पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० किलोग्राम सुन रहेको दाबी गरेको छ।
मंगलवार संघीय संसद् राष्ट्रियसभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले मन्दिरमा चढाइएको जलहरीमा १० किलो सुन भएको दाबी गरेका हुन्। मन्दिरमा चढाइएको १० किलो सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको उनले बताए।
‘राज्यको पनि कहिलकाँही मलाई लाग्छ–कान मात्रै हुँदो रहेछ, आँखा हुँदो रहेनछ कि जस्तो लाग्छ। मैले यो क्षमासाथ भने। मलाई दुःख लाग्छ। जहाँसम्म यो सुनको जलहरीको कुरा हो। ९६ किलो ८२२ ग्राम सुन तयार भइसकेको छ। १० केजी भएको छैन भनेपछि हामीले त्यो माईन्यूटमा नलेखेको मात्रै। १० केजी सुन शिवले पहिरिएर राख्नु भएको छ। कि जोख्दा खेरी थाहा हुन्छ नि पित्तल होल्यो कि चाँदी हाल्यो। यदि १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ। म मृत्युदण्ड लिन तयार छु’ रुँदै सचिव थापाले भने, ‘यो सुनको जलहरीमा मैले न्याय माग्न के आत्महत्या गर्नुपर्ने हो? मलाई पशुपतिको भेटी तलमाथि गरेर, जग्गा–जमिन बेचेर खानु छैन। खाँदिनँ।’
आफूलाई सुन चोरको आरोप लगाएको कारण दुई जना सन्तानहरूको भविष्य अन्धार भएको उनले दुखेसो पोखे।
‘गाउँभरी मेरो बेइज्जत भयो। मेरो दुई जना सन्तान छन्। उनीहरूको भविष्य अन्धार बनाइदिने? राज्यको त्यही नीति हो?’ उनले भने, ‘जलहरी प्रकरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन नगरी जथाभावी आरोप लगाउन मिल्दैन।’