै फिल्म रिलिज अन्यौलमा परेको हो।
ओम राउतको निर्देशनमा तयार भएको यो फिल्मले भगावन् राम र सीताको कथा देखाएको छ। फिल्ममा प्रभाष, कृति सेनन र सैफअली खान मुख्य भूमिकामा छन्।
बालेनले सामाजिक संजालमा लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म आदिपुरुषमा समावेश ‘जानकी भारतकी छोरी हुन भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई, भारतमा पनि सच्चिदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन। यो सच्याउन तीन दिनको समय दिइएको छ। माता सिताको जय होस्।’